प्रभातफेरी अनलाइन ४०७ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र ९, बिहिबार (३ साल अघि)
नेपालको राजनीतिक घटनाक्रमलाई लिएर विश्व रंगमञ्चमा टिकाटिप्पणी उठिरहँदा द्वन्द्वको पिडामा तड्पिएको मुलुकलाई मलमपट्टि लगाउन भएको शान्ति सम्झौताको मर्ममाथि नै प्रहार गर्ने किसिमबाट घटनाक्रम अगाडि बढ्नु शोभनीय होइन ।
परिवर्तनको महान् उद्देश्य बोकेर युद्धमा होमिएको तत्कालिन माओवादी र सात राजनीतिक घटकबीच भएको सम्झौता विरुद्ध संवैधानिक अदालतले उठाएको कदमप्रति आलोचनाहरु एकपछि अर्काे गर्दै बढेका छन् । विश्वका कुनै पनि हिंसात्मक राजनीतिक घटनाहरुलाई हेर्ने हो भने यो कदम कुनै कोणबाट पनि न्यायोचित मान्न सकिन्न । जसले शान्ति सम्झौताप्रति नै दूरगामी असर पार्ने निश्चित छ । यसबाट बुझेर पनि बुझ पचाउने न्यायलय र राजनीतिक रुपमा प्रशिक्षित बुज्रुकहरुले मुलुकलाई फेरि हिंसात्मक बाटोतर्फ धकेल्न खोजेको त होइन भन्ने आशंकाहरु उब्जिएका छन् । राजनीतिक रुपमा आफूलाई राजावादीको कसीमा राख्ने राप्रपा नामको पार्टीले संसदमा जुन भूमिका खेलिरहेको छ, उसले दरबार हत्याकाण्डलाई एक पटक नजरअन्दाज गर्न जरुरी छ । नौ हजार शाही सेनाको घेराभित्र रहेको राजसंस्थाको अवशेष समेत बाँकी नरहने गरी भएको नरसंहारको जिम्मा कसले लिने ? भन्ने सवालमा चर्चा उठ्न जरुरी छ । के त्यो हत्याको बारेमा तैं चुप मै चुप भएर ढाकछोप गर्न मिल्छ ? राजनीतिक एजेण्डा लिएर आन्दोलनमा होमिएको निशस्त्र शक्तिमाथि शक्तिको दुरुपयोग गरेर भएको आततायी घटना एकातिर छ भने मुलुकको सिंगो बागडोर सम्हालेको राजसंस्थामाथि भएको नरसंहारको घटनालाई छोप्न खोज्नु आफैंमा विवादास्पद छ ।
यसर्थ, यि दुई घटनाक्रम त प्रतिनिधि पात्र मात्रै हुन् । आमुल परिवर्तनका खातिर यस्ता घटनाहरु यो मुलुकमा धेरै घटेका छन् । तिनीहरुलाई कसरी बुझ्ने त्यसमा भर पर्छ । यावत् राजनीतिक घटनाक्रमलाई लिएर धमिलो पानीमा माछा मार्न खोज्नु र १० वर्षे जनयुद्धलाई दोषी चस्माको रुपमा हेर्नु केही भिन्न होइन भन्ने ठम्याइमा हामी पुगेका छौं । राजनीतिक घटनाक्रममा जुन किसिमका पात्रहरु जन्मिरहेका छन्, त्यसले मुलुकको सम्वृद्धि होइन, उँभो गतितर्फ धकेलिरहेको बुझाइ हाम्रो छ ।
यस किसिमका गतिविधिबाट मुलुकलाई माथि राख्नु प्रत्येक राजनीतिककर्मीको दायित्व हो, जिम्मेवारी हो । त्यसैले राजनीतिक परिवर्तनका खातिर भएका घटनाक्रमहरुलाई अतिरञ्जित बनाएर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने छुट कसैलाई छैन भन्ने निचोडमा हामी पुगेका छौं । यस घडीमा जनअपेक्षा सहित राजनीतिक घटनाक्रमले स्थापित सत्ता प्रतिपादक नबनोस् भन्ने अपेक्षा हामीले राखेका छौं ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |