प्रभातफेरी अनलाइन३७५२ पटक पढिएको प्रकाशित मिति: ४ साल अघि (४ साल अघि)
काभ्रे । मुलुकभर कार्तिक १३ गते निर्वाचनमा जाने तयारीका साथ नेकपा माओवादी केन्द्रले वडा सम्मेलन तदर्थ समितिहरु दु्रत गतिमा भेलाद्वारा चयन गर्दै गइरहेको छ ।
नेकपा माओवादी केन्द्रको संशोधित विधानअनुसार आगामी कार्तिक १३ गते मुलुकभरका वडाहरुमा एकैदिन निर्वाचन हुनेछ भने मंसिर ४ गते पालिकास्तरीय निर्वाचन हुने केन्द्रीय निर्वाचन समितिले एक कार्यक्रमको आयोजना गरी सुसूचित गराएको छ ।
नेकपा माओवादीको पछिल्लो केन्द्रित कमिटीको निर्णयअनुसार पार्टी पद्धतिलाई निर्वाचनमुखी बनाउँदै जनताप्रति दायित्वबोध हुने गरी संगठनको संरचना विकास गरेको छ । जसअन्तर्गत निर्वाचन प्रणालीबाट वडादेखि केन्द्रसम्मको नेतृत्व छनौट गर्ने विधिलाई अंगीकार गर्दै अनुमोदन गरेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं निर्वाचन समितिका संयोजक विष्णुपुकार श्रेष्ठले बताउनुभएको छ । उहाँका अनुसार नेकपा माओवादी केन्द्रको परिमार्जित विधान अनुसार प्रत्येक वडा सम्मेलन समिति र निर्वाचन समिति गठन गरी सम्बन्धित तालुकदार निकायमा जानकारी सहित परिपत्र गर्न तल्लो कमिटीलाई जानकारी गराएको बताउनुभएको छ । जसअनुसार कार्तिक १३ गते वडा समितिको निर्वाचन कार्यक्रम रहेको छ । जसमा प्रत्येक उम्मेदवारले आफ्नो समर्थक र प्रस्तावक सहित आफ्नो उम्मेदवारी दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । जसका लागि कार्तिक ९ गते प्रत्येक वडा स्तरीय निर्वाचन कार्यालय खुल्नेछन् । त्यहीँबाट निर्वाचन सम्बन्धी गतिविधिहरु अगाडि बढ्नेछन् । जसका लागि वडा स्तरीय ३ सदस्यीय निर्वाचन समिति र नगर स्तरीय ५ सदस्यीय निर्वाचन समितिको प्रावधान राखिएको छ ।
सोही अनुसार निर्वाचन प्रक्रियालाई स्वस्थ, निष्पक्ष ढंगबाट सञ्चालनका लागि निर्वाचन समितिलाई अभिमुखीकरण कार्यक्रम मार्फत् सुसूचित गराउने कार्य भएको बताउनुभएको छ । जसको माध्यमबाट स्थानीय नेतृत्व स्थापित हुँदै भोलिका दिनहरुमा जनमुखी नेतृत्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा माओवादी केन्द्र आश्वस्त रहेको केन्द्रीय निर्वाचन संयोजक श्रेष्ठले बताउनुभएको छ । जुन पद्धति अंगीकार गरिएको छ, त्यसले टिके प्रथाको माओवादी केन्द्रमा अन्त्य भएको छ । यसले जनताको माझ भिजेको नेतृत्व मात्रै अगाडि बढ्नेछ, जसले समाजवादी आन्दोलनलाई एउटा ईंट्टा राख्ने काम गर्नेछ भन्ने विश्वास माओवादी केन्द्रले लिएको संयोजक श्रेष्ठको दाबी छ । जुन संरचना अनुसार निर्वाचन प्रक्रियाबाट निर्वाचित नेतृत्वलाई निर्वाचन आयोगको तर्फबाट वैधानिक रुपमा प्रमाणपत्रको व्यवस्था हुनेछ । त्यसबाट हिजोको जुन किसिमको अस्तव्यस्त अवस्थाको अन्त्य गर्दै नयाँ सिराबाट पार्टीलाई अगाडि लैजानको लागि यो पद्धति कोसेढुंगा सावित हुने अठोट माओवादी केन्द्रले लिएको संयोजक श्रेष्ठको ठम्याइ छ ।
उक्त अभिमुखीकरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं केन्द्रीय निर्वाचन समिति सदस्य कौशल शाह, केन्द्रीय सदस्य एवं पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज), बागमती प्रदेश निर्वाचन समिति सदस्य मुरारी सापकोटा, बागमती प्रदेश सचिवालय सदस्य एवं जिल्ला अध्यक्ष रुकु चौलागाईं, बागमती प्रदेश सचिवालय सदस्य मिमबहादुर वाइबा (ज्वाला) लगायतका नेतृत्वले पार्टीले अघि सारेको परिमार्जित पद्धतिका बारेमा चर्चा गर्नुहुँदै सकारात्मक सन्देश प्रवाह हुने ठोकुवा समेत उक्त अवसरमा व्यक्त गर्नुभएको थियो ।