logo
२०८३ अषाढ ७, आईतबार |
📰
🔍

संघीयताको विरुद्धमा हुङ्कार गर्नु दिवा सपना हो

प्रभातफेरी अनलाइन३८५ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २६, मंगलबार(२ साल अघि)
Post Thumbnail

नेपाली जनताहरू व्यक्तिगत स्वार्थको लागि नभई मुलुकको हितको खातिर निरन्तर लागि रहेका हुन्छन् । मुलुकमा आमूल परिवर्तन गरी समृद्ध नेपाल निर्माणको लागि शताब्दीऔँ देखि त्याग गर्दै बलिदानी दिन समेत पछि नपर्दा ति महान नेपाली जनताले बगाएको रगतको कारण मुलुकमा आमूल परिवर्तनहरू भए । मुलुकमा दलमाथिको प्रतिबन्ध राजा वीरेन्द्रले लगाउनको कारण नेपाली जनताको शक्ति नै हो भने लोकतन्त्र हुँदै गणतन्त्र प्राप्ति गर्नु पनि नेपाली जनताले बगाएको रगत नै हो । जन चाहना अनुसार निर्माण भएको जन संविधानको आधारमा राजतन्त्रको अन्त्य भयो । हालको समयमा मुलुकको हित नचाहने पक्षले चुरी फुरी गर्नु नौलो हैन तर सो चुरीफुरीलाई नेपाली जनताले कसरी नियाली रहेकाछन् भन्ने विषय प्रमुख हो ।
संघीयताल मुलुक धरापमा पार्यो संघीयताको अन्त्य गर्दै राजालाई मुलुकको बागडोर जिम्मा दिनुपर्छ भन्दै कुर्लनेहरू मुलुकको हित गर्न खोजेको हो की स्वार्थ ? बुझ्न जरुरी रहन्छ । होला मुलुकमा संघीयता लागू भएको ७ वर्षको अवधिमा जन चाहना अनुसार कार्य हुन सकेन तर संघियताले निर्धारण गरेको मार्ग त सुनौलो भन्नेमा कसैको दुईमत नहोलान् । मुलुकमा संघीयता लागू भएपछिको दुर्गम बस्तिहरुमा भएको विकास निर्माण, जातीय तथा लिंगीय आधारमा हुने बिभेदको अन्त्य, समानुपातिक तथा समावेशिता, निम्न बर्गको संरक्षण साथै अवसर, आरक्षण कोटा निर्धारण गरी प्रदान गरिएको अवसरहरू, सिंहदरवारको अधिकार गाउँगाउँमा लगायतका उपलब्धीहरू कुन माध्यमबाट हासिल भयो भन्ने विषयमा नेपाली जनताहरू अन्जान नहोलान् ।
हुन सक्छ संघीयता लागू गर्ने क्रममा केही सामान्य कमीकमजोरी नभएको भन्न नसकिएला तर सुधार गर्न सकिन्छ कि सकिन्न भन्ने विषय प्रमुख हो । सामान्य कमिकमजोरीलाई सुधार्दै नेपाली जनताको चाहना अनुसार अगाडि बढ्दा मुलुकको हित हुन्छ की ? मुलुकको हित नचाहने केही पक्षले सडकमा उफ्रिदैमा संघीयता खारेज हुन सम्भव होला र ? मुलुकमा आमूल परिवर्तन गर्ने वा नगर्ने भन्ने विषयमा सम्पूर्ण अधिकार नेपाली जनतामा निहित छ । जनताले राजतन्त्र या अन्य केही चाहन्छन् भने असम्भव भन्ने हुदैन । तर परिवर्तनको लागि विधि र प्रकृया उत्तिकै महत्वपूर्ण रहन्छ ।
नेपाल र नेपाली जनताको हितको खातिर परिवर्तन नै चाहेमा विधि र प्रकृयामा अगाडि बढ्न जरुरी छ । जस अन्तरगत सामान्यतया कम्तिमा तीन विकल्प अनिवार्य रहन्छ । व्यवस्था परिवर्तनको लागि चालु सांसदको दुई तिहाइबाट संविधान संसोधन, २ करोड ९१ लाख जनसंख्या लाई आधार मान्दै जनप्रदर्शन वा सशस्त्र आन्दोलन । नेपाली जनताको शताब्दीऔँ त्याग र बलिदानीको आधारमा हासिल गरेको उपलब्धिलाई राजावादीहरूले हरण गर्न खोजेको छ । सडकमा केही व्यक्तिगत स्वार्थको आधारमा दौडने झुन्डको हल्लाको भरमा परिवर्तन असम्भव भन्ने विषयमा नेपाली जनताले राम्रोसँग बुझेका छन् । परिवर्तनको लागि उल्लेखित कम्तिमा तीन आधार मध्य कुनै एकमा टेकेर अगाडि बढ्ने दर्बिलो आधार नहुनाले संघीयताको विरुद्धमा हुङ्कार गर्नु दिवा सपना सरह हो ।