मोहन दुवाल, वरिष्ठ साहित्यकार
साहित्यिक पत्रकारितामा भानुका सम्पादकका नामले सुपरिचित साहित्यिक पत्रकार, ‘सडक कविता क्रान्ति’का अगुवा कवि, स्पष्ट र आफ्नो विचार सम्प्रेषण गर्न सिपालु वक्ता भवानी घिमिरे नेपाली साहित्यिक इतिहासको पृष्ठमा कहिल्यै नमेटिने नाम भएर गएका छन् । उनले साहित्यमा पु¥याएको योगदान अविस्मरणीय छ । साहित्यिक पत्रकारितामा उनले पोखेका परिश्रमहरु ऐतिहासिक छन् । छुट्टै पहिचान बोकेर देखा पर्दै आएका यिनी भानु साहित्यिक पत्रकारितामा आफ्नो इतिहास सुनौला पृष्ठहरुमा अङ्कित गरेर जान सफल छन् । भानु अर्थात् भवानीदाई, थाक्न नजानेका साहित्यिक यात्री तथा वरिष्ठ पत्रकार हुन् ।
भवानी घिमिरेलाई मैले चिन्न पाएको पनि पाँचदशक पुग्न लागेको छ । सायद २०२३–२४ सालतिर नै हुनुपर्छ मेरा दाइ कृष्णप्रसाद दुवालसँग उनी घरमा आएका र भानुलाई मैले छाप्न र चुम्न पाएको । फुर्तिलो ढङ्गले कुरा राख्ने, सुनिरहूँजस्तो वार्ता चलाउने उनको बानी र बोली सुनेर सानै छँदा म प्रभावित भएको याद छ । झोलाभरि भानु राखेर काभ्रेका ठाउँठाउँमा भानु पु¥याउन उनले गरेको सङ्घर्ष र दाइले साथमा लागेर भानुको ग्राहक अभियानलाई साथ दिएका सन्दर्भहरु मेरो मानसपटलमा अझै मडारिएका छँदैछन् । खरो स्वाभाव, खट्न सक्ने बानी उनको बेजोडको थियो । रुपरेखा, अभिव्यक्ति, रचना र भानुका अंकहरु पढ्ने बानी म युवा छँदा नै नियमितजस्तो थियो । मलाई त्यसताका नै अर्थात् म १८ वर्षको छँदा नै ‘कविता लेख’ भन्ने भवानीदाइको त्यस वचनले मैले कविता पनि निरन्तर लेख्न थालेको हुँ ।
भवानीदाइलाई मेरो मनमझेरीमा राखेर हेरेको म युवा छँदा नै हो । त्यसताका मेरो मनमा भवानीदाइको बिम्ब राखेर म कल्पिन्थेँ – यस्तो मान्छे बन्न पाए पो ! विचारले, व्यवहारले, अझ साहित्य र साहित्यिक पत्रकारितामार्फत् सम्मोहन गर्दै भवानीदाइले मलाई पनि साहित्य र साहित्यिक पत्रकारितामा मन राख्न सिकाए । त्यसताका भानुका सङ्ग्रह गर्न लायकका थुप्रै अङ्कहरु, ‘लेखनाथ’, ‘देवकोटा’, ‘भानुभक्त’, ‘गोकुल जोशी’ लगायतका अङ्कहरु हेरेर म कल्पना गर्थें – कति महत्वपूर्ण साहित्यिक कार्यहरु ! पछिल्लोपल्ट पनि ‘डुवर्स अङ्क’, ‘विचार अङ्क’, ‘महानन्द सापकोटा अङ्क’, ‘हरिभक्त कटुवाल अङ्क’, ‘सिक्किम अङ्क’ का अनगिन्ती महत्वपूर्ण अङ्कहरु निकालेर नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा उनले पु¥याइदिएको योगदान अविस्मरणीय छ ।
“साहित्य जीवनजस्तै हुनुपर्छ, जीवनलाई उठाउने, उकास्ने” भनी साहित्यको परिभाषा गरेर साहित्यमा जीवन घोल्दै आएका भवानी घिमिरे आफूलाई असल मान्छे बनाउने अभियानमा लगाउँदा लगाउँदै जीवनलाई सङ्घर्षको प्रतिबिम्बजस्तो देखाएर गए । पिता हिरण्यनाथ उपाध्याय तथा माता हाटकेशरी घिमिरेका छोरा भई १९८७ साल असोज १३ मधुमासमा विराटनगरमा जन्मिएका भवानी घिमिरेको जीवनयात्रामा ‘कस्तूरा’ र ‘शिवानी’ भाउजूहरुले आ–आफूसक्दो साथ दिएको देखिन्छ । झापाका साहित्यिक कर्म गरेर राष्ट्रमा झापालाई चिनाउने कार्यमा पनि उनको योगदान अग्रिम रहेको विगतका इतिहासपृष्ठहरुले बताउँछन् । जीवनका सिर्जनाहरुमा ममता, मुक्ता, मनिता, मन्जिता, महत्ता, मीता र मनरुपी सातवटी छोरीहरु हुर्काएर आफूलाई भवानीप्रसाद घिमिरेबाट भवानी घिमिरेका रुपमा साहित्यिक व्यक्तित्व बनाएर गएका उनी जीवनमूलक साहित्यका हस्ती बनेर गए ।
माथि उल्लेख भएका थुप्रै आरोह–अवरोहहरु छिचोल्दै, साहित्यिक पथमा लाग्दालाग्दै, धेरै खालका अनुभूतिहरुमा हेलिँदै, रमाउँदै, थरिथरिका अनुभूतिहरु बटुल्दै हिँडिरहेका यात्री पो हुन् उनी । यात्रामा लाग्दा बाटोमा अनेकौं घुम्तीहरु आउनु र कठिन बाटाहरुमा हिँडिरहेको जस्तो देखिनु अस्वाभाविक मानिंदैन । हो, यस्तै यात्रामा पो रमाएर गए उनी ! साहित्यिक पत्रकारहरु अपहेलित हुँदै बाँच्नुपर्ने बाध्यता सिर्जित यस देशमा हामी साहित्यिक पत्रकारहरु कहिलेकाहीँ भ्रमवश वा नियतवश छुट्टाछुट्टै रहेर सङ्गठन गर्न बाध्य रह्यौं । ‘साहित्यिक पत्रकार सङ्घ’ छँदाछँदै साहित्यिक पत्रकारहरुको हित संरक्षण र अधिकारप्राप्तिको सवालमा कञ्जुस्याइँ भएको छ अर्थात् काम भएन भनेर हामी देशभरिका साहित्यिक पत्रकारहरुको भेलाले ‘नेपाल साहित्यिक पत्रकार सङ्घ’ को गठन गरेका हौं । भवानीदाइ पुरानो सङ्घमा नै रमाउन गए, रोचक घिमिरेको नेतृत्वमा नेपाल साहित्यिक पत्रकार सङ्घको छहारीमा हामी देशभरिका साहित्यिक पत्रकारहरु गोलबन्द हुन गयौं । त्यस खालको विभाजनको स्थितिमा पनि एउटै ‘साहित्यिक पत्रकार सङ्घ’ बनाउनुपर्छ भन्ने मान्यतामा हामी सङ्घर्षरत थियौं । तर के गर्नु, भवानीदाइ गइहाले । व्यथा यथावत् छ । ‘साहित्यिक पत्रकार सङ्घ’ लाई ‘नेपाल साहित्यिक पत्रकार सङ्घ’का रुपमा विधिवत एउटै बनाउने अभियानमा लाग्नु नै मेरो विचारमा भवानी घिमिरेजस्ता साहित्यिक पत्रकारहरुलाई सम्झिदिनु हो । भानु अर्थात् भवानी घिमिरे यसैका पर्यायवाची नाउँ भएर गए, उनलाई इतिहासमा संरक्षित तुल्याइदिने काम हामी सबै साहित्यिक पत्रकारहरुको दायित्व पनि हो ।
स्पष्ट आफ्नो विचार राख्न खोजिहाल्ने, कविता पढेर स्रोताहरुमा आफ्नो पहिचान देखाउन सफल स्रष्टा भवानी घिमिरेले कम्युनिष्ट पार्टीमा लागेर पनि काम गरे । तर भानुमा जस्तो उनी कतै पनि चर्चित हुन सकेनन् । नेपालीहरु बसोबास गर्दै आएको सिक्किम, दार्जीलिङ, कालिम्पोङ, आसाम, गोहाटी, नागालैण्डतिर पनि यिनी साहित्यिक पत्रकारका रुपमा प्रतिस्थापित भएको देखिन्छ । आफूलाई जनताका पक्षमा, देशको पक्षमा सधैं समर्पित तुल्याएर साहित्यमा भानुको प्रकाश फिँजाएर जान सफल साहित्यिक पत्रकार तथा स्रष्टा भवानी घिमिरेले लेखेर गएजस्तै “एकपटकको जीवन, मूल्य र मान्यतामा आधारित भएर राम्रो काममा समर्पित रहनु’ नै हो । “साहित्य जीवनजस्तै हुनुपर्छ” – उनी भन्ने गर्दथे । जीवनमूलक साहित्य लेख्ने साहित्यकारहरु यिनका मनपर्ने साहित्यकारहरु हुन् ।
वि.सं. २००२ सालमा उदय पत्रिकामा ‘दो मित्र’ (हिन्दी भाषामा प्रकाशित) कथा नै यिनका प्रकाशित पहिलो रचना मानिन्छ । यिनका प्रकाशित कृतिहरुमा आत्मज्वाला (कथा–२००९), नानी (कथा–२०१३), माओत्सेतुङ (जीवनी–२०१४), स्मृतिका रेखाहरु (कविता–२०२४), महानन्दको जीवनी वृत्तान्त (जीवनी–२०३५), मेरो अभिव्यक्ति (विविध–२०५८), आफ्ना अभिव्यक्ति कतिपय (२०३५), पारसमणि प्रधानको जीवनी छन् । यिनका थुप्रै लेख–रचनाहरु अप्रकाशित छन् । सम्पादनमा आफ्नैपन राख्न सफल यिनले थुप्रै पत्र–पत्रिकाहरुको सम्पादन गरेका छन् । यिनले सम्पादन गरेका पत्रपत्रिकाहरुमा जनयुग (पाक्षिक), हाम्रो नेपाल (मासिक), प्रकाश(साप्ताहिक), युवक (मासिक) छन् । भानु त्रैमासिक २०२० सालदेखि प्रकाशित रहेको र पछि मासिक साहित्यिक पत्रिकाका रुपमा हालसम्म पनि प्रकाशित छन् । यिनको देहावसानपछि पनि शिवानी घिमिरेको संरक्षकत्वमा सक्रिय युवा साहित्यकारहरुको सक्रियतामा भानु प्रकाशित छ । यिनले पाएका उल्लेखयोग्य पुरस्कारहरुमा गोपाल पाँडे असीम पुरस्कार, साहित्यिक पत्रकारिता पुरस्कार, महानन्द स्मृति पुरस्कार आदि छन् ।
२०६६ भदौ ४ गते राती १०ः१५ मा उनी दिवंगत भए । ७९ वर्षको उमेरमा भानुको प्रकाश साहित्यिक जगत्मा अनायास निभेजस्तो भयो । तापनि उनले फिँजाइदिएको साहित्यका मर्मशील भावनाहरु गुञ्जिरहनेछन् । भानुको साहित्यिक योगदान नेपाली भाषा साहित्यको इतिहासमा सधैं अविस्मरणीय रहने छन् । आज उनी हामीसँग छैनन् तर पनि उनले देखाएर गएका साहित्यिक गोरेटाहरु यथावत् छन् । उनले देखाएर गएका स्वाभिमानका मर्महरु गुन्जिइरहने छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |