प्रभातफेरी अनलाइन५ पटक पढिएको | २०८३ कार्तिक २४, मंगलबार
पर्सा / पर्साको पकहामैनपुर गाउँपालिकामा पटका पट्काउने क्रममा उछिट्टिएको छर्रा लागेर आठ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको पकहामैनपुर गाउँपालिका–२ निवासी रामगुलाम सहनीका आठ वर्षीय छोरा कुन्दन सहनीको पटका पड्काउने क्रममा लागेको छर्राबाट मृत्यु भएको हो ।
प्राप्त जानकारीअनुसार आज बिहान करिब ८ बजे बालक कुन्दन आफ्नै घरअगाडि पटका पट्काइरहेका थिए । सोही क्रममा पटका विस्फोट हुँदा त्यसबाट उछिट्टिएको छर्रा उनको छातीको बीच भागमा लागेको थियो । छर्रा लागेपछि गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याइएका बालकलाई चिकित्सकले बिहान ८ बजेर ४५ मिनेटमा मृत घोषणा गरेका थिए । पटका पट्काउने क्रममा भएको उक्त दुःखद घटनाले परिवार तथा स्थानीय क्षेत्रमा शोक छाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पटका तथा विस्फोटकजन्य सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने र बालबालिकालाई यस्ता सामग्रीबाट टाढा राख्नुपर्ने यस घटनाले पुनः सचेत गराएको छ ।