काभ्रे । चेतनाको अभाव, वंशाणु गुण र वातावरणीय प्रभावले दिनप्रतिदिन क्यान्सरमा पनि स्तन क्यान्सरका रोगीहरु बढिरहेको तथ्य सार्वजनिक गर्दै कुनै पनि लक्षण नदेखिए पनि महिलाले आफ्नो स्तन वर्षको एक पटक परिक्षण गर्न स्त्रीरोग विशेषज्ञ डाक्टर सुनिला शाक्यले नेपाली महिलाहरु आग्रह गर्नु भएको छ ।
आज धुलिखेल अस्पतालमा आयोजित सञ्चारकर्मीसँगको संवाद उक्त भनाइ राख्नु भएको हो । डा. शाक्यको कथन छ– प्रविधिसँगै भित्रिएको म्यामोग्राम एक्स–रे ले स्तन क्यान्सरको बारेमा भरपर्दो रिपोर्ट दिने भएकै कारण पनि यसतर्फ ध्यान खिचेको स्मरण गराउनु हुँदै वर्षको एकपटक आफ्नो स्तन परिक्षण गराउनपर्ने बताउनुभएको छ ।
यसैबीच सञ्चारकर्मीहरुको जिज्ञासा मेटाउने क्रममा डा. शाक्यको थप कथन थियो– स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरका बारेमा सम्बोधन गर्दै पाठेघरको मुखमा कोषहरुको असामान्य र अनियन्त्रित रुपले वृद्धि हुनु र बिस्तारै गाँठोको रुपमा देखापर्नुलाई नै पाठेघरको मुखको क्यान्सर भनिन्छ । लगातार लामो समय सम्म उच्च जोखिम हुमन प्यापिलोमा भाइरस (एच पी भी) को संक्रमणनै पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण हो । समयमै चेक जांच गरि उपचार गराएमा पाठेघरको मुखको क्यान्सर बाट जोगिन सकिन्छ ।
कस्ता महिलालाई पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ ?
० यौन सम्बन्धमा आबद्ध भएका
० उच्च जोखिम एच पी भी को निरन्तर संक्रमण भएका
० कम उमेरमा यौन सम्पर्क वा विवाह भएका
० कम उमेरमा बच्चा जन्माएका वा धेरै बच्चा जन्माएका
० धेरै जना संग असुरक्षित यौन सम्बन्ध भएका
० यौन रोग संक्रमित
० धुम्रपान वा सुर्तीजन्य पदार्थ सेवन गर्ने
० नियमित पाठेघरको जांच नगराउने
० पाठेघरको मुखको क्यान्सरको पुर्व अवस्थाको राम्रो उपचार नगराएका
पाठेघरको मुखको क्यान्सरको लक्षणहरु के के हुन् ?
पाठेघरको मुखको क्यान्सरको पुर्व अवस्थामा कुनैपनि लक्ष्यण नदेखिन सक्छ तर बिस्तारै क्यान्सर फैलदै जाँदा तलको लक्षण देखिन थाल्छ ।
० यौन सम्पर्क पछि योनीबाट रगत बग्ने
० महिनावारी चक्रको बिचमा पनि रगत बग्ने
० महिनावारी सुकेका महिलामा पनि फेरी रगत देखापर्ने
० योनी मार्गबाट लगातार गनाउने वा रगत मिसाएको पदार्थ बग्ने
० धेरै पटक योनी मार्गको संक्रमण हुने
० ढाड पेट दुख्ने
० थकान महसुस हुने र वजन घट्दै जाने
पाठेघरको मुखको क्यान्सर हुन नदिन के गर्ने ?
० ९–१३ बर्ष उमेरमा किशोर किशोरीलाई उच्च जोखिम एच पी भी विरुद्धको खोप लगाउने र यो उमेर समूह नागेका महिलाले पनि डाक्टरको सल्लाह आनुसार खोप लगाउदा राम्रो हन्छ ।
० नियमित पाठेघरको मुखको क्यान्सरको विशेष परीक्षण (स्क्रीनिंग टेस्ट )ः भी. आई ए, उच्च जोखिम एच पी भी र प्याप टेस्ट प्रत्येक ५ वर्षको अन्तरालमा गर्ने जानकारी दिँदै स्वास्थ्य बीमा अन्तर्गत म्यामोग्राफी एक्स–रे सेवा प्रदान गरिने बताउनुभएको छ ।
कार्यक्रममा स्त्रीरोग विशेषज्ञ प्रा.डा. सुमन ताम्राकारको कथन छ– प्रविधि सँगसँगै भित्रिएको अत्याधुनिक मेसिनले जुन किसिमको सफलता प्राप्त गरेको छ, त्यसको भरपुर उपयोग गर्नसके नेपाली महिलाहरुले स्तन क्यान्सरलाई जित्ने ठोकुवा गर्नुभएको छ । सञ्चारकर्मीहरुको जिज्ञासालाई सम्बोधन गर्ने क्रममा डा. ताम्राकारको थप कथन छ– शरीरको अन्य भागमा स्तनका कोषहरुमा पनि असमान्य, अनियन्त्रित र अनावश्यक वृद्धि हुन गई गिर्खा, गाँठागुँठी तथा निको नहुने घाउ बन्ने अवस्थालाई स्तन क्यान्सर भनिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा बर्सेनी एक लाखमा २१ दशमलव ८ जना महिलामा स्तन क्यान्सर हुन्छ भने करिब १० जनाको यसकै कारण मृत्यु हुन्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरजन्य मृत्युमध्ये २० प्रतिशत मृत्यु यसैले गराउँछ । यो रोग पुरुषको दाँजोमा महिलामा स्तन क्यान्सर सय गुणा बढी हुन्छ ।
यो रोग अमेरिका तथा युरोप भन्दा एशिया एवं अफ्रिकामा कम मात्रामा देखा परेपनि स्तन क्यान्सर सम्बन्धि जनचेतनाको कमी, गरिबी तथा महिला शिक्षाको कमीका कारण नेपालमा ढिलो गरी मात्र रोगको पहिचान हुने हुनाले रोग शरीरका अन्यत्र पनि फैलिसकेको हुन्छ । त्यसो स्तन क्यान्सर प्रायः हड्डी, फोक्सो, कलेजो, डिम्बाशय र स्नायु प्रणाली (दिमाग) मा फैलिन सक्छ ।
यो रोग उमेर ढल्किसकेका महिला (८० प्रतिशत स्तन क्यान्सर ५० वर्ष माथिका), अनुवांशिक खराबी भएका, ढिलो विवाह गरी ढिलो बच्चा जन्माउने (३५ वर्षपछि), कम उमेरमै महिनावारी शुरु भएका (१२ वर्ष अगाडि) तथा ढिलो गरी मात्र महिनावारी (५५ वर्षपछि), मोटोपना भएकी, अधिक वा लामो समयदेखि इस्ट्रोजेन सेवन गरेकी, अधिक धुम्रपान तथा मद्यपान गर्ने, चिल्लो तथा बोसोयुक्त खाना बढी सेव गर्ने महिलामा महिलामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ ।
यसैगरी वंशाणुगत कारणले पनि नजिकका नातेदारमा स्तन क्यान्सर हुनसक्छ । साथै विवाह नै नगरेका, बच्चा नै नजन्माएका, बच्चा पाएपछि स्तनपान नगराएकी एवं पहिले एउटा स्तनमा स्तन क्यान्सर भैसकेकी महिलामा पनि यो रोग लाग्न सक्छ । तर अध्ययन अनुसन्धानबाट २५ वर्ष भन्दा कम उमेरका महिलामा यो क्यान्सर कम मात्र लाग्ने गरेको छ ।
स्तनमा गिर्खा देखा पर्नु, स्तनको आकारमा परिवर्तन, स्तनको मुन्टाबाट रगत वा पिप बग्नु, स्तनको छालामा परिवर्तन आई सुन्तलाको बोक्रा जस्तै स–साना प्वाल हुनु, मुन्टा भित्र धसिनु आदि स्तन क्यान्सरका लक्षण चिन्हहरु हुन् । तर स्तनमा दुखाई भने प्रायः हुँदैन ।
नुहाउने बेला वा ऐना अगाडि निर्वस्त्र हेर्ने क्रममा महिला आफैले वा उनको श्रीमानले स्तन चलाउने क्रममा वा स्वास्थ्य परीक्षणको बेला माथि उल्लेखित लक्षण चिन्हहरु भेटिन सक्छ । शंका लागेर म्यामोग्राफी भनिने विशेष खालको स्तनको एक्सरे गराएको खण्डमा स्तनको क्यान्सरको शुरुको अवस्था पत्ता लाग्न सक्छ । ४० वर्ष नाघेकी तथा जोखिममा रहेकी महिलाले म्यामोग्राफी गराउनु राम्रो हुन्छ । तर हातले छाम्दा भेटिने स्तन क्यान्सरका करिब ४० प्रतिशत पत्ता नलाग्न सक्छ । यो परीक्षणले शंकास्पद ठाउँ पहिचान गर्न मद्धत गर्ने हुनाले अन्य जाँच गर्न सघाउ मिल्छ ।
स्तनको क्यान्सरको पक्का निदानका लागि एफएनएसी भनिने (स्तनमा आएको गिर्खा वा गाँठागुँठीमा सियो छिराएर सियोमा अट्ने जति मासु वा श्रावको जाँचबाट गरिने) परीक्षण बाट ९८ प्रतिशतसम्म रोग पत्ता लाग्न सक्छ । यस जाँचको नतिजा शंकास्पद, अस्पष्ट वा पोजिटिभ भएमा स्तनको प्रभावित भागबाट स्तनको सानो अंश मासु निकाली त्यसलाई प्याथोलीजी ल्याबमा परीक्षण गराउनु पर्दछ ।
स्तन क्यान्सर लागेको निश्चित भएपछि स्तन क्यान्सरको चरण, बिरामीको अवस्था तथा अन्यत्र फैलिए नफैलिएको आधारमा शल्यक्रिया, रेडियोथेरापी, केमोथेरापी, हर्मोनथेरापी तथा बिरामीलाई केवल सहज तथा पीडा कम हुने औषधि मात्र दिइन्छ । यी उपचार बाहेक बिरामीलाई पोषण, स्याहार सुसार तथा स्नेह माया पनि उत्तिकै जरुरत पर्दछ ।
रोकथामका लागि स्तनमा गाँठागुंठी तथा गिर्खाका अलावा माथि उल्लेखित अन्य लक्षण चिन्हहरु देखापर्ने बित्तिकै स्वास्थ्य परीक्षणका लागि जानु पर्दछ । यसको अलावा धुम्रपान, चिल्लो तथा बोसोयुक्त खाना कम खाने, शारीरिक तौल नियन्त्रणमा राख्ने, बच्चा पाएपछि स्तनपान गराउने गर्नु पर्दछ । यसैगरी रेशादार खाना बढी खाने, कीटनाशकरहित फलफूल तथा सागसब्जी बढी खाने गर्नु पर्दछ ।
मानव स्तनको रोगव्याधी वा क्यान्सर छ कि भनेर कम भोल्टेजको ईनर्जी प्रयोग गरेर गरिने विशेष एक्सरेलाई मेडिकल भाषामा म्यामोग्राफी भनिन्छ । यस प्रविधीले हातले छामेर नभेटिने अवस्थाका स्तनका स–साना गिर्खालाई पत्ता लगाउन मद्धत गर्दछ । हातबाट छामेर भेटिने स्तनका गिर्खाको हकमा पनि कहाँनेर छ र कति ठुलो छ भन्ने जानकारी पाउन सकिन्छ । भलै अमेरिकन कलेज रेडियोलोजी र अमेरिकन क्यान्सर सोसाईटीले ४० वर्ष कटिसकेकी महिलाले वर्षमा एकपटक म्यामोग्राफी गर्न सल्लाह दिएपनि अमेरिकाकै अर्को टास्क फोर्स, क्यानेडियन टास्क फोर्स र युरोपेली क्यान्सर पर्यवेक्षक समूहले ५० देखि ७४ वर्षका महिलाले २, ३ वर्षमा एकपटक म्यामोग्राफी गरे पुग्ने बताएको छ । यस खालको एक्सरेमा विकिरणको जोखिम निकै न्यून छ । म्यामोग्राफीको मद्धतबाट समयमै स्तनको शंकास्पद गिर्खा वा शुरुवाती अवस्थाको स्तनको क्यान्सर भेट्टाउन सकिएको खण्डमा उपचारको क्रममा स्तन पूरै निकाल्नपर्ने शल्यक्रिया (सर्जरी) को आवश्यकता हुँदैन । त्यसो भएर ४० वर्ष उमेर पुगिसकेकी महिलाले २, ३ वर्षमा एकपटक म्यामोग्राफी गराउन बुद्धिमानी हुने डा. ताम्राकारको आग्रह छ ।
हालै धुलिखेल अस्पतालमा म्यामोगाफीको सेवा सुचारु गरेको बताउनुहुँदै यो सेवाको सदुपयोग गरी आमा समूह, सहकारी संस्थामा आबद्ध महिला सदस्यहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरुले अधिकतम फाईदा लिन सकिन्छ । महिलाहरुको होल बडी चेक अपमा म्यामोग्राफी पनि अनिवार्य हुनुपर्दछ । स्तन क्यान्सरबाट बच्न नियमित रुपमा आफैंले हातैले छामेर स्तनको जाँच गर्ने तथा शंका लागेको अवस्थामा म्यामोग्राफीको सहयोग लिन सकिन्छ । म्यामोग्राफीबाट शंकास्पद गिर्खा पत्ता लागेको खण्डमा उक्त शंकास्पद गिर्खामा सानो सूई छिराई वा त्यहाँको सानो मासुको टुक्रा निकाली क्यान्सर छ छैन पत्ता लगाउन सकिन्छ र, समयमै उपचार गराएको खण्डमा स्तनको क्यान्सर शतप्रतिशत निको हुने उहाँको ठम्याइ छ ।
स्तन क्यान्सर स्तनमा कोषहरुको असामान्य र अनियन्त्रित रुपले वृद्धि हुनु र बिस्तारै गाँठोको रुपमा देखा पर्नु लाई नै स्तन क्यान्सर भनिन्छ । महिलाहरुमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा पर्छ भने स्तन क्यान्सर दोश्रो स्थानमा पर्दछ ।
कस्ता महिलालाई स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ ?
० हर्मोनमा हुने परिवर्तन
रजस्वला छिटो हुन र ढिलो रोकिनु ।
० ५ वर्ष वा सो भन्दा बढी सम्म हर्मोनयुक्त गर्भनिरोधक औषधिको प्रयोग ।
० महिनावारी सुकेपश्चात् गरिने हर्मोनको उपचार ।
० वंशानुगतः आफ्नै आमा, दिदीबहिनी वा छोरीलाई स्तन क्यान्सर भएमा
० पहिला एक पटक स्तन क्यान्सर भइसकेको वा एउटा स्तनमा क्यान्सर भएकामा अर्को स्तनमा पनि क्यान्सर हुने सम्भावना अत्यधिक हुन्छ ।
० महिनावारी बन्द भइसकेपछि वजन बढ्दै गएका महिलामा
० स्तनपान नगराएका, ढिलो बच्चा जन्माएका
स्तन क्यान्सरको लक्ष्यणहरु कसरी पत्ता लगाउन सकिन्छ ?
० म्यामोग्रामः स्तनको विशेष एक्स–रे द्वारा असामान्य गाँठा, गिर्खा आदि भए नभएको पत्ता लगाउन सकिन्छ । यो परीक्षण ४० वर्ष नागेका सबै महिलाले प्रत्यक वर्ष गराउनु पर्छ ।
० स्तनको अल्ट्रासाउण्ड
० प्रत्येक महिना आफ्नो स्तनको जाँच आफैंले गरेर निम्न लक्षणहरु छ छैन जाँच्ने ।
० आकारमा परिवर्तन
० छालामा खोबिल्टा पर्नु
० राता डाबर देखिनु
० दूधको मुन्टो भित्र पस्नु
० दूधको मुन्टो रसाउनु
० गाँठा फेला पर्नु
० स्तन सुन्निनु, दुख्नु
० काखीको ग्रन्थीहरु सुन्निनु
परीक्षणको नतिजा (जीनिंग टेस्ट) पोजेटिभ आएमा तुरुन्त उपचार गराउने जानकारी दिनुहुँदै कार्यक्रममा विभागीय प्रमुखहरु रेडियोलोजिष्टहरु र आर.एन. सोना गौतम लगायतले स्तन क्यान्सर लगायत हालसम्म अस्पतालले सो क्षेत्रमा पु¥याएको योगदान र भोगाइका बारेमा सञ्चारकर्मीमाझ राख्नुभएको थियो । सञ्चारकर्मीहरुको जिज्ञासालाई मेटाउँदै सो विधामा के कस्तो भूमिका खेलेको भन्ने बारेमा वोमनस् हेल्थ एण्ड क्यान्सर प्रिन्भेनसन प्रोग्राम, धुलिखेल अस्पतालबाट जानकारी लिन सकिने प्रोग्राम लिडर सिनियर कन्सल्टेन्ट डा. सुनिला शाक्यसँग सम्पर्क राख्न सकिने समेत बताउनुभएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |