logo
२०८३ भाद्र १४, आईतबार |
📰
🔍

“बाढीले बगाएको हाम्रो संसार”

लक्ष्मी लामा, काभ्रे-बनेपालक्ष्मी लामा, काभ्रे-बनेपा३४ पटक पढिएको | २०८३ भाद्र १३, शनिबार

कविता - “बाढीले बगाएको हाम्रो संसार”

लक्ष्मी लामा, काभ्रे-बनेपा ✍️ लक्ष्मी लामा, काभ्रे-बनेपा

पहाडको काख चिरेर
अचानक आयो एउटा उर्लंदो भेल,
तिब्बत–चीनतिरबाट आएको बाढीले
नेपालको मुटुमै हानेर गयो चोट।

घरहरू थिए
कसैको जीवनभरको पसिनाले बनेका,
आज त्यही घरको ठाउँमा
माटो, ढुङ्गा र भग्नावशेष मात्र बाँकी छन्।

पुलहरू थिए
दुई किनार जोड्ने आशाका बाटाहरू,
आज नदीको छालमुनि हराएका छन्,

बाटोहरू थिए
गन्तव्यसम्म पुर्‍याउने सपना,
आज ती बाटाहरू नै गन्तव्यविहीन भएका छन्।
विद्यालयका कक्षाकोठा बगे,
बालबालिकाका किताब बगे,
कसैको कार्यालय बग्यो,
कसैको पसल बग्यो,

खेतबारीमा लगाएको पसिनासँगै
वर्षौँको कमाइ बग्यो।
तर भौतिक क्षतिको हिसाब
इँटा र ढुङ्गाले मात्र कहाँ हुन्छ र?
कसैको बुबा बगे,
कसैकी आमा बगिन्,
कसैको जीवनसाथी बग्यो,
कसैको काखको सन्तान
नदीको निर्मम भेलसँगै हरायो।
आज एउटा आमा
खाली काख च्यापेर रोइरहेकी छिन्,
एउटा बुबा
भत्किएको घरको भग्नावशेषमा
आफ्नो सन्तानको तस्बिर खोजिरहेका छन्।

कसैको हातमा
घरको चाबी छ
तर खोल्ने घर छैन।
कसैको मोबाइलमा
आफन्तको नम्बर छ
तर फोन गर्ने मान्छे छैन।
कसैको आँगन छ
तर परिवार छैन।
कसैको घरको जग छ
तर घरभित्र बस्ने सपना छैन।
हे बाढी!

तैंले कति निर्दयी भएर
हाम्रो गाउँको इतिहास मेटाइस्,
कति आमाको सिन्दूर पुछिस्,
कति बालबालिकाको भविष्य खोसिस्,
कति परिवारलाई

जीवनभरको बिछोडको सजाय दिइस्।
आज नेपाल रोइरहेको छ
भत्किएका घरका लागि,
बगेका पुलका लागि,
उजाडिएका बस्तीका लागि,
र त्योभन्दा धेरै
फर्केर कहिल्यै नआउने
आफन्तहरूका लागि।
तर सुन बाढी!

तैंले हाम्रो घर भत्काउन सक्छस्,
तर हाम्रो हिम्मत भत्काउन सक्दैनस्।
तैंले हाम्रो बाटो बगाउन सक्छस्,
तर हाम्रो भविष्य बगाउन सक्दैनस्।
तैंले हाम्रो संरचना ढाल्न सक्छस्,
तर नेपाली मन ढाल्न सक्दैनस्।

एक दिन
भग्नावशेषमाथि फेरि घर उठ्नेछ,
टुटेको पुल फेरि बन्नेछ,
उजाडिएको खेतमा फेरि हरियाली छाउनेछ,
विद्यालयमा फेरि बालबालिकाको हाँसो गुञ्जिनेछ।
तर जसलाई बाढीले हामीबाट खोस्यो
उनीहरू फर्केर आउने छैनन्।
त्यसैले

हरेक नयाँ घरको जगमा
उनीहरूको सम्झना हुनेछ,
हरेक बनेको पुलमा
उनीहरूको अधुरो यात्रा हुनेछ,
हरेक बालबालिकाको हाँसोमा
हराएका ती निर्दोष आत्माहरूको आवाज हुनेछ।
आज हामीले संरचना गुमाएका छौँ,
आज हामीले आफन्त गुमाएका छौँ,
आज हामीले धेरै सपना गुमाएका छौँ
तर नेपाल गुमाएका छैनौँ।
आँसु पुछौँ,

एक–अर्काको हात समाऔँ,
भत्किएको नेपाल फेरि उठाऔँ।
किनकि नेपाल केवल ढुङ्गा–माटोले बनेको देश होइन,
नेपाल त दुःखमा पनि
एकअर्काको आँसु पुछ्ने
करोडौँ नेपाली मुटुको नाम हो। 🇳🇵🙏

निकै दिन भएको थियो सामाजिक संजालमा खासै केही पोष्ट नगरेको तर आज किन किन मनलाई समाल्न सकिन थोरै साहस जुटाएर कलमका मसीलाई पोख्ने प्रयास गरे ।।।