भुम्लुमा मूलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव हुदै
प्रभातफेरी अनलाइन६९९९ पटक पढिएको प्रकाशित मिति: २०७६ कार्तिक १९, मंगलबार (५ साल अघि)
धुलिखेल/भिजिट वर्ष २०२० लाई महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा परिचित गराउने उद्देश्य सहित भुम्लु गाउँपालिका वडा नं. १ सापिङमा अवस्थित मूलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव २०७६ को आयोजना हुने कुरा जानकारी पत्रकार सम्मेलन मार्फत् मंगलबार जानकारी गराइएको छ ।
मूलखर्क भीमसेन मन्दिर र आसपासको मनोरम स्थलको धार्मिक, साँस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका बारेमा जानकारी दिने उद्देश्यले दुई दिने साँस्कृतिक महोत्सव गर्न लागिएको संयोजक अनिलकुमार बुढाथोकीले पत्रकार सम्मेलनमा प्रेषित विज्ञप्तिमा उल्लेख गरेका छन् ।
भुम्लु गाउँपालिकामा रहेको जातिय विविधता, साँस्कृतिक एवं धार्मिक अनेकताको बिचमा ऐतिहासिक महत्व रहेको मूलखर्क भीमसेनस्थान सबैको आस्था र विश्वासको केन्द्रको रुपमा परिचित गराउने उद्देश्यका साथ प्रवद्र्धन र विकासका लागि धार्मिक पर्यटक एवं अन्य आन्तरिक पर्यटकको आकर्षकको गन्तव्य बनाउने मूल उद्देश्यका साथ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सव २२ गतेबाट सुरु २३ गते समापन हुनेछ ।
प्रदेश नं. ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको प्रमुख आतिथ्यतामा उद्घाटन हुने र काभ्रे क्षेत्र नं. २ (क) का प्रदेश सांसद लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा कार्तिक २३ गते समापन गरिने समेत उक्त पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । जानकारी गराए अनुसार महोत्सवमा राष्ट्रिय र स्थानीय स्तरका चर्चित कलाकारहरुबाट मौलिक र जातिय संस्कृति झल्कने विविध प्रस्तुती प्रस्तुत गर्नुका साथै उत्पादनका बिक्रि स्टल र अर्गानिक तयारी खाद्य पदार्थको साथमा फुटसलको समेत व्यवस्था हुने बताइएको छ ।