मोहन दुवाल, वरिष्ठ साहित्यकार
नारायणटोल, तानसेन पाल्पामा जन्मेका र त्यहीँ बसेर जीवन पर्यन्तसम्म शिक्षा र साहित्यमा लाग्दै आफूलाई चिनाउँदै आएका एकजना प्रख्यात शिक्षासेवी । स्वार्थरहित सेवामा समर्पित समाजसेवक । साहित्य सिर्जना र साधनामा लागिरहन मन पराउने एकजना साहित्यकार । पाल्पा तानसेनका एकजना सधैं उल्लेख गर्न मिल्ने उल्लेखनीय प्रतिभा हुन् — जगतबहादुर जोशी । वि.सं. १९८७ असार २५ गते पिता मीनबहादुर र माता बुद्धलक्ष्मीका पुत्र जगत्बहादुर जोशीले जीवनमा सङ्घर्ष भोग्दै, धेरै खालका कष्टहरुसँग जुझ्दै समाजका लागि आफूसक्दो सेवा गरेर गएका एकजना सङ्घर्षरत योद्धा हुन् । जगत्बहादुर जोशी पाल्पा क्षेत्रका थुप्रै ठूला मान्छेहरुका गुरु । समाजमा केही गर्न रुचि राख्नेहरुका मित्र । साहित्य सिर्जनामा मन खोप्न जानेका, साहित्यिक क्रियाकलापमा सङ्लग्न रही साहित्यिक गतिविधि गर्न सिकेका समाजपरक मान्छेहरुका मित्र हुन् ।
बनारस हिन्दू विश्वविद्यालयबाट ई.सं. १९४९ सालमा नै स्नातक गरी शिक्षामा आफ्नै आयाम र दृष्टि राख्न जानेका जगत्बहादुर जोशीले वि.सं. २००६ सालदेखि शिक्षण पेशामा सङ्लग्न रहेर पाल्पा क्षेत्रको शिक्षा जगत्मा उच्च स्तरको सेवा गरिसकेका सन्दर्भ त्यस क्षेत्रले बिर्सिन सक्दैनन् । वि.सं. २००६ सालका शिक्षक । वि.सं. २००३ सालमा नै धवल पुस्तकालय सञ्चालन गर्न सङ्घर्षरत एकजना निष्कलङ्क समाजसेवक जगत्बहादुर जोशीका क्रियाकलापहरु पाल्पा, तानसेनका माटोमा छरपस्ट छन् । उनले पाल्पाको माटोमा धेरै–धेरै गरे; बुझ्ने थोरैले भए पनि उनको मूल्याङ्कन गरेका छन् । तर धेरैले बुझेनन् तर यिनले कहिल्यै मन दुखाएनन् । यही नै जगत्बहादुर जोशीका भावनाका उत्सर्गहरु हुन् ।
वि.सं. २००८ सालदेखि वि.सं. २०४९ सालसम्म विभिन्न माध्यमिक विद्यालयहरुमा प्रधानाध्यापक भई सेवा पु¥याइसकेका यिनले शिक्षाका धेरै आयामहरुमा आफूलाई देखाउन सफल छन् । जनता विद्यालयदेखि, प्रताप मेमोरियल इङ्लिस स्कुल हुँदै सेन माध्यमिक विद्यालय, तानसेन पाल्पामा सेवारत यिनी शिक्षा जगत्का एकजना सुन्दर बिम्ब हुन् । पाल्पा, तानसेनका एकजना सुन्दर मान्छे जो शिक्षामा सधैं समर्पित रहे र साहित्य सिर्जनामा पनि सधैं–सधैं अग्रसर रही आफूलाई स्रष्टाका रुपमा चिनाउन पनि सफल रहे । आफ्नो जीवनकालमा जगत्बहादुर जोशीले पाल्पा, तानसेनलाई बौद्धिक र मानसिक रुपले चोखो र सुन्दर बनाउन निकै प्रयास र प्रयत्न गरे ।
यिनले पु¥याएर गएको शिक्षणसेवा उदाहरणीय मात्र छैनन् प्रशंसा गर्न लायकका छन् । त्यसैले यिनी अनगिन्ती समाजपरक सेवाका लागि थुप्रै संस्थाहरुबाट सम्मानित भएका छन् । शिक्षा र साहित्य क्षेत्रमा यिनको योगदान अविष्मरणीय मात्र होइन चोखो र निष्कलङ्क छन् । वि.सं. २०२१ सालमा नै जनता विद्यालयबाट अभिनन्दित यिनलाई वि.संं. २०२७ सालमा मा.वि.स्तरको प्रशंसनीय सेवा गरेवापत दीर्घ शिक्षासेवाका लागि स्वर्णपदक र कदर–पत्र प्रदान गरेका थिए । वि.सं. २०३४ सालमा राष्ट्रिय शिक्षा समितिबाट पनि पुरस्कृत यिनलाई वि.सं. २०५० मा सेन मा.वि.को रजत जयन्तीको अवसरमा अभिनन्दन र पुरस्कार प्रदान गरेको देखिन्छ । यिनलाई नेपाल राष्ट्रिय शिक्षक संगठन, पाल्पाबाट पनि वि.सं. २०५० सालमा नै अभिनन्दन र सम्मान गरेर श्रद्धा प्रकट गरेका हुन् ।
शिक्षाक्षेत्रमा विशिष्टता बाँड्न सफल जगत्बहादुर जोशीले साहित्यिक क्षेत्रमा पनि आफूलाई समर्पित तुल्याएर धेरै खालका सिर्जनशील कार्यहरु गरे । त्यसैले उनी साहित्यिक क्षेत्रमा पनि कदर सम्मान प्राप्त गर्न सक्षम साहित्यकार बने । वि.सं. २०१८ सालमा नै राष्ट्रव्यापी बृहत् साहित्य सम्मेलनको साहित्य प्रतियोगितामा सर्वप्रथम भएवापत स्वर्ण पदक र पुरस्कार प्राप्त गर्न सफल रहेका यिनीलाई वि.सं. २०५० सालमा नूर गङ्गा प्रतिभा पुरस्कारबाट र वि.सं. २०५५ सालमा गणेश–खिलकुमारी दुवाल जनमत प्रतिभा सम्मानबाट यिनी सम्मानित भएको देखिन्छ ।
वि.सं. २०२८ सालमा नै जसवन्ते खण्डकाव्य लेखेर आफ्नो काव्य सिर्जनाबाट आफूलाई कविका रुपमा चिनाउन सफल कवि जोशीले आज सूर्य विरामी छ कवितासङ्ग्रह वि.सं. २०५० सालमा प्रकाशित गरेको देखिन्छ । नेपालबारे निकै अध्ययनशील जोशीले नेपालको इतिहासबारे नेपालको इतिहास निर्माता भाग १–३ वि.सं. २०१४ सालमा नै प्रकाशित गराएका छन् । यसैगरी नेपाल दर्शन (भाग १ र २) पनि प्रकाशित छन् । इतिहासमा तथ्यहरु जोडेर बिम्ब, घटना, प्रसङ्गहरु जोड्न सफल इतिहासकार जोशीका यस खालका सिर्जनात्मक कार्यहरु त्यस क्षेत्रका लागि स्तुत्य र प्रशंसनीय देखिन्छन् । डम्बरेको टालो २०६० सालमा प्राकशित उपन्यासको नाम हो ।
धवल पुस्तकालयको स्थापना गरिनु पाल्पाको लागि एउटा अत्यन्त महत्वपूर्ण कार्य मानिन्छ । त्यस क्षेत्रको बौद्धिक धरोहर हुन् धवल पुस्तकालय । क्बतगचमबथ ऋगिद पाल्पा, तानसेनका जनताहरुलाई जागरण गराउने बौद्धिक संस्था । वाङ्मय प्रज्ञा प्रतिष्ठान त्यस क्षेत्रका उल्लेखयोग्य प्राज्ञिक प्रतिष्ठान । यस्तै–यस्तै बिम्ब र परिवेशमा जम्न जानेका जगतबहादुर जोशीले जीवनका थुप्रै क्षणहरु यस्तै खालका सामाजिक भावनाहरुमा, शैक्षिक उन्नतिका अनेकौं चाहनाहरुमा, साहित्यिक जगत्का धेरै खालका प्रसङ्गहरुमा र साहित्यिक सिर्जनामा रम्न दिएका हुन् । शिक्षाका एकजना चर्चित हस्ती । साहित्यका एकजना मर्मशील स्रष्टा । समाज परिवर्तन गर्न रुचाउने एकजना सुधारक । धेरै गरेर पनि मूल्याङ्कन नभए पनि सन्तुष्ट गर्न जानेका एकजना त्यागी सेवक ।
जगत्बहादुर जोशी एकजना कवि । एकजना समाजसेवक । एकजना योग्य शिक्षक । समाजका पथ प्रदर्शक । दर्शनका व्याख्याकर्ता । धेरै विशेषणहरुले व्याप्त यिनको समाजपरक सेवाहरु पाल्पाको माटोमा स्मरणीय छन् । तर्क गर्न रुचाउने, दृष्टि राख्न जानेका, साहित्यमा आफ्नै परिभाषा राख्न सिकेका, समाजसेवामा आफ्नै धून फलाक्न खोजेका जगत्बहादुर जोशीले साहित्यको परिभाषा यसरी गरेका छन् –“फूलका अनेक रङ्ग, आकार, जाति, प्रजाति हुन्छन् । तिनलाई निश्चित सङ्ख्या र सीमामा बाँध्न नसकिएझैं साहित्यलाई पनि सीमित शैली र विधामा बाँध्न सकिन्न । कति–कति नयाँ–नयाँ शैली, विधा थपिँदै जान्छन्, कति लोप हुँदै पनि जान्छन् । तर जे भएता पनि साहित्य शब्दले हितको निर्दिष्ट दिशातिर आंैल्याइएको लक्ष्यलाई साहित्यकारले सदा आत्मसात् गरी नै राख्नुपर्छ । एउटा वृत्तभित्र असङ्ख्य अर्धव्यास हुन्छन्, तर सबै अर्धव्यासको केन्द्रविन्दु एउटा मात्र हुन्छ । असङ्ख्य अर्धव्यास एउटै केन्द्रबाट उत्सर्जित भएझैँ साहित्यका विविध विधा र शैलीलाई हितको केन्द्रविन्दुबाट विचलित हुन दिनु हुन्न ।” साहित्यमा हित खोज्ने, शिक्षामा सत्य रोज्ने र समाजसेवामा निस्वार्थ भावना रोप्ने यिनको मन ‘जगत्’ भएर त्यस क्षेत्रमा व्याप्त छन् ।
सत्य मनपराउने, उज्यालोको खोजीमा सधैं कुदिरहन मन गर्ने जगत्बहादुर जोशीले पाल्पाको उन्नतिका लागि, पाल्पा क्षेत्रको शैक्षिक प्रगतिको लागि, समाजमा उज्यालो देखाउनका निम्ति निकै जीवनका क्षणहरु खर्च गरेर आफूलाई समाज सेवकका रुपमा, शिक्षासेवीको मुहारमा र साहित्यकारका बिम्बमा पहिचान देखाएर जान सफल छन् । उनी कहिल्यै चूप लागेनन्, जीवनको अन्तिम घडीसम्म पनि समाज र मान्छेकै लागि केहि सोच्न पाउँदा गौरव गरेर गए ।
सौहार्दता, सद्भावना र मैत्रीभावका हिमायती समाजका एकजना सुन्दर मान्छे जगत्बहादुर जोशीले समाजमा राम्रो गर्दागर्दै, परिवेशमा ज्ञान बाँड्दा बाँड्दै २०६८ चैत्र २३ गते मृत्युवरण गरे । यस्ता सत्पात्रहरुको सम्मान गर्न सिक्नु नै सत्यप्रति निष्ठा र आस्था गर्न सिक्नु हो । यस्ता सत्पात्रहरु नै तत्तत् समाजका समन्वित फक्रने फूलहरु हुन् – जसको स्मरण गर्नु मात्रले पनि समाज ‘धन्य’ बन्छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |