logo
२०८३ मंसिर ९, बुधबार |
☰
📰
🔍
✕

देवगाउँ स्वास्थ्यचौकीको एम्बुलेन्स कहाँ ?

प्रभातफेरी अनलाइन२ पटक पढिएको | मंसिर ९, २०८३ | बुधबार
देवगाउँ स्वास्थ्यचौकीको एम्बुलेन्स कहाँ ?

नवलपरासी/ जिल्लाको रामग्राम नगरपालिका–१७ स्थित देवगाउँ स्वास्थ्यचौकीका नाममा प्राप्त भएको एम्बुलेन्स लामो समयदेखि सम्पर्कविहीन रहेको भन्दै स्थानीयवासीले खोजी तथा छानबिनको माग गरेका छन्। सरकारी स्वास्थ्य संस्थाका लागि खरिद गरिएको एम्बुलेन्स स्वास्थ्यचौकीमा नरहेको र त्यसको वर्तमान अवस्थाबारे सम्बन्धित जनप्रतिनिधि तथा कर्मचारीलाई समेत स्पष्ट जानकारी नभएको पाइएपछि स्थानीयले चासो व्यक्त गरेका हुन्।

२०७८ साल साउन १० गते देवगाउँ स्वास्थ्यचौकीले सञ्चालन तथा व्यवस्थापन गर्ने गरी प्राप्त गरेको उक्त एम्बुलेन्स अहिले कहाँ छ ?भन्ने विषयमा अन्योल देखिएको छ। स्थानीयका अनुसार एम्बुलेन्स स्वास्थ्यचौकीमा रहेको कुनै जानकारी छैन। हालका वडा अध्यक्ष कन्हैया मौर्य, वडा कार्यालयका सचिव तथा स्वास्थ्यचौकी प्रमुखलाई समेत एम्बुलेन्सको अवस्थाबारे स्पष्ट जानकारी नभएको बुझिएको छ। स्वास्थ्यचौकीको नाममा कागजातमा एम्बुलेन्स देखिए पनि व्यवहारमा स्थानीयले त्यसको सेवा तथा उपस्थितिको अनुभूति गर्न नपाएको भन्दै खोजी गर्नुपर्ने आवाज उठाएका छन् ।

संघीय सरकारले सरकारी स्वास्थ्य संस्थाले एम्बुलेन्स खरिद गर्दा भन्सार छुट पाउने व्यवस्था गरेपछि रामग्राम नगरपालिकाले दुईवटा एम्बुलेन्स र एउटा शववाहन खरिद गरेको थियो। नगरपालिकाले खरिद गरेका ती सवारीसाधनमध्ये एउटा एम्बुलेन्स देवगाउँ स्वास्थ्यचौकीलाई उपलब्ध गराइएको थियो। अर्को एम्बुलेन्स अमेरबन स्वास्थ्यचौकीलाई दिइएको थियो भने शववाहन पृथ्वीचन्द्र अस्पताल, परासीलाई उपलब्ध गराइएको थियो।तर, नगरपालिकाले सार्वजनिक स्वास्थ्य सेवा प्रवाहका लागि खरिद गरेका यी सवारीसाधनको सञ्चालन र व्यवस्थापनको अवस्थाबारे प्रश्न उठेको छ। देवगाउँ स्वास्थ्यचौकीको नाममा रहेको एम्बुलेन्स स्वास्थ्यचौकीमा छैन भने पृथ्वीचन्द्र अस्पताललाई उपलब्ध गराइएको शववाहन पनि अस्पतालमा नरहेको स्थानीयको भनाइ छ। सरकारी स्वास्थ्य संस्थाका लागि खरिद गरिएका सवारीसाधन सम्बन्धित संस्थामा नदेखिएपछि स्थानीयले आश्चर्य व्यक्त गरेका छन्।

यस विषयमा रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाका सुरज हरिजनले दुईवटा एम्बुलेन्समध्ये देवगाउँ स्वास्थ्यचौकीको एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी, नवलपरासी शाखाले सञ्चालन गरिरहेको जानकारी दिएका छन्। त्यसैगरी अर्को एम्बुलेन्स अमेरबन स्वास्थ्यचौकीले सञ्चालन गरिरहेको र शववाहनलाई अस्पतालाई प्रदान गरिएको बताएका थिए । तर सो शवबाहन अस्पतालले एम्बुलेन्सका रूपमा रूपान्तरण गरी सञ्चालन गरेको छ।स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार सवारीसाधन सञ्चालनमा रहे पनि तिनको व्यवस्थापन र प्रयोग सम्बन्धित संस्थाभन्दा फरक निकायमार्फत भइरहेको देखिन्छ। यसले सरकारी बजेट तथा भन्सार छुटको सुविधामा खरिद गरिएका सवारीसाधन अर्को संस्थालाई सञ्चालन गर्न दिन मिल्ने कानुनी आधार के हो ?भन्ने प्रश्न खडा गरेको छ।

सरकारी राजस्व छुटमा खरिद गरिएका एम्बुलेन्स तथा शववाहन सम्बन्धित स्वास्थ्य संस्थाको उद्देश्य र सेवा क्षेत्रभन्दा बाहिर अन्य संस्थाले सञ्चालन गर्न पाउने वा नपाउने विषयमा स्पष्ट कानुनी तथा प्रशासनिक आधार सार्वजनिक हुन आवश्यक देखिन्छ। त्यसका लागि खरिदसम्बन्धी निर्णय, हस्तान्तरण सम्झौता, सञ्चालन अनुमति, सम्पत्ति अभिलेख तथा सम्बन्धित निकायको स्वीकृतिबारे छानबिन हुनुपर्ने स्थानीयको माग छ।स्थानीयवासीले देवगाउँ स्वास्थ्यचौकीका नाममा प्राप्त एम्बुलेन्स कसको जिम्मामा छ? कहाँबाट सञ्चालन भइरहेको छ ?र त्यसबाट स्थानीयले कस्तो सेवा पाइरहेका छन् ?भन्ने विषय सार्वजनिक गर्न माग गरेका छन्। त्यस्तै शववाहनलाई एम्बुलेन्समा रूपान्तरण गरी सञ्चालन गरिएको विषयमा पनि आवश्यक प्रक्रिया र स्वीकृति भए–नभएको स्पष्ट पार्नुपर्ने उनीहरूको भनाइ छ।

सरकारी स्रोतबाट खरिद गरिएका सवारीसाधनको सञ्चालन, व्यवस्थापन र उपयोग पारदर्शी हुनुपर्नेमा स्थानीय सरकारकै मातहतका सम्पत्तिबारे सम्बन्धित जनप्रतिनिधि र कर्मचारीसमेत अनभिज्ञ देखिनु गम्भीर विषय हो। सार्वजनिक सम्पत्तिको संरक्षण र नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने जिम्मेवारी बोकेको नगरपालिकाले यस विषयमा तत्काल सत्यतथ्य सार्वजनिक गरी आवश्यक छानबिन गर्नुपर्ने देखिन्छ।