प्रभातफेरी अनलाइन९१०७ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ ४, मंगलबार(५ साल अघि)
भर्खरै सत्ता संघर्षमा देखिएका घृणित खेलहरुले नेकपा माओवादी केन्द्रलाई एकपटक झस्काएको हुनुपर्छ । जुन किसिमको दाउपेच खेलेर कम्युनिष्ट एकतालाई धुजा–धुजा बनाउने काम साम्राज्यवादी, विस्तारवादी र पुनउत्थानवादीहरुले गरे, त्यसबाट पाठ सिक्नु आवश्यक छ । यदि सत्ता नै सबथोक सम्झिएको हो भने हिजोको १० वर्षे जनयुद्ध किन गरियो ? होइन भने आज नेपाली जनताको आशा, भरोसा र अपेक्षालाई तिलाञ्जली दिँदै सीमित भरौटेहरुको साथ लिएर युद्धभूमिमा होमिएका योद्धाहरुलाई पाखा लगाउँदाको परिणाम माओवादी केन्द्रले प्राप्त गरेको छ ।
यो घटनाक्रमले अब गोपाल किराँतीदेखि लिएर बाबुरामसम्मका परिवर्तनगामी योद्धाहरुलाई समेट्दै बृहत् एकताको अभियानलाई अगाडि बढाउन आवश्यक छ । त्योभन्दा अगाडि वर्ग शत्रु र मित्रु छुट्याउन आवश्यक पर्दछ । एकपटक अतितलाई केलाउँदै जाँदा आफ्ना सहपाठी र सहयोद्धाहरुलाई जार झैं देखेर, विचारदेखि तर्सेर, काल्लामा लगेर घाँटी रेटर मार्ने, विभिन्न आरोप प्रतिआरोप लगाएर गोली ठोक्न लगाउने, जिवित रहेका योद्धाहरुलाई वरिपरि नै बस्न नसक्ने बनाएर कोहिलाई मधेस लखेटेर, कोहिलाई राजनितीक अपांग बनायौ, कोहिका शरिरभरि गोलीका खोकाहरु बोकाएर विभिन्न पार्टीको शरणमा भिख माग्ने भिक्षु बनायौ, अरु सबैलाई स्याल सम्झेर आफुलाई बाघ सम्झने प्रचण्डको पुच्छर बनेर गाउँगाउँमा झुट्टा आश्वासन बाँड्न लगायौ ।
विचरा ! ती सोझा कार्यकर्तालाई अहिले गाउँमा मुख देखाउन गाह्रो बनाउने अनि माओवादी पछि नपरेर को पर्छ त ? जुन परिणाम आएको छ, त्यो घमण्ड हो । आजैदेखि बिगतमा भएका कमीकमजोरीको आत्मा आलोचित गर । वैद्य, बाबुराम, गोपाल किराँती, बिप्लब लगायत जनयुद्धका सहिद घाइते बेपत्ता लगायत युद्धमा साथ दिएका ती सिधा सोझा जनतासँग अब माफी माग, हातेमालो गर्न सिक, “सहर छिरेपछि बाबुआमा बिर्सने माओवादीहरू, चिल्ला गाडी पाएपछि मान्छे नचिन्ने माओवादीहरू, पशुपतिका साढे झैं आज यो पार्टी भोलि त्यो पार्टी गर्दै अर्काको घर फोर्न खोज्ने माओवादीहरू पतन नभएर को पतन हुन्छ त ?”
योद्धाहरु मिल, कमी कमजोरी सच्याउ, मलाई यसले सिध्याउन लाग्यो भन्ने नसोच, सबै सहयोद्धाहरुलाई मित्र देख्न सिक, अनि मात्र माओवादीहरूको पार्टीको मान्यता हुन्छ होइन भने आगामी चुनावसम्म माओवादीहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति र माले, मसाले र मण्डले मिलेर पशुपतिमा दाहा संस्कार गरिदिनेछन् । अब माओवादीहरूको दिन गन्ति सुरु भो । लाज नभएका नकचरा हो बिगतलाई सम्झ त प्रचण्डको टाउकाको मूल्य तोक्ने शेरेलाई काँधमा बोकेर आफ्नै साथीहरूलाई लात हान्यौ, युद्धमा जसले आफ्नै साथीहरुको सुराकि गरी गोली चलाउने आदेश दियो उसैलाई अधिपति सुम्पियौ जसको नतिजा देख्यौ नि ! आज पनि शहिदहरु तड्पिरहेका छन् । बेथानमा गएर तिर्थ गौतम, फत्तेमान, ईस्लामी, दिलमाया योन्जन तामाङलाई सोध, दोरम्बाका सहिदलाई सोध, त्यही माकुनेका निर्देशनमा मारिएका रित बहादुर खड्कालाई सोध, गौर घटनामा सहिद भएकाहरुका बारेमा नाइके उपेन्द्र यादवलाई सोध, अनैकोट घटनालाई स्मरण गर, खारालाई एकपटक सम्झ ! हाम्रा शत्रु को हुन् ? वर्ग मित्रु हिजै प्रष्ट थियो त हिजो क–कसले माओवादी सिध्याउन दागबत्ति बाल्न मरिहत्ते गर्नेहरु आज माओवादीहरूका मित्र, जो रगत पसिना बगाउनेहरु चाहिँ वर्ग शत्रु देख्ने तिम्रा नेता लगायत केही अहम्कारी भनाउँदाहरुले युद्ध गरायौ, ठुला नेता भयौ, एश–आरामको जिन्दगीमा विलासी भयौ । अनि के चिन्थ्यौं जनतालाई ! भागबन्डाको खेलमा कार्यकर्तामा पदको लुछाचुँडि गरायौ । आज जनयुद्धमा ढुङ्गा नफ्याँक्नेहरु माओवादीहरूका सुसारे र सिंहारे माओवादीहरूलाई कार्यकर्ताले बगाएको रगत पचेन, तिनीहरुका बतासे कुरा मीठो भो, हिजो युद्धमा होमिएका आज खाडिमा पसिना बगाएर बसेका योद्धाहरुलाई सोध त्यसको जवाफ पाउनेछौ । नालायकहरु हो ! आफ्नालाई लखेटेर पराईलाई अँगाल्न खोज्नुको परिणाम भोग्दैछौ । स्मरण रहोस्, प्रचण्ड पुत्र प्रकाशका बारेमा जे–जस्तो किसिमबाट घटना घटाइयो, त्यसले नेपाली राजनीतिमा कालो इतिहास कोरेको छ । परिवर्तनका लागि जसले योगदान पु¥यायो, त्यसैका विरुद्ध चालिएको निकृष्ट कार्यको एउटा प्रतिबिम्ब थियो प्रकाशको मृत्यु । त्यसको हिसाबकिताब राख्नका लागि पनि अब माओवादी सच्चिनुपर्छ भन्ने हाम्रो ठम्याई छ ।
यदि अब पनि पाठ सिकेनौ भने कथित हुने निर्वाचनमा तिम्रो अन्त निश्चित छ । विभिन्न बहानामा प्रख्याती कमाएका नेताहरुलाई मदन भण्डारी बनाइने छ । त्यतिबेला बल्ल होश खुल्नेछ तर ढिला भइसकेको हुनेछ ।