प्रल्हाद शर्मा हुमागाई
बनेपा-यतिबेला आवाजविहीनहरुको आवाज बुलन्द गर्ने श्रमिकहरुको छाता संगठन नेपाल पत्रकार महासंघ काभ्रे शाखाका बारेमा स्वयं पत्रकारहरु नै आलोचनामा उत्रिएका छन् । आफ्नै हकहितका लागि समर्पित हुने उद्देश्यसहित स्थापना भएको छाता संगठनका बारेमा आलोचनात्मक रुपमा प्रस्तुत हुनुपर्दा आफैंलाई असजिलो महसुस भएको स्वयं चर्चामा सरिक पत्रकारहरुको तर्क छ ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखा निरंकुश ढंगले आफ्नै सदस्यमाथि खनिनु दुःखद पक्ष रहेको अधिकांश सदस्यहरुको गुनासो छ । राजनीतिक दलमा गुट उपगुट भएको समाचारहरु कोर्दै आएको नजिर अहिले आएर नेपाल पत्रकार महासंघमा पनि मौलाएको अभिव्यक्ति दिन पछि पर्दैनन् पत्रकारहरु । कुनै पनि कानूनमा कसैलाई पनि सजायँ दिनु अगाडि उमाथि लागेको आरोपको बारेमा प्रष्ट्याउने मौका दिइन्छ । उसले आफ्नो गल्ती औंल्याउन पाउँछ तर नेपाल पत्रकार महासंघ काभ्रे शाखामा त्यो अभिव्यक्ति स्वतन्त्रता अधिनायकवादमा गएर जोडिएको पिडित पत्रकारहरुको गुनासो छ । उहाँहरुको सबैको आशय हामीले हाम्रो सफाई पेश गर्न नपाउनु कहाँसम्मको अधिनायकवाद लादिएको हो ? भन्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखाको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् ।
उनीहरुका अनुसार यतिखेर झण्डै ३ दर्जनभन्दा बढी सञ्चारकर्मीहरुलाई बिना कसुर छलछाम गरेर पत्रकारिता जीवनबाट सफाय गर्ने जमर्काे गरेको गुनासो सार्वजनिक भएको छ । उहाँहरुका अनुसार आस्था, निष्ठालाई आँच पुग्ने गरी जुन गतिविधि गरेर सदस्यता नविकरण गर्न पाउने अधिकारबाट बञ्चित गरियो, यसप्रति हाम्रो गम्भीर आपत्ति भएको उहाँहरुको मत छ । विगतदेखिका क्रियाकलापलाई हेर्दा नेपाल पत्रकार महासंघ काभ्रे शाखाको हालको नेतृत्वले पूर्वाग्रही ढंगबाट हाम्रो सदस्यता नविकरण गर्नबाट बञ्चित गरेको हामीले महसुस गरेका छौं भन्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखाको ३६औं र ३७औं बैठकका बारेमा अहिले सडक तातेको छ । पछिल्लो महासंघको नेतृत्वले आफू निर्वाचित भएलगत्तै निर्वाचनमा देखिएको असन्तुष्टिलाई सदस्यता नविकरणमा ल्याएर प्रतिशोध साँध्ने काम गरेको पिडितहरुको तर्क छ ।
केही पत्रकारहरुको सदस्यता निष्क्रियताको पगरी थमाउँदै स्थगनको हौवा फैलाउन सफल मात्र भएनन् कि आफ्नै कार्यसमितिका सदस्यहरुलाई समेत गुमराहमा राखेर सत्यतथ्य लुकाउन समेत सफल भए । जसको कारण अन्यायमा परेकाहरुले हाम्रो सदस्यता किन नविकरण नगरेको भनी प्रश्न गर्दा तपाईंहरुको सदस्यता अर्काेपटक नविकरण हुन्छ भनेर नगद समेत बुझेको स्वयं कार्यसमिति सदस्य समेत स्वीकार्छन् । दोस्रो वर्ष पनि त्यस्तै बहाना पारेर अलमल्याउँदै कोषाध्यक्षले अध्यक्ष देखाउने, अध्यक्षले सचिव देखाउने गर्दै दोस्रो वर्ष पनि नविकरण गरिदिएनन् ।
अब तेस्रो वर्ष आएर नविकरण खुलेको सूचना लगतै नविकरण गर्न जाँदा तपाईंहरुको लगातार २ वर्ष नविकरण नभएको कारण विधान सम्वत् अब नविकरण गर्न मिल्दैन भन्दै सिंगो महासंघ गैर जिम्मेवारी ढंगबाट प्रस्तुत हुन पुग्यो । त्यति मात्र होइन, हामी पिडितहरुलाई गैर जिम्मेवारी बनाउँदै आफू पानीमाथिको ओभानो बन्ने कुचेष्टा समेत नेपाल पत्रकार महासंघ काभ्रे शाखाले गरेर बैठकको निर्णय सार्वजनिक गर्दै ऐतिहासिक सफलता हासिल गरेको भन्दै आफूलाई नंग्याउन पुग्यो । यो जति दुःखद पक्ष हामी पिडितका लागि अरु के हुन सक्छ ? यसरी पिडा पोख्नेहरु झण्डै दर्जनौं छन् ।
यिनै विषयलाई लिएर अन्यायमा परेका पत्रकार महासंघको विधि विधान सम्वत् जिम्मेवारी बहन गरेर आस्थामा अडिक रहेका पिडित दर्जनौंमध्येका केही सञ्चारकर्मीहरुसँगको भनाई जस्ताको तस्तै राख्ने जमर्काे गरेका छौं ।प्रदेश पार्षद एवं वरिष्ठ पत्रकार बसन्त श्रेष्ठको तिखो टिप्पणी छ– नेपाल पत्रकार महासंघ काभ्रे शाखाले गम्भीर भुल गरेको छ । हाम्रो सक्रियता, निष्क्रियताको बारेमा मूल्यांकन गर्ने संयन्त्र के नेपाल पत्रकार महासंघ हो ? यसका बारेमा गम्भीर आपत्ति छ । उसको अधिकार क्षेत्रभित्र यो विषय छ कि छैन बुझ्न जरुरी छ । उसको दायित्व हामी सञ्चारकर्मीहरुको हक, हित र अधिकारका बारेमा हाम्रा आवाजहरुलाई बुलन्द गर्ने एउटा निकाय मात्र हो महासंघ ।
अर्काे हाम्रो क्रियाशीलताका बारेमा जानकारी नै नदिई एकपक्षीय ढंगबाट हामीमाथि जुन आरोप लागेको छ, त्यसप्रति हाम्रो आपत्ति छ । मैले यो कार्यसमितिको अध्यक्षलाई पचासौं पटक फोन गरेको छु । वहाँ कहिल्यै फोन उठाउनु हुन्न । महासंघको कार्यालयमा जाँदा ताला नै लागेको हुन्छ । छिमेकीहरुलाई सोध्दा बैठकका दिनमा मात्रै आउनुहुन्छ भन्ने जवाफ पाइन्छ । यो अवस्थामा हामीले कुन माध्यमबाट सम्पर्क गर्ने पहिलो कुरो । अर्काे हाम्रो योग्यता मापन गरेर जुन निचोड निकालिएको छ, त्यसको जवाफ नेपाल पत्रकार महासंघ काभ्रे शाखाले दिन सक्छ ? जो बाउको … मा पनि आएको थिएन होला, हामीले पत्रकारिता गरिरहँदा, उसैले हाम्रो पत्रकारिताको बारेमा मापन गर्ने हैसियत राखेकोमा गम्भीर प्रश्न खडा गरेको छ ।
हाम्रो मान मर्दनप्रति आँच पु¥याउने काम गर्ने त्यो अधिकार महासंघका अध्यक्षलाई कसले दियो ? के हामीलाई अन्यौलतामा कुहिरोभित्र हराएको काग बनाउने चेष्टा गर्न लाग्नुभएको हो ? यदि यस्तो हो भने उहाँहरुले बेलैमा आफ्नो गल्तीलाई सच्याउनुको विकल्प छैन । न उहाँहरुको कुनै भाग खोस्न गएका थियौं हामी ? किन यस किसिमको पूर्वाग्रही ढंगबाट सफाय गर्ने काम गर्नुभयो, अहिले चासोको विषय बनेको छ र मैले महसुस पनि गरेको छु । हामीलाई मनगढन्ते ढंगबाट कारवाही गरेर सजायँको भागीदारी बनाउन खोज्नु हदैसम्मको निच कार्य भएको मेरो ठम्याई छ । के हामीले क्षम्मे नै नहुने त्यत्रो गल्ती ग¥यौं ? के महासंघको विधि विधान मिच्ने काम ग¥यौं ? हाम्रा पत्रिका नेपाल पत्रकार महासंघ काभ्रे शाखाको लगानीमा चलेको र उसैको पारिश्रमिकमा बाँचेका हौं ? मालिकको आदेश त मान्नैपर्छ नि, हामी त कारिन्दा मात्रै हौं नि हैन ? हो, यसको जवाफ मोतिजीले दिनुपर्छ । के हाम्रो कमीकमजोरीका बारेमा गल्तीका बारेमा जान्न पाउने अधिकार छैन हामीलाई ? नेपाल पत्रकार महासंघ काभ्रे शाखाभित्रको स्वतन्त्रता छर्लंगै यसले पारेको छैन ? नेपाल पत्रकार महासंघ काभ्रे शाखाले जुन पूर्वाग्रही ढंगबाट हाम्रो चरित्रहत्या गर्ने काम गरेको छ, त्यसप्रति हाम्रो गम्भीर आपत्ति छ । साथै जुन किसिमको आपत्तिजनक गतिविधि गरेको छ, त्यसका विरुद्ध न्यायालयको ढोका ढक्ढक्याउन परेपनि आफूहरु तयार रहेको श्रेष्ठको धारणा छ ।
त्यस्तै अर्काे व्यक्तित्व पत्रकारिता क्षेत्रका अनुकरणीय प्रेरणादायी अभियान्ता सुवासकाजी श्रेष्ठको धारणा छ– हाम्रा बारेमा मूल्यांकन गरेर हाम्रो सदस्यता खारेज गर्ने दुष्कर्म नेपाल पत्रकार महासंघ काभ्रे शाखाले ग¥यो भन्ने लाग्छ । हाम्रो के दोष ? हामीले के गल्ती ग¥यौं ? के हामीले जानकारी पाउनु पर्दैन ? अनायास सार्वजनिक रुपमा हाम्रो मानमर्दनमाथि आँच पुग्ने गरी सदस्यता खारेज गरिएको अप्रिय निर्णय गर्नु यो क्षेत्रमा जीवन खोज्नेहरुका लागि दुःखद क्षण रहेको मैले महसुस गरेको छु । हाम्रो मूल्यांकन गर्ने हैसियत, अधिकार महासंघलाई कहाँबाट गयो ? कि पत्रकार महासंघको विधानमा ति अधिकारहरु जिल्ला अध्यक्षहरुलाई व्यक्तिगत रुपमा दिएको छ कि ? अन्यथा कसरी यस किसिमको निर्णय हुन पुग्यो ? मोतिरामजीले यस बारेमा जवाफ दिन जरुरी छ । हामी कुनै पद खोस्न गएका थिएनौं । महासंघको सदस्यता भज्याएर कुनै लाभ लिन गएका थिएनौं । हामी त नितान्त पत्रकारिताको मर्म, धर्म र विधि विधानभित्र रहेर महासंघको भलो चिताएका थियौं भन्ने लाग्छ । किन हाम्रा बारेमा कुटिल चाल चल्यो थाहा भएन । विधि सम्वत् ढंगबाट हाम्रो सदस्यता खोस्न सक्ने अवस्था थिएन । त्यसैले पनि जालझेलको बाटो रोजियो, त्यसप्रति मेरो गम्भीर आपत्ति छ ।
हाम्रो सदस्यता खोसेर ठूलै उपलब्धी हासिल भएको सपना देख्नुभएको छ भने त्यो तपाईंका लागि दिवा सपना मात्र हुनेछ । यस्ता किसिमका घटनाक्रमले समग्र महासंघ नेतृत्वप्रति नै आशंका उब्जिनु नौलो रहेन । फोन सम्पर्क गर्दा फोन नउठाउने, कार्यालय जाँदा कार्यालयमा ताला लगाउने अनि समयमा नविकरण गर्न आएन भनेर चरित्रहत्या गर्ने कार्यप्रति मेरो घोर भर्सना छ । हामी आबद्ध मिडियाको मालिकै उहाँहरु भएजसरी प्रस्तुत हुनुले हामीमा गम्भीर धक्का लागेको छ । स्मरण रहोस्, पत्रकारिताका ४०औं वर्ष पार गरिरहँदा अहिले आएर जुन हर्कत गरियो, त्यसलाई क्षमा दिने शब्द नै छैन । यो अधिकार मोतिजीलाई कसले दियो भन्दै तिखो टिप्पणी गर्न श्रेष्ठ पछि पर्नुभएन ।
अर्का पिडित पार्षद सदस्य उद्धवप्रसाद पौडेलको तर्क छ– नेपाल पत्रकार महासंघ काभ्रे शाखाले जुन पूर्वाग्रही ढंगबाट अत्यन्तै निच हर्कत देखाएको छ, त्यसप्रति हामी पिडितलाई गम्भीर हुन बाध्य पारेको छ । मोतिजीलाई र हामीलाई भोट हाल्ने मतदाता एउटै हुन् । उहाँको हालिमुहाली चलिरहने अनि हामी पेशाप्रति बफादार हुँदा पनि हाम्रो साधारण सदस्य समेत नरहने गरी निर्णयमा पुग्नु घृणित कार्य होइन ? यो अधिकार मोतिलाई कसले दियो ? यसको जवाफ सार्वजनिक रुपमा आउनुपर्छ भन्ने मेरो अडान छ । पटक–पटक नविकरणका लागि धाउँदा विभिन्न बहाना गरेर आलटाल गर्ने अनि अन्तिममा आएर विधि सम्वत् नविकरण नभएको भन्दै पन्छाउने काम गर्नु कसको दोष हो ? के हाम्रो दोष हो ? उसले तोकेको, निर्धारण गरेको विधिभित्र नसमेटिएका भए हो ! हो हामी दोषी हौं तर निर्दोष हुँदाहुँदै दोषीको भागीदारी बनाउन खोज्नु महासंघको गम्भीर लापरवाही हो । हामी कुनै फटाहाको भाग खोस्न गएका थिएनौं । किन संकीर्ण सोचका कारण हामीमाथि तल्लो स्तरको कार्य गरियो ? जवाफ चाहिन्छ ।
नविकरण गर्ने बाटो बन्द गर्ने आफैं अनि नविकरण गर्न आएनन् भनेर नाटक मञ्चन गर्ने धन्य छ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाप्रति भन्दै पौडेल थप्छन्– यस्तो निष्कृष्ट काम गर्नेहरुले सामाजिक रुपान्तरणमा समाजमा के सकारात्मक सन्देश देलान् भनेर यो समाजले अपेक्षा राख्ने ? अझ उनैका ठूला कुरा । ऐतिहासिक सफलता हासिल गरेको भन्दै सामाजिक सञ्जाल र केही ठुटे अनलाइनमा रंगिन लाज लाग्दैन । म त भन्छु हामीमाथि जुन किसिमको जालझेल गरेर हामीलाई गुमराहमा राखेर हाम्रो सदस्यता खोस्ने काम भयो, त्यसका विरुद्ध महासंघप्रति खेद व्यक्त गर्दछु ।
त्यस्तै आदिवासी जनजाति कोटाबाट पटक–पटक जिल्ला शाखामा नेतृत्व सम्हाल्दै पछिल्लो पटक पार्षदका रुपमा निर्वाचित हुन पुगेका जीवन खड्गीको तर्क छ– यस किसिमको कुटिल र कसैले कसैको निर्देशनमा कसैलाई सिध्याउने कल्पना समेत आफ्नो ३ कार्यकालमा गरिएन र भएन पनि तर आज जिम्मेवार एउटा समाजको आँखाको नानी भनेर परिभाषित भएको संस्थाले जुन किसिमको तल्लो स्तरका हर्कत देखाउँदा आफूहरुलाई असह्य भएको पिडा पोख्दै तिनै मतदाताहरुले निर्वाचन गरेर मोति अध्यक्ष रहने अनि म तिनै मतदाताले निर्वाचित गरेको पार्षद भने साधारण सदस्य पनि हुन अयोग्य हुने ! कस्तो खालको विधि बनेछ नेपाल पत्रकार महासंघ काभ्रे शाखामा । गजब छ महासंघको निर्णय । मोतिलाई उहाँको यो कार्यकाल अवधिमा सयौं पटक फोन गरें होला, कयौं पटक खोज्दै हिँडे तर भेट्न सकिनँ ।
फोन नउठाउने, भेट गर्न खोजे भेट नदिने अनि अहिले आएर नविकरण गर्न नआएको भन्दै सदस्यता खोस्ने नियतका बारेमा के नै भन्नु छ र ? सचिव, कोषाध्यक्षलाई पैसा र आवश्यक कागज प्रमाण बुझाउन खोज्दा मोतिजीलाई सोध्नुपर्छ भन्दै तर्किने परिपाटीले म मात्र होइन सबै पिडित साथीहरुको समस्या एउटै होला भन्ने लाग्छ । लाज पचेपछि जे पनि हुँदो रहेछ, अरुलाई दोहोरो सुविधाको कुरा गर्ने, आफू सार्वजनिक र जिम्मेवार पदमा रहेको व्यक्ति भएर कसैको अनियमितता लुकाउने, ढाल बनेर उभिने कस्तो चरित्र हो ? सबैतिर प्रश्न चिह्न खडा गरिदिएको छ । बुझ्नै नसकिने छेपारो प्रवृत्तिप्रति मेरो गम्भीर आपत्ति छ । अर्काे बैठकको बारेमा सामाजिक सञ्जालमा आएका समाचार हेर्दा अत्यन्तै दुःख लागेको छ । यसले त पत्रकारितामा रम्न खोज्नेहरुका लागि ३६औं र ३७औं बैठक कालोदिनका रुपमा रहेको मैले बुझेको छु । त्यसैले एक माघले जाडो जाँदैन मोतिजी हेक्का रहोस् ! हुन त बैठकमा फरक मत राख्ने साथीहरुलाई हिसाबकिताब हुन्छ भनेर धम्क्याउनु भएको छ क्यारे, हिसाबकिताब कसले कसको राख्छ हेर्दै जानुहोला ।
यता आफूलाई मानव अधिकारकर्मी भनेर परिचित गराउन तल्लीन एवं पूर्व नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष भोजराज तिमल्सिनाको कथन छ– यो त काष्टिङ मात्रै हो, सिरियल त आउन बाँकी नै छ । अब काभ्रेमा एमाले र कांग्रेस मात्रै हो, याद राख्नुस्, विस्तारै मतदाता बाहेक अरु हैसियत हुँदैन माओवादीको भन्दै तल्लो स्तरको प्रतिक्रिया दिन पछि पर्नुभएन । (परिवार नियोजन चोकमा सार्वजनिक रुपमा तिमल्सिनाले व्यक्त गरेका अभिव्यक्तिहरुलाई सम्मानित भाषामा जस्ताको तस्तै उहाँकै अनुमतिमा लिपिबद्ध गर्ने जमर्काे गरेको छु ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |