प्रभातफेरी अनलाइन५ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं / सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सहभागी हुनुभएको छ। सो अवसरमा नेपाली सेनाले सम्माननीय राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो।
समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले मार्च पास तथा ब्याण्ड प्रदर्शन गरेका थिए। सैनिक हेलिकप्टरबाट ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३’ लेखिएको ब्यानरसमेत प्रदर्शन गरिएको थियो।
संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादव, सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह, सम्माननीय प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सम्माननीय सभामुख डोलप्रसाद अर्याल, सम्माननीय राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट पदाधिकारी तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायत विशिष्ट महानुभावहरूको सहभागिता रहेको थियो।