प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
रसुवा / रसुवाको भोटेकोशीमा आएको भीषण बाढी तथा विभिन्न जिल्लामा गएको बाढीपहिरोका कारण हालसम्म ७३४ जनाको मृत्यु पुष्टि भएको छ भने २ हजार ४९८ जना अझै सम्पर्कविहीन रहेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहान ९ बजेसम्म विभिन्न जिल्लामा गरी ७३४ जनाको शव फेला परेको हो । सबैभन्दा बढी चितवनमा २५९, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ । फेला परेका शवमा मानव अंगसमेत रहेको प्राधिकरणले जनाएको छ ।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरीका १३ जना सुरक्षाकर्मी, भन्सार तथा अध्यागमनका कर्मचारी, जलविद्युत् आयोजनाका ९३३ कामदार र ५८९ जना विदेशी नागरिक रहेका छन् । रसुवा, नुवाकोट र मकवानपुरबाट ठूलो संख्यामा स्थानीय बासिन्दा सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ ।
उद्धारका क्रममा हालसम्म ८ हजार १८६ जनाको जीवितै उद्धार गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी १९ हजार ८९५ सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा परिचालन भएका छन् । जलविद्युत् आयोजनाका सुरुङमा फसेका २७९ जना तथा २२७ जना विदेशी नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बाढीपहिरोमा परी घाइते भएका २४२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सरकारले प्रभावित क्षेत्रमा राहत वितरणलाई पनि तीव्रता दिएको छ । रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ । प्रभावित १५ स्थानीय तहका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्राधिकरणका अनुसार हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री र हेलिकप्टरमार्फत सात उडान गरी अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ । उत्तरगया र धुन्चे क्षेत्रमा मात्रै दुई टन खाद्य सामग्री पठाइएको छ । सञ्चार सेवा अवरुद्ध भएका स्थानमा सञ्चार सेटसमेत पठाइएको प्राधिकरणले जनाएको छ ।
पहिचान हुन नसकेका शवहरू विभिन्न जिल्लाका २१ अस्पतालमा सुरक्षित राखिएका छन् । मृतकको पहिचानका लागि नेपाल प्रहरीले सञ्चालन गरेको ‘डिजास्टर पोर्टल’ तथा प्राधिकरणको फेसबुक पेजमार्फत विवरण सार्वजनिक गरिएको छ ।
इन्धन आपूर्तितर्फ नुवाकोटका विभिन्न आयल स्टोरमा ३६ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको जनाइएको छ । हवाई इन्धनको मौज्दात १४ हजार लिटर रहेको र हालसम्म २५ हजार लिटर खपत भइसकेको प्राधिकरणले जनाएको छ ।