आर.एल.श्रेष्ठ
नेपाली समाजमा जब गर्मी मौसमको सुरुवात हुन्छ, तब–तब नेपाली मनहरु झस्किन पुग्छन् । यसको प्रमुख कारण भनेको झाडापखालाबाट सुरु भई हैजामा पुगेर मृत्युवरण गरेको इतिहासले कुपोषित बालबालिकादेखि वृद्धाहरुलाई कहिल्यै पनि त्यसले झस्काउन छोडेको छैन । सामान्यतया गर्मी मौसममा फैलने महामारी रोग नै हो झाडापखाला । सामान्यतयाः दैनिक दुई÷तीनपटक वा त्यसभन्दा बढी पानीजस्तो पातलो दिसा लाग्नु झाडापखाला मानिन्छ । हाम्रो नांगो आँखाले देख्न नसकिने जीवाणुबाट खाना र पानी संक्रमित हुन्छ र त्यो खाना, पानी हाम्रो फोहोर हातको माध्यमबाट निरोगी मानिसमा सर्छ । झाडापखाला विषाणु, जीवाणु र परजीवीका कारणबाट लाग्ने गर्दछ ।
अध्ययन अनुसार भाइरसभन्दा ब्याक्टेरिया र ब्याक्टेरियाभन्दा परजीवीबाट हुने झाडापखाला लामो समयसम्म रहने र उपयुक्त औषधि प्रयोग नगरे बेहोस हुन गई मृत्युवरणसम्म स्वीकार्न बाध्य हुन्छ रोगी । साथै हाम्रो खानपान र वातावरणीय प्रभावले शरीरका प्रणालीमा रोग, एन्टिबायोटिक औषधि र अन्य केही औषधिका कारणले पनि पखाला गराउन सक्छ ।यो झाडापखालाले प्रकोपको रूप लिनु र महामारी बनेर फैलिनु भनेकै समस्या निम्त्याउनु हो । यसको लागि हामीले स्वच्छ खानेपानी पिउने र सरसफाइमा विशेष ध्यान दिनु जरुरी छ । झाडापखाला सबै उमेर समूहका मानिसलाई लाग्दछ । विशेषगरी बालबालिकालाई यसले बढी सताउँछ । पटकपटक पानीजस्तो पातलो दिसा लाग्नु, वाकवाकी लाग्ने र वान्तासमेत हुने गर्छ ।
सामान्यतयाः झाडापखाला हुँदा दिसामा नपचेको खानाका टुक्रा आउने, दिसा धेरै गन्हाउने, पेट गड्याङगुडुङ गर्ने र दुख्ने, हातखुट्टा र मांसपेशी दुख्ने, बाउँडिने र गल्ने हुन्छ भने बच्चाहरुमा झर्को मान्ने, तिर्खा बढी लाग्ने, रिंगटा लाग्ने, कमजोरीको महसुस हुने, मुख सुख्खा र फोहोरी हुने, आँखा गाडिने, पिसाब कम हुने, रुँदा आँसु नै नआउने, आँखा सुख्खा हुने, शरीर चिसो हुने गर्दछ । पेटको छाला तन्काएर छोड्दा मुजा परिराख्ने समस्या हुन्छ । नाडीको गति कम, मन्द र पत्ता लगाउन गाह्रो हुने, रक्तचाप कम, श्वासप्रश्वास तीव्र र आलस्य हुने यसको लक्षणहरु हुन्
झाडापखाला लाग्दा घरमै उपचार गर्न सकिन्छ । प्रशस्त मात्रामा घरेलु झोल पदार्थका खानेकुराहरू खुवाउने, यदि आमाको दूध खान बच्चा हो भने अरू समयमा भन्दा बढीपटक खुवाउने, अलिकति ठूलो बच्चा भए प्रशस्त मात्रामा झोलिलो खानेकुराहरू जस्तैः दालको झोल, मसला कम भएको तरकारी, गेडागुडीको झोल, केरा, माछामासु, फलफूलको रस, भातको माड, अन्न पातलो लिटो खुवाउनु उपयुक्त मानिन्छ । झाडापखाला लागेको समयमा पानी प्रशस्त मात्रामा खानुपर्छ । झाडापखाला हुँदा हाम्रो शरीरबाट नुन र पानी खेर गएको हुन्छ, त्यसैले यसको लागि पुनर्जलीय झोल बनाएर प्रशस्त पिउनुपर्छ । झाडापखाला मात्रै नभएर शरिर स्वस्थ राख्नका लागि पनि हामीले सधैँ झोलिलो खानेकुरा खानुपर्छ । सधैँ साबुन पानीले राम्रोसँग हात धोई सफा गरेर मात्रै खानेकुरा खानुपर्दछ । पखाला लाग्दा पुनर्जलीय झोल निकै महत्वपूर्ण मानिन्छ ।
घरेलु उपचार गर्दा झाडापखालाको अवस्था राम्रो हुँदै जानुपर्छ भने दुई÷तीन दिनसम्म राम्रो नभए दिसा धेरै पातलो गरे, तारन्तार वान्ता गरे, ज्यादै तिर्खाए, खाना खान नसके, ज्वरो आयो वा कम्पन हुन थाले, मुख खुट्टा सुन्निए, नाडी कमजोर र छिटो–छिटो चलिरह्यो भने तुरुन्त चिकित्सकसमक्ष सल्लाह गर्न जानुपर्छ ।
पानी र खानेकुराकै कारण झाडापखाला हुने भएकाले पानीलाई राम्रोसँग उमालेर मात्रै पिउनुपर्दछ । त्यस्तै बासी खानेकुरा खानुहुँदैन । गर्मीमा खानेकुरालाई फ्रिजमा राखेर खानु उपयुक्त हुन्छ । धेरै समयसम्म बाहिर राखेर खाँदा असर गर्दछ । झाडापखाला बढी भएर बेहोस हुन सक्ने र अझ उपचार ढिलो गर्यो भने बिरामीको मृत्युसमेत हुने भएकाले यसलाई सामान्य मान्नुहुँदैन । खानेपानीमा समस्या, प्रदूषण र सरसफाइमा समस्याका कारण झाडापखाला निम्तिने हुनाले नेपालमा हजारौँ बालबालिकाको अकालमै मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ ।
यो रोग गर्मीको समयमा बढी हुने भएकोले खानपानमा निकै ध्यान दिनु जरुरी हुन्छ । त्यसैले आफ्नो शरीरलाई स्वस्थ राख्न पौष्टिक खानेकुरा खानुपर्दछ । साथै नेपालको भूबनोट अनुसार आफूलाई परिचालन गर्न सके यो समस्या होइन । नत्र यो महामारीको रुपमा निम्तिँदै आएको कारणले पनि नेपालीहरुलाई गर्मी भनेपछि झस्कन करै लाग्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |