प्रदिप के. सी.
पनौती÷एकीकृत खानेपानीको सवालमा मेरो पनि कमिकमजोरी होला तर धुलिखेल नगरपालिकाका पदाधिकारीहरु र निर्देशक समितिका संयोजक अशोक व्याञ्जुको जालेमाले कुरा भएकाले एकीकृत खानेपानी अप्ठ्यारोमा परेको हो ।
उक्त कुरा सभासद् रामहरि सुवेदीले पनौती नगरपालिकाको २०७०÷ ०७१ को वार्षिक समीक्षा कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोलेका हुन् । सभासद् सुवेदीले भने ‘अब एकीकृत खानेपानीको समस्या सुल्झाउन निर्देशक समितिमा ६–६ महिनामा रोलक्रम फेरिने तरिकाबाट जानुपर्ने सुझाव सभामा व्यक्त गर्दै प्रभुराम के.सी.ले त्यहि कारणबाट राजिनामा दिएको हुनुपर्छ भन्ने मेरा ठम्याइरहेको छ ।’
खानेपानीमा पनौती नगरका मात्र १२ सय घरधुरी परिवार छुटेको कुरा राख्दै सभासद् सुवेदीले पनौती मात्र नभई तीनवटै नगरका बासिन्दाहरुले खानेपानी खान पाउनुपर्छ भनि पनौतीलाई विश्वसम्पदा सूची, पनौती नमोबुद्ध ग्वार्खो सडकलाई वैकल्पिक राजमार्गको रुपमा लिलावटी नदिको किनारै किनारबाट सडक निर्माण हुनुपर्ने धारणा राखेका थिए ।
‘पनौतीलाई आयआर्जन गर्ने कृषि, निराक्षरमुक्त, स्वास्थ्य क्षेत्रमा ध्यान, खुल्ला दिशामुक्त नगर र हिंसाजन्य कार्यलाई निरुत्साहित गर्न नगरपालिकाले प्याकेज कार्यक्रम ल्याउनुपर्छ’ भन्दै सुवेदीले ‘चौकोटलाई पनौती १ र आईटीपार्कलाई पनौती २ भनि कार्यकारी अधिकृत दिपेन्द्र रेग्मीलाई पत्राचार गर्न निर्देशन दिँदै म पनि सभासद्को प्याडबाट पत्राचार गर्नेछु’ भनि सभामा जानकारी दिएका थिए ।
कार्यकारी अधिकृत दिपेन्द्र रेग्मीले नगरवासीले उठाएका सवालहरुको उत्तर दिँदै नगरपालिकाले महत्वपूर्ण आयोजनाहरु सफल कार्यान्वयन गरि पूरा गरेकोले राष्ट्रिय मुल्यांकनमा १५ प्रतिशत थप अनुदान पाउन सफल भएको सभामा जानकारी दिएका थिए ।
त्यस्तै, नगरका ५ वटा वडाहरुमा चर्पी निर्माण, विद्युतको रोयल्टी नगरपालिकाले माग गर्नेछ भन्दै बृहत खानेपानी आयोजनामा पनौतीमा चार वटा पानी ट्यांकी निर्माण गरिनुपर्ने, १२ सय छुटेका घरपरिवारलाई उचित रुपमा खानेपानी दिलाउने, सार्वजनिक जग्गा भोगाधिकार गर्न भाडामा लिने कानून आउँदै गरेकोले क्षेत्रीय रंगशाला लिजमा या अधिकरण गरि अगाडि बढ्ने कुरामा नगरपालिकाले छलफल गरि प्रक्रिया अगाडि बढाउने कुरामा अधिकृत रेग्मीले समिक्षा गोष्ठीमा जानकारी दिएका थिए ।
आउँदो वर्ष काभ्रेका चारवटै नगरमा एकएक वटा दमकल खरिद गरिने प्रक्रिया नेपाल सरकारले मिलाएको नगरवासीलाई जानकारी दिँदै अधिकृत रेग्मीले नगरवासी आवाज उठाएर आए नगरपालिकाले सबै खाले क्रियाकलापमासँगै हिड्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
दलिय संयन्त्रको तर्फबाट नेपाली कांग्रेस पनौती नगर समितिका सभापति केदारबहादुर भण्डारीले नगरमा दीर्घकालीन योजनाहरु अघि बढाउने कुरामा लागेको बताउँदै एकीकृत खानेपानीको सवालमा पनौती नगरपालिकाको तर्फबाट १० बुँदा प्रस्ताव अघिसार्दा बनेपा र धुलिखेल नगर चुपलागि कानमा तेल हालेर बसेका कारण खानेपानी अप्ठ्यारोमा परेको धारणा राखेका थिए ।
अब खानेपानी ल्याउन ४५ करोड रकम आवश्यकता पर्नेछ, त्यो ल्याउने आधार के छ, डाटा के छन्, त्यो दल र नेताहरुले नगरवासीहरुलाई विश्वास दिलाउनपर्ने आवश्यकता रहेको सभापति भण्डारीले राख्दै धुलिखेल खानेपानी उपभोक्ता समितिले ‘हामी ४७ करोडको आयोजना किन एकीकृत खानेपानीमा मिसाउने ?’ भनि धुलिखेल नगर र निर्देशक समितिमा रहेका संयोजक अशोक व्याञ्जुले दुवैतिर खुट्टा टेकि दोधारे बनेकाले खानेपानी शंकाको घेरामा परेको ठोकुरा गरे ।
एकीकृत खानेपानी आयोजनाका व्यवस्थापक कोषनाथ अधिकारीले बोर्डमा पूर्णताको खाँचो, तीनवटै नगरमा छुट्टाछुट्टै समिति बन्नुपर्ने महसुस, समानुपातिक ढंगबाट तीनवटै नगरमा पानी वितरण, तीनवटा नगरमा छुट्टाछुट्टै समयमा एकएक घण्टा लोडसेडिङ्गको व्यवस्था गरिने जानकारी दिँदै धुलिखेल खानेपानी आयोजना यस एकीकृत खानेपानी आयोजनामा गाभिने प्रस्ताव आएको कुरा राखेका थिए ।
व्यवस्थापक अधिकारीले चामखर्क र सल्लेको लागि भालेश्वरबाट लिफ्टगरि चामखर्कका ६० घरधुरी र सल्लेका ३५ घरधुरीलाई छुट्टै व्यवस्था मिलाईने र पनौती नगरका १२ सय घरधुरी परिवार छुट्न गएको जानकारी समेत दिएका थिए ।
पूर्वनगरप्रमुख सप्तकाजी बुद्धाचार्यले नगरपालिकाले जिल्ला विकासबाट पाउनुपर्ने रकममा कदम चालिनुपर्ने भन्दै
नगर क्षेत्रभित्रका सिमानालाई गम्भिर रुपमा हेरिनु जरुरी रहेको बताएका थिए ।
पूर्वनगरप्रमुख बुद्धाचार्यले साथीहरुले आफ्नो हैसियत अनुसार काम गर्न अनुरोध गर्दै पुरातत्व विभागलाई उछिनेर घरनक्सा पास गरिएको प्रति आपत्ति जनाउँदै एकीकृत खानेपानीमा बरु थप एउटा मुहान थपेर भएपनि एकीकृत खानेपानीलाई उदाहरणिय रुपमा तयार गरिनुपर्ने धारणा राखि रंगशालाको हकमा सार्वजनिक जग्गा हडपेर कब्जा गर्नेहरुलाई कारवाहीको दायरामा ल्याई सो जग्गालाई दाखिला खारेज गरि पनौती नगरको नाममा ल्याइनुपर्ने सुझाव समेत राखेका थिए ।
पूर्वनगरप्रमुख बुद्धाचार्यले मापदण्ड विपरित भएका घर निर्माणहरुलाई तुरुन्त कारवाही गरि अगाडि बढ्नुपर्छ र पनौतीको चक्रपथ बाटो मापदण्ड तोकेर निर्माण कार्यलाई पूरा गरिनुपर्ने सुझाव राखेका थिए ।
नागरिक सरोकार समाजका संयोजक विश्वेश्वर बन्जाराले रंगशालाको काम थालनी नगरे रकम फ्रिज हुने पक्का भएको बताउँदै विदेश जान जग्गाको बढाई चढाई सिफारिस गर्ने तर एकीकृत सम्पतिकर नगरमा नतिर्ने द्वैध चरित्र गरि नगरबाट सिफारिस गरिनु नहुने धारणा राखेका थिए ।
एकीकृत खानेपानी कहिलेसम्म सम्पन्न हुने नगरवासीहरुलाई यथार्थ जानकारी दिनुपर्छ भन्दै संयोजक बन्जाराले नगरपालिकाका सिमानाहरुलाई अध्यावधिक गरिनुपर्ने कुरा व्यक्त गरेका थिए ।
आईटीपार्क पनौती क्षेत्रभित्रपर्छ, धनेश्वरमा बासिन्दाको किन बनेपामा नक्सा पास गरिएको हो, त्यस कुरामा ध्यान नगरपालिकाको जानुपर्छ र आफ्नो सिमानामा होडिङ बोर्ड राखिनुपर्ने धारणा समेत संयोजक बन्जाराले राखेका थिए ।
पनौतीमा सुकुम्बासाीहरुले हुकुमी चलाएका छन्, त्यसैले नगरपालिकाले चाँडो भन्दा चाँडो सुकुम्बासी हटाउन पहल गरोस् भन्दै नेता विश्वेश्वरले रंगशालाको सर्भे गर्ने मजदुरलाई ज्याला दिइयोस्, नमोबुद्ध– ग्वार्खाे ललितपुर सडकलाई बैकल्पिक सडकको रुपमा निर्माण गर्न जरुरी रहेको सभामा जानकारी गराएका थिए ।
पूर्ववडा अध्यक्ष कृष्ण सापकोटाले पकेटका उपभोक्ता समितिहरु खारेज हुनुपर्छ भन्दै ठेकेदारी प्रथालाई हटाई उपभोक्ता समिति मार्फत विकास निर्माणका कार्य गरे विकास निर्माणमा आएको रकममा चुहावट नहुने सुझाव दिएका थिए ।
यता रंगशाला निर्माणस्थलमा सार्वजनिक चौर
दर्ता गर्ने उपर नगरपालिकाले कारवाही गरि आफ्नो दायरामा ल्याउने पहल गरोस् भन्दै अध्यक्ष सापकोटाले काम गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गरि विकास निर्माणमा अगाडि बढ्नु जरुरी रहेको तर्क सारेका थिए ।
पत्रकार प्रल्हादशर्मा हुमागाईंले छलेश्वर वनको खानेपानीलाई नगरपालिकाले व्यवस्थापन मिलाउनुपर्ने, धनेश्वर र श्रीखण्डपुरका जग्गामा बनेका घरको नक्सा पास कहाँबाट भएका छन् भनि नगरपालिकाको ध्यानाकर्षण गराउँदै जेसिजले राष्ट्रिय सम्मेलन गर्न आईटीपार्कलाई बनेपा भनि प्रचार गरिनु निन्दनिय भएको र विकास निर्माणका कार्यमा अनुगमन समितिको प्रतिवेदन नगरपासीहरुले पाउनुपर्ने तर्क राखेका थिए ।
त्यस्तै एकीकृत संयन्त्र प्रतिनीधि परिच्छेद शर्माले एकीकृत खानेपानीको सवालमा नियोजित ढंगले स्टेरिङ समितिका संयोजक समेत रहेका धुलिखेल बासिन्दा अशोक व्याञ्जुले धुलिखेलको हितको लागि मात्र काम गर्छ न त उसले बनेपा र पनौतीको हितमा काम गरेका पाइँदैन भनि ध्यानाकर्षण गराई पनौतीलाई एकीकृत खानेपानीले नङ्ग्याउने खेल गरेको आरोप लगाएका थिए ।
पनौतीका वातावरणविज्ञ राजाराम कर्माचार्यले पनौतीले बनेपादेखि नै फोहोरको स्वागत गरेको छ भन्दै पनौती जाने बाटो सडक हो कि बगर हो छुट्याउन गाह्रो भएको बताउँदै व्यङ्ग्य गरेका थिए ।
पनौतीको खानेपानी दुषित रहेको नगरवासीहरु रोगी हुने भएकोले नगरको ध्यान जान जरुरी छ भन्दै कर्माचार्यले नगरमा वारुण यन्त्रको खाँचो रहेको र काँठ गणेशस्थानमा पानी पोखरी निर्माण गरि वारुणयन्त्र सञ्चालन गरिनुपर्ने धारणा राखेका थिए ।
वातावरणविज्ञ कर्माचार्यले विषादी न्यूनिकरणमा नगरपालिकाले चासो राखि पनौतीमा पर्यटन विकास केन्द्र पनि छ भनि ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रमको संचालन नासु केशव बन्जाराले गरेका थिए भने स्वागत मन्तव्य प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीले गरेका थिए ।
सोही कार्यक्रममा इन्जिनियर प्रेमकुमार सोनामले आ.व. २०७०÷७१ मा आम्दानी ७ करोड ८० लाख ९१ हजार र खर्च ६ करोड ३३ लाख ९२ हजार र आन्तरिक आय १ करोड ९ लाख ६२ हजार, आयस्रोतमा मुख्य आयस्रोतमा ७ करोड ८० लाख ९१ हजार, चालु खर्च ३ लाख ९७ हजार, पूँजीगत खर्च ४४ लाख ४६ हजार र कुल खर्च ४८ लाख ४३ हजारको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पनौती नगरपालिकामा १३ वटा ३३.७८ वर्ग किमि क्षेत्रफल २७ हजार ३ सय ५८ जनसंख्या, ५ हजार ९ सय ४३ घरधुरी रहेको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको प्राचिन नगरको रुपमा चिनिन्छ ।
इन्जिनियर सोनामले पनौतीका २, ४ ७, ८, ९ र १० मा सामाजिक परिचालन कार्यक्रमको लागु, ६ वटा नागरिक मञ्च, ६ वटा नागरिक सचेतना केन्द्रबाट सामाजिक परिचालन कार्यक्रम शुरु गर्न, पाठापाठी वितरण, गाउँघर क्लिनिक सेवा, बेमौसमी तरकारी खेती, कुखुरा चल्ला वितरण, फलफूलको बिरुवा वितरण, गाँजाखेती नष्ट र सचेतना केन्द्रबाट बचत तथा ऋणका कार्यक्रम सञ्चालन भएको जानकारी दिएका थिए ।
नगरमा जिविकोपार्जन कार्यक्रम, २ हजार २ सय १३ व्यक्तिगत घटनादर्ता, १३ हजार ७ सय २८, १६ वटा मुख्य समस्याहरु र नगरपालिकाले गरेका १० वटा अनुकरणिय कार्यहरुबारे समेत जानकारी गराएका थिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |