logo
२०८३ आश्विन ३, शनिबार |
📰
🔍

रुपन्देहीमा एक महिनामा ८३ फरार प्रतिवादी पक्राउ, रु १ करोड ३५ लाख जरिवाना असुल

प्रभातफेरी अनलाइन११ पटक पढिएको | १ घण्टा अघि
रुपन्देहीमा एक महिनामा ८३ फरार प्रतिवादी पक्राउ, रु १ करोड ३५ लाख जरिवाना असुल

रुपन्देही / जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत भदौ महिनामा ८३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीबाट कैद सजाय कार्यान्वयनसँगै रु १ करोड ३५ लाख ४० हजार ६ सय जरिवाना असुलउपर गरिएको छ। अदालतका फैसला कार्यान्वयनलाई तीव्रता दिँदै फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले फैसला कार्यान्वयनका लागि फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई थप प्राथमिकताका साथ निरन्तरता दिइने बताउनुभयो।

यसैबीच, ठगी तथा सङ्गठित अपराधको कसुरमा फरार रहेकी मर्चवारीमाई–३, रायपुरकी २४ वर्षीया उर्मिला बरईलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत रुपन्देहीमा पेस गरेको छ।

प्रहरीका अनुसार बरईले समूह बनाई सर्वसाधारणबाट रु १ करोड ५० लाख २२ हजार ५२० ठगी गरेको आरोप छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो।