प्रभातफेरी अनलाइन४ पटक पढिएको | २०८३ कार्तिक २३, सोमबार
मोरङ / मोरङको जहदा गाउँपालिकामा रड प्रहार गरी एक पुरुषको हत्या भएको छ। आफ्नै श्रीमती र एक भारतीय नागरिकले टाउकोमा रड प्रहार गर्दा जहदा गाउँपालिका–२, मोहनपुरका ४० वर्षीय बुधराम सोरेनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटना गएराति करिब १० बजे भएको हो। सोरेनमाथि उनकी ३५ वर्षीया श्रीमती कमली मास्के र २७ वर्षीय भारतीय नागरिक सुनील मिश्रले रड प्रहार गरेका थिए। गम्भीर घाइते भएका सोरेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिक मिश्रलाई प्रहरीले पक्राउ गरेको छ भने घटनापछि फरार रहेकी मृतककी श्रीमती कमलीको खोजी भइरहेको प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिएका छन्।
प्रहरीका अनुसार हत्या गर्नुको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।