प्रभातफेरी अनलाइन२६ पटक पढिएको | मंसिर १, २०८३ | मंगलबार
काठमाडौं / प्रहरी महानिरीक्षक डा. मनोजकुमार के.सी.ज्यूले अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित एकदिने कार्यशाला गोष्ठीको समुद्घाटन गर्नुभएको छ ।
“आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान: वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान” भन्ने नाराका साथ आयोजित कार्यशालाको मुख्य विषयवस्तु “वित्तीय अपराध अनुसन्धान: प्रमाण सङ्कलनदेखि फैसलासम्म” रहेको छ ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू, प्रहरी नायव महानिरीक्षकज्यूहरू, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकाय, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रतिनिधिलगायत विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
सोही अवसरमा प्रहरी महानिरीक्षक डा. के.सी.ज्यूले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह–भाग ३’ पुस्तकसमेत लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षकज्यूले वित्तीय अपराधको बदलिँदो स्वरूप र अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोगबाट सिर्जित चुनौतीहरू सामना गर्न आधुनिक प्रविधि तथा वैज्ञानिक अनुसन्धान पद्धति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले कार्यशालाले वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीहरूको विश्लेषण गर्दै प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन तथा न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउने उपाय पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
साथै, वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई परिणाममुखी बनाउन सम्बन्धित सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीच समन्वय, सहकार्य तथा सूचनाको प्रभावकारी आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्ने उहाँले बताउनुभयो।