मेरो विषय प्रवेशको आधार हो कवि तथा साहित्यकार सूर्यप्रसाद लाकोजूका अठतिस ओटा कविताहरूको सङ्ग्रह घामको चुम्बन । यो लाकोजूका प्रकाशित अमर कृतिहरूमा बारौँ हो । यो पुस्तक परिवेशले सिर्जना गरेका देश, काल तथा परिस्थितिजन्य अनुभूतिहरूले आलोकित छ । यसभित्रका अठतीस ओटै कवितामा कतै पनि भूतको चिन्ता छैन । यसमा न त काल्पनिक भविष्यको परिकल्पना नै छ । यिनमा वर्तमान समयको सदुपयोग र मानव जीवनको सार्थकता सम्बन्धी यथार्थ चिन्तनहरू छछल्किएका छन् । यो कविताहरू पर्सि बिस सेलीले भने झैँ कल्पनाको अभिव्यक्ति पनि हुन सक्छन्, प्रो. विल्सनले भने झैँ अनुभूतिले रंगाएको विवेक पनि हुन सक्छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने झैँ सजीव अनुभवहरूको कलात्मक प्रकाशन पनि हुन सक्छन्, युगकवि सिद्विचरण श्रेष्ठले भने झैँ सत्यको उद्घाटन पनि हुन सक्छ । जे होस् कविताहरूभित्रका अन्तर्निहित उद्देश्य तथा भावहरूलाई पर्गेल्दा सबै कविताहरू परिस्थितिले सिर्जना गरेका अनुभूतिहरूको कलात्मक प्रकाशन हुन् चाहिँ नभनिरहन सकिन्न ।
मानव विकास क्रममा उत्पन्न भएको चेतनशक्ति अत्यन्त महत्वपूर्ण छ । अन्य प्राणीभन्दा मानिसले आफ्नो श्रमशक्तिलाई विभिन्न रूपमा प्रयोग गर्न जानेको र श्रमलाई नै निरन्तरता दिँदै गएको हुँदा नै अरु प्राणीमा भन्दा मानिसमा बौद्विक विकास बढी भएको हो । यसरी बौद्विक विकास हुनुको मूलाधार भन्नु नै उसको चेतनशक्ति हो । आध्यात्मवादीहरूले चेतनशक्तिलाई आत्मा, परमात्मा जे भने पनि मानिसमा अन्तर्निहित शाश्वत पराशक्ति नै चेतनशक्ति हो । यसै चेतनशक्तिकै परिणाम स्वरूप नै मानिसको अर्को महŒवपूर्ण शक्ति भाषा हो । भाषा नै ज्ञान, विज्ञान, गणित, धर्म, सँस्कृति, साहित्य आदि सारा कुराको प्रमुख माध्यम बन्यो । मानिसको चेतनशक्ति, परिश्रम र जिज्ञासा नभएको भए मानिस अरु प्राणीभन्दा कुनै कुरामा फरक हुने थिएन । भाषाको विकासकै क्रममा अभिव्यक्तिका अभिलेखहरू सिर्जना भए । वाङ्मयका माध्यमबाट दिइने अभिव्यक्ति मध्ये सबैभन्दा पहिले पद्य नै हो । पद्यको धेरै कालपछि मात्र गद्यले अभिव्यक्तिको भारबहन गरेको छ । बौद्विक तथा पौराणिक कालका महान् ग्रन्थहरू अधिकांश पद्य वा कवितामै रचिएका छन् । हिन्दुधर्मको सबैभन्दा ठूलो महाकाव्य वा पाँचौँ वेद महाभारत पद्य मै लेखिएको हो । त्यस्तै पुराण, उपनिषद्, संहिता आदि पनि पद्य विधाकै नमूना हुन् । यसरी हेर्दा अभिव्यक्तिको विशिष्ट माध्यम कविता हो भन्दा फरक होइन।
कविता मानव मष्तिस्कको कलात्मक गति हो । कुनै वस्तुलाई झन् राम्रो रूपमा प्रस्तुत गर्नु कला हो । त्यसैले अनुभूतिहरूलाई कलात्मक ढंगले प्रस्तुत गर्ने हुँदा कविता पनि विशिष्ट कला हो । कविताको कुनै निश्चित विषय हुँदैन । जसले अन्तर्मनका भावनात्मक संवेगहरूलाई तरङ्गित पार्छ त्यो नै कविताको विषय हो । कविताले एकाग्रको नभई समग्रको, विशेष व्यक्तित्वको नभई सर्वसाधारणको मनलाई छुन सक्नुपर्छ । यसमा अभिव्यक्तिको न अति फितलोपन नै हुनुपर्छ । न अति क्लीष्ठ नै । त्यस्तै शाब्दिक तथा भाषिक दृष्टिले यी दुबै अतिका बिचको सहज हुनुपर्छ । कविताको गहनता त्यसको अर्थ बोधगम्यताको सरल, प्रष्ट, सोझो, भाषा, भाव छर्लङ्ग खुलेको आधारमा आंकन गरिन्छ । त्यस्तो विशेषता बहन नगर्ने कविता छिपछिपे हो, सतही हो र सिकारूपन हो । कविता विशिष्ट अभिव्यक्ति भएको हुँदा यसको अर्थ शाब्दिक नभई व्यञ्जनात्मक वा लाक्षणिक हुने गर्छ । यस उपमा, अलङ्कार, प्रतीक, बिम्ब, अनुप्रास, छन्द आदिको प्रयोग हुनुपर्छ । कविताको भाषा जति क्लिष्ठ भयो त्यति गहन भयो, जति श्लिष्ठ भयो त्यति गुमायो दर्जा कविताले भनी आफूलाई साहित्यको के क ेन मर्ममेदी हुँ भनेहरूको संख्या पनि कम नहोला । तिनीहरू कविताको बोक्रे अर्थ लगाएर आफूलाई साहित्यका मर्मभेदी भनाउँदै लौका जत्रो नाक पार्दछन् सर्वसाधारणका सामु । काल्पनिक दुनियाँमा डुबेको रबिन्द्रनाथको गीताञ्जली, जगशङ्कर प्रसादको कामायनी तथा कालिदासको उपमा अलङ्कारयुक्त मेघदूतमा रमाएको अभिनय गर्छन् ।
हिलो पुस्ताको कविता पछिल्लो पुस्ताका लागि प्रेरणा बन्नुपर्छ । साहित्य समाजको ऐना भएकाले समाजमा भए गरेका राम्रा नराम्रा सबै क्रियाकलापहरू सर्वसाधारणले सहज रूपमा बुझ्न सक्ने गरी कलात्मक अभिव्यक्तिमा कविताहरू रचिनुपर्छ । कविताले वास्तवमा के भन्न खोजेको हो सोको अर्थ विशेष रूपमा नभई सहज रूपमा निस्कनुपर्छ । समयको परिवर्तनसन्गै मानिसका विचार, भावना, वाद, सिद्वान्त, सामाजिक मूल्य र मान्यता, जीवनशैलीमा पनि क्रमिक परिवर्तनहरू आइनैरहन्छन् । त्यसैले त भनिन्छ , परिवर्तन संसारको नियम हो, अर्थात् संसारमा कुनै कुरा पनि नित्य छैन । गौतम बुद्वले पनि संसारलाई अनित्य भनेका छन् । पछिल्ला पुस्ताका कवि साहित्यकारहरू पहिलो पुस्ताका कवि साहित्यकारका कृतिहरूबाट प्रेरित भए तापनि हुबहु त्यही परिवेशमा नभई समय सोपेक्ष नै हुन्छन् । साहित्य देश, काल र परिस्थितिबाट प्रत्यक्ष रूपमा परिवर्तन हुने भएकाले सबै साहित्यकारको भावनात्मक संवेगहरू समय सापेक्ष रूपमा नै कवितामा तरङ्गित हुन्छन् ।
परिवर्तन संसारको एक मात्र सर्वाधिक महŒवपूर्ण सत्य हो । संसारका हरेक कुरा परिवर्तन भइ नै रहन्छ । संसारमा स्थिर भन्नु केही पनि छैन । समयको गतिसंगै परिवर्तनको गति पनि अगाडि बढीनैरहन्छ । यसबारे गहिरो चिन्तन मनन गर्ने हो भने सबैभन्दा पहिले आफैलाई हेरे हुन्छ । कुनै बेला हामी धरतीमा अवतरित नै थिएनौँ । जन्मदा शिशु थियौँ । परिवर्तनको गतिकै कारण आज यस अवस्थामा आइपुगेका छौँ । हामी आफैमा हेर्दाहेर्दै कति परिवर्तन आयो । नियमित रूपमा टेलिभिजन हेर्ने हो भने कार्यक्रम प्रस्तोता क्रमशः बूढो हुँदै गएको प्रष्ट देखिन सक्छ । परिवर्तनको क्रम कहिल्यै रोकिदैँन एवम् प्रकारको एक दिन हामी समाप्त पनि हुन्छौँ । परिवर्तनले जन्म मात्र होइन मरन पनि हुन्छ । परिवर्तनले जन्तीमात्र होइन मलामी पनि बनाउँछ । बाहिर ट्वाल् ट्वाल्ती आँखा देख्नेहरूलाई पनि भित्र अन्धो बनाइदिन्छ । जन्मान्धलाई पनि सुरदास बनाउँछ । आठ ठाउँमा बाङ्गो शरीर भएकालाई पनि अष्टावक्र नामले प्रख्याल बनाउँछ । समयले कसैलाई होभर बनाउँछ त कसैलाई हेलेन केलर । कसैलाई लर्ड वाइनर बनाउँछ त कसैलाई धृतराष्ट्र । त्यसै गरी बाबुआमा बनाउँछ, छोराछोरी बनाउँछ । पतिपत्नी बनाउँछ । मिलन गराउँछ बिछोड गराउँछ । केही बेर पहिले खित्का छाडेर हाँस्नेलाई पनि एकै छिनपछि डाँको छोडेर रुने बनाइदिन्छ । त्यसैले बुद्विमानहरू परिवर्तनले ल्याउने संभावित रूपको मनन गरी आफ्नो व्यवहारमा पनि परिवर्तन ल्याउँछन् । परिवर्तनले जतिसुकै उथलपुथल ल्याए पनि सृष्टि र लयको रूप देखाए पनि पूर्वज्ञान बिना कसैमा पनि विशेष क्षमता र सीपको विकास हुन सक्दैन ।
कवि तथा साहित्यकार सुर्यप्रसाद लाकोजू पनि समयसापेक्ष सोचका धनी हुन् । उनका कृतिहरूमा पनि पुरातनवादी सुगारटाइ ज्ञानभन्दा वर्तमानको सदुपयोग र सुन्दर भविष्यको चिन्तन पाइन्छ । ती कुराहरू उनका कविताभित्र अन्तर्निहित भावहरूको व्याख्यात्मक उत्खनन गर्दा छर्लङ्ग हुन्छ । कवि सुर्यप्रसाद लाकोजूका कविताहरूमा पाइने वैचारिक उचाइ, भावनात्मक गहिराई, अभिव्यक्तिमा सरसता, भाषिक सिल्प, परिस्थिति बोध तथा अभिव्यक्तिको शैलीगत कला एवम् कविता लेखनको गति, गहनता र सौन्दर्यलाई हेर्दा अब फुटकर कविताबाट खण्डकाव्य तथा महाकाव्यतिर कलम चलाउने उपयुक्त समय आइसकेको देखिन्छ । परम्परागत रूपमा सम्मानका साथ कविताको शैलीगत छिद्रावेषण गर्नुभन्दा पनि वर्तमान सामाजिक परिवेशमा कविताको गति र गन्तव्य कति सारपूर्ण छन् भन्नेतिर ध्यान दिनु बढी न्यायपूर्ण हुन्छ भन्ने मैले ठानेको छु । माथि भनिए झैँ हरेक कुराको आफ्नै समय हुन्छ त्यसको महत्व पनि प्रत्यक्षतः सामयिक नै हुन्छ समयले कोल्टो फेर्ने बित्तिकै केही बेर पहिलेको वर्तमान भूत बन्छ जो फेरि फर्केर आउँदैन । बस् यही कुरा त हो हामीले मनन गर्नुपर्ने, मरेकालाई ब्युँझाउने अर्थहीन प्रयत्न गर्नुभन्दा बाँचेकैलाई कसरी जोगाउने त्यतातिर ध्यान दिनु बढी बुद्विमानी ठहर्छ । वर्तमान र भूतको मेल हुन नसके जस्तै वर्तमानले भविष्यलाई त कहिल्यै भेट्न सक्दैन । त्यसैले कुनै पनि अभिव्यक्ति भूतको घाउमा र वर्तमानको परिवेश भै हुनुपर्छ । त्यो पनि सरल भाषा, व्यावहारिक पृष्ठभूमि तथा सारगर्भित भवनाका साथ÷साहित्य वा कविताबाट सामाजिक सकारात्मक वा नकारात्मक क्रियाकलापको दिग्दर्शन दिनुपर्छ । कवितामा काल्पनिक आदर्शको ओइरोभन्दा यथार्थको प्रधान्य हुनुपर्छ । कोरा आदर्शको पुजारी बनी, पद पुरस्कार र पैसाको पछि लाग्न्ुभन्दा यथार्थको दास बन्नु नै अेयष्कर हुन्छ । काल्पनिक उडानभन्दा जीवनसत्य कुराको प्रकाशन गर्नु उपयुक्त हुन्छ ।
थोरै भनाइबाट धेरै सन्देश प्रवाह गर्ने सशक्त माध्यम कविता हो । विषम सामाजिक परिस्थिति तथा मानवीय संवेदनशील चिन्तनले कवि, साहित्यकारलाई घच्याउँदा भावुक कविहृदयबाट कविताको प्रष्फुटन हुन्छ । कविता अन्तर्मन अनुभूतिहरूको प्रस्फुटनको विशिष्ट माध्यम भएकोले विषय वा सहज परिस्थितिमा कवि कतै रुन्छ, कतै गर्जन्छ, कतै गम्भिर बन्छ, कतै खित्का छाड्छ, कतै निस्सासिन्छ, कतै मानवताको स्वार्थ तुन्दछ त कतै पारमार्थिक भक्ति प्रवाहमा देखिन्छ । त्यस्तै कतै आÇनो पनमा मख्ख पर्छ त कतै बढ्दो विभिन्न सामाजिक विकृतिप्रति भक्कानिन्छ । अझै भन्नुपर्दा कविता मानवीय चेतनशक्तिको विशिष्ट प्राकट्य हो । जगत र जीवन सम्बन्धमा गहिरो सोचका क्रममा नै कविताको उत्पति भएको हो । वैदिक तथा प्राचीन ऋषिमहर्षिहरूको चेतनशक्तिबाट उत्पन्न वेद, (कर्मकाण्ड) उपनिषद् (ज्ञानकाण्ड) तथा अन्य तमाम ग्रन्थहरूमध्ये अधिकांशको नाता साइनो कवितासँगै जोडिएको छ ।
सूर्यप्रसाद लाकोजू सामाजिक रूपान्तरणका योद्धाका रूपमा आफ्नो परिचय सर्वत्र फिजाउँदै अग्रगमनतर्फ गतिमान् कवि हुन् । साँचो अर्थमा भन्नुपर्दा जसको सामाजिक विसङ्गति तथा विकृतिले पिरोलिन्छ, जो मानवताको अवमूल्यप्रति कुडिन्छ, आफ्नै सँस्कृति एवम् जीवनशैलीमा विकृतिको आभास पाउँदा अतालिन्छ त्यो महान् हो । त्यस्ता व्यक्तिहरू आफ्नो अभिव्यक्तिका माध्यमबाट समाजलाई आफ्नै हावा, पानी र माटो सुहाउँदो गति दिन चाहन्छन् । वर्तमानको विषम परिस्थितिले जनमानसमा सिर्जित कुण्ठा, निराशा तथा असन्तुष्टिबाट तिनीहरूलाई मुक्त पार्ने काममा सदा प्रयत्नशील रहन्छन् । कवि सूर्यप्रसाद लाकोजू कलमका सहायताले विषम परिस्थितिसँग युद्ध गरिरहेका छन् । उनी शब्दसँग खेल्छन्, वाक्यसँग निस्कन्छन, भाषासँग मस्किन्छन् अनि उद्देश्यसँग गाँसिन्छन् । लेखक, कवि, पत्रकार, समाजसेवी, सँस्कृतिप्रेमी शैक्षिक जागरुकता जस्ता बहुमुखि प्रतिभाका धनी लाकोजू एक महान् व्यक्ति हुन्भन्दा अतिशयोक्ति पक्कै नहोला । लाकोजूको जन्म काभ्रे जिल्लाको ऐतिहाँसिक सुन्दर नगरी पनौतीमा भए पनि साहित्यिक दृष्टिले उनी पनौतीमै सीमित छैनन् । उनी अब सिङ्गो नेपालभरि नै व्यापक बनिसकेका छन् । सँस्कृतिका नाममा विकृतिले आक्रमण गरिरहेको वर्तमान परिप्रेक्षमा अत्यन्त चिन्तित लाकोजूका नेपाललाई मात्र होइन संसारलाई नै हेर्ने आँखा छन् , दुःख र पीडाको आर्तनाड सुन्ने कानहरू छन्, मानवीय संवेदनशीलताको अनुभूति पाउने छाला छ, मान्छेलाई मान्छे नै भन्ने विवेक छ । लाकोजू पनि हामीजस्तै मानिस हुन् । जुनजुन प्राकृतिक तत्वहरूको मेलबाट हामी बनेका छौँ उनी पनि तिनै तत्वले बनेका हुन् । हामीमा ती सबै कुरा भएर पनि हामीमध्ये अधिकांशमा ती सबै कुरा बुझ्ने विवेक छैन । सबै कुरा भएर पनि हामीमध्ये अधिकांशमा मानवीय संवेदना छैन । हामी सबै कुरा थाहा पाएर पनि आफ्नो निहीत स्वार्थले अन्धो भएको कारण बझ पचाउँछैाँ , मेरो गोरुको बारै टक्का भन्दै अहंकारको प्रदर्शन गछौँ ।
यसरी कवि तथा साहित्यकार सुर्यप्रसाद लाकोजूलाई उनको उर्वर साहित्यिक प्रतिभा तथा निरन्तर क्रियाशील व्यक्तित्वका आधारमा जति कुरा लेखे पनि हात्तीको मुखमा जीरासरह नै हुन्छ । जति प्रशंसा गरे पनि अधुरो नै हुन्छ । लाकोजूका तिनै सकारात्मक सोच, स्वच्छ भावना, उदार विचार, मिलनसार स्वभाव, जातिप्रेम, मौलिक सँस्कृतिप्रतिको अनुराग, आफ्नो माटोप्रतिको माया मानवताको हिमायती अथक एवम् क्रियाशील समाज सेवा, पत्रकारिता, शैक्षिक अग्रता जस्ता उनका स्वभावगत विशेषताहरूको आधारमा उनका कविताहरूको जति सकेको थोरबहुत व्याख्यात्मक समिक्षाका रूपमा घामले चुमेका सिल्पी हातहरू शीर्षकका माध्यमबाट मूल्याङ्कन गर्ने धृष्ठता गरेको छु ।
पिता कवितामा कवि लाकोजू आफ्नो कर्मयोगी पिताप्रति अत्यन्त गौरवान्वित देखिन्छन् । भगवान् श्री कृष्णले गीतामा महाभारत युद्धको सत्रौँ दिनमा अर्जुनका मनमा कर्तव्य बोध गराउने प्रसंगमा ‘कर्मण्य वा धिकारस्ते मा फलेषु कदाचन’ अर्थात् फलको आशा नराखी आफ्नो कर्म वा कर्तव्य गर किनभने मनुष्यको कर्तव्य नै उसको कर्म हो । मानिसको जन्म नै कर्मका निम्ति भएको हो तर आशक्ति रहित भएर । त्यस्तै निष्काम कर्मयोगी आफ्ना पिताको उनी अत्यन्त आदरका साथ स्मरण गर्दछन् । उनका पिता मध्यम वर्गीय किसान हुन् । उनी धर्तीमै जन्मेका धरती मै खेल्दाखेल्दै हुर्केका जीवनभर धरतीसँग युद्ध गर्दै आखिर धर्तीलाई नै आफ्नो शरीरको कोसेली चढाएका एक निष्काय कर्मयोगी हुन् । लाकोजूका पिता नै उनको प्रेरणाको मूल स्रोत हुन् । उनका पिता आफूले जतिसुकै पसिना बगाउनु परे पनि, धर्तीसँग युद्ध गर्दागर्दै टुङ्गिनु परे पनि, झरीबादल, हिलोधुलो, घाम, पानी, भोकप्यास, केही नभनी बिहानदेखि बेलुकासम्म सङ्घर्षरत रहने ब्यक्तिको कर्मसिवाय अरु कुनै कुराप्रति पनि आशक्ति थिएन । कुनै आशा नहुने व्यक्ति कहिल्यै निराश हुँदैन । उनका पिता पनि जीवनमा कहिल्यै निराश भएनन् । किनभने उनमा कुनै कुरामा पनि आशक्ति थिएन । आफू मरेर गएपछि पनि आÇनो जीवित अंश छोराको भविष्य उज्ज्वल होस्, ऊ धेरै पढीलेखी असल मान्छे बनोस्, उसको यशकीर्ति दिगदिगन्तसम्म फैलियोस् भन्ने कुरा उनका पिताको अन्तर्रात्मामा सदा जीवित थियो । उनी आÇनो छोरा एउटा असल पुत्र मात्र नभई असल बाबुसमेत बनी आÇनो वंशलाई निरन्तरता देओस् भन्ने उत्कृट अभिलाषा उनमा प्रवल थियो । बुढेसकालले अलिङ्गन गर्दा पनि तपतप पसिनाको धारा बगाएर आÇना सन्तानको उज्ज्वल भविष्यको सपना बोक्ने, भर्तृहरिले, ‘पितेव हिते नियुङ्ते’ भने झैँ आÇना छोरालाई असल कार्यका लागि मार्गदर्शन गर्ने आÇना परमपूज्य प्रातः स्मरणीय पिताजीको सम्झनामा लाकोजू यसरी आÇनो अन्तर्भाव व्यक्त गर्छन् ः
छोरो मेरो रगत
मेरो मुटुको टुत्र्रmा, मेरो प्राण
मेरो वंश चलाउने पात्र
सङ्क्षेपमा भन्दा
मेरो छोरो मेरो सर्वस्व
मेरो वर्तमान मेरो भविष्य
बाबुको सपना भनेकै उसको असल सन्तान हो । असल सन्तानको जन्मदाता असल बाबु नै हुन्छ । जसरी शिष्यले गुरु बनाउँछन् तर गुरुले गुरु नै बनाउँदछन् । त्यस्तै बाबुले सन्तान जन्माउँछन् त्यही सन्तान असल वातावरणमा हुर्के भोलि असल बाबु बन्न सक्छ । त्यसैले विलियम ओर्डस्वर्थले ‘चाइल्ड इज द फादर अफ म्यान’ भनेका छन् । उनको आशय पनि आजको असल पुत्रलाई नै भोलिको असल बाबुका रूपमा व्यक्त गर्नु हो ।
यसरी कवि लाकोजूका पिता नै उनको वर्तमानको प्रगतिसोपान बनेका छन् । आफूले रातदिन छातीमा रगत जमाएर, दस नङ्ग्रा खियाएर पनि आÇनो छोराको उन्नतिको कामना गर्नु, निःस्वार्थ भावले आÇनो सन्तानलाई मानिस मात्र नभई असल मान्छे बनाउने सपना देख्नु, जीवनप्रति हमेशा आशावादी बन्दै सङ्घर्षलाई नै जीवनमा सफलताको भ¥याङ हो भनी प्रेरणा दिने उनका पिता महान् हुन् भन्दै हुनलाई अन्तर्रात्मादेखि नै श्रदापूर्ण नमन गरेको प्रसङ्ग लाकोजूले पिता कवितामा व्यक्त गरेका छन् ।
सच्चा धर्तीपुत्रहरू पसिना बगाएर कहिल्यै थाक्दैनन् । कर्मयोगीहरू अरुको उन्नति देखेर कहिल्यै पाक्दैनन् । असारको हिलोमा गाडिएर झरिमा रुझ्दा पनि, पिठ्यूँमा अजङ्को भारी बोकी तरतरी पसिना चुहाएर उकाली चढ्नु परे पनि, कर्मयोगीहरूको उत्साहपूर्ण अनुहारमा विषाद्को छायाँ लेस मात्र पनि देखिँदैन । उनीहरू जीवनप्रति कहिल्यै निराश हुँदैनन् । अकर्मण्यतालाई अँगालो हाल्दै जीवनदेखि माग्न कहिल्यै चाहँदैनन् । सधैँ आशावादी बन्दै खुसीका गीत गाइनैरहन्छ । जीवनपथमा उल्लासका रङहरू भरिनैरहन्छन् । एकान्त वनमा जीवनका सारा दुःखद् क्षणहरूलाई बिर्सेर घाँस काटिरहेकी केटीप्रति विलियम वर्डस्वर्थले, सोलिटरी रिपर कवितामा धित मर्ने गरी प्रशंसा गरे जस्तै, लुनी मा देवकोटाले आफूलाई खारे जस्तै गरिबीको कालो बादलले ढाक्दा पनि खुसीकै गीत गाउनेहरूप्रति कवि लाकोजू ज्यादै प्रभावित देखिन्छन् । उनी वनमा गाइचराउने गोठाला– गोठाल्नीहरूले वन वन चाहार्दा खेतालाहरूले खेतमा श्रमका पसिना पोख्ता, किसानले पिठ्यूँमा अजङको भारी बोकेर उकाली ओराली गर्दा, भरियाहरूले शारीरिक पीडा र कष्ट बिर्सेर कण्ठ खोली गीत गाउँदा जीवनको वास्तविक अर्थको आभाष पाउँछन्, परिश्रम नै मानव जीवनको शाश्वत सत्य रहेछ भन्ने ज्ञानको उद्बोध पाउँछन् भन्ने कुराको सङ्केत दिँदै गीत कवितामा कवि लाकोजू भन्दछन् ः
तिम्रो गीतमा मैले
दिनभर माटामा पसिना पोख्ने
आÇना दसनङ्ग्राा खियाउने
कर्मयोगीको तस्बीर देखेको छु
तिनीहरूका
कर्मभित्रको मर्म देखे छु ।
मानिस नै परिवर्तनको बाहक हो । मानिस कहिल्यै पनि भूतको चिन्ता नलिई भविष्य निर्माणका लागि वर्तमानलाई सदुपयोग गर्नुपर्छ । जतिसुकै दुःखबाट पनि कहिल्यै विचलित नभई आ–आÇनो कर्तव्य पथमा हामी सबै लाग्नैपर्छ । बालबनिता बृद्ववृद्वा तथा युवा सबै यथाशक्ति कर्ममा जुट्नै पर्छ । यो संसार निष्कृयाको नभई सक्रियको हो, अल्छीको नभई कर्मठको हो, विलासीको नभई कर्मयोगीको हो, भाग्यवादीको नभई पौरखीको हो ।
गरिब नै गरिबले भरिएको धनी देश नेपालमा खुशीका गीतहरूको गुञ्जन झुप्राबाट निस्कन्छ । महलका विलासीहरू झुप्राका गरिबलाई गोरु जोते झैँ जोतेर, गधा र खच्चरलाई झैँ भारी लादेर, पशुलाई झैँ यातना दिएर अट्टाहास गर्छन् । छलछाम, जालझेल, झन्झट, झमेलाका जाल बुन्दै निस्कन्छन् । निरीहको खेदो गर्छन् किनभने महलमा जन्मेर हुर्केकाहरू कहिल्यै पनि झुप्रामा जन्मेर बाँचिरहेकाहरूको परिमर्का बुझ्नै सक्तैनन् । गरिबको पसिनामा मोज गर्नेहरू पानीको सट्टा हिस्की पिउँछन् । झुप्राका गरिबहरू ती सबै सांसारिक प्रपञ्चबाट निबृत्त रहन्छन् । महलको विलासमा ऐयासी जीवनको खल्लो अनुभव गर्छन् महलबासीहरू । गरिब सरल, निश्छल र निष्कपट हुन्छन् । उनीहरू चाकडी, चुक्ली चाप्लुवी आदि केही जान्दैनन् । उनीहरू मान्छे हुन् र जीवनभर मान्छेकै गीत गाउँछन् र मान्छे नै भएर बाँच्छन् । उनीहरू मान्छेलाई मान्छे नै देख्छन् र मान्छेकै व्यवहार पनि गर्छन् । यिनै गरिबहरूको परिश्रममा महलका विलासीहरू तथा नव घनाड्यहरूको प्राण अडेको छ । यिनकै परिश्रमले तिनीहरूलाई त्राण मिलेको छ । यिनै जीवनसत्य कुराहरूको मन्थन गर्दै कवि लाकोजू गीत कवितामा अगाडि भन्छन् ः
नचाकडीको पहाडछ,
न चाप्लुसीको मैदान छ
गीतमा केबल मान्छे छन्
मान्छेका पवित्र भावहरू छन्
मानवीय भावना चुलिएका छन् ।
यसरी आफूले जीवनभर हण्डर, दुःख, कष्ट, सास्ती भोगेर पनि सिङ्गो मानव जातिकै सुखका निम्ति मरिमेट्ने, सधैँ मानवताकै गीतमा रमाइरहने कर्मयोगीहरू साँच्चै धर्तीका रत्न हुन् । जस्तोसुकै अभावमा पनि भावयुक्त देखिने, जस्तोसुकै वेदनामा पनि रमाइरहने कर्मयोगीहरू धन्य हुन् भन्ने भाव लाकोजूले यस गीत कवितामा व्यक्त गरेका छन् ।
बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन उखान प्रायः नेपालमै चरितार्थ भएको पाइन्छ । नेपाल कृषिप्रधान देश भएर यहाँ खाद्यान्न बालीको खेती क्रमशः ह्रास हुँदै गए पनि राजनैतिक खेती चाहिँ निकै फस्टाउँदै गएको छ । खाद्यान्न बालीको खेती गर्दा, झरी बादल,घामपानी, भोकप्यास, निद्राथकाइ, हिलोधुलो, हुरीबतास आदि केही भन्न पाइन्न । दिनरात हातमा ठेला नउठाए अन्न फल्दैन । यति हुँदा पनि कर्मयोगीहरू न कहिल्यै मिठो खान पाउनुछ, न कहिल्यै राम्रो लाउन पाउनुछ । सधैँको उकाली ओराली, गाउँबेसी, खेतीपाति, पानीपँधेरो, घाँसदाउरा गर्दागर्दै जीवनको अन्त्य हुन्छ । यस्तो कष्टपूर्ण खेतीका सट्टा आजभोलि केही व्यक्तिहरूले अत्यन्त लाभकारी सुखकारी सम्मानदायी खेती अपनाएका छन् त्यो हो, राजनीति खेती । यस्तो खेती नजोत्नु नरोप्नु, नगोड्नु न काट्नु नजल, नथल मुखले बोलेकै भरमा सप्रन्छ । यस खेतीका निम्ति कुनै औजार वा हलोगोरुको आवश्यकतै पर्दैन । सर्रर मोटरमा गयो दुईचार ओटा उटपटाङ भाषण दियो, आफ्ना विरोधीहरूलाई धारे हात लाउँदै सत्तोसराप ग¥यो पुगिहाल्छ । यसमा आश्वासनसिवाय कसैलाई केही दिनुपर्दैन । अन्न फलाउने किसानलाई असार आए जस्तै राजनीतिक खेतीवालका लागि महŒवपूर्ण याम भनेकै चुनाउ हो । चुनाउ आयो कि राजनीति खेती सुरु भयो । चुनाउमा आफ्नो पक्षमा मत पाउन जस्तोसुकै कसम खान, जस्तोसुकै आश्वासन दिन, जनताको सुखका निम्ति, राष्ट्रको उन्नतिका लागि जस्तोसुकै बलिदान दिन पनि आफू तयार रहेको वाचा गर्न पनि पछि पर्दैनन् । उनीहरूको चुननी आश्वासन सुन्दा यस्तो लाग्छ, अब त नेपाल, नेपाल नरहेर स्वर्ग नै बन्ने भयो । यहाँको माटो मह बन्ने भयो, ढुंगो सुन बन्ने भयो, सगरमाथाको टाकुरामा रेल दौडने भयो । मिठा आश्वासनले गजक्क परेका मतदाताहरू नेताजीलाई दिल खोलेर मतदान गर्छन् । चुनाव जितेका आफ्ना नेतालाई एक क्विन्टल फूलको मालाले सजाउँछन् । यसरी नेताजी चुनाउ जित्छन्, मन्त्री बन्छन् । देशको बागडोर आफ्नो हातमा लिएपछि अमेरिका, बेलायत, फ्रान्स पुग्छन् । आँखामा परेको कसिंगर झिक्न पनि थाइल्याण्ड, सिंगापुर तथा जापान पुग्छन् । देशको सम्पदा र सुविधाहरू छोराहरू भिन्दा हुँदा अंशवण्डा गरेजस्तै राजनैतिक भाग वण्डामा समेट्छन् । ठुलाठुला भवन बनाउँछन्, महँगा गाडीमा सयर गर्छन् । तर आफ्नो अमूल्य मत दिई सफलताको भ¥याङ चढाउने जनताको घर आँगनमा अर्को चुनाउ नआएसम्म पाइलोसम्म टेक्दैनन् । नेता आकाशमा चरा झैँ उड्छन् तर जनता भने सधैँ उल्टो लोप्पा खाएका विचराको विचरै । यिनै धु्रवसत्य कुराहरूप्रति झटारो हान्दै कवि लाकोजू कुर्लन्छन् ः
आश्वासनको भरमा बाँच्नेहरू
बेहाल हुन्छन्, कङ्गाल बन्छन्
आफ्नो हिजोको विश्वासभित्र
अनिश्वासको सागर देख्छन् ।
ऋतुचक्र अनुसार बसन्तपछि घुमफिरी फेरि वसन्तै आए झैँ एउटा चुनाउको अवधि सकिएपछि फेरि अर्को चुनाउ जब आउँछ तब फेरि आफ्ना तिलस्मी आश्वासनका खेलहरू अर्कै अनुहारमा सुरु हुन्छन् । पहिलेका वाचाहरू पुरा गर्न नसकेका अनेकौँ कारण र विवशतालाई नयाँ शब्दजाल बुन्ने काम शुरु हुन्छ उनीहरूको आश्वासन गोली नभएको बन्दुकले सिकार खेले जस्तै निरर्थक भए पनि गुलियोमा कमिला टाँसिए झैँ जनता फेरि पनि झुमिन्छन् । महाभारत युद्धमा अर्जुनपुत्र अभिमन्यु कौरब पक्षद्धारा रचित चक्रव्युहभित्र पसेर निस्कन नसक्दा समाप्त भए झैँ जनता फेरि पनि आश्वासनको चक्रव्युहमा फस्छन् । कुवाको भ्यागुतो झैँ मच्चियो मच्चियो थच्चियो बन्दै फेरि पनि नेताजीलाई जिताइदिन्छन् । यसरी जति पटक धोका खाए पनि जनतामा होस आउँदैन । उनीहरू मिठामिठा आश्वासन वाचा र कसमहरूमा झुक्किनैरहन्छन् । नेताहरू त्यसरी नै सर्वसाधारण जनतालाई उल्लू बनाइनैरहन्छन्, भन्ने कुरा लाकोजू एकादेशको कथा कवितामा अगाडि यसरी भन्छन्ः
आश्वासन बाँड्नेहरू
बाँडेर अघाएका छैनन््
नयाँ र नौलो लाग्ने आश्वासन
लिएर आएपछि
विचराहरू भुलभुलैयामा भुलाउनेहरू
डलर फलाउन व्यस्त छन्
आश्वास पाएर देश बनाउनेहरू
रहर बोकेकाहरूको आशा
एका देशको कथा बनेको छ ।
यसरी राजनीति नेताका लागि फलिफाप भए पनि जनताका लागि शब्दजालको भुलभुलैयासिवाय केही होइन । यस्तो सारहीन अभ्यासको अब अन्त्य भई सबै राजनीति कर्मीहरू इमानदार भई मन, वचन र कर्मले देशको विकास र राष्ट्रको उन्नतिमा लाग्न आवश्यक रहेको कुरा लाकोजूले एकादेशको कथामा व्यक्त गरेका छन् ।
आजको हाम्रो सामाजिक परिवेशलाई अन्तर्मनले नियाली हेर्दा हामी जनता दुई वर्गमा विभाजित भएको प्रष्ट देखिन्छ । हुँदा खाने र हुने खाने, शोषित जनता गरिबी र अभावको भूमरीमा अलमलिएर कुहिराको काग बनिरहेका छन् । गरिबहरू रातदिन निग्रो झैँ कजिएका छन् भने नेताहरू गोरा झैँ सजिएका छन् । गरिबहरूको प्रारबधमै दुःख, पीडा तथा दैन्यसिवाय अरु केही छैन । गरिबबाट जति सक्यो लिने धेरै छन् तर उनीहरूको पिर, व्यथा, वेदना, विवशता तथा छट्पटी बुझ्ने प्राय कोही छैन । जो आफूलाई देशविकास राष्ट्रको उन्नति र जनताको समुन्नतिको मसिहा ठान्छन् ती गरिबलाई आश्वासनसिवाय केही दिँदैनन् । दैवी प्रकोपमा परी विल्लीवाठ भएका निरीहरूको निम्ति जम्मा भएको राहतसमेत लुटेर खानेहरूबाट सर्वसाधारणले के नै आश गर्न सक्छन् र । त्यस्ता क्षद्मभेषी समाजसेवक राष्ट्रप्रेमी, देशभक्तहरूका रित्ता आश्वासन, खोक्रा कसम तथा मिथ्या वाचाहरूको पछि लाग्दालाग्दै गरिबको जिन्दगी बित्छ । नेताहरूको मीठा भाषण र आश्वासनको भुलभुलैयामा परे पनि गरिबको अवस्था पीडाले दाउरा बले झैँ बलिरहेकै छ । सिद्रा सुके झैँ सुकिरहेकै छ । नेताका भनाइलाई जति आश गरे पनि भर पर्ने कुनै आधार पाउन सकिन्न । गरिब जनता विवश भएर कुनै ठिमाहाले आÇनो सक्कली बाबु खोजे झैँ बनिनैरहन्छन् । आश गर्नेहरू आशा गरेको कुरा नपाएपछि निराश हुन्छन् । तर अभावमा पिल्सिएकाहरू आश नगरी धेरै पाउँदैनन् । यसै आशाले त उनीहरू बाँचेका हुन्छन् । अरुको दयामा बाँच्नुसिवाय गरिबका लागि कुनै विकल्प नै छैन । अभावबाट उन्मुक्ति पाउने सङ्केतसम्म पाउन गारो छ । गरिबको सर्वस्व भनेकै आँसु हो । अभाव र गरिबीबाट उन्मुक्ति पाएर निर्धक्क भई सन्तोषको सास फेर्दै स्वतन्त्रतापूर्वक बाँच्ने दिन उनीहरूलाई सायद कहिल्यै नआउँला । यस्तै विचारहरूको प्रवाह गर्दै लाकोजू निराश कवितामा भन्दछन् ः
थाहा छैन कहिल स्वतन्त्र बनी
खुशीपूर्वक बाँच्न सकिन्छ
एक मुठी अन्न
एक अँजुली पानी
अनि
एकसरो कपडाका लागि
कहिलेसम्म सङ्घर्ष गर्नुपर्ला ?
यसरी देशमा व्यवस्थाप्रति नै बेवास्ता बढ्दै गएपछि, राजनीतिका नाममा खोक्रा आश्वासन, रित्ता र मिथ्या विश्वास तथा कसमहरूको बौछार भएपछि गरिबीको अन्त्य गरी जनताको जीवनस्तर माथि उठेर सुखको सास फेर्ने कुराको त कल्पनासम्म गर्न सकिँदैन । जबसम्मम हामी मेरोको सट्टा हाम्रो, कस्को सट्टामा कस्तो भन्ने सोचको विकास हुँदैन तबसम्म कवि शिरोमाणि लेखनाथ पौड्यालको ः
म खाऊँ मैलाऊँ सुखसयल वा मोज म गरुँ
म हाँसू मै नाचूँ अरु सब मरून् दुर्बलहरू
भनी दाह्रा घस्ने अबुझ सठदेखि छक परी
चिता खित्का छाडी अभयसित हाँस्यो मरीमरी,
भनाइ अनुसारको भावना हाम्रा राजनीतिकर्मी तथा राष्ट्रसेवकहरूको मनबाट नहटेसम्म गरिबका दिन कहिल्यै फिर्दैनन् । उनीहरूको ओठमा हाँसो र गालामा लाली कहिल्यै आउँदैनन् । सन्तोषले एक गाँस खान र एक धरो लाउन पनि अरूको ढोका कुर्नुपर्छ । उनीहरू आÇनै छाप्रामा ओत लाग्न पाउँदैनन् । आफ्नै खेतबारीमा श्रमको पसिना बगाउन नपाएर बाँच्नकै लागि अरुको दास बन्न विदेसिनुपर्छ । ‘भनेर होइन हिँडेर स्वर्ग पुगिन्छ’, भन्ने हेनरीको भनाइबाट पनि गरिबी निवारण भाषणले होइन कामले मात्र हुन सक्छ । आश्वासनले खान पाइँदैन । झुटको खेतीले देश बन्दैन । कल्पनाले होइन उडेर मात्र चन्द्रमामा पुग्न सकिन्छ भन्ने जस्ता भावहरू निराशा कवितामा कवि लाकोजूले व्यक्त गरेका छन् ।
नेपाल एकसय पच्चीस जातजाति र एकसय तेइस भाषाभाषीले बनेको मुलुक हो । अनेक भाषा, धर्म, सँस्कृति, परम्परा, जीवनशैलीका भए पनि अनादि कालदेखि नै हामी एउटाले अर्कालाई सम्मान गर्दै आएका छौँ । हामी आपसमा फुटेर होइन जुटेर हातेमालो गर्दै आएका छौँ । यसरी हामी विभिन्न दृष्टिले अनेक भएर पनि एक आपसमा मिलेकै कारण ‘अनेकतामा एकता नेपालको विशेषता’ भनाइ प्रख्यात छ । यसरी विशुद्व आत्मीय सम्बन्ध रहेको नेपाललाई अहिले अनेक टुक्रामा विभाजन गर्ने खेल चलिरहेको छ । राष्ट्रियतालाई धुजाधुजा पार्ने यस राजनैतिक स्वार्थले यसको भावी स्वरूप कस्तो बन्ला ? अत्यन्त सोचनीय कुरा भएको छ । आज देशलाई कोही जातीयताका आधारमा टुक््र¥याउन खोजिरहेका छन् भने कोही धर्मको आधारमा कोही क्षेत्रीयताका आधारमा चिरा पार्न खोजेका छन् त कोही सम्पदाको । कोही तराइलाई छुट्याउन खोजेका छन् त कोही पहाडलाई पाखा लगाउन । यसरी सबै दलले देशलाई राजनैतिक स्वार्थका हिसाबले टुक््रयाउने हो भने हाम्रो राष्ट्रिय एकताको स्वरूप कस्तो बन्ला ? वैज्ञानिक तथा भौतिक उन्नति गरी अन्य सम्पन्न देशहरूको लङमा उभिने कुरा त कता हो कता छँदाखाँदाको संगठित राष्ट्रियतालाई धुजाधुजा पार्दा त्यसको स्वरूप कस्तो होला ? त्यसले के शोभा देला ? हुँदाहुँदा देशको राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय सार्वभौमिकता, राष्ट्रियता तथा राष्ट्रिय स्वाभिमानलाई नै खलल पु¥याउने दुष्प्रयासहरू समेत भइरहेका छन् । यसरी देशको साङ्गठनिक स्वरूप नै भताभुङ्ग पार्ने खेल कसै गरे पनि पूरा हुन सक्तैन भन्दै कवि लाकोजू देशका कुरा कवितामा यसरी बम्कन्छन् ः
कोही गर्छन् जातका कुरा
कोही फलाक्छन् धर्मका कुरा
क्षेत्रका कुरा उठाउँछन् सुरा
झिनामसिना कुरा उठाउँदै
राष्ट्रिय एकतामा हान्छन् छुरा
सुन्दर फूललाई खण्डखण्ड पार्ने
यिनका सपना सधैँ अपुरा
जात र धर्मका कुरा गर्नेले
कहिले गरेका छन् देशका कुरा ।
यसरी यस कवितामा कवि लाकोजू पूर्ण रूपमा देशभक्त तथा राष्ट्रभक्त देखिन्छन् । उनीभित्रको नेपालीत्व जुर्मुराएको छ । आÇना अभिव्यक्तिका माध्यमबाट राष्ट्रिय एकताको आहवानका लागि राष्ट्रप्रेमले उनलाई कुतकुत्याएको छ । ‘परोपकार पुण्याय पापाय परपीेडनम’् भन्ने अठारै ओटा पुराणका मूल सारका आधारमा चिन्तन गर्दा मानिस भएर जन्मनुको अर्थ आÇनो सुख आफ्नैँ शान्ति, मोजमस्ती, ऐयसआरामका लागि मात्र होइन । अरुलाई दुःख दिएर आफू हाँस्न पनि होइन । आÇनो स्वार्थका लागि अरुको गाँस खोस्ने पनि होइन । त्यसैले माथिको भनाइले अरुको उपकार गर्नु अथवा भलो गर्नु भनेको धर्म हो र आÇनो स्वार्थका निम्ति अरुलाई दुःख दिनु पाप हो । ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाई अरुलाई दिनु जहाँछ,’ महाकवि देवकोटाको यस उद्गारबाट पनि मानिसको कर्तव्य नै अरुको उपकार गर्नु हो, बरु आफैँलाई नहोस् जो दुःख पाइरहेका छन्, जो अभावले पिल्सिएका छन्, जसको पेटमा भोकको आगो दन्किरहेको छ, त्यस्तालाई केही दिएर तृप्त पार्नुमा सुखको आभास मिल्छ भनेकैबाट पनि मानवीय विवेक वा कर्तव्यको बोध हुन्छ । यसरी मानिसका स्वार्थ, परार्थ र परमार्थ गरी तिन प्रकारका कर्म अनुसार स्वार्थको महत्व छ र परार्थ र परमार्थको पनि कम महत्व छैन भन्ने प्रष्ट हुन्छ । स्वार्थले नै मानिस जीवित रहन्छ । केही गर्न जीवित रहनु आवश्यक छ । जीवित रहनकै लागि पनि स्वार्थको अपरिहार्यता देखिन्छ । स्वार्थ आवश्यक छ भन्दैमा आÇनो लागि मात्र सोच्नु निकृष्ठ स्वार्थ हो । आÇनो स्वार्थगत प्रयासबाट जति पाउन सक्छौँ, त्यसबाट केही अंश मात्र पनि अभावग्रस्त अरुलाई (परार्थ) दिँदा परोपकार हुन्छ । परोपकार गर्न सके परमार्थ आफैँ पूरा हुन्छ ।
कवि सुर्यप्रसाद लाकोजूले माथिका भावहरूलाई प्रष्ट पार्न नै चकको चहक कविता रचेको बुझिन्छ । जसरी एउटा सेतो चक कालो पाटीमा घसिँदा उसको क्षय त अवश्य हुन्छ तर त्यसले कालो पाटीमा लेखेका सकारात्मक कुराहरू अत्यन्त जीवनयोगी हुन्छन् । लेख्दा लेख्दै टुङ्गिए पनि आफू बाँकी छउन्जेल चक्रले सबैलाई सद्ज्ञान नै दिन्छ र सद्बुद्धिको सन्देश नै दिन्छ । लेख्दा खिइँदै गए पनि उसमा अलिकता पनि निराशा अलिकता पनि मलिनताको भनकसम्म पनि देखिँदैन ।
यसरी कालो पाटीमा लेख्ने मामुली चकका माध्यमबाट पनि कवि लाकोजूले मानवीय विवेक र कर्तव्यलाई सजीव रूपमा प्रस्तुत गरेका छन् । मानव जीवनको सार्थकताका निम्ति अत्यन्त प्रभावकारी दृष्टान्त पेश गरेका छन् । जसरी फूल दुई दिनका निम्ति फुल्दा पनि आफू हाँस्छ र अरुलाई पनि हँसाएरै झर्छ त्यसै गरी मानिस पनि विवेकशील प्राणी भएकाले बाचुञ्जेलसम्म विषादरहित भई अरुको भलो हुने काम गरेरै संसारबाट बिदा हुनुपर्छ भन्ने भावको पेटारो कवि लाकोजूले यस कवितामा निकै मार्मिक ढङ्गले खोलेका छन् ।
हामी सबै आ–आफ्नै जीवन यात्रा पूरा गरिरहेका छौँ । यो नितान्त व्यक्तिगत हो र व्यक्तिगत रूपमै यसलाई सबैले पूरा गर्नैपर्छ । फूलको जस्तो क्षणिक जीवनधारी भएकाले हामी आँसु झारेर होइन ओठमा मुस्कान लिएरै बाँचौँ । जीवनमा विषाद् र नैराश्यको ज्वालामा दन्काएर होइन आपसी गाया, प्रेम सहयोग, समझदारी, समभाव सहअस्तित्व, सत्कर्म, सदाचार, सद्विचार तथा सत्कर्मले प्रफुल्ल बनी सदा हाँसेरै बाचौँ । आफ्ना स्वच्छ विचार, भावना तथा कर्मले पृथ्वीमै भए पनि स्वर्गीय जीवनको अनुभूति गरौँ । एकले अर्काको मुटुको स्पन्दन बुझि अमृतमय जीवनको आनन्द लिऔँ भन्ने भाव कवि लाकोजूले मुस्कान कवितामा यसरी गरेका छन्ः
मलाई लाग्छ
तिम्रो मुस्कानमा
फक्रेको गुलाब थियो
अनि त्यसभित्र डुबुल्कि मार्दै
हामी आनन्दको बगैँचामा बस्यौँ
आज मलाई थाहा भयो
तिम्रो मुहारको मुस्कानको जादु ।
यस प्रकार मुस्कान जस्तो सामान्य विषयभित्र पनि जीवनको सार्थकता भेट्नु, आँखामा आँसु लिएर होइन ओठमा निर्दोष हाँसो लिएर बाँच्नु, मानवको विवेक तथा कर्तव्यको परिचायक हो भन्ने कुरा व्यक्त गर्नुबाट कवि लाकोजूभित्रको मानवीय संवेदना प्रष्ट रूपमा महसुस गर्न सकिन्छ ।
नेपाल हल्लै हल्लाको देशका रूपमा परिचित हुँदैछ । हल्ला भनेकै सत्योत्तर कुराहरूले सर्वत्र हल्लाउनु हो । काम नगर्नेहरू मुखले ठूलाठूला हल्ला मच्चाउँछन् । पानी नबर्साउने बादल बढी गर्जन्छ । नटोक्ने कुकुर भुक्छ मात्र । नेपालमा पनि कामभन्दा बढी कुरा र भाषणको हल्ला हुन्छ । यहाँ हल्लाले नेपाललाई सिंगापुर हङकङ र स्वीजरल्याण्ड बनाइन्छ । हल्लैले मेलम्ची ल्याएर काठमाडौँलाई डुबाइन्छ, हल्लैहल्लाले व्यवस्था फेरिन्छ अनि हल्लैहल्लाले शासन चल्छ÷चुनाउ जति नजिक आउँछ हल्ला पनि त्यति नै ठुलो बन्दै जान्छ । दलहरू हल्लाकै मादल ठोक्छन् । यहाँ हल्लाको खेती फस्टाउँदो छ । हल्लाले नयाँ नेपाल बन्छ, जनपक्षीय संविधान बन्छ, अग्रगामी सामाजिक परिवर्तन आउँछ । हल्लाकै भरमा शान्ति, सुरक्षा र देशको आर्थिक, सामाजिक, साँस्कृतिक शैक्षिक औद्योगिक, प्रशासनिक, धार्मिक, स्वास्थ्य तथा चारित्रिक विकास हुन्छ । हल्ला गर्नेको धर्म नै हल्ला गर्नु हो काम गर्नु होइन । उनीहरूको विवेक र कर्तव्य नै हल्ला गर्नु हो । अब त हुँदाहुँदा कुनै दिन हल्ला भएन भने क ेके न नभएको महसुस हुन थालिसकेको छ । अब त हल्ला गर्ने मात्र नभई हल्ला सुन्ने पनि हल्लाकै पछि दौडन थालेका छन् । हल्लाको विश्वासमै विश्वास गर्न थालेका छन् । मेघ गर्जदा आकाश नै खस्नआँटेको ठानी हुटिट्याउँले खुट्टा आकाशतिर फर्काएर थाम्न खोजे जस्तै सबै समस्याको हल हल्लाले नै गर्छ भन्ने मृगतृष्णामा सबै अलमलिएका छन् । के हल्ला नै मान्छेको लक्ष्य हो त ? के हल्ला नै मानव कर्तव्य हो त ? के हल्ला गर्नु नै जिम्मेवार व्यक्तिको दायित्व हो त ? के उनीहरूले हल्ला मात्र गरे पुग्छ, काम चाहिँ गर्नुपर्दैन ? भन्ने जस्ता भाव कवि लाकोजूले हल्ला हुर्कंदैछ कवितामा यसरी पोखेका छन्ः
एक हुल हुटिट्याउँहरू
चिच्याउँदैछन्, कराउँदैछन्
आकाश खस्तै छ, हामी थाम्छौँ भन्दै छन्
आकाश थाम्ने उद्घोषलाई
कसैले हल्ला देखे कसैले चल्ला ।
यसरी हल्ला हुर्कदैँछ, कवितामा काम र मामका सट्टा कुरा र भाषण ठूलो हुने देशमा भनाइ र गराइ बीचको तारतम्य कहिल्यै मिल्दैन । त्यस्तो देशमा विकास र प्रगतिको के नै आशा गर्न सकिन्छ र ! भन्ने कुरा अत्यन्त मार्मिक ढङ्गले यस कवितामा व्यक्त गरिएको छ ।
बुद्ध र युद्धमा आनुप्रासिक समानता देखिए पनि अभिप्रायका दृष्टिले दुबैमा आकाश र पातालको फरक छ । युद्धको प्रत्यक्ष सम्बन्ध अहंकार र बाहिरी संसारसँग छ भने बुद्धको सम्बन्ध थाहा र शान्तिसँग छ । त्यसैले युद्धका पछि लाग्नेहरू सुध्रिएर बुद्धका अनुयायी बन्न सक्छन् तर बुद्धहरू कहिल्यै युद्धका पछि लाग्दैनन् । युद्ध क्रान्ति हो भने बुद्ध शान्ति । युद्धले बुद्धलाई पनि बन्दुक ताक्छ । युद्धकासामु मानवताको कुनै मूल्य हुँदैन । यसले साधुलाई पनि शूलीमा चढाउँछ, दुधमुखे फूलहरूको घाँटी निमोठ्छ । युद्ध महत्वाकांक्षी रजो गुनीहरूको अहंकारको प्रदर्शन हो । विजयप्रतिको आफ्नो आशक्तिपूर्ण महत्वाकांक्षा हो । युद्धले आकाश वायु जल जमिन आदि कुनै कुरालाई पनि अधुरो राख्दैन । सबैतिर कोलाहल, चित्कार, आर्तनाद कोलाहल, आतङ्क आदि युद्धकै परिणति हुन् । युद्धको प्रमुख उद्देश्य नै मानवीय अस्तित्वमा प्रश्न चिन्ह लगाउनु हो । बुद्ध सर्वत्र शान्तिको छायाँ मात्र देख्छ । जल, नभ, थल आदि सबैतिर शान्तिकै सङ्खघोष गर्न चाहन्छ । सहअस्तित्व, सदाचार सहभाव, सुव्यवस्था, सद् व्यवहार जस्ता विशिष्ट गुणलाई पोषण दिने काम बुद्धले नै गर्छन् । बुद्धले नै सत्य, अहिंसा, अस्तेय, परस्त्रीगमन निषेद् मद्यनिषेध जस्ता पाँचशीलहरूले मानवमनलाई सदाचारतर्फ डोहो¥याउने काम गरेका छन् । असंलग्न राष्ट्रहरूको मूलमन्त्र नै यिनै पञ्चशील हुन् ।
संसारमा सर्वथा शान्तिकै खाँचो छ । आज विश्वका शक्ति सम्पन्न देशहरूमा दैवी गुण होइन आसुरी भाव बढ्दो छ । त्यसैले विज्ञानलाई दास बनाएर मान्छे मार्ने साधनहरूकै उत्पादन भइरहेको छ । मान्छेकै रगतमा पौडी खेल्ने लहड बढ्दो छ । आज शस्त्र युद्ध होइन शास्त्र युद्ध बढ्दो छ । मानिस नै मानिसको अस्तित्व मेट्न उद्दत छ । युद्धका सट्टा शान्ति र विकासका स्वर बुद्धले नै घन्काएका थिए । युद्धका कथाहरू धेरै छन् । बुद्धका कथाहरू पनि धेरै छन् । शास्त्रको व्याख्या पनि धेरै भए र शस्त्रका पनि । युद्धले जतिसुकै अशान्ति र विनाशको त्रास देखाए पनि, सामरिक शक्तिको तिलस्सीयुक्त खेल जति खेले पनि आखिरमा बन्दुक होइन कलम नै चाहिन्छ । आँसुको भल होइन फूलको मुस्कान नै चाहिन्छ । संसारका सम्पूर्ण मानव जति स्वतन्त्र भै आकाशमा शान्तिका प्रतीक परेवा झैँ निर्धक्क भै बाँच्न पाउनुपर्छ । त्यसैले विश्वप्रसिद्ध स्पेनिस कलाकार पाब्लो विकासोले सेता परेवालाई शान्तिको प्रतीक मानेका हुन् । युद्धले अन्ततोगत्वा बुद्धको शरणमा जानैपर्छ, शान्तिको अनुसरण गर्नैपर्छ । कलिंगसँगको युद्धमा लाखौँको रगत बगेको देखी विरक्तिएका अशोक तिनै अहिंशावादी बुद्धको शरणमा गई पूरा भारतमा बुद्धलाई फैलाएका थिए ।
आज विश्वमा जुन किसिमले युद्धका लहरहरू तरङगित हुँदैछन् । मानिस मा मानिसकै सिकार गर्ने प्रवृत्ति बढ्दै छ, त्यसलाई कलमको माध्यमबाट मत्थर पार्नुपर्छ किनभने कलम नै शक्तिशाली हुन्छ । त्यसैले युद्धको सामना गर्न फेरि बुद्धको नयाँ जन्म हुनैपर्छ, शस्त्रगुरूहरू द्रोणाचार्य नभई शास्त्रगुरू व्यास जन्मनैपर्छ । संसारमा बढ्दै गएको स्वार्थ र लोभको अन्त्य गर्न र शान्तिका लागि युद्धसमेत गर्नुपर्छ भन्ने अत्यन्त सान्दर्भिक एवम् मार्मिक प्रसंगहरू बुद्ध र युद्ध कवितामा कवि लाकोजू यसरी व्यक्त गर्छन्ः
बन्दुकहरूको चर्को स्वर बिचमा
कलमहरू गनिएनन् भने
त्यसबेला,
बुद्धले पनि युद्ध गर्नुपर्नेछ ।
यसरी संसारका सबैखाले समस्याहरूको समाधान गर्न सक्ने शक्ति कलम (बुद्ध) मा नै हुन्छ । बन्दुकले शान्ति होइन त्रास मचाउँछ । मित्रता नभई शत्रुता बढाउँछ । अब हामी युद्धवीर होइन शान्तिवीर, खुकुरीवीर होइन कलमवीर बन्नुपर्छ । युद्धको मात्रा बढ्दै गए, बन्दुकले मानिसको छाती ताक्ने काम नरोकिए, अब चूप लागेर कोही बस्नु हुँदैन । शान्तिको हतियारले अशान्ति वा युद्ध माथि प्रतिकार गर्नैपर्छ । अन्याय, अत्याचार, हिंसाका विरुद्धमा बुद्ध नै भए पनि पछि पर्नुहुँदैन, भन्दै लाकोजूले वर्तमान युद्धवृत्तिप्रति गहिरो वितृष्णा यस कवितामा व्यक्त गरेका छन् ।
कतिपय मामुली कुरा पनि मानिसभन्दा धेरै श्रेष्ठ छन् । संसारमा मान्छे मात्र विवेकशील प्राणी हो । त्यसैले मान्छे मात्र सत् असत्, राम्रोनराम्रो, असल खराब, गर्नुहुने के ? गर्न नहुने के ? जस्ता कुराहरूको भेद पर्गेल्न सक्छ । रचनात्मक काममा दिमाग खियाउन सक्छ । मानव समाजमा आफ्नो परिचय दिन सक्छ । मान्छेको ज्ञानगुरु भनेकै प्रकृति हो । मूर्त वा अमूर्त, सजीव वा निर्जीव, मानिस वा मानवेत्तर आदि सबैबाट उसले अथाह ज्ञान बटुल्न सक्छ तर तिनै मान्छेहरू मध्ये जसले आफूले पाएको ज्ञानलाई परहितमा खर्च गर्छ त्यो मानिस मात्र नभई असल मान्छे बन्छ । यदि आफूले पाएको ज्ञानलाई विवेकले खरेर परहितमा उपयोग गर्नबाट मुन्टो बटार्छ भने त्यो मानवीय दर्जाबाट तल गिर्छ । परालको हातखुट्टा, हाँडीको टाउको र झुत्रो लुगाले बेरिएको बुँख्याचा (मानव सदृश पुतला) ले त रातदिन खेतको बिचमा अडिएर अन्नबालीको रक्षा गर्छ भने ज्ञान र विवेकले युक्त मानिस किन अरुको हितमा आफूलाई समर्पित गर्न सक्दैन ? यो ताञ्जुब लाग्दो कुरा हो । बुँख्याचा एक मात्र निर्जीव वस्तु होइन त्यस्ता कति वस्तु छन् कति ? जो अरुको भलाइमा इमानदारीका साथ जुटिरहेका छन् । त्यसैले मानिसमा पनि दुःख, कष्ट, पिर, व्यथा, वेदना आदिले आक्रान्तप्रतिको कर्तव्यबोध हुनैपर्छ । अरुको हितमा संलग्न रहेर मानवीय परिचय दिनैपर्छ भन्ने भाव अत्यन्त रोचक ढंगले बुँख्याचा कवितामा यसरी व्यक्त गरिएको छ ।
बूँख्याचा मान्छेको प्रतीक बनेर
रक्षा गर्दछ खेतको
प्राणरहित भएर पनि
चिन्दछ उसलाई
मान्छेको पेटको
बालीनालीको रक्षक बनेर
उभिएको त्यो बुँख्याचा
अरुका लागि बाँचेको छ,
मान्छेहरू सबै किन
बुँख्याचा पनि बन्न सक्दैनन् ?
यसरी बुँख्याचा जस्तो अत्यन्त सामान्य विषयमा पनि मानवीय विवेक र कर्तव्यको झल्को पाउनु, कवि लाकोजूको अन्तर्मनको दिव्यदृष्टि हो भन्दा फरक नपर्ला ।
विश्वमान चित्रभित्र पवित्र शान्तिभूमि खोजे हामी नेपाललाई नै पाउँछौ । नेपलबाट सर्वप्रथम संसारमा शान्तिको शङ्खघोष भएको हो । त्यसैले नेपाल नै संसारमा एक मात्र शान्तिको पृष्ठभूमि भएको देश हो । यो शान्तिको अग्रदुत बुद्ध जन्मेको माटो हो । हुने बिरुवाको चिल्लो पात भने झैँ जन्मदै सिद्धार्थ गौतमले दिव्य रूपको सङ्केत दिएका थिए । अन्र्तमुखी व्यक्तित्वका धनी गौतम बुद्ध अत्यन्त्र चिन्तनशील थिए । उनले संसारलाई दुखै दुखले भरिएको देखे, दुःखको कारण हुँदो रहेछ, दुःखलाई अनुभव गर्न सकिँदो रहेछ र दुःखबाट मुक्ति पनि पाउँन सकिन्छ भन्ने बुद्धि (ज्ञान) पाए पछि उनी सिद्धार्थ गौतमबाट बुद्ध बने । सांसरिक विषयसुखबाट विरक्तिएका सिद्धार्थले उनन्तिस वर्षमा दरबार छाडी पैतिस बर्षमा उपर्युक्त ज्ञान पाएका थिए । उनी जहाँ जहाँ पुगे त्यहाँ त्यहाँ पैतालीस वर्षसम्म शान्तिको सन्देश फैलाए । आजको भौतिक आसक्तिमा लिप्त हुँदै गएको मानव प्रवृतिको नियन्त्रणका लागि बुद्धका सन्देश ज्यादै महत्वपूर्ण भनिन्छ । बुद्धले अपनाएको जीवनोपयोगी पाँच शीलहरूलाई नै ‘पञ्चशील’ भनिन्छन् । बुद्धको यसै पञ्चशीललाई नै नैतिक सिद्धान्तका रूपमा अपनाई विश्व असंलग्न नीति अपनाइएको हो ।
मानिसभित्रका अहंकार, आसक्ति, राग, द्वेष, घमण्ड, छलकपट, कुविचार, स्वार्थ, लोभ, जस्ता प्रवृत्तिहरू मानवताका विरोधी हुन् । यिनलाई नत्यागेसम्म संसारमा शान्ति हुँदैन, ‘वसुधैव क्रुदुम्बकम्’ नारामा मात्र हुन्छ । “जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी” भन्ने महर्षि वाल्मिकीको उक्ति रामायणमै सीमित रहन्छ । जबसम्म बुद्धका अमृतमय सन्देशहरूको मनन् गर्दैनौँ, आफू जन्मेको माटो, आफू हिंडेको बाटो, आफूले खनेको पाटोप्रति कृतज्ञ बन्दैनौँ, तबसम्म हामी शान्तिको आभाससम्म पाउन सक्दैनौँ, गुरुको नजिक पुग्न सक्तैनौँ र मानवताको सुइँकोसम्म पनि पाउँन सक्दैनौँ भन्ने कुरा बुद्धका सन्देशहरूबाट पाउँन सकिन्छ । जबसम्म हामी ज्ञान र विज्ञानले तृप्त हुँदैनौ, मानवीय मूल्य र मान्यताप्रति ध्यान दिँदैनौँ तबसम्म हामी जीवनोपयोगी कुनै ज्ञान पनि पाउन सक्दैनौँ भन्ने कुराको चर्चा कवि लाकोजू ‘माटो को सन्देश’ कवितामा यसरी व्यक्त गर्छन्ः
शान्ति रूपको मोती पाउन
र मनलाई आत्मीय शान्तिमा
रूपान्तरित गर्न
तिमी जन्मेको माटाको
तिमी हिँडेको बाटोको
मार्मिक सन्देश छ
मलाई थाहा छैन ज्ञान कहाँ छ ?
ध्यान कता छ ?
विज्ञान कस्तो छ ?
म यो पनि जान्दिन
बोध कहाँ छ ?
बुद्ध कता छ ?
शान्तिको सन्देश फैलाउने माटाका हामी नै आज बुद्धप्रति सन्देह गरिरहेका छौँ । आफ्नै बुद्धलाई अरुले नेपालमा जन्मेका भनेर हामीलाई विश्वास दिलाउनु परिरहेको छ । बत्तीको मुनि अँध्यारो भनेझैँ शान्तिकै माटोमा अशान्तिको बम र बन्दुक पड्किरहेछन् । हामी अझैँ पनि भावनाको सागरमा डुबुल्की मारेर शान्तिको मोती खोज्न सकिरहेका छैनौँ । संसारभरि छरिएका बुद्धलाई हामीले पाउन सकिरहेका छैनौँ । हामीमा अझै पनि स्वच्छ, निश्छल, एवम् पवित्र सोचको विकास गर्न सकेका छैनौँ । हामी अहिले पनि बुद्धका सन्देशको पालन गर्ने स्वाङ मात्र गरिरहेका छौँ । हामी निष्काम भावले कर्मक्षेत्रमा लाग्नुको सट्टामा भाषणले विकासको मूल फुटाउने गुड्डी हाँकिरहेका छौँ । हल्लैहल्लाले नयाँ नेपाल बनाउँदै छौँ । कर्मले गरेको निचतालाई हल्ला र भाषणले छोपिरहेका छौं । देशको विकास, राष्ट्रको उन्नतिको आश्वासन सर्वोपरि ठान्दै आ–आफ्नो डम्फु बनाउँदै छौँ । अब हामी बुद्ध जन्मेका देशका भएको नाटक छाड्ने बेला आएको छ । अब हामी आत्मसाक्षी राखी मन, वचन र कर्मले बुद्धको हुनुपर्छ । बुद्ध जन्मेको माटाको पुकारलाई हृदयङ्गम गरी सदा बुद्धको बाटो पहिल्याउनुपर्छ । बुद्धले फैलाएको शान्तिलाई गर्वका साथ आत्मसात् गर्दै हामी बुद्धको बखान होइन बुद्ध बन्ने प्रयत्नमा लाग्नुपर्छ । बुद्धको ज्ञान पाउन साधनामा लाग्नुपर्छ भन्ने जस्ता सन्देश ‘माटाको सन्देश’ कवितामा उल्लेख छन् ।
‘घामको चुम्बन’ कविता कवि तथा साहित्यकार सूर्यप्रसाद लाकोजूको ज्ञानको विशिष्ट उद्बोधन हो, मानवीय चेतनशक्तिको उच्च उडान हो । संसारमा भएका तमाम प्राणीहरूमा मानिस मात्र अथाह ज्ञानात्मक संवेगहरूको पुञ्ज हो । संवेग विशुद्ध भावनात्मक प्रक्रिया हो जो चेतनशील मानिसमा मात्र पाइन्छ । विभिन्न परिस्थितिमा भिन्न भिन्न संवेगात्मक प्रमाणहरू देखिन्छन् । मानिसभित्रका ज्ञानात्मक, भावनात्मक र क्रियात्मक संवेगहरू परिस्थिति अनुसार सक्रिय हुन्छन् । चेतना पनि एक प्रमुख संवेग हो । भूतको स्मरण भविष्यको चिन्तन र वर्तमानको सदुपयोग जस्ता कुराहरू सबै चेतनाकै परिधिमा फन्को मार्छन् । अथवा, विस्मरण, स्मरण र अनुमान आदि सारा त्यसैमा पर्दछन् । सवै संवेगहरूको प्रेरक स्रोत नै घाम (ज्ञान) नै हो । त्यसैले घामको शाब्दिक अर्थ जति उच्च छ त्यसको भावात्मक अर्थ पनि त्यति नै व्यापक छ । घाम दिनको पर्याय हो । दिन अन्धकार (अज्ञानता) को विपरीत अवस्था हो । ‘दिन’ ले प्रकाश वा ज्ञानको प्रतीकको र ‘अन्धकार’ ले अज्ञानताको आभास दिन्छ । ज्ञानबाट नै मानिसभित्रका चेतनाका द्वार खुल्छन् । घाम वा सूर्यको प्रकाशले गर्दा नै हामी संसारलाई चिन्छौ । घाम अस्ताएपछि वा झुल्कनुभन्दा पहिले अन्धकारै हुन्छ । यसवेला हामी संसारका कुनै कुरा पनि देख्दैनौ । चेतनाशून्य निशाचर मात्र राति आँखा देख्छन् । प्रायः कुनै कुराको पनि प्रष्ट अनुभूति हुँदैन । वस्तु वा परिस्थितिको प्रत्यक्षीकरण बिना अनुभूति हुँदैन । यतिसम्म कि ऐनाभित्र आफैँलाई सम्म देखिँदैन ।
कुनै पनि परिस्थिति जब हाम्रा इन्द्रियहरूद्वारा प्रत्यक्षीकरण हुन्छन् तब नै ज्ञान हुन्छ । जन्मैदेखि अन्धाले पहाडको चित्र कस्तो हुन्छ थाहा पाउँँदैन । मनोवैज्ञानिक प्रो. विलियमका अनुसार प्रत्यक्षीकरण निश्चित र सम्भाव्य वस्तुहरूको मात्र हुन्छ । अर्का मानोवैज्ञानिक स्टागनर र कारबोस्कीले संवेदनका अङ्गहरूबाट वाह्य वस्तु र घटनाहरूको ज्ञानलाई नै प्रत्यक्षीकरण माने । ज्ञानबाट नै मानिसमा चिन्तन शक्तिको अभिवृद्धि हुन्छ । चिन्तनशक्ति कै कारणले मानिस अरु प्राणी भन्दा भिन्न भएको हो । चिन्तन प्रक्रिया नै मानिस भित्रको जटिल प्रक्रिया हो । त्यसैले धेरैमा आफ्नो विगतप्रति चिन्ता हुन्छ र भविष्यप्रति कुनै चिन्तन हुदैन । मनोवैज्ञानिक उडवर्थले मानिसलाई चिन्तनप्रधान प्रणी मानेका छन् । अर्का मनोवैज्ञानिक कोलिन्सर ट्रेमरले प्राणीको परिस्थितिप्रतिको चेतनाको अभियोजनलाई चिन्तन मानेका छन् । मानिसको अन्र्तमनमा सकारात्मक तथा चिन्तनहरू बिच द्वन्द चलिरहन्छ । बुद्धि मानिसको जन्मजात गुण हो । संवेगात्मक चिन्तन तथा प्रत्यक्षीकरणका कारण ज्ञानात्मक धरातल जति फराकिलो हुँदै जान्छ त्यति नै उसको बौद्धिक विकास पनि बढी हुन्छ । बुद्धि भनेको मानसिक शक्तिको एउटा रूप हो । थर्नडाइकले विभिन्न शक्तिहरूको समुच्चयको औसतलाई नै बुद्धि मानेका छन् ।
चेतनले मानिसभित्रका संवेगात्मक अनुभूतिहरूलाई बढी गहन बनाइदिन्छ, बढी संवेदनशील बनाइदिन्छ । त्यसैले संवेग एक विशेष प्रकारको चेतन अनुभूति हो । अनुभूतिलाई सकारात्मक रूपमा प्रयोग गर्ने वा नगर्ने त्यो उसको विवेकमा निर्भर गर्दछ । कवि सूर्यप्रसाद लाकोजूमा पनि माथि उल्लिखित मानवीय मनोवैज्ञानिक विशेषताहरू प्रबल रूपमा पाइन्छ । वस्तु र परिस्थितिलाई सामान्य रूपमा नहेरी सूक्ष्म तथा सकारात्मक रूपमा हेर्नु लाकोजूमा अन्र्तनिहित उच्च संवेगात्मक विशेषता नै हो ।
कवि तथा साहित्यकार सूर्यप्रसाद लाकोजूले राखेको शीर्षक घामको चुम्बनको ‘घाम’ ज्ञानको पर्यायको रूपमा प्रयोग गरिएको छ । ‘घाम’ को अर्थ उज्यालो हो र ‘उज्यालो’ को अर्थ ‘ज्ञान’ हो । यहाँ घामको चुम्बनको अर्थ ‘ज्ञानको स्पर्श’ हो । बिहानीको घामको झुल्कासँगै सिर्जनात्मक प्रवृत्तिका मानिसभित्रको ज्ञानात्मक संवेगलाई बढी संवेदनशील एवम् चिन्तनशील बनाइदिन्छ । त्यस्ता मानिसहरू आफ्नो लागि नभई अरूका लागि बढी संवेदनशील हुन्छन् । ‘घामको चुम्बन’ अथवा ज्ञानको स्पर्श नपाएकाहरू भ्रममा ईश्वर देख्दैनन् सेवालाई धर्म ठान्दैनन्, कर्मलाई पूजा मान्दैनन् र मान्छेमा मानवताको आभास पाउँदैनन् । दुष्टहरूको जमातमा मानवताले डाँको छाडेको हेक्का उनीहरू पाउँदैनन् । तिनका कलमले समाजविरोधी, भ्रष्ट र अहङ्कारीको प्रशंसासिवाय सर्वहितकारी तथा मानवतावादी कुनै कुरा निस्किदैन । घामरूपी ज्ञानको स्पर्शले गर्दा नै महामूर्ख कालिदास महाकवि कालिदास बने । अन्धा होमर र जोन मिल्टन महाकवि बने । दस्युराज रत्नाकर महाकवि वाल्मीकि बने । सर्वाङ्ग अपाङ्ग स्टेफेन हकिङ महान् वैज्ञानिक बने । निरक्षर कुरूप र फोहोरी सुकरात दर्शनका पिता बने । चरित्रहीन, जँड्याहा जाँ जाक रुसो महान् चिन्तक बने । यसरी ज्ञानरूपी–घामको स्पर्श वा चुम्बन पाएका त्यस्ता कति भए कति जसले संसारकै स्वरूप फेर्नमा महŒवपूर्ण भूमिका खेले । घामरूपी सकारात्मक ज्ञानको स्पर्श नपाएका अहंकारीहरू भने हिटलर, विनिटो मुसोलिनी, जार, कैजर, पोलपोट, सद्दाम हुसैन तथा ओसामा विन लादेन आदि बनी मानवताकै अस्तित्व मेट्ने काममा क्रुर सिंह गर्जे झैँ गर्जे अनि सदाका निम्ति मेटिए पनि । ज्ञानरूपी घामका चुम्बन पाउनेहरू नै ठूलाठूला कवि, साहित्यकार, दार्शनिक, वैज्ञानिक, गणितज्ञ तथा महान् विचारक बन्छन् । ज्ञानरूपी घामको मधुर स्पर्श वा चुम्बन पाएकाहरू ठूलाठूला शासकभन्दा पनि बढी सम्मानित हुन्छन् । शासकहरूको आफ्नो देशमा मात्र सम्मान हुन्छ तर ज्ञानको स्पर्श पाएकाहरू संसारभरि नै पुजिन्छन् । त्यसैले होला राष्ट्रकवि माधव घिमिरेले आफ्नो मनमा घाम नलाग्दासम्म जगतलाई नै अँधेरो देखे । हिमालमा परेको घामको झुल्काले नै जनकवि केशरी धर्मराज थापामा देशको सर्वाङ्गीन विकासको चेतना जाग्यो । पेटको भोक भोजनले मेट्छ भने ज्ञानरूपी घामको चुम्बन अथवा ज्ञानको दिव्य स्पर्शले बौद्धिक भोक मेटाउँछ ।
घामको चुम्बन’ कविताबाट लाकोजूका अन्र्तमनका कवितात्मक चिन्तन शक्तिलाई घामरूपी ज्ञानले घचघच्याएको छ । घामको चुम्बन अथवा ज्ञानको स्पर्शले नै उनलाई अक्षरहरू रोज्न, शब्दहरूलाई जोड्न र वाक्यहरूलाई कलात्मक ढङ्गले बुन्न सिकायो । ज्ञानरूपी घामको चुम्बन पाएका लाकोजूलाई जगत् र जीवन सम्बन्धि शाश्वत सत्यलाई कविताका रूपमा व्यक्त गर्ने प्रेरणा मिलेको छ । त्यसै ज्ञानरूपी घामको चुम्बन पाएर नै कविलाई विभिन्न वस्तुस्थिति र परिस्थितिसँग प्रत्यक्षीकरण भएर उनीहरूभित्रका संवेगात्मक चिन्तन शक्तिलाई उजिल्याएको छ । त्यसैले कविता ज्ञानको प्रकाश हो । निशा सुषुप्ति हो भने घाम ब्युँझाइ हो । घाम नझुल्की संसार प्रकाशमय नभए जस्तै ज्ञानरूपी घामले भावुक मनलाई चुम्बन गरेपछि कविताको अवतरण हुन्छ, भावनाको प्रकाश चारैतिर फैलन्छ । त्यसैले घाम ज्ञानको प्रतीक हो, सुख सन्तोष र शान्तिको द्योतक हो, मानवीय संवेगात्मक उच्च चेतनाको प्रतीक हो, सत्य, सदाचार र न्यायको दिव्यद्वार हो । उनीभित्रका यिनै गुणहरूको समुच्च प्रस्फुटनकै फलस्वरूप कवि लाकोजू भित्रका कवितात्मक बीजहरू विविध रूपमा अङ्कुरित भई मानव सेवामा झाँगिएका छन् । मानवताको छहारी बनी सुसाइरहेका छन् । सेवाका फूलहरू मगमगाइरहेका छन् । यिनै भावनात्मक झल्काहरू समेट्दै कवि लाकोजू ‘घामको चुम्बन’ कवितामा यसरी प्रस्फुटन हुन्छन् ः
एका बिहानै
मेरो मनको दैलो टेकेर
जब घामभित्र प्रवेश गर्छ
कविताको शिरदेखि पाउसम्म
नजर उठाउँछ र
कविताको हृदयमा
चुम्बन गर्छ तब
मेरो मनको कविता
फूल बनेर फुल्छ
यो धर्तीभरि ।
सज्जन परमार्थीहरू प्रायः लोकनिन्दाबाट तर्सन्छन् । लोकनिन्दा सुन्ने वित्तिकै उनीहरू आत्मालोचना गरी आफूभित्रका दुर्गणहरू नियाल्न थाल्छन् । त्यस्ता मानिसहरू नै मानवताको रक्षा गर्ने हुन्छन् । लोकनिन्दालाई नै गुरु सम्झेर पहिल्याउन थाल्दछन् । तिनीहरू दिनदुःखीमा ईश्वरको रूप देख्छन् नारीमा आमाको ममता देख्छन्, पुरुषमा पिताको आभास पाउँछन् । अरु पीडाले रुँदा उनका आँखा रसाउँछन् । मान्छेलाई मान्छे देख्छन् । जो लोकजिन्दामा रमाउँछन् ती दुर्जन हन्, व्यक्तिवादी हुन् । ती मानिसको हत्या गर्छन्, ढुङ्गाको पूजा गर्छन् । निर्धाको खोइरो खन्छन् वलियाको भक्ति गर्छन् । मुखले विकास गर्छन् तर कामले विनाश सिवाय केही गर्दैनन् । ती त मानवको नाममा कलङ्क मात्र हुन् । लाजसरम पचेकालाई लज्जाबोध हुँदैन । जसको कुनै इज्जत हुँदैन उसलाई वेइज्जतीको के डर? जसले आफ्नो स्वार्थका लागि अरुको कुभलो गर्छ त्यस्तो मानिस सत्ता, शक्ति, सम्पत्ति र स्वार्थका कारण जति नै माथि पुगे पनि समाज विरोधी गुण्डाहरूको बलमा जतिसुकै ठूलो मानिस कहलिए पनि त्यो कदापि ठूलो हुन सक्तैन । त्यो त तुच्छ हो, निकृष्ट हो, स्वाँगी हो, ढोँगी हो, बाघको छाला ओढेको स्याल हो, अरुको दुःखमा गोहीको आँसु खसाल्ने अवसरवादी मात्र हो।
जो न्यायको वकालत गर्छ, अन्यायको विरोध गर्छ, मानवताको पोषण गर्छ जो देशको विकास, राष्ट्रको उन्नति र जतनाको अमनचयनका लागि ज्यानकै बाजी लगाउन पनि पछि पर्दैन, त्यो महान् हो, आदरणीय हो, अविस्मरणिय हो तथा पूजनीय हो । त्यस्ता शौर्यवान् व्यक्तिको सदा खाँचो परिनैरहन्छ । समाज त्यस्ताको अपेक्षा गरिनैरहन्छ । त्यस्ता व्यक्ति सत्य र निष्ठावान् हुन्छन् । युगान्तकारी परिवर्तनका बाहक हुन्छन् । सुखमा त सबै रमाउँछन् किनभने सबैको चाहना नै सुख हो । उज्यालोमा चम्कन त सबै चाहन्छन्, यो कुनै ठूलो कुरा होइन । विपन्नतामा सम्पन्नताको आभास पाउनु, अज्ञानतामा ज्ञानको ज्योति छर्नु, “परोपकार पुण्याय पापाय परपीडनम्” लाई मूल मन्त्र मानी लोक कल्याण कार्यमा तल्लीन हुनु, असतोमा सद्गमयः तमसोमा ज्योतिर्गमयः, मृत्योर्मा अमृतम् गमयः जस्ता अन्र्तभावनाले प्रेरित भएर मानवताको रक्षा गर्छ त्यो महान् हो र धर्मात्मा पनि हो भन्ने जस्ता भावलहरीहरूलाई लाकोजू ठूलो कुरा कवितामा यसरी आलोकित गर्दछन् ।
उज्यालोमा त सक्छन् गई बस्न सबै
अँध्यारोलाई उज्यालो बनाउनु ठूलो कुरा हो ।
हामी आफूभित्रका इन्द्रियरूपी घोडालाई नियन्त्रण गर्ने सारथी हाम्रो मन नै हो । मनकै कारण हामी सुखस्वर्गमा समृद्धिको आभास पाउँछौ । मनकै कारण दुःख नर्कको आकाशमा कावा खान्छौँ । मन ज्यादै चञ्चल छ, अस्थिर छ अनि उडन्ते पनि छ । हाम्रो मनमा निरन्तर अनेकौँ खेलाबैला मच्चिनैरहन्छ । एउटा मनले हो भन्छ त अर्का मनले त्यसैलाई होइन भन्छ । मन मनोवादको घर हो । मन कहिले बादल रोए झँै रुन्छ कहिले आकाश चिच्याए झैँ चित्कार भर्छ । यो कहिले नदी झैँ कल्पनाको किनार छुदै अविरल बगिरहन्छ । मन सुखमा नाच्छ, दुःखमा रुन्छ । कस्तो अचम्मको छ मन । यसलाई कुनै अवरोध छैन । आफँै प्रश्न गर्छ आफँै उत्तर पनि दिन्छ । कहिले चित्त बुझाएर सुखको श्वास फेर्छ भने कहिले असन्तोषले भित्रभित्रै पिरोलिन्छ । कहिले गन्तव्यहीन बन्दै बगरको डुङ्गा झैँ अलपत्र पर्छ ।
यस मनले कैयौँ वसन्त सुखको कल्पनामा वितायो । कयौँ रात डर, त्रास र भयमै सिध्यायो । यो कहिले यता फर्कन्छ त कहिले उता । कहिले सुखसँग पनि झस्कन्छ त कहिले पीडासँग पनि मित लाउँछ । मनको परिधि अनौठो छ । कहिले कल्पनाको स्वर्ग छुन पुग्छ त कहिले छाँगो झैँ छङ्छङगिएर जमिनमा पछारिन्छ । कस्तो अचम्मको छ मन कहिले कृष्ण बन्न खोज्छ त कहिले कंश, कहिले प्रबुद्ध भई मार्गदर्शक पनि बन्छ । तर जे होस् यो स्थिर छैन, यो धीर पनि छैन । यसको कुनै शाश्वत धारणा छैन । यसले हिँड्ने कुनै निश्चित बाटो छैन । यसले अँगालेको कुनै निश्चित गन्तव्य छैन ।
मनको यस्तै अस्थिर गति र अधीर प्रवृत्ति अनिश्चित गन्तव्यले गर्दा नै हाम्रो अन्र्तमनमा पीडाको सोला बिझ्छ, सदा अशान्तिको बज्र खस्छ । कहिले पहाडझैँ चुलिन्छ त कहिले पानीको फोका झैँ छिनभरमै फुट्छ । यसैले हामी जीवनमा अलमलिइरहेका छौँ । त्यसैले मन ब्रह्माण्ड सरह विशाल छ, आकाश जति कै फराकिलो छ, समुन्द्र जति कै गहिरो छ । कवि लाकोजू, यो मन यति व्यापक र विशाल भए जस्तै यो सम्पूर्ण मानवीय प्रपञ्चहरूबाट निबृत्त भई एउटै शान्तिको रङमा स्थिर भइदिए हुन्थ्यो । यस मनले सर्वत्र भौँतारिने इन्द्रियरूपी घोडाहरूलाई नियन्त्रण गरी मानवताको रक्षामा स्थिर भइदिए हुन्थ्यो भन्ने भाव ‘मेरो मन’ कवितामा यसरी पोख्छन्ः
यो मन
फेरि कुनै बखत
बुद्धको अवतार पनि लिन्छ
मेरो यो मन
मन यसरी नबदलिए हुन्थ्यो
पानीको आकार जस्तै
अस्थिर नभए हुन्थ्यो
एउटै रङ शान्तिको रङमा
स्थिर भै दिए हुन्थ्यो
मेरो यो विशाल मन ।
तिम्रो म, मेरो तिमी, मा कवि लाकोजू भावुक प्रेमीका रूपमा देखिएका छन् । प्रकृतिले नै नारी र पुरुष एक अर्काका लागि बनाएको छ । कतिपय मानिसहरू नारी र पुरुष बीचको सम्बन्ध समर्पण र स्वीकारको हुन्छ भन्ने पुरातनवादी सोच राख्ने पनि छन् । त्यसै समर्पण र स्वीकारको सोचले गर्दा नै पुरुषलाई मालिक नारीलाई पुरुषका दासी सम्झने मानसिकता अझै हाम्रो समाजमा प्रबल रूपमा पाइन्छ । त्यसकै फलस्वरूप अनादि कालदेखि नारी र पुरुष सँगसँगै भएर पनि अझै टाढा छन् । एउटै परिवारमा बसेर पनि एकले अर्कालाई राम्ररी चिन्न सकेकै छैनौँ । अझै पनि नारी र पुरुष एक अर्काका मालिक र दासी नभई एक अर्काका पुरक हुन् भन्ने सोचको विकास हुन सकिरहेकै छैन । यस कवितामा कवि लाकोजू आफ्नी जीवन साथीसँगको प्रणयबन्धनको अभिव्यक्ति दिएका छन् । प्राकृतिक तŒवहरू पनि प्रायः एक अर्काका पूर्ण शत्रु वा पूर्ण मित्र हुँदैनन् । समय र अवस्था अनुसार तिनै मित्र पनि हुन्छ र शत्रु पनि, आगो र पानी पनि समय र अवस्था अनुसार कहिले शत्रु र मित्र दुबै हुन्छन् । काँचो चुनको बोरामा लुकेको आगोलाई पानीले जगाउँछ । टर्वाइनलाई घुमाएर विजुली वा आगो उत्पन्न पानीले नै गर्छ, पानीले आगोलाई निभाउँछ भने भाँडोमा राखेको पानीलाई आगोले नै तताएर उडाउँछ । आकाशमा पानी बोकेका ठूलाठूला बादलहरू आपसमा जुध्दा विद्युतधाराका रूपमा आगोको मुस्लो निस्कन्छ । त्यसको डाहा शान्त पार्न पानी वा चिसो नै चाहिन्छ । त्यसैले चिसो खोज्दै त्यो धर्तीमा हाम फाल्छ । त्यस्ता क्रियाकलाप कुनै अस्वाभाविक आत्मीय सम्बन्धका वीच पनि क्षणिक वैमनश्यताको हावाको झोक्काले हल्लाए पनि त्यसलाई स्थायी भन्न मिल्दैन । पति पत्नीमा पनि त्यस्तो ठाक्ठुक नहुने होइन तर विश्वासको धरातलमा पतिपत्नीको बीच जस्तो आत्मीयता प्रायः कसैमा हुँदैन । पतिपत्नी एक अर्काकै लागि बनेका हुन्छन् । दुबै दुृःख सुख, हर्ष, विस्मात्, उन्नति, अवनति जस्ता अवस्थाका अटुट मित्र हुन्छन् । दुईजना बीचको झगडा परालको आगो सरह हुन्छ, दुईजना बीचको दुरी शरीर र मुटु जतिकै हुन्छ । रिसभित्र एक अर्काप्रति माया झाँङ्गिएकै हुन्छ, प्रेम चुलिएकै हुन्छ । दिनभरमै रिसले राँकिएको मन गुलाब झँै हाँसेकै हुनछ भन्ने जस्ता गहन चिन्तन लाकोजूको ‘तिम्रो म, मेरो तिमी’ कवितामा पाइन्छ ।
विवाहपूर्व दुबैजना अतीतमा हराएका भएपनि वैवाहिक सम्बन्धको चर्चासँग प्राकृतिक रूपमा नै एक अर्काप्रति मायाको अङ्कुरण हुन्छ, प्रेमको झल्का झिलमिलाउँन थाल्छन् । विवाह पश्चात्का प्रत्येक क्षण अत्यन्त सुखद एवम् अविस्मरणीय हुन्छन् । प्रथम भेटका प्रणय क्षणहरू, लज्जा र निर्धक्कताका पलहरू सदा मनमा रहिरहन्छ । जुनबेला सहमति, असहमतिका कुरा आउँछन्ः कुनै कारणवश रिसाएको वेला जब गाजलु आँखाले लजाउँदै हेरेको स्मरण हुन्छ, तब मनमा उत्पन्न सबै रिस अलप हुन्छन् । रिसले आगो भई तातेको मन बरफ झैँ पग्लन्छ, एक अर्काका लागि जीवनमरणको वाचा गर्दै मुटु साँटेको स्मरण हुँदा सारा रिस हराउँछन् ।
इमान्दार एवम् आत्मीय भावले नातामा गाँसिएका पतिपत्नी बीचको झगडा परालको आगो जस्तै क्षणिक हुन्छ । पतिपत्नी बीचको नातालाई झगडाको आगाले पोल्न सक्तैन । एक अर्का बिना पतिपत्निको जीवनरथ चल्न सक्तैन । मानिस सर्वगुण सम्पन्न होइन उसका कतिपय अवगुणहरू पनि हुन्छन् । त्यसै अवगुणको कारण दुबैमा क्षणिक ठाकठुक हुन सक्छ, सँगै सुत्नेहरूका बीच कहिलेकाहीँ गोडा लाग्नु आश्चर्य पनि होइन । त्यसैले पतिपत्नी बीचको रिस कहिल्यै स्थिर हुँदैन । त्यो क्षणिक हुन्छ, पानीको फोका जस्तै । आखिर जति रिसाए पनि पतिलाई पत्नी र पत्नीलाई पति नै चाहिन्छ । अलग रहँदा दुबै आधा मात्र हुन्छन् । एक्लो भएर त जीवन चल्दैचल्दैन भन्ने जस्ता मानव जीवन सम्बद्ध शाश्वत सत्य कुरा प्रष्ट पार्दै लाकोजू भन्छन्ः
रिस खरानी हुन्छ
आखिर जति रिसाए पनि
तिम्रो म, मेरो तिमी
तिमीलाई म
मलाई तिमी
नभई हुँदैन
एक अर्का विना
हाम्रो जीवन चल्दैन
‘यात्रा’ प्रकृति जगतको नियमित गति हो । बिना लक्ष्य यात्रा हुँदैन । यात्रा त हुनैपर्छ, भइनैरहन्छ । मृत्यु यात्राको विसर्जन हो । वास्तविक यात्रा सामुहिक कहिल्यै हुँदैन । सामिुहिक त जुलुस मात्र हुन्छ । यात्रा सबैको व्यक्तिगत नै हुन्छ । यात्रा सबैको व्यक्तिगत रूपमै आरम्भ हुन्छ र व्यक्तिगत रूपमै त्यसलाई पूरा पनि गर्नुपर्छ । यस्तो यात्रामा अन्तिम समयसम्म कसैले साथ दिन पनि सक्तैन र एउटा उद्देश्य लिएर सुरु गरेको यात्रालाई कसैले पनि रोक्न सक्तैन । यात्रालाई जहिले पनि एउटा निश्चित लक्ष्यले पछ्याएको हुन्छ । कुनै सर्वहितकारी लक्ष्य लिएको यात्राको बाटो कदापि सहज हुँदैन । त्यसलाई आफ्नो लक्षित यात्रा पूरा गर्न नदिँन अनेकौँ विघ्नबाधाहरू अगाडि र्तेिर्सन आउँछन् । अनेकौँ शत्रुहरू अवरोधका तगारा तेर्साएर रोक्न खोज्छन् । दुष्टहरू रक्तबीज झै भएर वचनवाणहरू वर्साउन थाल्छन् । त्यस्ता विघ्नबाधाहरूसँग तर्सनेले आफ्नो यात्रा सहज रूपमा पूरा गर्न सक्दैन, गन्तव्य भेट्न सक्तैन । त्यसका लागि आत्मबल दरो हुनुपर्छ, मनोबल सबल हुनुपर्छ, इच्छाशक्ति मजबुत हुनपर्छ । स्वाभिमानी भएर सबै विघ्नबाधाहरूसँग सिँगौरी खेल्दै अगाडि बढ्दै जानुपर्छ भन्ने दार्शनिक भाव कवि लाकोजूले यस कवितामा व्यक्त गरेका छन् ।
आजसम्म सर्वहितका लागि सङ्कल्पका साथ सुरु गरेको ‘यात्रा’ कहिल्यै सहज भएको छैन । सर्वहितका लागिः शुक्रराज, दशरथ चन्द, गङ्गालाल, धर्मभक्तले सुरु गरेको यात्रा सहज भएन । त्यसवेलाका शासक शत्रुहरूले उनीहरूको यात्रा विचैमा टुङ्ग्याए पनि फलहीन कहिल्यै भएन । संसारमा यस्ता यात्रीहरू कति भए कति । तिनले टेकेको गोरेटामा त आज हामीले हिँड्न पाएका छौँ ।
पौराणिक कथातर्फ दृष्टि दिने हो भने पनि देवता र दानव मिली समुद्रमन्थन गर्दा निस्केका चौध रत्नमध्ये अमृत तत्व प्राप्त गरी आसुरी शक्तिलाई अमर बनाउँन दानव पनि देवताको भेषमा त्यहाँ गएका थिए तर उनी त्यसमा सफल भएनन् । वकुल्लाको बीचमा परेको काग कहिल्यै अमर बन्ला ? सत्य र असत्य, न्याय र अन्याय, पाप र पुण्य आदिको द्वन्द्व सदा चल्दै आएको छ । असत्यले सत्यमाथि अत्याचार गरेको कथा हामीले प्रशस्तै पढेका छौँ । हाम्रो समाजमा पनि सत्य र असत्य, न्याय र अन्यायको बीचको सम्बन्ध निरन्तर विवादित बन्दै आएको छ । समाजमा बलिया भनाउँदाहरू निर्धाको खेदो गर्छन् । उनीहरू कमजोर र निर्धाको संसार मेट्न चाहन्छन् । त्यसैले उनीहरू कहिल्यै शान्ति चाहँदैनन् । अशान्तिकै विषवृक्षलाई मलजल गर्न चाहन्छन् । स्पेनी कलाकार पात्लो पिकासोले शान्तिको प्रतीक मानेका सेता परेवालाई बन्दुक वा गुलेली ताक्ने व्याधाहरूको कतै कमी छैन । नारा र भाषणले शान्तिको जति गुड्डी हाँके पनि समाजमा अशान्तिकै असिना बर्साइरहेका छन् ।
हामी सबै निश्चित यात्रामा निरन्तर लागिरहेकै छोँ । यात्रा नै जीवनको वास्तविकता हो, सार्थकता हो, गतिशीलता हो । त्यसैले यात्रा त हामीले गर्नैपर्छ । हामीले गर्ने यात्राको गोरेटो बन्दुक र बमले होइन कलमले कोर्नुपर्छ । हामीले आफ्नो यात्राको गोरेटो कसैको मनलाई आतङ्कले भयभीत भएर होइन, माया, प्रेम, मनतन, करुणाले सबैको मनलाई जितेर कोर्नुपर्छ । हामीले आफ्नो यात्रा कलमले तय गर्नुपर्छ । असतको पक्षधर भएर नभई सत्को हाँगो समातेर कलम अगाडि बढ्नुपर्छ । शान्तिको गोरेटोमा मानवताको सन्देश दिँदै अगाडि बढिरहेको कलमको गति निस्तेज पार्नकै लागि कतिपय शत्रुहरू कलमलाई नै हतियार बनाइरहेका छन् । ती शत्रुहरू मित्रताको खोल ओढेर मित्रताकै खोइरो खन्दै मिठो बिख वमन गरिरहेका छन् । त्यस्ता स्वाँगी, ढोँगी र क्षद्मभेसी नक्कली मित्रमण्डलीले नै आज हाम्रो समाजको हुर्मत लिइरहेका छन् ।
आजका मित्र मुखमा रामराम बगलीमा छुरा भने जस्तै छन् । मुखले जे बोल्छन् कामले गर्दैनन् । आजका मित्र भनाउँदाहरूमा मित्रको आत्मा नभई मित्रताको खोल मात्र हुन्छ । आफ्नो स्वार्थका लागि अगाडि आएर मैत्रीभाव देखाउने, स्वार्थ पूरा नहुने भएपछि मैत्री सम्बन्धको कडीका रूपम अँगालो हाल्ने बहानामा खुट्टामा छिर्किनी लाएर लडाउँछन्, लडेपछि पिठ्युँमा छुरा घोपेर मार्छन र घाटमा गई कति न प्यारो जस्तो भई, हाया मेरो मित्र भनी गोहीको आँसु झार्दै फूलको माला पनि लगाइदिन्छन्् । यस्ता स्वकेन्द्रित व्यक्तिवादी ब्वाँसाहरूले अनेकौं विघ्नबाधा खडा गर्न खोज्ने पनि, अगाडि साखुल्ले भएर मानवताकै घाँटी थिच्न खोज्ने कायरहरूको स्याल हुइयाँले एउटा सकारात्मक सङ्कल्प बोकी अगाडि बढेको यात्रा कसैगरे पनि रोकिन्न र रोकिनु पनि हुन्न । यो जीवन पर्यन्त अगाडि बढिनैरहनुपर्छ । यसैमा मानव जीवनको सार्थकता झल्कन्छ भन्ने वैचारिक भेल कवित लाकोजूले ‘यात्रा’ कवितामा यसरी उर्लाएका छन्ः
अँगालो मार्ने बहानामा
पिठमा छुरा धस्न
उग्र छन् तिनका हात
अरूको अस्तित्वमाथि
पछाडिबाट छावा बोल्ने
कायरहरूको कायरताबाट
यात्रा रोकिन्न अघि बढ्छ
निरन्तर बढ्छ
एउटा महान् उद्देश्यका लागि ।
‘विभेद’ कवितामा कवि लाकोजू हाम्रो समाजमा नारी जातिप्रति गरिने भेदभावपूर्ण व्यवहारप्रति क्षोभ प्रकट गर्दछन् । संसारमा अस्तित्वमा रहेका जातिभेद, वर्गभद, रङगभेद र लिङ्गभेदमध्ये नेपालमा लिङ्भेद प्रमुख रहेको छ । हाम्रो समाजमा नारी र पुरुषको सम्बन्ध मात्र फूल र भमराको रूपमा रहेको छ । भमरा फूलप्रति आकर्षित हुनु उसप्रतिको अन्तरप्रेमले नभई त्यसमा निहीत परागको शोषणका लागि हो । जसरी फूलको रस सकिएपछि फूलमा भमराको आकार्षण घट्छ त्यसैगरी नारीको पनि सौन्दर्य गएपछि पुरषहरू क्रमशः टाढिन थाल्छन् । नारी र पुरुष वीचको सम्बन्ध एक अर्काका पुरकका रूपमा नभई समर्पण र स्वीकारका रूपमा रहँदै आएको छ । संसार भरिकै सामाजिक स्थितिको लेखाजोखा गर्दा हरेक समाजले पुरुषलाई भन्दा नारीलाई नै कडा सामाजिक नीति, नैतिक आदर्श, तथा चारित्रिक बन्धनमा पारेको पाइन्छ । हाम्रो जस्तो पुरुषप्रधान समाजमा त नारीको प्रायः कुनै मूल्य नै हुँदैन । पुरुषको जमातमा नारी सुन्दर भएर पनि कुरूप ठहरिन्छे । घरको मालिकनी भएर पनि अत्यन्त प्यारो तर तुच्छ वस्तुसिवाय केही होइन । नारी कहिल्यै पनि आफ्नो इच्छाले नभई पुरुषको इच्छाले बाँच्छुपर्छ । घरभित्रको परिवेश नै नारीको संसार हो । घरको मालिकनी भए पनि अधिकारविहीन हुनु नारीको नियति हो, नारीको ईश्वर नै पति हो भन्ने पारमौतिकवादी ९ःभतबउजभकथअब०ि सोचाईले ग्रसित हाम्रो समाजमा हरेक कुराको उपभोग सबैभन्दा पहिले पुरुषले नै गर्नुपर्छ । नारीले त परिवारमा सबैले खाएर बाँकी रहेको उच्छिट्ट भोजन गर्नुपर्छ । भोक लागे पनि पुरषले नखाई खान पाउँदैनन् । यदि यस संस्कारको उल्लङ्घन गरे अनेक प्रकारका निन्दा, लाञ्छन् र अवगाल सहनु पर्छ । कतिपय सम्प्रदायका नारीले त पतिको खुट्टा पखालेको पानी समेत खानुपर्छ । पुरुषसँग दोहोरो वादविवाद गर्न पाउँदैन । नारी परपुरुषसँग बोल्न पाउँदैनन् भन्ने जस्ता मार्मिक कुराको चर्चा लाकोजूले यस कवितामा व्यक्त गरेका छन् ।
हाम्रो समाजमा पुरुषप्रति स्वतन्त्र छन् नारी त्यसको एक चौथाई भाग मात्र छ्रैनन् । पुरुष आफ्नै इच्छा बमोजिम जहाँ जान पनि पाउँछन् । घर बाहिरै जति रात बिताए पनि उनलाई कुनै बन्देज छैन । उनीहरूले जति ओटीसँग सम्बन्ध राखे पनि, जति वटी पत्नीवरण गरे पनि उसको निन्दा नभई उल्टो ‘मर्द’ को उपाधि पाउँछन् । ऊ नारी जस्तो कडा नैतिक बन्धनमा छैन । सामाजिक परम्परा, नैतिक आदर्श तथा चारित्रिक बन्धनको सीमाले उसलाई छेक्दैनन् । भमरालाई लाखौँ फूल चाहारेर रस चुस्न छुट भए जस्तै पुरुष पनि सदा फुक्का छ । उनीहरू आफ्नो इच्छानुसार यौनजन्य प्यास मेट्न सक्छन् । नारीले कसैप्रति स्वच्छ मनले माया प्रेमको भावना देखाए पनि त्यो यौनजन्य अपराध भनिन्छ भने पुरुषले कैयौँ नारीसँग यौन सम्बन्ध राखे पनि त्यो प्रेम मानिन्छ, पवित्र, आत्माको मिलन भनिन्छ ।
यसरी हाम्रो समाजमा नारीलाई हेरिने दृष्टिकोण, नारीप्रति गरिने व्यवहार तथा समाजमा नारीको वास्तविक अवस्थालाई नियालि हेर्दा हरेक समयमा नारीको स्थान अत्यन्त टिठलाग्दो पाइने कुरा लाकोजूले ‘विभेद’ कवितामा व्यक्त गरेका छन् । उनको विचारमा नारीहरू पुरुषको सहकर्मी नभई अह्रौटे भएर बाँचेका छन् । नारीहरूलाई ममतामयी आमा, स्नेहमयी दिदी बहिनी, छोरी, प्रेममयी पत्नी तथा शक्तिरूपा देवीका रूपमा लिने गरेता पनि व्यवहारमा चाहिँ त्यस्तो देखिंदैन । प्रकृतिको छातीमा ढकमक्क भई फुलेका कोमल फूलहरू चुँडेर ढुङ्गाको मूर्तिमा हुत्याउनु जस्तै नारीप्रतिको जुन व्यवहार छ त्यसमा अव परिवर्तन आउनु आवश्यक मात्र नभई अपरिहार्य नै छ । नारीलाई मानवकै रूपमा हेर्ने दृष्टिकोणको विकास हुनुपर्छ । नारीलाई वस्तुस्थिति नभई वस्तुका हेर्ने भ्रमबाट सबै मुक्त हुनैपर्छ । नारी फूल हुन् त्यसैले तिनलाई फूलकै रूपमा हेरिनुपर्छ । फुललाई जस्तै हार्दिक आत्मसात गर्नुैपर्छ । नारीलाई सौन्दर्य, कोमलता, हार्दिकता, ममता तथा स्नेहकै प्रतीकका रूपमा मान्नुपर्छ । समाजमा पुरुष जति स्वतन्त्त, सुरक्षित र अधिकार युक्त छन् त्यति नै नारीलाई पनि अधिकार सम्पन्न बनाइनुपर्छ भन्ने भाव लाकोजू ‘विभेद’ कवितामा यसरी व्यक्त गर्दछन्ः
फूल सुन्दरताको प्रतीक
फूल कोमलताको प्रतीक
फूल हार्दिकताको प्रतीक
फूल ममताको प्रतीक
यो सब फकाउने बहानामा
म धुलोको फूल बनेर बसेकी छु
उस्ले भनेको कुरा मान्दै ।
कसैप्रति अन्तर्रात्माले गाँसेको मायाको प्रारूप नै आलिङ्गन वा अङ्कमाल हो । अङ्कमाल विशुद्ध हार्दिकताको प्रतीक हो । आलिङ्गन दुई मन बीचको आत्मीय मिलन हो । सम्बन्ध प्रेमले उम्रने, मायाले हुर्कने र विश्वासले झाँगिने कुरा हो । जब सम्बन्धका बिच विश्वासको अनिकाल पर्न थाल्छ तब त्यसमा चिसोपन आउन थाल्छ । आत्माको गाँठो कस्ने वाचा गरेर पनि चिसिँदै जाने मायाप्रति केको विस्मात्, के को रुवाइ ? यस्तो अवस्थामा मनलाई कमजोर होइन बलियो नै बनाउनुपर्छ ।
मनमा आपसी प्रेमको दियो बलेसम्म जतिसुकै टाढा भए पनि त्यसमा धमिलोपन आउँदैन । आत्मीयताको फूल फूलेकै हुन्छ, हृदयाकाशमा प्रेमद्वीप बलेकै हुन्छ । मनका आँखामा एक अर्काले बास गरेकै हुन्छ । यसरी सम्बन्धको दुरी चढ्दै गएपछि कसरी मन थाम्न सकिन्छ ? आपसी सान्न्त्यिको स्पर्शमा रमाउनु पर्ने मन एक्लोपनमा कसरी चित्त बुझाउन सक्छ ? अन्र्तमनमा, पीडा व्यथा र छटपटीलाई जवरजस्ती रोकेर पनि हिँड्नु परेकै हुन्छ । हृदयमा उनको सम्झनाको ज्वाला दन्किएकै हुन्छ । ढु्ङ्गे मुटुभित्र पनि प्रेमको फूल फुलेकै हुन्छ ।
माया, प्रेम भन्ने कुरा कहिल्यै एकोहोरो हुँदैन । एकोहोरो प्रेमले दुई मुटु गाँस्नै सक्तैन । दुई आँखा चार हुनै सक्तैन । दुई जिउ एक हुनै सक्तैन । आत्मीय सम्झना नै प्रेमको पवित्र तस्वीर हो । प्रेमको तस्वीरलाई विस्मरणको तुवाँलोले छोपेपछि, मायाको फुलले नसजाएपछि त्यसमा के हार्दिकता ? के पवित्रता ? दोहोरो माया एकोहोरिदै गएपछि मनलाई नियन्त्रण गर्नैपर्छ । आँखालाई नरसाउँन भन्नैपर्छ । एकले देखाएको आत्मीयता पट्टि अर्काले पिठ्यूँ फर्काएपछि त्यसप्रति कल्पिनुको के अर्थ ? रुनुको प्रयोजन नै के भयो र ?
सम्बन्ध गाँसिँदा अनेक सपना देखिन्छन् । जब सम्बन्ध टाढिँदै जान्छ प्रेमको आत्मा शून्य बन्दै जान्छ । श्रद्धा र प्रेमको सागर क्रमशः सुक्दै जान्छ । एक अर्काका लागि बनेको सोच्ने विचार क्रमशः हराउँदै जान्छ । टाढा हुँदा अति नजिकका भए पनि नजिक हुँदा देखिने वैचारिक भिन्नताका कारण टाढिँदै गएको सम्बन्धलाई पूनः जोड्न असम्भव प्रायः हुन्छ । त्यसरी मन जोडे पनि त्यो क्षणिक सिवाय दिगो हुँदैन । त्यसैले मिलन र विछोडलाई प्राकृतिक प्रक्रियाकै रूपमा लिएर आफ्नो मनलाई दरो बनाउनुपर्छ । प्रसिद्ध भारतीय कवि डा. हरिवंश राय बच्चनले मधशालामा भनेका छन्ः
मत सोचो साथी छुटा
साथी तो छुटा ही करते हैँ
है जहा बारात प्यालोँ की
प्याले टुटा ही करते हैँ
भनेझैँ लाकोजूले पनि यस्तै भावधारा “आलिङ्गान” कविताको निचोडका रूपमा यसरी व्यक्त गरेका छन्ः
हामीले सँगै देखेका सपनाहरू
क्रमशः बिरानो बन्दैछ
सागर सम्झेर पुजेको भावना
कुभावमा रूपान्तरित हुँदैछ
तिमी र म, म र तिमी
एउटै शरीरको दुई खुट्टा
सँग सँगैका पाइला थियौँ
हिजो टाढा हुँदा नजिकै रह्यौँ
आज सँगै भएर टाढा भयौँ
तिम्रो आलिङ्गनभित्र
न्यानोपन चिसिँदै जाँदा
मैले मेरो मनलाई
नछटपटिन भनेको छु ।
परिवर्तन संसारको नियम हो । संसारमा केही कुरा पनि स्थिर छैनन् । अस्ति जे थियो त्यो हिजो थिएन । हिजो जे थियो त्यो आज फेरिइसकेको छ । जुन कुरा आज छ त्यो भोलि अर्कै भइसकेको हुनेछ । परिवर्तन अनन्त गति हो । परिवर्तनले नै संसारलाई गतिशील बनाएको छ । हामी पलपलमा परिवर्तनका सन्देशहहरू पाउँछौँ । प्रत्येक दिनको घामको झुल्कासँगै परिवर्तनका आभासहरू पाउँछौँ । परिवर्तनले नै हामीलाई समयको गतिसँगै गतिमान बन्न निरन्तर घचघच्याइरहन्छ । समयको गतिसँगै आफूलाई जोड्नु बुद्धिमान हो भन्ने सन्देश दिइरहन्छ । समयका पत्र जति पल्टिदै जान्छन् परिवर्तनले पनि विभिन्न रूप, रड्ड र स्वभाव देखाउँदै जान्छ । परिवर्तनका हरेक स्वरूपमा परिवर्तनको आहट मिल्दै जान्छ । जब हामी आफ्नो वचपन र अहिलेलाई दाँजेर हेर्छौ परिवर्तनको स्वरूप हामी आफैँमा टडकारो देखिन्छ ।
ऋतु परिवर्तन भन्नु नै समय परिवर्तनको क्रमिक स्वरूप हो । शिशिरको कठोरताले कक्रिएका वनस्पति जगतमा नयाँ जीवनको थालनी हुन्छ मानौँ नयाँ जीवनका लागि तिनीहरू वसन्तलाई नै पर्खिबसेका थिए । वसन्त नयाँ जीवनको परिचायक हो, नवसिर्जनाको प्रतीक हो । नयाँ नयाँ परिवर्तनका साथै हामी सबैलाई आ–आफ्नो कर्म क्षेत्रमा जुट्ने प्रेरणा मिल्छ । वसन्तको अर्को नाम ऋतुराज हो । प्रकृतिमा वसन्तको आगमन पश्चात् पुराना सबै फेरिन्छन् । यसबेला चौरहरू हरिया देखिन्छन् । जताततै विभिन्न फूलहरूमा वनचरी रमाउँछन् । कोयलीको पञ्चमले वातावरण गुञ्जिन्छ । जताततै, नयाँपन देखिन्छ । संसारै सरस र मधुर देखिन्छ । यसरी वसन्तको कर्मयोगी सन्देशले नै मानिसलाई नयाँ उत्साह, उमङ्ग, जोस, जाँगरका साथ उन्नति पथमा लाग्ने प्रेरणा मिलेको हुन्छ ।
हामीले विगतका क्षणहरूलाई पनि बिर्सनु हुन्न र नयाँ काममा पनि लाग्नुपर्छ । प्रत्येक नयाँ बिहानीले नै हामीलाई जीवनको नयाँ मार्ग निर्देश गर्छ । वसन्त त आउँछ जान्छ । वसन्त गएपछि त्यसले सिर्जना गरेका नवीन रूप र रङ पनि खुइलिँदै जान्छ । हामीसँगै बस्ने साथी पनि समयको परिवर्तनले गर्दा छुट्टिन सक्छन् । वर्तमान विगत बन्छ । विगत हाम्रो स्पर्शबाट टाढिन्छ । सान्निध्यबाट ओझेल पर्छन् । विगत तनमा नभई मनमा हुन्छन् । परिवर्तनको विशेषता नै वर्तमानलाई विगतमा पु¥याउनु हो, भविष्यलाई पछ्याउनु हो । त्यसैले हामी परिवर्तनका हरेक स्वरूपलाई यथास्थितिको नभई अग्रगमनको सन्देशका रूपमा लिनुपर्छ, हामीले विगतप्रति निराश होइन भविष्यप्रति उत्साहित बन्नुपर्छ, भुतको चिन्ता होइन भविष्यको चिन्तनलाई आत्मासत् गर्नुपर्छ भन्ने जस्ता भावलहरहरू लाकोजूले यसरी लहराएका छन्ः
त्यो क्षण छैन
मैले तिमीलाई नसम्झेको
त्यो दिन छैन
मैले तिमीलाई भुलेको
किनभने
तिमी म बाट टाढा भए पनि
मनको धेरै नजिक छौ
तिम्रो सम्झना
अजम्बरी बनेको छ
त्यसैले
तिम्रा हरेक रूपको
सन्देशहरू म बुझ्दछु ।
‘नबिक्ने बोली’ कवितामा मुखले एउटा बोल्ने र कामले अर्कै गर्ने दुई जिब्रेको अर्थ, सर्प, गोहोरो, ड्राइगन लिजार्ड, आदि मात्र होइन । खास कुरा त दुईटा जिब्रा हुने मात्र दुई जिब्रे नभई एउटा जिब्रो मात्र हुने पनि मापाका दुईजिब्रे हुन्छन् । मुखले एउटा बोल्ने र व्यवहारमा अर्कै गर्नेको बोलाई र गराईमा फरक पर्ने भएकाले तिनलाई पनि दुईजिब्रे भनिन्छ । दस ओटा अलग अलग टाउका भएर रावणलाई दसानन् (दस+आनन) भनिएको होइन । दस किसिमका विचार भावना, दुष्टिकोण र सिद्धान्त भएको हुँदा ऊ दसानन् भएको हो । कुनै महŒवपूर्ण कुराको वर्णन गर्न हजार जिब्रा भएको शेषनागले मात्र सक्छ भन्नुको अर्थ शेषनागको हजार ओटै जिब्रा हुन्छन् भनेको नभई हजार प्रकारले अथ्र्याउन सक्ने क्षमता शेषनागमा थियो भनिएको हो ।
त्यसैगरी लाकोजू अगाडि भन्छन् बोल्ने कला दुईटा हुन्छन्ः एउटा अरुलाई खुशी पार्ने र अर्को आफैँमा खुशी हुने । आजका जो आफूलाई देशको रक्षक, जतनाको सेवक र राष्ट्रको उद्घारक सम्झन्छन् तिनीहरूमा एउटा विशेष कलाको विकास भएको छ, त्यो हो कुराले अरुलाई खुशी पार्ने र कालोलाई पनि सेतो सावित गर्न सक्ने कला । त्यहीँ कलाले गर्दा उनीहरू समाजमा इज्जतका साथ बाँचिरहेका छन् । आदर, सम्मान र इज्जतका साथ आफ्नो महत्वाकांक्षी झोला भरिरहेका छन् । पद् पुरस्कार र पदक हात पारिनैरहेका छन् । सत्ता, शक्ति, सम्पत्ति र स्वार्थको जाल बुन्न सफल बनिरहेकै छन् । यसबाट प्रस्ट हुन्छ कि कविमा ती तीनैओटा गुणहरू छैनन् । उनी अरुलाई खुशी पार्ने भाषा बोल्न जान्दैनन् ।
वर्तमान सामाजिक तथा राजनैतिक परिवेशको साँचोमा आफूलाई ढाल्न नसकेकोमा कवि लाकोजू खेद प्रकट गर्दछन् । समाजका टाढाबाठा जो आफूलाई राष्ट्रसेवक र देशभक्त भन्छन् तिनीहरू बहुसङ्ख्यक सिधासाधा कर्मयोगीहरूलाई बोलीको भुलभुलैयामा अलमलाएर केटाकेटीले भुरुङ घुमाए झैँ घुमाइरहेका छन् । आज बोलीकै भरमा जनता नेतालाई मतदान गरी चुनाव जिताउँछन् । मिठामिठा सपना बाँडेकै भरमा बाँदरलाई भ¥याङ हाले जस्तै गरी तेनाहरूलाई माथि पु¥याएका छन्। जनतालाई बाँड्ने कसम र बाचाहरूकै भरमा तिनीहरूलाई हजुरको गजुर लगाउँदै तिनकै पछिपछि दौडनेको संख्या पनि कम छैन । नेताकै लागि जनता हरिया दाँत देखाएर हिस्स पर्छन् । नेताको तिलस्मी भाषणमा लठ्ठिने धर्तीपुत्रहरू रातदिन घामपानी, झरिवादल, भोकप्यास, निद्राथकाइ, हिलोधुलो केही नभनी आँखाको दायाँ बायाँ पट्टी लगाएका घोडाले ताँगा तानेझैँ एकोहोरो कर्मलाई नै अभिष्ट ठान्ने कर्मयोगीहरू, ठुलो ढ्वाङ फुकेर नेताले गरेको भाषणको वास्तविक अर्थ बुझ्दैनन् । तिनको सक्कली भाषणभित्रको नक्कली रूप चिन्दैनन् ।
मुखमा राम राम बगलीमा छुरा उखानको मर्म ठम्याउँन सक्दैनन्। तिनीहरूले देखाएको इमान्दारीको सक्कली रूपभित्र वेइमानीको कालो छाया देख्दैनन् । त्यसैले त समाजका सोझासाधा जनता सधैँ पिल्सिएका छन् । इमान्दार जहिले पनि पाखा परेका छन् । सच्चाई डाँको छाडी रोइरहेछ, अब जनतामा पनि चेतना जागरणको बेला आएको छ। उनीहरूले सुन र पित्तल पगाल्ने बेला आएको छ । अब नेताको होइन जनताको बोली बिक्ने बेला आएको छ । मानिस भएर आफूभित्रकै मानबताको अवमूल्यन गर्नुपर्ने छैन । शक्तिको पछि लागि सत्यलाई लत्याउनुपर्ने छैन ।
‘नविक्ने बोली’ कवितामा कवि लाकोजू अगाडि भन्छन्, आजका कतिपय क्षद्मभेषी, राजनीतिकर्मीहरूले हुँदैन भन्ने शब्दै बिर्सेका छन् । ‘हस्’ ‘हो’ र ‘हुन्छ’ लाई नै उनीहरूले आफ्ना राजनैतिक स्वार्थ पूरा गर्ने मूल मन्त्र बनाएका छन् । खासै भन्ने हो भने उनीहरूको ठूलो शक्ति पनि त्यही हो । ‘हुन्न’ ‘होइन’ भने त समाजमा उनको प्रभाव निस्तेज भइहाल्छ । अब हामी त्यस्ता आश्वासनको भुलभुलैयामा नपरी आफ्नो विवेकले काम गर्ने बेला आएको छ । हामी कसैको आँखाको कसिङ्गर भएर बाँच्नुपर्ने कुनै कारण छैन । त्यसैले नेताको भाषणको भाषालाई विश्लेषण गर्ने खुबी हामीमा हुनुपर्छ । नेताका गलत क्रियाकलापको प्रशंसा होइन खुलेर बिरोध गर्न सक्ने तागत हामीले सञ्चय गर्नैपर्छ भन्ने जस्ता चेतनायुक्त सन्देशहरू कवि लाकोजूले अत्यन्त मार्मिक ढङ्गले व्यक्त गर्दछन् ।
बोल्नेको पिठो विक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने कुरा हाम्रो समाजमा प्रष्ट देखिएको छ । बोली सानो भएकैले सर्वसाधरणले सास्ती भोग्नु परिहरेको छ । बोल्ने हिम्मत नगरेकैले जो बोल्छ ऊ दबिन्छ । आजको समाजमा जो झुटो बोल्छ त्यही वीर हो । त्यसैले झुटले सत्यलाई मिचिरहेको छ। यहाँ आफूलाई जनपक्षीय भन्नेहरूकै मुखमा रामराम बगलीमा छुरा हुन्छ । पेटमा बिख र मुखमा मात्र मिठो मह टप्केको हुन्छ त्यसैले अब हुस्सुहरूमा पनि होस आउनु पछर्, लाटामा बोली फुट्नुपर्छ, अल्छीमा जाँगर उर्लनुपर्छ, अन्यायको भजन होइन न्यायका लागि जुर्मुराउनुपर्छ भन्ने आफूभित्रको आक्रोस कवि लाकोजू व्यक्त गर्दछन् ।
आजका राष्ट्र निर्माणका ठेकेदारहरूमा नैतिक बल ह्रासोन्मुख छ । सच्चाइ र इमान्दारी गिर्दो छ । विश्वास र बफादारीमा बिर्को लागेको छ । उनीहरू मुखले जे बोल्छन् वातमा त्यो गर्दैनन् । बाघ मार्ने गुड्डी हाँक्छन्, स्याल देख्दा भाग्छन् । आफ्नो स्वार्थका लागि मान्छे त के गधालाई पनि हजुर भन्छन्, स्वस्ती गर्छन् । नेता मात्र नभई नेताका चम्चाहरू समेत झुटको खेती गर्दै उन्नतिको शिखरमा पुग्न खोज्छन् । प्राणी हुन् ती तर प्राण छैन; मान्छे त हुन् ती तर मानवता छैन; बोल्न त सबैभन्दा बढी तिनै जान्दछन् तर बोलीमा सच्याइ र इमान्दारी छैन । बोली छ तर मान्छे पिच्छे फरक फरक छ । अब हामीले सक्कली र नक्कली मान्छे पर्गेल्ने बेला आएको छ । नक्कली मानिसको कुटिल, वाणीदेखि सचेत हुनुछ । हामी झुटको खेती गरी आफ्नो दुनो सोझ्याउँने अचम्मको प्राणी होइन, सच्चाइ र इमान्दारीको मार्ग पहिल्याउने समान्य मानिस बन्नुछ । ईश्वरले हामीलाई त्यस्तै आशीर्वाद दिऊन् भन्ने अन्तर्मनको इच्छा कवि लाकोजूले ‘नविक्ने बोली’ कविताको अन्त्यमा यसरी प्रष्ट्याएका छन्ः
हो मा हो मिलाउन सक्ने
प्रगतिको शिखरमा पुग्छन्
आपद विपद् केही पर्दा
फरियाभित्र नि लुक्छन्
मानिसका अगाडि मात्र हैन
गधाको अगाडि पनि झुक्छन्
मान्छे जस्तै देखिने यी
अचम्मको प्राणी बनाइदेऊ
अरुको शुद्ध वाणीमा
असल भनाइदेऊ
हे ¤ प्रभु,
मलाई पनि मान्छे अनुसार
बोल्न सिकाइदेऊ
मेरो पनि बोलीलाई
बजारमा बिकाइदेऊ ।
मानव मन विचारको भण्डार हो । मानिसभित्रका संवेगात्मक अङ्गहरूले जति बढी बस्तु र परिस्थितिको प्रत्यक्षीकरण गर्छ त्यति नै उसमा विचारहरूको उत्पत्ति हुन्छन् । त्यस्ता विचारहरू अटाइनअटाइ हुन्छन् । मनभरि छरप्रष्ट भई छरिएका विचारहरू विल्कुल अनियन्त्रित हुन्छन् । त्यस्ता विचारहरू जम्मा गरेर कुनै भाँडामा राख्न पनि मिल्दैन ।
मानिस भित्रको विचारै विचारको बीच आपसी द्वन्द चलिनैरहन्छ । मानिसभित्रका वैचारिक उतारचढाउलाई रोक्न सकिन्छ । विचारहरू प्रायः अटल हुँदैनन् । छिन् छिन्मा विचारहरू बदलिइरहन्छन् । विचारहरू बीच आफ्नो अस्तित्व रक्षाका निम्ति नै सदा युद्ध चलिरहन्छ । एकपछि अर्को विचारले नै मानव जीवनलाई थाङ्नो बनाइरहेको हुन्छ । विचारले नै शत्रु बनाउँछ र मित्र पनि । विचारले कहिलै मेलमिलाप गराउँछ त कहिले द्वन्द । विचारले नै कसैलाई यथास्थितिवादी बनाएको हुन्छ त कसैलाई अग्रगामी । विचारले नै कसैलाई विकासमा लगाउँछ त कसैलाई विनाशमा । कसैलाई शान्तिको मार्गमा हिंडाउँछ त कसैलाई अशान्तिको बन्दुक समाउन उक्साउँछ भन्ने कुरा कवि लाकोजू ‘विचार’ कवितामा व्यक्त गर्दछन् ।
कवि अगाडि भन्छन् विचारले मानिसलाई जीवनको अर्थ बुझाउँछ । वास्तवमा जीवनको अर्थ के हो त ? यो उसको विचारले सम्झाउने कुरा हो । विचार नभए जीवनको अर्थ खुल्नै सक्तैन । जो जे लेख्छन्, जे बोल्छन्, आफ्नो विचार नै लेख्छन् र बोल्छन् । जीवनको अर्थ किसानको खेतमा परालको मान्छे जस्तै बनी बाली खान आउने पशुपक्षीलाई तर्साउने बुँख्याचा जस्तै बनेर कुराले आकाश पाताल जोड्ने खोक्रा नेताहरूको तावेदारी गर्नु होइन । जन्मेपछि आफू जन्मेको संसारलाई महत्वपूर्ण योगदान दिएर जानु मानव जीवनको अर्थ हो । धरतीमा जन्मनु, खानु, पिउँनु, हिँड्डुल गर्नु, अर्थहीन बारासत्ताइस कुरा गर्नु मात्र जीवनको अर्थ होइन भन्ने विचार कवि लाकोजू व्यक्त गर्दछन् ।
मानिस भएर त जीवन छ । जीवन छ त मानिस हुन्छ । त्यसैले मानिस र उसका विचारका बिच गहिरो सम्बन्ध हुन्छ । विचार नै मानवजीवनको परिचायक हो । विचार शून्य जीवन निस्प्राण ढुड्डा जस्तै हुन्छ । त्यसैले हामीले विचार लिँदा महŒवपूर्ण लिनुपर्छ । समाजलाई बदल्न सक्ने, भ्रमलाई फेर्न सक्ने, आफ्नो जीवनलाई सार्थक पार्ने सर्वोपयोगी विचारबारे निरन्तर सोच्नुपर्छ भन्ने सोच कवि लाकोजू ‘विचार’ कविताको निचोडमा यसरी व्यक्त गर्दछन्ः
जीवन विचार हो
विचार जीवन हो,
विचारभित्र जीवन्तता हाँस्छ
म त्यही विचारभित्रको
हाँसो खोच्दछु
मैले जीवनको क्यानभासमा
समेट्न नसकेको
विचार खोज्दैछु ।
भारतको आगरास्थित ‘ताजमहल’ मध्ययुगीन मानवनिर्मित सात आश्चर्य मध्ये एक हो । यो महल सन् १६२७ देखि भारतीय पाँचौ मुगल बादशाह बनेका शाहजहाँले चौधौँ सन्तानलाई जन्म दिने क्रममा सन् १६३१ मा मृत्युवरण गरेकी आफ्नी प्यारी रानी ‘मुमताज’ को सम्झनामा प्रेमको चिनो स्वरूप सन् १६३०–१६५३ जम्मा २३ वर्ष लगाई पर्सियन वास्तुविद उस्ताद अहमद लाहोरीको नेतृत्वमा बनाउन लगाएको विश्वप्रसिद्ध महल हो । कवि तथा साहित्यकार सूर्यप्रसाद लाकोजूले यस महललाई अत्यन्त भावनात्मक रूपमा ‘ताज तिमी फुलिरहनु’ कविता प्रस्तुत गरेका छन् ।
‘ताजमहल’ भारतको आगराको लाल किल्लाबाट केही पर अवस्थित छ । यो पवित्र यमुना नदीको किनारामा रहेको छ। आफ्नो स्वाभिमानका निम्ति देशका सपूतहरू कसैका सामु कहिल्यै नझुकी लडे जस्तै अटल बनी यो महल उभिएको छ । यो ४०० वर्षभन्दा पहिलेदेखि सच्चापे्रमीका रूपमा आलोकित छ । ‘ताजमहल’ जसलाई पनि प्रेमकै आँखाले हेर्छ । ताजमहल देख्ने वित्तिकै मानव मात्र नभई मानवताप्रति प्रेमभाव उर्लन्छ । यसले प्रेमको उचाईलाई सगरमाथाको टुप्पामा पु¥याएको छ । यसको विशालता आकाशमा विलय भएको छ भने यसको ख्याति नदीभन्दा लामो छ । यसले वायुमा प्रेम छर्दै प्रेमपथका तमाम यात्रीहरूको मनलाई स्पर्श गरिरहेको छ भन्दै लाकोजूले ताजमहलको महत्व झल्काउने प्रयास गरेका छन् ।
‘ताजमहल’ अत्यन्त कोमल छ किन भने यसले प्रेमको अर्थ बोकेको छ । प्रत्येकको अन्र्तमनमा प्रेमभाव व्याप्त बनाएको छ । सेता सिङ्गमरमरले निर्मित यसका अवयवभित्र पनि यसको कोमलता स्पर्श गर्न सकिन्छ । हार्दिकताको अभास पाउन सकिन्छ । त्यसैले यसको अवलोकन र यसभित्रको मर्मस्पर्श गर्न चाहनेहरूको प्रत्येक दिन यहाँ अपार घुइँचो लाग्ने गर्दछ ।
लाकोजू अगाडि भन्छन्, ‘ताजमहल’ यति जीवन्त र कलात्मक छ, यसलाई हेर्ने मानिस हेरेको हे¥यै हुन्छन् । यसको सुरु झलक दृश्यावलोकनबाटै पनि मानिसहरू जीवन कृतार्थ भएको आभास पाउँछन् । यसले मनबाट अहँकार अश्रद्धा र सम्पूर्ण मानसिक कल्मष हटाएर प्रेमको अमरवृक्षलाई अङ्कमाल गर्ने प्रेरणा दिन्छ । संसार भरिकै मानिसमा प्रेमरसको संचार गराएर अमर बनेको छ ‘ताजमहल’ । करोडौँ मनहरूमा प्रेमभावकै बाढी उर्लाएको छ ताजमहलले ।
संसारलाई हतियारले होइन प्रेमले जित्न सकिन्छ भन्ने भनाइलाई ताजमहलले चरितार्थ पारेको छ । मायाको बदला घृणा होइन माया नै दिनुपर्छ । सबका लागि आफ्नो छाती खुल्ला राख्नुपर्छ भन्ने प्रेरणा ताजमहलले दिएको छ भन्ने भाव पनि कवि लाकोजूले ‘ताजमहल’ कवितामा व्यक्त गरेका छन् ।
समानता मानवताको लक्षण हो । भेदभाव दानवताको पराकाष्टा हो, ताजमहल कसैप्रति कुनै पनि भेदभाव राख्दैन । यसले सानो ठूलो भन्दैन जातभात भन्दैन, कालो गोरो भन्दैन अनि स्त्री पुरुष पनि भन्दैन । यसले सबको हृदयमा समान रूपमा बास गरेको छ । संसारभरिका मानिसमा प्रेमको प्रतीकका रूपमा आफ्नो अमिट छाप राख्नु ‘ताजमहल’ को महान्ता हो भन्दै लकोजूले ताजमहल युगयुग सम्म यसरी नै सबैलाई प्रेमको प्रेरणा दिँदै रहोस्, सबैको मनमा प्रेमको फूल बनी यसरी नै मगमगाउँदै रहोस् भन्ने भाव लाकोजू ‘ताज तिमी फुलिरहनु’ कविताको निचोडमा यसरी अथ्र्याएका छन्ः
धर्मका आधारमा
भेदभाव गर्दैन ताज
जातलाई पनि
ठुलो मान्दैन ताज
सबलाई आफ्नै हृदयमा
स्थान दिन सक्नु उच्चता हो ताजको
महानता पनि ताजको
ताज तिमी सदैव
यसरी नै रहनू है
सबैको मनमा
प्रेमको फुल फुलाउँदै ।
अवसरवादीहरू प्रायः द्वैध चरित्रका हुन्छन् । आफ्नो स्वार्थका लागि जुन बेला जे गर्न पनि तत्पर रहन्छन् । यदि आफ्नो स्वार्थ पूरा हुन्छ, अरुलाई खुसी पार्दा आफ्नो फलिफाप हुन्छ भने खुट्टामा छाँद हाल्न पनि पछि हट्दैनन् । त्यस्ता मानिसहरू आफ्नो स्वार्थका लागि जतिसुकै झुटो बोल्न वा, वाचा, कसम खान पनि हिचकिचाउँदैनन् । आफ्नो स्वार्थका लागि हत्या, हिंसा गर्ने, लुट्ने, ढाँट्ने, छल्ने जस्ता जस्तोसुकै जघन्य अपराध पनि गर्न सक्छन् । तुरुन्तै गाली गर्न नि सक्छन् तुरुन्तै प्रशंसा गर्न बेर लाउँदैनन् । त्यस्ता मानिसहरू परिस्थिति अनुसार छेपाराले रङ फेरे जस्तै फेरिन सक्छन, पुतलीले जुनी फेरे जस्तै फेरिन सक्छन् । यस्ता द्वैध चरित्रका नराधमहरूको हातमा देशको वागडोर पर्नु भनेको देशकै लागि दुर्भाग्य हो । त्यस्ताबाट देशको सर्वाङ्गीन विकास त परै जाओस् देशको अस्त्विमै प्रश्न चिन्ह खडा नहोला भन्नु पर्दैन भन्ने भाव कवि लाकोजू “अवसरवादी” कवितामा यसरी व्यक्त गर्छन् ।
आफूलाई चाहियो भने
खुट्टैमा ढोग्छ
त्यस्तै मौका पायो भने
पछाडिबाट ठोक्छ
छिनमै गर्छ गाली उसले
छिनमै गर्छ प्रशंसा
यस्तो छेपाराले
देश कहाँ बोक्छ ।
अवसरवादीहरू लोभका प्रतिमूर्ति हुन् । उनीहरू लिन मात्र जान्दछन् । कसैलाई केही पनि दिन जान्दैन । मानिसलाई आवश्वासनको थाङ्नामा सुताएर आफ्नो स्वार्थ पूरा गर्न उनीहरू अत्यन्त नम्र बन्दछन्, मिष्टभाषी बन्छन् मानौ उनीहरू अत्यन्त भद्र व्यक्ति हुन्, साधुसन्त र त्यागी हुन् । उनीहरू कसैलाई कुनै अभद्र व्यवहार गर्दैनन् । गाली गर्दैनन्, अप शब्द बोल्दैनन् । त्यस्ता मानिस जहिले पनि ‘राम्रो’ मान्छे होइन हाम्रो मान्छे खोज्छ । ‘कस्तो’ मान्छे होइन ‘कस्को’ मान्छे हेर्छ । देशका फाइदायुक्त तथा महत्वपूर्ण ठाउँमा आफ्नै मानिस तान्छ । तिनका नजरमा योग्यता तुच्छ वस्तु हो । त्यस्ता मानिस समाजको समृद्धिभन्दा सत्ता, शक्ति र सम्पत्तिकै पछि लाग्छन् । एक पटक सत्तामा पुगेपछि मान्छे खाने बाघले अरु जनावरको मासु खान नमाने जस्तै सत्ताबाहेक अरु कुरा हेर्नै चाँहदैनन् । यस्ता अर्थलिप्सा, सत्तापिपासु र शक्तिका पुजारीहरू देशका गद्दार हुन्, राष्ट्रका घातहरू हुने भन्ने भाव अवसरवादी कविताको अन्तमा लाकोजू यसरी व्यक्त गर्दछन्ः
जति लिए पनि लिउँ–लिउँ गर्छ
दिन उसले जान्दैन
कुरा गर्छ सधैँ चिल्लो
झटारो कहिल्यै हान्दैन
आफ्नो मात्र तान्छ सधैँ
योग्यलाई कहिल्यै छान्दैन
जहिल्यै बस्छ कुर्सीमा त्यो
ओर्लन कहिल्यै जान्दैन ।
कुनै पनि देशको इतिहासले त्यस देशको भूतकालीन दिग्दर्शन समेटेको हुन्छ । इतिहासले नै त्यस देशको राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अखण्डता तथा राष्ट्रिय सार्वभौमिकताको मूल्याङ्कन गरिरहेको हुन्छ । इतिहास आत्मगौररवको मुलबाटो हो । इतिहास विगतका घटनाहरूको वर्णन विश्लेषण, तथा मूल्याङ्कन गर्ने ज्ञान हो । इतिहास नै संस्कृति र सभ्यताको बाहक हो, इतिहास तथ्य हो किनभने समय बितेर गएपछि पनि त्यसका प्रमाणस्वरूप अवशेषहरू लौकिक तथा साकार रूपमा हामी अहिले पनि पाउँछौ । इतिहास हाम्रो पन हो, पहिचान हो र चिनारी हो । यसै तथ्यार्थ हेतु इतिहासलाई पाँचौ वेद पनि भनिएको हो ।
देशको सीमा तथा भूमागहरू पृथ्वीको निश्चित टुक्रो मात्र नभई ऐतिहासिक महŒव पनि हो । यसको स्वतन्त्रता, एवम् राष्ट्रिय अखण्डताका निम्ति आफ्ना पुर्खाले उठाएको वीरतापूर्व, साहसी कार्यहरूको तथ्यवृतान्त पनि हो । इतिहास बेच्नु भनेको आत्मगौरव बिर्सनु हो । आत्मबोधको कमी हो, आफ्नो स्वतन्त्र अस्तित्वको हेक्का नहुनु हो अनि आत्मविश्वासको अल्पता हो । आज हामीकहाँ नयाँ नयाँ युगसापेक्ष गौरवशाली इतिहास रच्नुका सट्टा हाम्रा वीर पुर्खाहरूको रगतले कोरिएको, स्वाभिमानले भरिएको, स्वतन्त्रताको जग हालेको इतिहासलाई नै बिर्सिरहेका छौँ । आफ्नो राष्ट्रका जुनजुन कुराले संसारमा हाम्रो मौलिक पहिचान दिइरहेका छन् । राष्ट्रको गौरव र गरिमा बढाइ रहेका छन् तिनको लिलामी गर्दै अरुको आयात गरिरहेका छौँ । आफ्नै खुट्टामा उभिने वातावरण बनाउनुको सट्टा अर्काको दयामा बाँच्ने दासमनोवृत्तिको विकास गरिरहेका छौँ । उत्पादित वस्तुहरू संसारको बजारमा पु¥याएर सम्पन्नताको प्रदर्शन गर्नुका सट्टा उत्पादन गर्ने जनशक्ति निर्यात गर्नमा आफ्नो बढत्व ठान्छौँ । यति हँुदा पनि कुनै आत्मग्लानि छैन । यसमै गर्व गरिरहेका छौँ । देशलाई के दिन सक्छु भन्ने देश भक्तको अनिकाल बढ्दो छ । देशबाट जति सकेको के लिन सक्छु भन्ने सञ्जन दुष्टहरूकै बिगबिगि जतासुकै देखिन्छ । आज हामीमा पैसासिवाय अरु चिज देख्ने दृष्टि कमजोर बन्दैछ । बाहिरी आँखाले संसारको झिलिमिली देखे पनि भित्री आँखाले संसारलाई अँध्यारो देखिरहेका छन् । राष्ट्रिय स्वाभिमानले नेटो काटिसक्यो, विवेकमा बिर्को लागिसक्यो । यहाँ आज पैसाभन्दा ठूलो केही छैन । स्वास्थ्यमा पैसा, शिक्षामा पैसा, धर्म र संस्कृतिमा पैसा, पैसा पाए हामी सबै कुरा बेच्न तयार छौँ । हामी पैसाका लागि आफ्नै ऐतिहाँसिक धरोधर मूर्तिहरू समेत बेचिरहेका छौँ । यो कुरा सन् १९८९ मा लैनसिह वाङ्देलद्वारा प्रकाशित ुकतयभिल ष्mबनभ या ल्भउबुि पुस्तक पढे जो कोहीले पनि प्रष्ट थाहा पाउन सक्छ । पैसाकै लागि चार करोड वर्ष पहिले हिमालय बन्ने क्रममा उत्पन्न भएको जैविक विविधतायुक्त, चुरे हामी बेचिरहेका छौँ । यसलाई जोगाउन ०७०÷०७१ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम ल्याए पनि त्यो हात्तीको देखाउने दाँत जस्तै बनेको छ ।
इतिहास बेच्नु आफैँमाथि सन्देह गर्नु हो, आत्मा बोधको कमी हो, आफ्नै अस्तित्वको हेक्का नहनु हो । आत्म गौरव र आत्म स्वाभिमानको घोर अपमान हो । इतिहास मेट्नु भनेको आफ्नै भविष्यप्रति प्रश्न चिन्ह लगाउनु हो । यसरी पैसामा इतिहासको बिक्री भएकोमा कवि लाकोजू अत्यन्त क्षुब्ध देखिन्छन् । आजका प्रायः सबै देशभक्त, राष्ट्रवादी, हाम्रा नेताहरू नयाँ इतिहास रच्नेतर्फ नभई भएको पूर्खाले रचेको इतिहासकै पसल थापेर बेचिरहेकोमा उनी भित्रैदेखि खिन्न देखिन्छन् । बाहिरबाट राष्ट्र, राष्ट्रियता र देशभक्तिको मन्त्र जप्दै सकेसम्म देशलाई नै खँगारेर आफ्नो ढुकुटी भर्ने, नयाँ नेपाल बनाउने बहानामा राष्ट्रिय गौरवका ऐतिहाँसिक कुराहरूकै डाँक बढाबढ गर्न पछि नपर्ने ब्वाँसो प्रवृत्तिका क्षद्मभेषीहरूप्रति उनी अत्यन्त आक्रोसित देखिन्छन् । सयमा पाँचबिस झुटो बोलेर सिधासाधा जनतालाई आश्वासनको थाङ्नामा सुताएर आफ्नो दुनो सोझ्याउन पल्केकाहरूको धर्म नै पैसा हो, कर्म नै पैसा हो, पैसा नै सभ्यता हो र पैसा नै समाज र संस्कृति हो । यही पैसाका लागि उनीहरू बारम्बार झुटको खेती गर्छन् ।
जसको जस्तो स्वभाव हुन्छ उसका त्यस्तै क्रियाकलाप हुन्छन् । प्रवृत्ति भन्नु नै स्वभावको प्रतिबिम्ब हो । सुर र असुर
कुनै व्यक्ति होइन प्रवृत्ति मात्र हो । बाघको प्रवृत्ति रगत पिउनु हो, मासु लुछ्नु हो । यो नै उसको आत्मरक्षाका निम्ति गर्ने धर्म हो । पानीमा डुब्न लागेको बिच्छी वा सर्पलाई बचाउँन खोज्दा उल्टो डस्छ नै । यो उनीहरूको प्रवृत्ति हो, स्वभाव हो र त्यो नै उनीहरूको धर्म पनि हो । यी त भए विवेकहीन पाशविक प्रवृत्ति । मानिस त विवेकशील भइकन पनि किन विवेकशून्य हुन्छ ? आफ्नो निजी स्वार्थका निम्ति जनतासँग विश्वासघात किन गर्छ ? देश र राष्ट्रप्रति किन गद्दारी गर्छ ? काला विचारकाहरू कालै विचारले प्रेरित हुन्छन् । कालो मनको इटालीको निरङ्कुश शासक बिनिटो मुसोलिनीले जिन्दगीभर कालो बाहेक अरु कुनै रङको लुगा लगाएन । कालो मनको हिटलरले साठी लाख यहुदीलाई ग्यास च्याम्बरमा पारी वंशहत्या ग¥यो । खोज्दै जाँदा मुखमा मह र पेटमा बिख हुने कति पाइन्छन् कति । यस्ता ब्वाँसहरू नै इतिहास बेच्छन् । यस्ता व्यक्तिहरूका सामु इतिहास त भैँसीको कानमा बिन बाजा बजाउनु जस्तै हो । सुँगुरका सामु मोती छर्नु जस्तै हो । ब्वाँसा प्रवृत्तिका क्षद्मभेषीहरू इतिहास बेचिनैरहन्छन् । जनतालाई उल्लू बनाइनैरहन्छन्, देश र राष्ट्रप्रति गद्दारी गरिनैरहेका हुन्छन् भन्ने भावधारा कवि लाकोजू “इतिहासको लिलामी” कविताको अन्तमा यसरी व्यक्त गर्दछन्ः
स्वार्थको सानो घेरामा
सीमित हुनेहरू ब्वाँसा झैँ बन्छन्
तिनीहरूले इतिहासको मर्म
बुझ्दै बुझ्दैनन् र
इतिहास बेच्छन् पैसाका लागि
पसल थापेर
भारतको राजधानी नयाँ दिल्लीको चाँदनी चोकस्थित ऐतिहासिक लाल किल्ला ९च्भम ायचतभ० मुगल बादशाह जहाँ गिरका पुत्र पाँचौ मुगल बादशाह शाहजहाँले सन् १६४८ मा निर्माण गराएका हुन् । कुतुब राजाले बनाउन लगाएका कुतुब मिनारले ऐतिहासिक झलक दिएजस्तै यसले पनि अझै रक्षात्मक कर्मकै सङ्केत दिइरहेको छ । दिल्ली र अगरालाई आफ्नो साम्राज्य बनाई बसेका मुगल बादशाहले रक्षात्मक दृष्टिले बनाएको यस लाल किल्लाले भारतीय मुगल इतिहासलाई अझै जीवन्त राखेको छ । लालकिल्ला हेर्ने वित्तिकै भारतीय इतिहासका पानाहरू हाम्रा मानसपटलमा पल्टन थाल्छन् । यो नै लाल किल्लाको धर्म हो र कर्म पनि हो । यसै किल्लाको बलमा मुगलहरूले दिल्लीलाई लामो समयसम्म शत्रुहरूबाट सुरक्षित राखेका थिए । यसमाथि शत्रुहरूका कति बन्दुक र तोपका गोला बर्सँदा पनि यो सधैँ अपराजित बन्दै अडिग रह्यो । रक्षात्मक अभिभारा बोकेको यस लालकिल्लाले आफूले अरुको चोट सहे पनि दिल्लीको रक्षा गर्नु उसको शुरताको प्रतीक हो, वीरताको द्योतक हो । त्यसवेला अति शक्तिशाली अस्त्रको प्रयोग नभई सुरक्षित रहनु उसको सौभाग्य पनि हो ।
कुनै बेला शस्त्र युद्धमा पुरोडास बन्नु परेको लालकिल्ला आज गाँस, बास र कपासका लागि कल्पिरहेका अभाव ग्रस्तहरूका लागि आश्रयस्थल बनेको छ । अधिकांश गरिब नै गरिबले मरिएको धनी देश भारतका झन्डै एक चौथाइ जनसङ्ख्या सुविधाविपन्न अवस्थामा झुपडीमा बस्छन् भने कतिपय सहरका पेटीहरूमा बसी मागेर जीविका चलाउँछन् । दिल्लीका भिखमङ्गाहरू सडक पेटी र यसै लालकिल्ला भित्र सुत्छन् । उनीहरू त्यहीँ जन्मछन् त्यही हुन्र्कछ, बिहाबारी र प्रजनन् पनि त्यहीँ हुन्छ । खुल्ला सडक पेटीमा जीवनको आशादीप बालिरहेका असङ्ख्य भारतमाताका सन्ततिहरू यसै किल्लामा विश्रान्ति लिई धनी नेताहरूका, राष्ट्रको उन्नति, देशको विकास र जनताको अमनचैन र सुखशान्ति र वैभवको वाचा र कसमहरू बाँडेका ओजपूर्ण भाषण सुन्दै आगन्तुकका सामु हात पसार्छन् । कुनै बेला दिल्लीको अस्तित्व मेट्न आउने शत्रुहरूसँग लड्ने लालकिल्ला आज अभावग्रस्तहरूको पर्याय बनी अभावसँग जुधिरहेको छ । गरिबी आकान्त भई दैन्य जीवनयापन गरिरहेकाहरूलाई एक मात्र आश्रयदाता बनिरहेको छ । मानवबस्तीमै मानवताको प्रकाश हराउँदै गएको ठाउँमा मानवताको रक्षाखातिर लालकिल्लाको योगदान अत्यन्त उत्साहपूर्वक रहेको कुरा लाकोजूले ‘लालकिल्ला तिमी सपनामा आयौ’ कवितामा व्यक्त गरेका छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |