logo
२०८३ आश्विन ३, शनिबार |
📰
🔍

संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री शाह

प्रभातफेरी अनलाइन६ पटक पढिएको | १ घण्टा अघि
संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौं / सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री शाहले शहीदहरूको रगतले लेखिएको संविधानलाई सरकारले काममार्फत पूर्णता दिने बताउनुभयो।

उहाँले संविधानप्रतिको निष्ठा र यसको पालनामा सरकार पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै संविधानको मर्म हरेक इमानदार निर्णय, पारदर्शी नियुक्ति र नागरिकको घरदैलोमा पुग्ने सेवामार्फत कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।

सम्माननीय प्रधानमन्त्री शाहले जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्याय चाहेको उल्लेख गर्दै सरकारका हरेक कदम त्यही आकाङ्क्षातर्फ केन्द्रित रहेको बताउनुभयो।

उहाँले भ्रष्टाचार र दण्डहीनताको अन्त्यका लागि सरकार अघि बढिरहेको बताउँदै प्रशासनिक संरचनालाई उपयुक्त आकार दिने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने, प्रशासनिक क्षेत्रमा राजनीतिक तटस्थता कायम गर्ने तथा सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति गर्ने नीति लिएको जानकारी दिनुभयो।

“सुशासन नारा होइन, काम हो, हामी काम गरिरहेका छौँ,” सम्माननीय प्रधानमन्त्री शाहले भन्नुभयो।

उहाँले कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई प्राथमिकतामा राख्दै नवप्रवर्तन तथा नवउद्यममार्फत ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने बताउनुभयो।

भोटेकोशी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सम्माननीय प्रधानमन्त्री शाहले उद्धार तथा विपद् व्यवस्थापनमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी तथा आम नागरिकप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले आगामी दिनमा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्राथमिकता दिँदै पूर्वसूचना प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्माननीय प्रधानमन्त्री शाहले राजनीतिक परिवर्तन र सुशासनका लागि भएका आन्दोलनमा सहादत प्राप्त ज्ञात–अज्ञात शहीद तथा जेनजी आन्दोलनका सुशासन योद्धाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। साथै भोटेकोशी बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो।