आर.एल.श्रेष्ठ
कतिपय मानिस गोडा सुन्निने समस्याले दिक्क भईरहेका हुन्छन । भरपर्दाे र अनुभबी बिषयगत चिकित्सककहाँ नपुग्दा समस्याहरु थप जटिल बन्दै जाने प्रवल संभावना रहन्छ । हात गोडा सुन्निएपछि पिसाब खुलाउने औषधि सेवन गरेर बस्दा समस्या समाधानको बदलामा जटिल बन्दै जानपनि सक्छ ।
मैले मेरो कार्यक्षेत्र (शिरमेमोरीएल अस्पताल) मा एक जना हातगोडा सुन्निने समस्या भएको दिदिलाई भेटेको थिए । उहाँ बाल सघन कक्षमा उपचार गराउंदै गरेको आफन्तको बालकलाई भेट्न आउनु भएको थियो । सोही क्रममा भेट हुंदा उहाँले आफ्नो समस्याको बारेमा यस्तो भन्नु भयो—गोडा सुन्निएपछि ‘लेसिक्स’ भएको ‘फ्रुसिमाइड’ समूहको पिसाब गराउने औषधि एक साता सेवन गरेपछि सुन्निने समस्या त कम भयो तर रिंगटा लाग्ने, रक्तचाप घट्नेजस्ता समस्याले निकै दुख दिएको छ ।
सुन्निने भन्दा अझ जटिल समस्या भएर (रिंगटा लाग्ने, रक्तचाप घट्ने) मुटु रोग विशेषज्ञकहाँ परिक्षण गराउंदा रक्तचापमा कमी, मृगौलाको कार्य प्रणालीमा समस्या देखियो । परिक्षणको क्रममा चिकित्सकले भनाई अनुसार ‘पिसाब गराउने औषधि सेवन गरेकै कारण रक्तचापमा कमी, मृगौलाको कार्यप्रणालीमा समस्या देखिएको हो,’ मुटु रोग विशेषज्ञका अनुसार गोडा सुन्निएको कारण राम्रोसंग परिक्षण नगराई औषधि सेवन गर्नुले समस्या भएको हो ।
दुखाइ नाशक, पिसाब लगाउने औषधि अनावश्यक रुपमा प्रयोग गर्दा स्वास्थ्यमा खतरा हुन सक्छ । यस्ता औषधिले मृगौलालाई बढी पिसाब लगाउन बाध्य पार्छ । यसले शरीरमा पानीको कमी, सोडियम, पोटेसियम, क्लोराइड जस्ता खनिज लवणको सन्तुलन बिग्रिन्छ । जसले गर्दा स्वास्थ्यमा थप समस्या आउंछ । ‘यो खनिज लवणको सन्तुलन स्वस्थ व्यक्तिसँगै रक्तचाप, मुटु र मृगौला रोगीको लागि भने झनै अत्यावश्यक हुन्छ । खुट्टा सुन्निनेबित्तिकै सुन्नाइ गर्न फ्रुसिमाइड औषधिको प्रयोग एउटा विशेषज्ञद्वारा रोग पहिचान भइसकेपछि मात्र उपयुक्त मात्रामा निर्धारित समयको लागि चिकित्सकीय सुपरीवेक्षण र औषधिको साइड इफेक्टलाई नियमित अनुगम गर्दै औषधी सेवन गर्नुपर्छ ।
‘मुटु र मृगौला रोगीहरूमा यस्ता औषधिहरूको प्रयोग निगरानीबिना गरिँदा प्राणघातक समेत हुन सक्छ,। ‘विशेषगरी पोटेसियमको सन्तुलन मुटु रोगीको लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । गोडा सुन्निनु अर्थात् इडिमा एकदमै सामान्य समस्या हो, यसका कारणहरू अति सामान्यदेखि अत्यन्त जटिलसम्म हुन सक्छन् । ४०–४५ वर्षको उमेरमा हार्मोनको असन्तुलन वा मोटोपनाले पनि खुट्टा सुन्निने समस्या हुन सक्छ । यस्तो भए कुनै औषधि–उपचारको आवश्यकता हुँदैन । गोडा सुन्निने समस्या पुरुषलाई भन्दा महिलाहरूमा बढी हुन्छ, तर गोडा सुन्निदैमा आत्हिाल्नु पर्ने हुदैन सामान्य कारणले गर्दा पनि सुन्निन सक्छ ।
मृगौलाको जटिल समस्या भएर पनि खुट्टा सुन्निन सक्छ । खास कुरा पत्ता लगाउन विभिन्न प्रकारका जाँच र उपचारको आवश्यकता पर्न सक्छ । गोडा सुन्निनु यस्ता रोगहरूको एउटा लक्षण मात्र हो, जसले रोग पहिचान गर्न मद्दत गर्छ । रोगको प्रकृतिमा धेरै ध्यान नदिँदा र गोडा सुन्निने लाई कम गर्नका लागि मात्र औषधि प्रयोग गर्नु घातक हुन सक्छ ।धेरैजसो गोडा सुन्निने समस्या औषधिको साइड इफेक्टले भएको हुनसक्छ । ‘यसमा उच्च रक्तचाप नियन्त्रण गर्ने औषधिहरू एम्लोडिपिन, निफेडिपिन, प्राजोसिन आदि प्रमुख छन् ।’प्राय गरेरः बिरामीहरू यस्ता औषधिको प्रयोग गरेपछि खुट्टा सुन्निँदा आत्तिएर विभिन्न चिकित्सकसँगै मृगौला रोग विशेषज्ञकहाँ पुगेर विस्तृत जाँच गराए पनि उनीहरूमा केही खराबी देखिँदैन ।
कुनै समस्या नदेखिएपछि यस्ता बिरामी कुन कारणले खुट्टा सुन्नियो भनेर विभिन्न चिकित्सककहाँ भौंतारी रहन्छन् । जब कि त्यो खुट्टाको सुन्नाइ औषधिले भएको अवस्थामा औषधिको मात्रा घटाउँदा वा औषधि परिवर्तित गर्दा समस्या आफैं हराउन सक्छ । यसले एक दुई सातामा समस्या समाधान हुन्छ । ‘रक्तचापका अधिकांश बिरामीमा औषधिको प्रयोग गर्दा अलिअलि खुट्टा सुन्निने समस्या देखिन सक्छ, । ‘तर यसबाट नआत्तिएर रक्तचापको राम्रो नियन्त्रण भइसकेपछि डाक्टरको सल्लाह अनुसार औषधि परिवर्तन गरेमा सुन्निने समस्या समाधान हुन्छ ।
मृर्गौला रोगको कारण पनि गोडा सुन्निन्छ जस मृगौलाको काममै कमी भए, जसलाई किड्नी फेल्योर (क्रोनिक किड्नी डिजिज) भनिन्छ, बिरामीमा खुट्टा सुन्निनुका साथै अन्य अंग (जस्तै अनुहार लगायत) मा पनि बढी पानीको कारण सुन्निने गर्छ । मृगौलाबाट पिसाबको माध्यमले प्रोटिन निष्काशन भएमा समेत सुन्निने हुन्छ । अर्थात्, शरीरमा प्रोटिनको कमी हुँदासमेत सुन्निन्छ । विज्ञहरूका अनुसार, कलेजोका कारण पनि सुनिनछ । कलेजोको रोगीमा प्रोटिनको कमी, थाइराइडको कमी भएर गोडा सुन्निने समस्या देखिन्छ । तर थाइराइडको उपचार हुनेबित्तिकै समस्या हराउँछ । फोक्सोको कारणले गर्दा दीर्घ दम (क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज) का रोगीमा समेत सुन्निने समस्या देखिन्छ । प्रायः दमका रोगीहरूमा दमले गर्दा मुटुमा असर भएपछि सुन्निने गर्छ ।
‘मुटुका विभिन्न रोगहरूमा प्रायः गोडा सुन्निने समस्या देखिन्छ, । गोडा सुन्निए सँगसँगै स्वाँस्वाँ हुनु, मुटु ढुकढुक हुनु, थकाइ लाग्नु, कमजोरी देखिनु, छाती दुख्नु, रिंगटा लाग्नु, बेहोसी हुनु, पेट सुन्निनु, घाँटीका नसाहरू चल्नुजस्ता लक्षण देखिए मुटु रोगले गर्दा सुन्निएको हुन सक्छ । मुटु रोगीमा गोडा सुन्निनुको साथसाथै पेट सुन्निनु, फोक्सोमा पानी जम्नु र स्वाँ–स्वाँ हुनु हार्ट फेल्योरका लक्षण हुन् । प्रायः मुटुको पम्पिङमा कमी भएर वा भल्भको समस्या भएकाहरूमा गोडा सुन्निने गर्छ । समष्टिगत रूपमा सुन्निने कारण, यदि मुटु, मृगौला वा कलेजोसँग सम्बन्धित हो भने मात्रै फ्रुसेमाइड जस्तो पिसाब लगाउने औषधिको प्रयोग गर्न मिल्छ । त्यो पनि कडा चिकित्सकीय निगरानीमा हुनुपर्छ । यी अवस्थाबाहेक यस्ता औषधिहरूको प्रयोग विशेषज्ञको निगरानीमा थोरै समयका लागि मात्रै सेवन गर्नु उपयुक्त हुन्छ ।
गोडाकोे रगत नलीमा समस्या वा संक्रमण भएर गोडा सुन्निने गर्छ । तर यस्तो गोडाकोे सुन्नाइ प्रायः एउटै गोडामा देखिने गर्छ । तर दुवै गोडामा सुन्नाइ भए रोग शरीरको कुनै प्रणालीसँग सम्बन्धित ठान्नुपर्छ । कहिलेकाहीं पिसाब लगाउने औषधि डाक्टरले एक साताको लागि दिए पनि बिरामीले पछि आफूलाई पुनः समस्या हुँदा बिना कुनै्र सल्लाह उपयोग गर्नु हुदैन ।पिसाब लगाउने औषधि खाएको बेलासम्म मात्र सुन्नाइ कम गर्छ । यदि यस्तो समस्या भएमा बस्ने बेलामा गोडा माथि राख्ने, स्टकिङ लगाउने, सुत्ने बेलामा गोडाको तल तकिया राख्ने गर्दा केही समस्या समाधान हुन्छ । गोडा सुन्निने अन्य कारणहरुमा गर्भावस्था,मोटोपना,लामो समयसम्म उभिनु ,लामो समयसम्म बस्नु र औषधिको साइड इफेक्ट पनि हो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |