logo
२०८३ श्रावण २६, मंगलबार |
📰
🔍

अपरिचित म

रोशन परियाररोशन परियार११ पटक पढिएको | २०८३ श्रावण २४, आईतबार

कविता - अपरिचित म

रोशन परियार ✍️ रोशन परियार

ओहो !
घरमा आगो लागेछ
यो खबर किन मसम्म पुगेन ?
आगोले जलेर लासहरू गन्हाएछन्
यसको गन्ध किन चाल पाइन मैले ?
कि
कानमा तेल हालेर बसिरहेको छु म ?

यदि यसो हो भने
म कतै अल्झिरहेको त छैन ?
मलाई कसैले भुलाइरहेको त छैन

मबाटै निर्मित मेरो रङ्गीन चित्र
किन मैलिँदै गएको छ ?
किन खुइलिँदै जाँदै छ ?

के रङ्गीन चित्रमा
अधिकारको उज्यालो रहिरहला ?
न्यायको तराजु मतिर ढल्केला ?
विजयको रातो टाँसिरहला ?
शान्तिको रङ नपखालिएला ?
अथवा
पानीको रङ फिक्का नै रहला त ?
गाउँको सुगन्ध गाढा नै रहला त ?
धानको बाला उसै गरी झुल्ला ?
गुराँसको थुङ्गा फेरि पनि फुल्ला ?
म किन यी कुराहरूको निर्णय गर्न सकिरहेको छैन ?
आफूलाई आफैँबाट के कारणले अलग गरिरहेको छु ?
कि आफूलाई बुझ्दिन म ?

मैले बुझेको महान् कुरा
विद्वत्ता हो कि
प्रतिष्ठा , अहङ्कार , ईश्वर हो ?
हैन
अनिवार्य कुरा त मेरो जीवन हो
जीवनको पहिलो सर्त जिउनु हो
मलाई यही कुरा केले बिर्साउन खोज्दै छ

बिर्सेको त छैन मैले
इतिहासको हात समातेर वर्तमान अडेको हुन्छ
वर्तमानको बुई चढेर भविष्य हिँडेको हुन्छ
तर
विद्रोहको हुरी , मिति तोकेर आउँदैन
क्रान्तिको बाढी , ढ्याङ्ग्रो ठोकेर आउँदैन
परिवर्तनको झिल्को , आगो भर्भराएर आउँदैन
फेरि किन म
किलामा बाँधिएर स्वतन्त्रताको गाँस खाइरहेको छु ?
अञ्जुलीमा थापेर समताको भ्रम किन पिइरहेको छु ?
यदि म यसो गरिरहेको छु भने
सुनामी आउनुपूर्वको सन्नाटालाई नजरअन्दाज गर्नु हुँदैन मैले

मेरो मस्तकले बोकेको ब्रह्म
मनले पुजेको प्रेम
यी दुवैलाई किन बेवास्ता गर्दै छु म
लास टेकेर हिँडेको मेरो पाइला
चिता जलेको रापले सेकिएको मेरो आँखा
यी दुवै किन भस्म हुँदैनन् ?

कलमले कोर्दा बन्दुक बन्छ भने
मेरा औँलाहरू ज्यानमारा हुन्
मेरो सोच हत्यारा हो

म यति धेरै विचलित किन हुँदै छु
भएभरको तागत लगाएर किन भत्काउँदै छु आफूलाई ?

याद राख्नुपर्छ मैले
चराहरू थुनिए , माछाहरू उनिए
पशुहरू काटिए , फूलहरू च्यातिए भने
या त
आमाको घाँटीमा डोरी बाँधियो
बुबाको कन्चटमा गोली दागियो
छोरीको खुसीमा भाला रोपियो
छोराको जोसमा विष घोलियो भने
यो मेरा आफन्तको मृत्यु नभएर
यो सिङ्गो साम्राज्यको अवसान हुने छ

रगतको सिँचाइले कुनै हृदयमा शान्ति उम्रदैन
छाती छेडेर उभिएको झण्डाले आकाश छुँदैन

जुन माटोमा तानाशाही बुटका डोबहरू भेट्छु
जुन डोबमा मान्छेका अनुहार किचिएको देख्छु
त्यो तस्विर हेरिरहँदा
यदि मेरो आँखामा राँको बल्दैन भने
ओठमा खुन उम्लिदैन भने
मुटुमा भूकम्प जाँदैन भने
मैले भुल्नु हुँदैन
मौनताको कात्रो ओढेर बाँचेको मेरो जीवन
मृत्युको अर्को नाम सिवाय केही हुने छैन।