
काभ्रे । निषेधाज्ञाले नेपालमा मात्र नभई विश्वका कयौं मुलुक प्रभावित हुन पुगेका छन् । जसको अर्थतन्त्र कयौं वर्षसम्म उठ्नै नसक्नेगरी थचारिने निश्चित छ ।
यहि संक्रमणकालले नेपालका कृषक, श्रमिक, मजदुर र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने वर्ग नराम्रोसँग थला पर्ने अवस्थामा पुगिरहेको छ । यहि वर्गको प्रतिनिधित्व गर्ने युवा जोडी अहिले नमूना बनेर पिडामा मलमपट्टि लगाउन कम्मर कसेर लागेका छन् । पनौती नगरपालिका वडा नं. ८ मल्पीमा रहेको बिन्धवासिनी पशु फर्मका सञ्चालकद्वय गमला राउत र सन्तोष राउत जसलाई अहिले भ्याइनभ्याइ भएको छ । आफ्नो फर्ममा १२ वटा भैंसी र पाडापाडीको स्याहारसुसारको चपेटा एकातिर छ भने ग्राहकको माग पूरा गर्न सकिरहेका छैनन् । जसले गर्दा कतिको मन कुँडिएको छ ।
६ महिना अघिको दैविक विपत्ति सम्झिँदा आज पनि जिउ सिरिङ्ग गर्छ सर भन्नुहुन्छ सञ्चालक गमला राउत । विद्युत् सट भएर आगलागी हुँदा गोठमा रहेका १० भैंसी, १० पाडापाडी, भौतिक संरचना र पशुजन्य आहारा ध्वस्त हुनपुग्यो । गोठभरिका भैंसी ढलेको देख्दा सिरिङ्ग मन अझै काप्छ । हारगुहारले त्यो दिनको विभत्स दृश्य व्यवस्थापन गर्ने पनौती नगरपालिका परिवार प्रति नमन गर्दछु । जुन सहयोगको जति प्रशंसा गरे नी पुग्दैन । त्यस्तो विपद् कसैलाई नपरोस् भन्दै भावुक हुन पुग्नुहुन्छ गमला राउत, तत्पश्चात् सबैको सहयोगमा पुनसंरचना बनाएर अघि बढ्दै थियौं फेरि कोभिड–१९ को दोस्रो लहरले खाटा लगाएको घाउमा नुनचुक लगाइदिएको छ । यो घाउमा मलमपट्टि लगाउने प्रयासमा छौं । जुन विपद्लाई स्थानीय छरछिमेकीहरुले ठूलो सहयोग गरिरहनुभएको छ । हाम्रो फर्मबाट उत्पादित दुग्धजन्य उत्पादनहरु दिनलाई भ्याइ नभ्याई भएका छौं । विशेषतः खुवाले राम्रो बजार लिएको छ । खुवा तयार हुन पाउँदैन, ग्राहकहरु चूल्होमै आइपुग्नुहुन्छ । यसबाट हामीलाई धेरै राहत महसुस भएको छ । २०७७ मंसिर १५ हाम्रा लागि कालारात्री भएर आएको थियो । त्यस्तो विपद् त “मैलाई मार्छु भन्ने शत्रुलाई पनि नपरोस्” भन्दै शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने हिम्मत जुटाएर आज यो अवस्थामा आइपुगेका छौं । विश्वास छ, हाम्रो यो विकल्पलाई सम्पूर्ण शुभचिन्तक ग्राहकहरुले सहयोग पु¥याउनेछन् भन्ने विश्वास राख्नुहुन्छ सञ्चालक गमला राउत ।
दुबईका ४ वर्षे बसाइपछि नेपाल फर्किएका युवा जुन जल्दोबल्दो उमेरमा दुबईमा भएको परिवर्तनबाट केही गरौं भन्ने चाहना कहाँ पोख्ने भन्ने उत्सुकतासहित अपार उपलब्धी नेपालमा पनि सम्भव छ भन्ने हिम्मतका साथ केही गर्नुछ तर के गर्ने भन्नेमा अर्का सञ्चालक सन्तोष राउत दोमनमा थिए । तत्कालै विदेशी भूमिको कमाइलाई टिपर व्यवसायमा उपयोग गर्ने सोचका साथ लगानी गरे तर सन्तोष मिलेन सन्तोषलाई । केही महिनाको अन्तरालपछि दीर्घकालिन स्थायित्व र स्वाभिमान दिने कामको खोजीमा भौंतारिन पुगे । के खोज्छस् काना आँखो भनेझैं एकजना सहयोगीको साथमा विभिन्न कृषि फर्महरुको अनुगमनमा पुगे । त्यसपछि उनले आफ्नै नाममा कृषि फर्म दर्ता गर्न पुगे र कृषि पेशाप्रति आकर्षित हुन पुगे । जसबाट उनले सोचेको स्वाभिमान मिल्छ भन्ने अठोटका साथ यो पेशालाई रोजिएको बताउँछन् सन्तोष राउत ।
यथार्थमै भन्ने हो भने बुझ्नेहरुका लागि कृषि पेशामा स्वाभिमान छ, इज्जत छ, प्रतिष्ठा छ, जसले स्वाभिमानमा बाँच्न सिकाउँछ । जुन किसिमको दैविक विपत्तिको सिकार भइयो, त्यसबाट नअत्तालिकन संयमितताका साथ आउँदा आज यो अवस्थामा आइपुगियो । मन्द रुपमा उँभो लाग्न लागेको पेशामा कोभिड–१९ को दोस्रो लहरले बज्रपात निम्त्याइदिएको छ । यो अवस्थामा हाम्रो फर्मबाट मात्र अहिले ९० लिटर दुध उत्पादन भइरहेको छ । यसलाई व्यवस्थापन गर्न त्यति सहज थिएन । जसको निकास पनौती नगरपालिकाका कृषि शाखा प्रमुख पशु चिकित्सक मणिप्रसाद सापकोटा साक्षात्कार भगवान् बनेर आउनुभयो भने होस्टेमा हैंसे सांसद बसुन्धरा हुमागाईंले गरिदिनुभयो । जसको कारण संकटको घडीमा पनि सहज रुपमा अवतरण गर्ने अवस्था मिल्न पुग्यो । सिंगो पारिवारिक सहकार्यमा दत्तचित्त भई खटिएका छौं । सानी छोरी खुशीदेखि १२ पढ्दै गरेको छोरो सुदीप समेतले यो पेशालाई दिलोज्यान दिएर सघाएका छन् ।
श्रमिक भनौं या सहयोगी, जे भनेनी एकजना भाइले हामीलाई सघाएका छन् । जसले जहाँ जे भेट्छौं, त्यहीँबाट अगाडि बढ्छौं । हामीलाई छिःछि, दुर्दुर, घिन भन्ने लाग्दैन । भकारो सोर्न होस् वा गहुँत फाल्न तयार हुन्छौं । जुन उद्देश्य लिएर फर्म दर्ता गरेको थियो, बज्रपातका बिच पनि आज त्यसैमा अडिक भएर अगाडि बढिरहेका छौं । ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता हो । बसुन्धरा हुमागाईं र मणि सरको सुझाव अनुसार अघि बढ्दा निषेधाज्ञाका बाबजुद पनि हाम्रा उद्देश्यहरु सम्बोधन गर्न मुस्किल भएको छ । आगलागीबाट भएको क्षतिले अझै पनि हामीलाई आर्थिक रुपमा उठ्न गाह्रै भएको छ । झण्डै ३० लाखभन्दा बढिको भौतिक संरचना र पशुधन क्षति भएको थियो । जुन छिनभरमै माटोमा मिलेको त्यो दृश्य हाम्रा लागि कहिल्यै नबिर्सने खाटा नलाग्ने घाउका रुपमा दरिएको छ तर सहयोगी मनहरुको सद्भाव र सहयोगबाट नयाँ संरचनाअनुसार आज फेरि पहिलेकै अवस्थाभन्दा अगाडि पुगेका छौं । यही व्यवसाय गर्ने कति सहयात्रीहरुको अवस्था दयनीय हुन पुगेको छ । यो पेशामाथि अझै कालो बादल मडारिँदै छ, झन् झन् जटिल हुँदै आएको छ । निषेधाज्ञा भनेकै कृषि पेशा अँगाल्ने मजदुर, श्रमिक, दैनिक ज्यालादारी गरेर छाक टार्ने वर्गका लागि रहेछ भन्ने देखेको छु । जबसम्म यो विभेदको अन्त्य हुँदैन, तबसम्म समृद्ध मुलुकको सपना सपनै हुन्छ । यस्तो जटिल अवस्थामा कालोबजारी, घुसखोरी, माफियातन्त्रले मुलुक सर्लक्कै खाएका छन् । यो अवस्थामा राज्य र सर्वसाधारण जनता निरिह भएका छन् ।
ऐश्व आरामको जिन्दगी छोडेर किन दुःखी पेशा अँगाल्न पुग्नुभो भन्ने सवालमा राउत थप्छन्– दासत्व पचेन, स्वाभिमानमा बाँच्ने इच्छा जाग्यो । त्यसैले यो पेशा अँगालें । यसैमा खुशी छु । श्रममा विश्वास गर्छु, पशुहरुको आहारामा अत्याधिक कालोबजारिया भएको छ । त्यसतर्फ सम्बन्धित पक्षको ध्यान जाओस् भन्न चाहन्छु । साथै कृषि पेशालाई सकारात्मक रुपमा लिई मर्यादित बनाउन सकियो भने मात्र स्वाभिमानी बनिन्छ । जीवनमा केही गरौं भन्ने उमेरलाई यहि बाटो रोजेको छु । जसका लागि प्राइम बैंक पनौती शाखाले अनुकरणीय गुण लगाएको छ भन्छन् राउत । के पनौती नगर त पशु र कृषिका लागि न्याय दिने प्रेरणा दिने स्रोत होइन भन्ने सवालमा राउतको थप कथन छ– हुन त हो, उसले पनि विपद्को घडीमा ठूलो सहयोग पु¥याएको थियो । आगलागी भएर क्षतविक्षत भएको अवस्थामा सानो सहयोग पनि ठूलो हुनपुग्यो । त्यो स्वभाविक पनि हो । त्यो भुल्नुहुन्न । त्यस्तै विपद्का घडीमा प्रमुख, उपप्रमुख, कृषि तथा पशुपंक्षी शाखाका प्रमुख प्रेरणाका बाहक हुनपुग्नुभयो । यसमा दुईमत छैन । आफ्नो उत्पादन सोझै उपभोक्तासम्म पु¥याउने प्रेरणा पनि उहाँहरु नै हुनुहुन्छ । जसको सुरुवात खुशी दूध डेरी सञ्चालन गरेर पेशालाई मर्यादित बनाउन खोज्दाखोज्दै दैविक विपत्ति सिर्जना भएर फेरि आज यो अवस्था आएको छ । पेशाबाट विचलित हुनबाट जोगाउने काम कसैले गरेको छ भने त्यो मणि सरले गर्नुभएको छ । यसलाई के भन्ने ? नगरको एउटा अंग होइन ? र सहयोग पनि त हो । विपद्को बेला सहयोग पु¥याउने पनौती नगरपालिका, बिन्धवासिनी साकोस, सामुदायिक साकोस, जिल्ला समन्वय समिति, बीमा संस्थान र वडा अध्यक्ष केशवप्रसाद बञ्जाराले लगाउनुभएको त्यो ऋण म कहिल्यै तिर्न सक्दिनँ ।
दैनिक अहिले पनि ५५ सय देखि ६ हजारसम्म खर्च हुन्छ । त्यो खर्च कटाएर अहिले पनि ३ हजार देखि ३५ सय सम्म बचिरहेको छ । यो हिसाबले पनि यो पेशामा टिकिराख्न सकिन्छ भन्ने संकेत गर्दछ । त्यसैले यो पेशालाई मर्यादित पेशाको रुपमा लिन सबैलाई आग्रह गर्दछु ।
आफ्ना बाबाआमाले अँगालेको पेशालाई म सारथी भएर उभिनुपर्छ भन्ने भावनाका साथ छोरा सुदीप पेशामा समर्पित भएको आमा गमला स्वीकार्छिन् । कक्षा १२ पढ्दै गरेको त्यो युवा एकछिन पनि बेफुर्सदिलो देखिएन । जहाँ, जुनबेला जे पर्छ त्यसका लागि तयार छु सर भन्दै आफ्नो काममा समर्पित भएको पाइन्थ्यो । आफ्नो विद्यालयको गृहकार्य छोडेर पनि दुध दुहुन गाह्रो भएको कसरी उसले थाहा पाउँथ्यो थाहा छैन । दुध दुहिरहेको अवस्थामा आएर खै ! छोड्नुस् भन्दै थुन समाउन पुग्छ । त्यतिबेला खुशीको सीमा रहन्न भन्नुहुन्छ गमला राउत ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |