प्रभातफेरी अनलाइन१८ पटक पढिएको | कार्तिक २९, २०८३ | आईतबार
काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा मौसम बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो हिमाली क्षेत्रसहित कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । त्यस्तै, बाँकी पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ । गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा पनि यस्तै मौसमी गतिविधिको सम्भावना रहेको छ ।
त्यसैगरी, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने कोशी प्रदेशलगायत अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्न सक्ने पूर्वानुमान छ ।
रातिको समयमा हिमाली क्षेत्र तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
सम्भावित वर्षा, हिमपात, चट्याङ र असिनाको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई नियमित रूपमा मौसमी सूचना र पूर्वानुमानबारे जानकारी लिन आग्रह गरेको छ ।