पनौती । कुनै समय कम्युनिष्टको क उच्चारण गर्न नहुने अवस्थामा कम्युनिष्ट कार्यकर्ता बन्नु त्यति सहज थिएन । जस्तो जनयुद्धमा माओवादी भनिसकेपछि शासकहरुले हेर्ने दृष्टिकोण र जीवनको रक्षा महत्वपूर्ण पाटो रहेजस्तै तत्कालिन अवस्थामा कम्युनिष्ट हुनु भनेको खुकुरीको धारमा हिँड्नु जस्तै थियो । जसको लागि साँच्चिकै नेपाली जनतालाई गाँस, बास, कपास, स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहज पहुँच पुग्नेछ, हेपिएकाहरुले सम्मान पाउनेछन् आदि उद्देश्य राखेर कम्युनिष्ट पार्टीको सदस्यता लिएको नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेश सदस्य तुयुकाजी ताम्राकारले बताउनुभएको छ ।
मंगलबार पनौतीमा नेपाल कम्युनिष्ट पार्टी नेकपा पनौती नगरको आयोजनामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उक्त भनाइ राख्नुभएको हो । हाल मुलुकमा देखिएको राजनीतिक अस्थिरतातर्फ इन्कित गर्दै आन्दोलनका विभिन्न स्वरुपहरु हुने गर्छन्, त्यो मध्ये अहिलेको सीमित अधिकारका लागि तत्कालिन माओवादीले उठाएको बन्दुक राजनीतिक मुद्दामाथि हो तर जतिबेला झापा विद्रोह भनिएको थियो, त्यतिबेला उठेको हतियार राजनीतिक परिवर्तनका लागि थिएन केवल ओलिको सन्का प्रवृत्तिले निम्त्याएको एउटा परिघटना थियो । जहाँ पञ्चायती शासकहरुले सयौं निशस्त्र योद्धाहरुलाई सुखानीको जंगलमा लगेर मा¥यो तर ओलि भाग्दै आफ्नो रणनीतिक स्वार्थ पूर्तिका लागि उठाइएको विद्रोहका नाममा व्यक्ति हत्या गर्दै हिँड्यो । खाना खाँदै गरेको व्यक्तिको गला रेटेर रगतले लत्पटिएको त्यो अनुहार लिएर भागिरहँदा तत्कालिन शासकले ज्यानमाराका नाउँमा कस्टडीमा सजायँ मुक्त भएको मान्छे ओलि । यस्ता व्यक्तिबाट राजनीतिक परिवर्तन देख्नु हामीजस्ता कार्यकर्ताहरु दोषी छौं । त्यसैले आज ओलिले जुन मुलुकको अवस्था सिर्जना गराएको छ, आफूले तत्कालिन एमालेको नवौं महाधिवेशन आउनु अगावै कल्पना गरेको विषय थियो भन्दा फरक पर्दैन भन्नुहुन्छ नेता ताम्राकार ।
जति पनि ओलिका अघिपछि लाग्नेहरु छन्, उनीहरु पनि पार्टीमा कति नीति, विधि पालना गर्ने व्यक्ति हुन्, आफैं अड्कल गर्न भेलाका सहभागीहरुलाई आग्रह गर्नुभएको थियो । तसर्थ, आज मुलुक जुन विषम् परिस्थितिमा छ, त्यसबाट उन्मुक्ति दिन सडक आन्दोलनभन्दा अर्काे विकल्प आफूले नदेखेको नेता ताम्राकारको कथन थियो । जहिले पनि कमिशन र पदको भन्दा अरु कुनै माध्यम नदेख्ने ओलिले जुन किसिमको स्थिति खडा गरेको छ, त्यसले नेपाली कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको छ । यस्ता खराब व्यक्तिलाई नेता चुन्ने तपाईं हामी नै दोषी हो । भन्नैपर्दा, तत्कालिन एमाले नै सबैभन्दा ठूलो यसको दोष स्वीकार्नुपर्छ । हामी बिचकै कयौं साथीहरु ओलिलाई अध्यक्ष बनाउँ न भने कन्द नै चुँडिने गरी वकालत गर्दै साम, दाम, दण्ड, भेद खर्चिन पछि परेनौं । आज त्यसैको उपज सिंगो मुलुकले खेप्नु परेको छ । तसर्थ, भोलि हुने विशाल विरोध कार्यक्रमका लागि आ–आफ्नो बस्तीबाट सक्दो सहभागिता जनाउँ र असंवैधानिक कदमका नायक ओलिलाई एकपटक फेरि ०६२/०६३ को आन्दोलनको झझल्को मेटाउने प्रण गरौं भन्दै आफ्ना प्रशिक्षणात्मक अभिव्यक्ति नेता ताम्राकारले अन्त गर्नुभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा पनौती नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा बागमती प्रदेश सांसद बसुन्धरा हुमागाईंले केही हप्तादेखि खेप्दै आएका अनर्गल प्रचारहरुलाई प्रष्ट्याउने क्रममा आफू कुनै पद लिनको लागि कम्युनिष्ट नभएको स्पष्ट पार्दै अहिलेको आन्दोलनमा कुनै लालसा लिएर आएको छैन । मलाई पार्टीले जे जिम्मेवारी दिन्छ, त्यही पूरा गर्न तयार छु । जुन किसिमको भ्रमको खेती गरिएको छ, त्यसका पछि इमान्दार, कर्तव्यनिष्ठा कार्यकर्ताहरुबिचमा कुनै किसिमको भ्रम पैदा नहोस् भन्दै आन्दोलनको औचित्य प्रकाश पार्दै अहिलेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी काभ्रे जिल्लामा पनि प्रचण्ड–माधव समूह ७० प्रतिशतको हाराहारीमा रहेको तथ्य प्रस्तुत गर्दै कुनै पनि कार्यकर्ता विचलित नहुन र भ्रमको खेतीतर्फ नलाग्न आग्रह गर्नुभएको थियो ।
केन्द्रीय समितिमा रहेका ४ सय १५ जना मध्ये २ सय ९५ जना अहिले पनि संस्थापन पक्षमा रहेको जानकारी गराउनुहुँदै पार्टीको आधिकारिक नाम र चुनाव चिन्ह संस्थापन पक्ष (प्रचण्ड–माधव समूह) ले नै पाउने समेत जानकारी गराउनुभएको छ । पार्टीको २०७५ को आन्तरिक विधानअनुसार पनि निर्वाचन आयोगले आधिकारिकता संस्थापन पक्षलाई नै प्रदान गर्ने निश्चित भएको खुलासा गर्नुभएको छ । ओलि निभ्ने बेलाको बत्ती हो, कम्युनिष्टलाई सिध्याउने एउटा साधन सावित भएको छ । जसले इतिहासमा कालो धब्बाको रुपमा सधैं सम्झिरहने छौं भन्नुहुँदै प्रत्येक सचेत कार्यकर्ताहरुलाई नेपालको संविधानका धारा ७१ देखि ७६ सम्म गहन रुपमा अध्ययन गर्न सहभागी कार्यकर्ताहरुलाई आग्रह समेत सांसद हुमागाईंले गर्नुभएको थियो ।
स्थानीय सत्तातर्फ इन्कित गर्दै शिक्षकहरुमाथि यदि संस्थापन पक्षमा लागेको थाहा पाए, जागिर धरापमा हुने, जागिरबाट हात धुनुपर्ने जस्ता गैर जिम्मेवारपूर्ण व्यवहार देखाउँदै धम्क्याउनु कहाँसम्मको नैतिकता हो ? भन्दै एउटा कर्मचारीले आफू मातहतमा रहेको कर्मचारीलाई यस किसिमको निकृष्ट व्यवहार देखाएर कति दिन रोक्न सकिन्छ ? हेक्का रहोस् भन्नुहुँदै कुनै पनि व्यक्ति स्वतन्त्र छ, उसले कसैको व्यक्तिगत जीवन बाहेक आफ्ना स्वतन्त्र अभिव्यक्तिहरु पोख्न पाउनुपर्छ तर पनौती नगरपालिकामा अधिनायकवाद लादिएको आभाष आफूले पाएकोतर्फ स्मरण गराउनुहुँदै प्रत्येक अगुवा कार्यकर्ताहरुलाई कुनै पनि धम्की र प्रलोभनको पछि नलाग्न निर्भिक भएर सत्य, तथ्य र संवैधानिक प्रावधानअनुसार आफ्ना टोल, छिमेकमा रहेका नागरिकहरुलाई यो असंवैधानिक कदमका बारेमा सचेत गराउन आग्रह गर्नुभएको थियो ।
हुन त सर्वसत्तावाद सरकारले विभिन्न प्रलोभनमा पारेर न्यायालय समेतलाई प्रभावित पारिसकेको अनुभूति नेपाली जनताले गरिरहेका छन् । त्यसको पुष्टि न्यायालयमा न्यायाधिशहरुबाट वकिलहरुलाई गरिएका प्रतिप्रश्नहरुले पुष्टि गर्दछ । जे होस्, संविधानमा नभएका कुराहरु कसैलाई गर्ने छुट छैन । तसर्थ पनि राजनीतिमा हामी जित्छौं तर चुनावमा हारौंला, केही फरक पर्दैन । पार्टीको संगठनात्मक संरचनालाई चुस्त, दुरुस्त बनाउनु हामी तमाम कार्यकर्ताहरुको दायित्व हो । हामी प्रत्येक कार्यकर्ताहरुको योगदानअनुसार सम्मान गर्न पछि पर्ने छैनौं । तसर्थ, कसैको प्रलोभनको खेतीतर्फ आकर्षित नबनौं । हामी जहाँ छौं, त्यहीँबाट फेरि एकपटक राजनीतिक आन्दोलनका लागि उठौं र काठमाडौंमा हुने विरोध सभामा सहभागी बनांै भन्नुभएको थियो । अब स्पष्ट छ, नेपालमा दुई वटा पार्टी रहन्न त्यसैले नेपाल कम्युनिष्ट पार्टी नेकपालाई फेरि पनि एकपटक सडकबाट सदनमा पु¥याउन र आमूल परिवर्तनगामी जनताहरुको आशाको धरोहर स्थापित गर्न समर्पित होऔं । यति गर्न सक्यौं भने अब हाम्रो समाजवादको लक्ष्यतर्फको यात्रा बढ्नेमा कुनै रोकावट नहुने सांसद हुमागाईंको तर्क थियो तर चुनौती धेरै छन् । अनर्गल प्रचारले, भ्रमको खेतीले हामीलाई अल्मल्याउन खोजिन्छ । मिठा आश्वासनहरुले हामीलाई गन्तव्यविहिन बनाउने छ । त्यसका लागि सजग भएर शालिन ढंगबाट प्रस्तुत हुनु तमाम न्यायप्रेमी कम्युनिष्ट कार्यकर्ताहरुको दायित्व हुने सांसद हुमागाईंले व्यक्त गर्नुभएको छ । यति गर्न सक्यांै भने पनौती नगरमा फेरि पनि हाम्रा प्रतिस्पर्धी अरु हुनेछैनन् भन्दै आफ्ना अभिव्यक्तिहरुलाई बिट् मार्नुभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा पनौती नगर कमिटीको आयोजनमा आयोजित नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेकपा जिल्ला कमिटी सदस्य होमबहादुर खुलालले हाम्रो अहिलेको आन्दोलन हामीले नेता बनाएका नेतृत्वहरुको कमजोरीको उपज भएको बताउनुभएको छ ।
आजको आन्दोलन हाम्रो बाध्यता हो । यो सबै ओलि सरकारको असंवैधानिक कदमबाट सिर्जना भएको आकस्मिक घटना हो । यसका विरुद्ध सडक संघर्ष नै पहिलो साधनको रुपमा अपनाउन बाध्य भएका छौं । यदि हामीले सशक्त रुपमा आन्दोलन गर्न सकेनौं भने १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त सीमित अधिकारका साथै संवैधानिक व्यवस्था समेत गुम्नसक्ने अवस्थामा पुगेको हुँदा त्यसको रक्षार्थ आन्दोलनमा जानुको विकल्प नभएको नेता खुलालले कार्यकर्तामाझ बताउनुभएको छ ।
काठमाडौं केन्द्रित विरोध सभामा जतिसक्दो धेरै शुभचिन्तकहरुको सहभागिता गराएर असंवैधानिक अलोकतान्त्रिक कदमका बारेमा सशक्त रुपमा आफ्नो उपस्थिति जनाउन कार्यकर्ताहरुलाई नेता खुलालले निर्देशित समेत दिनुभएको छ ।
मुलुकलाई विषम् परिस्थितिमा ल्याएर आफूलाई सर्वेसर्वा सम्झने अधिनायकवादको नाइके केपि ओलिले यो मुलुकलाई दुर्घटनातर्फ धकेलेको आरोप लगाउँदै पूर्व सुब्बा गाउँ विकास समितिका उपाध्यक्ष एवं नेकपाका नेता तेजबहादुर खड्काले खड्गप्रसाद ओलि मूर्ख हाकिम जस्तै भएको टिप्पणी गर्नुभएको छ ।
जसले असंवैधानिक कदम उठाएर आफूलाई नै सर्वेसर्वा सम्झेको छ । यसको पछाडि भारत र अमेरिका र युरोपियन युनियनको महत्वपूर्ण भूमिका रहेको प्रष्ट्याउँदै एमसीसी पास गर्नका लागि यो परिपञ्च गरिएको खुलासा गर्नुहुँदै एमसीसी पास भयो भने नेपालको अवस्था कहाँ पुग्छ भन्ने बारेमा कार्यकर्ता माझमा पस्कनुभएको थियो । ०३५÷०३६ सालदेखिको राजनीतिक आन्दोलनबाट सिकेको एउटा महत्वपूर्ण पाटो भनेको खड्गप्रसाद ओलि पद र पैसाबिना टिक्न नसक्ने एउटा अनौठोको पात्रो हो । जसको अन्धभक्त अरु कोहि थिएन, थियो त उही ७० करोड कमिशनको बागडोर सम्हाल्ने गोकुल थियो । यस्ता अन्धभक्तहरुका बारेमा जति नै आलोचना गरेपनि अपुग रहने नेता खड्काको तर्क थियो ।
नेपाल कम्युनिष्ट पार्टीका तत्कालिन जिल्ला कमिटी सदस्य दीपक थापाले आफ्नो सम्बोधनका क्रममा अधिनायकवादी ओलि सरकारले सिर्जना गरेका भ्रमहरुलाई चिर्दै जनतामाझ जानुपर्ने बताउनुभएको छ ।
०३५/०३६ सालको आन्दोलन ताका आफू अनेरास्ववियू छैठौंको अध्यक्ष हुँदा घरघर सुराकी गर्न हिँड्ने गोकुलेले आज राष्ट्रियस्तरमै काभे्रलीको प्रतिष्ठामाथि आँच पु¥याएको छ । जुन ७० करोडसम्बन्धी कमिशनको संवाद यिनै कानले सुन्नुपर्दा अतितलाई एकपटक स्मरण गर्न बाध्य पारेको चर्चा गर्नुहुँदै ज–जसलाई जे–जे आश्वासन दिएको छ, ति पानीका फोका हुन् । कुनै पनि बेला उसको स्वार्थ पूरा भएपछि फुट्नेछन् । त्यसैले आश्वासनको पछि लाग्ने सहयात्रीहरुलाई समयमै ख्याल गर्न नेता थापाको आग्रह थियो ।
कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य मिरा पौडेल, नेता रमेश पौडेल, कुमार सापकोटा, दैवलाल घिसिङ, सहदेव थापा लगायतका नेताहरुले मुलुकका विषम् परिस्थितिका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेकपाका नेता राजेन्द्र सापकोटाले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेकपाका नेता सहदेव थापाले गर्नुभएको थियो । नगरभित्र क्रियाशील २ सय ५७ जना अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
स्मरण रहोस्, असंवैधानिक कदमका मतियारहरुको धम्कीका कारण कार्यकर्ताहरुमा अप्ठ्यारो स्थिति सिर्जना नहोस् भन्ने उद्देश्य सहभागीहरुको फोटो सार्वजनिक नगर्न आयोजकको आग्रह अनुसार यो समाचारमा फोटो समावेश नगरिएको कुरा पाठकसामु अनुरोध छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |