कुनै दिन सबै ठीक हुनेछ,
दुःखका बादल हट्नेछन्,
चिन्ताका बाटाहरू टुंगिनेछन्, अनि त्यसपछि सायद जिन्दगी सुन्दर हुनेछ…
दुःख सकिएला भन्यो, अर्को चिन्ताले ढोका ढकढक्याउँछ ।
काम सकिएला भन्यो, अर्को काम थुप्रिएर बसेको हुन्छ ।
“यो सकिएपछि आराम गरौँला”
“अलि फुर्सद भएपछि भेटौँला,”
“यो व्यस्तता सकिएपछि कुरा गरौँला,”
“अहिले अलि अप्ठ्यारो छ, पछि हेरौँला,”
“सबै ठीक भएपछि सँगै बसौँला…
यस्तै ‘पछि’ र ‘कुनै दिन’ को भरमा
लिनुपर्ने र दिनुपर्ने हाम्रा समयहरु
आफ्नै हातबाट झरिरहेका छन्।
कसैलाई भेट्न चाहँदाचाहँदै
समय सकिन्छ,
कसैको दुःख सुन्छु भन्दाभन्दै
उसको आवाज नै हराइसकेको हुन्छ ।
कसैलाई “म तिम्रो साथमा छु” भन्न खोज्दाखोज्दै
ऊ साथ खोज्नुपर्ने ठाउँभन्दा
धेरै टाढा पुगिसकेको हुन्छ।
हामी सोचीरहन्छौ,
पहिले जीवन मिलाऊँ,
अनि जीवन बाँचौँला ।
तर जीवन मिलाउँदै जाँदा
बाँच्नुपर्ने उमेर बितिरहेको हुन्छ।
हरेक मौसम हाम्रो इच्छाजस्तो कहाँ हुन्छ र?
कहिले घामले पोल्छ,
कहिले पानीले भिजाउँछ,
कहिले बाटोमा काँडा हुन्छन्,
सायद यही नै त जिन्दगी हो,
सबै कुरा ठीक भएपछि सुरु हुने होइन,
सबै कुरा ठीक नभए पनि
बीचबीचमा मुस्कुराउँदै बाँच्नुपर्ने रहेछ ।
त्यसैले
माया गर्नुछ भने आजै गरौँ,
भेट्नुछ भने समय निकालेर आजै भेटौँ,
कसैको कुरा सुन्नुछ भने
उसले बोल्न छोड्नुअघि सुनौँ।
त्यसैले आजलाई अलिकति बाँचौँ न ?
अधुरै भए पनि,
अव्यवस्थित नै भए पनि,
सबै कुरा नमिले पनि…











