झाडापखाला एक बिनासकारी सरूवा रोग हो, झाडापखाला सामान्यतया गर्मी मौसममा फैलने रोग हो । दैनिक ३/४ पटक वा त्यसभन्दा बढी पानीजस्तो पातलो दिसा लाग्नु नै झाडापखाला हो । खाना र पानी संक्रमित हुन्छ त्यो खाना, पानी हाम्रो फोहोर हातको माध्यमबाट निरोगी मानिसमा सर्छ । झाडापखाला विषाणु, जीवाणु र परजीवीका कारणबाट लाग्छ ।
भाइरसभन्दा ब्याक्टेरिया र ब्याक्टेरियाभन्दा परजीवीबाट हुने झाडापखाला लामो समयसम्म रहने र उपयुक्त औषधि प्रयोग नगरे बेहोस हुने हुन्छ । झाडापखालाको धेरै समयसम्म उपचार नगरे मृत्युसमेत हुन्छ । झाडापखालाले प्रकोपको रूप लिनु र महामारी बनेर फैलिनु राम्रो होइन । झाडापखाला सबै उमेर समूहका मानिसलाई लाग्दछ । विशेषगरी बालबालिकालाई यसले बढी सताउँछ । पटकपटक पानीजस्तो पातलो दिसा लाग्नुको साथै वाकवाकी लाग्ने र वान्तासमेत आउने हुन्छ ।
झाडापखालाका लक्षणहरूः
झाडापखाला हुँदा दिसामा नपचेको खानाका टुक्रा आउने, दिसा धेरै गन्हाउने, पेट गड्याङगुडुङ गर्ने र दुख्ने, हातखुट्टा र मांसपेशी दुख्ने, र गल्ने, बच्चा हो भने झर्को मान्ने, तिर्खा बढी लाग्ने, रिंगटा लाग्ने, कमजोरीको महसुस हुने, मुख सुख्खा र फोहोरी हुने, आँखा गाडिने, पिसाब कम हुने, रुँदा आँसु नै नआउने, बच्चाहरूमा आँखा सुख्खा हुन्छ, शरीर चिसो हुन्छ । पेटको छाला तन्काएर छोड्दा मुजा परिराख्ने समस्या हुन्छ । नाडीको गति कम, मन्द र पत्ता लगाउन गाह्रो हुने, रक्तचाप कम, श्वासप्रश्वास तीव्र र आलस्य हुने पनि झाडा पखालाका लक्षण हुन् ।
झाडापखाला हुँदा घरमा नै उपचार गर्न पनि सकिन्छ । प्रशस्त मात्रामा घरेलु गेगागुडीको झोल अन्य झोल पदार्थका खानेकुराहरू खुवाउने गर्नुपर्छ । यदि आमाको दूध खान बच्चा हो भने अरू समयमा भन्दा बढीपटक खुवाउनुपर्छ । अलिकति ठूलो बच्चा भए प्रशस्त मात्रामा झोलिलो खानेकुराहरू दालको झोल, मसला कम भएको तरकारी, गेडागुडीको झोल, केरा, माछामासु, फलफूलको रस, भातको माड, अन्न पातलो लिटो खुवाउनुपर्छ ।
यस्तो समयमा पानी प्रशस्त मात्रामा खानुपर्छ । झाडापखाला हुँदा हाम्रो शरीरबाट नुन र पानी खेर गएको हुन्छ त्यसैले यसको लागि पुनर्जलीय झोल बनाएर प्रशस्त खानुपर्छ । झाडापखाला मात्रै नभएर शरिर स्वस्थ राख्नका लागि पनि हामीले सधैँ राम्रो खानेकुरा खानुपर्छ । सधैँ साबुन पानीले राम्रोसँग हात धोई सफा गरेर मात्रै खानेकुरा खानुपर्दछ । पखाला लाग्दा पुनर्जलीय झोल एकदमै महत्वपूर्ण हुन्छ ।
रक्तचाप कम भएमा र दिसामा रगत देखिएमा, नजिकको स्वास्थ्य संस्था वा चिकित्सककहाँ लैजानुपर्छ ।सरुवा रोग मध्येको एक रोग हो झाडापखाला यो गर्मीमा हुन्छ । झाडापखालाको प्रमुख कारण खानेकुरा हो र यससँगसँगै पानीको कारण पनि झाडापखाला लाग्दछ । हरेक वर्ष झाडापखाला लाग्ने भनेको खानेपानी र खानेकुरामा भएको संक्रमणले गर्दा हो ।
कसरी बच्ने ?
झाडापखालाबाट बच्न हाम्रो बानी परिवर्तन गर्न जरुरी छ । पानी र खानेकुराबाट नै झाडापखाला हुने भएकाले पानीलाई राम्रोसँग उमालेर मात्रै खानुपर्दछ । त्यस्तै बासी खानेकुरा खानुहुँदैन यो नै झाडापखालाबाट बच्ने मुख्य उपाय हो । गर्मीमा खानेकुरालाई फ्रिजमा राखेर खानु उपयुक्त हुन्छ । धेरै समयसम्म बाहिर राखेर खाँदा असर गर्छ, यसले गर्दा (फुटप्वाइजिङ–श्र खाना बिषाक्त हुनु) झाडापखाला हुन्छ ।
कसै–कसैलाई धेरै चिसो पानी खाँदा पनि घाँटी दुख्ने समस्या हुन्छ तर सबैलाई यस्तो हुन्छ भन्ने हुँदैन । झाडापखाला बढी भएर बेहोस हुन सक्ने र अझ उपचार ढिलो गर्यो भने मृत्युसमेत हुने भएकाले यसलाई सामान्य रूपमा लिनुहुँदैन । खानेपानीमा समस्या, प्रदूषण र सरसफाइमा समस्याका कारण झाडापखाला निम्तिने गर्दछ । झाडापखालाकै कारण बर्सेनि हजारौँ बच्चाको अकालमै मृत्यु पनि हुने गरेको छ ।
चासो किन आवश्यक छ ?
नेपालमा अहिलेसम्म झाडापखाला उपचारको भरपर्दो निर्देशिका बनेको छैन। चिकित्सकले अनुभव, शंका वा लक्षणका आधारमा एकभन्दा बढी एन्टिबायोटिकको प्रयोग गरिरहेको पाइन्छ । यसले अनावाश्यक एन्टिबायोटिकको प्रयोग हुने र दीर्घकालीन रुपमा औषधिको प्रभाव कम हुँदै जाने अवस्था आउँछ। यस्तो प्रवृत्तिले बिरामीमाथि अनावश्यक आर्थिक भार पारेको देखिन्छ । यदि, झाडापखाला कुनै नौलो जीवाणूको (जुन पहिले त्यस स्थानमा थिएन) कारणले भएको भए त्यसले प्रकोप या महामारी ल्याउन पनि सक्छ। झाडापखाला गराउने जीवाणू विरुद्धको खोप पनि उपलब्ध भएकाले त्यस्ता जीवाणूको पहिचान गरी जोखिम हेरी प्रयोग गरेमा यसबाट सम्भावित प्रकोप वा महामारीबाट सुरक्षित हुन सकिन्छ ।
सामान्य धरेलु उपचारः
कुपोषणबाट जोगाउने, साविककै जस्तो खानेकुरा दिने गर्नुपर्छ, प्रशस्त मात्रामा घरेलु झोल कुराहरू खुवाउनु पर्दछ । आमाको दूध खाने बच्चा भए साविकको भन्दा बढी पटक दूध खुवाउनुपर्छ । बच्चा ६ महिनाभन्दा कम उमेरको भए ५–६ पटक आमाको दुध र नपुग्ने भए गाईभैंसीको वा बट्टाको दूधमा आधा पानी मिसाई खुवाउनुपर्छ । बच्चा ६ महिनाभन्दा बढी उमेरको भए वा ठोस आहार खाने बच्चा भए बिरामीलाई प्रशस्त मात्रामा झोलिलो खानेकुराहरू जस्तै दालको झोल, तरकारी (मसला कम भएको) गेडागुडीको झोल, केरा, माछामासु, फलपूलको रस, फिका चिया, भातको माड, अन्न पातलो लिटो यी समेत नभएमा सादा पानी प्रशस्त मात्रामा दिनुपर्छ । समुदायमा झाडा पखाला लाग्दा पानी पिउन नदिने अत्यन्त गलत धारणा छ, जसले गर्दा खेर गएको पानी आपूर्ति नभई जलवियोजन हुन्छ ।
झाडा पखालाबाट खेर गएको लवण, पोषक तत्वहरू र पानी क्षतिपूर्ति गर्न पुनर्जलीय झोल बनाएर खुवाउनुपर्दछ । यसरी घरेलु उपचार गरेमा सामान्यतः तीनचार दिनमा झाडापखालाको अवस्था सुध्रिंदै जान्छ र ठीक हुन्छ । तर तीन दिनसम्म सुधारोन्मुख नभएमा, धेरै पातलो दिसा गरेमा, तारन्तार बान्ता गरेमा, ज्यादै तिर्खाएमा राम्ररी खान पिउन नसकेमा, ज्वरो आएमा कम्पन हुन थालेमा, मुख खुट्टा सुन्निएमा, नाडी कमजोर र छिटो–छिटो चलिरहेमा, रक्तचाप कम भएमा, दिसामा रगत देखिएमा, मुखबाट पुनर्जलीय उपचार गर्न नसकिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा वा स्वास्थ्यकर्मी वा चिकित्सककोमा लैजानुपर्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |