मोहन दुवाल, वरिष्ठ साहित्यकार
वि.सं. १९८८ पुस १४ गते अनारमणी–६, झापामा जन्मेकी राधिका राया अर्थात् राधिका रायमाझीले झापामा मात्र नभई दार्जीलिङ र सिंगापुरमा छँदा पनि नेपाली भाषा साहित्यको सेवामा आफूलाई समर्पित तुल्याएको देखिन्छ । सिंगापुरबाट यिनले उषा पत्रिका र दार्जीलिङबाट सयपत्री एवम् ताण्डव पत्रिकाको सम्पादन गरेर साहित्यिक पत्रकारका रुपमा पनि आफूलाई सफलतापूर्वक चिनाइन् । नन्दलाल सिंह र लक्ष्मी रायमाझीकी सुपुत्री यिनी जीवनका पछिल्लो कालखण्डमा भानुनगर, भद्रपुरमा बसेर झापाको साहित्यिक उत्थानमा सक्दो खालको सहयोगी अभियन्ताका रुपमा परिचय छोडेर गएको स्मरण गर्न सकिन्छ । कप्तान बुद्धिमान लेप्चाकी जीवनसँगिनीका रुपमा परिचित राधिका रायाका पूर्खा नेपालबाट जीवन जिउने क्रममा भारतको खर्साङमा स्थायी बसोबास गरेका थिए । प्रारम्भिक शिक्षा उतैबाट गरेकी यिनी सानै छँदादेखि नै साहित्यमा रुचि राख्थिन् । यिनले कविता, कथा, निबन्ध, एकाङ्की विधामा आफ्नो कलम चलाएको देखिन्छ ।
भारतमा छँदा अर्थात् कक्षा ९ मा पढ्दै गर्दा गोरखा लिग आन्दोलनले गरेको नेपाली भाषाको पहिचानको आन्दोलनमा सक्रिय भएर लागेको कारणले यिनको पढाई छुटेको देखिन्छ । शारदेश्वरी कन्या विद्यालय, खर्साङबाट म्याट्रिक परीक्षा उत्तीर्ण गरेकी यिनले पछि घरमै रहेर स्वाध्यायन गर्न थालिन् र आई.ए.सम्म उत्तीर्ण गरेर नर्सिङमा बेसिक टे«निङ गरिन् । २०१० सालदेखि शिक्षिका भई शिक्षा सेवा गर्दै आएकी यिनी सेनाका छोराछोरीहरुलाई पढाउन सिंगापुर पनि पुगिन् । एउटै छोरी डा. रविना लेप्चालाई साथ दिएर बाँचेकी यिनी २०५८ सालमा श्रीमान्को अवसानले झन् एक्ली महसुस गरी जीवन क्रम गुजारेर बाँचिन् । साहित्यलाई अनमोल रत्नका रुपमा आत्मसात् गर्न रुचाउने यिनी साहित्यलाई धर्ममा पनि श्रेष्ठ, कर्ममा पनि श्रेष्ठ महसुस गर्थिन् । साहित्यमा यिनका प्रकाशित कृतिहरुमा तिमी नगएकी भए २०२३ सालमा प्रकाशित कथासङ्ग्रह हो । उनी गएको गोरेटो दोस्रो कथासङ्ग्रह २०६० सालमा प्रकाशित भएको देखिन्छ । यिनका २०५९ मा प्रकाशित एकाङ्कीसङ्ग्रह जीवनको इच्छाले यिनले नाट्यकारितामा पु¥याएको योगदानको स्मरण गर्नुपर्ने हुन्छ । आत्मकथ्य २०६० मा नै प्रकाशित निबन्धसङ्ग्रह हो ।
वि.सं. २०२८ देखि मात्र झापा जिल्लाको भद्रपुर नगरमा स्थायी बसोबास गर्न सुरु गरेकी यिनी भद्रपुरमै २०२९ सालदेखि शिक्षण सेवामा समर्पित भएर, झापाका साहित्यकारहरुसँग घुलमिल गरेर, सामाजिक र साहित्यिक संघ संस्थाहरुमा आफूसक्दो सहयोग पु¥याउँदै आफूलाई साहित्यकारका रुपमा चिनाइरहिन् । झापामा २०५३ पुस २४ गते वरिष्ठ कलाकार कुलमानसिंह भण्डारीसँग पुगेको पनि २० वर्ष भइसकेको छ । यही झापा यात्राको क्रममा वरिष्ठ साहित्यकार चूडामणि रेग्मीले डो¥याएर राधिका दिदीकहाँ पु¥याइदिएको याद छ । कृष्णा जोशीसँग आत्मीयता साट्दै गरेको क्षणमा हामी राधिका रायाको घरमा पुगेका थियौं । सुशील देखिँदो मुहार रंग, व्यावहारिक खालको रुप–रङ्ग, सरल खालको घर र कोठाको सजावट, सौम्य व्यवहारबाट खसेको नम्र शब्दहरुलाई त्यसताका मनमा राख्न पाएको अद्यापि सम्झना छ । छोरी रविनाले ल्याइदिएको चियाको चुस्की लिँदै राधिका दिदीसँग साहित्यिक कुराकानी गरेको क्षण आजपर्यन्त पनि सम्झना रहिरहेको छ ।
२०६७ चैत्र १२ गते मधुमेह रोगबाट यिनको भद्रपुरमा अवसान भयो । तर पनि यिनले पु¥याएर गएको शिक्षणसेवाका उत्सर्ग लाग्दा क्षणहरु, साहित्यमा गरेका सेवाभावहरु र अक्षरहरुमार्फत् मनका भावनाहरु पोखेर आफूलाई चिनाएर गएका साहित्यिक कृतिहरुले यिनलाई अमर तुल्याइदिएका छन् । सानै छँदादेखि अध्ययन गर्न रुचाउने राधिकाले धेरै खालको जीवनक्रमहरु गुजारेको देखिन्छ । जागीरे बुबासँग लागेर यिनी वि.सं. २००८ देखि २०१० सम्म धनकुटाको गोकुण्डेश्वर मा.वि.मा शिक्षिका भइन् । २०११ सालदेखि २०२३ सालसम्म मलेसिया, सिंगापुर र हङकङमा यिनले आफ्नो जीवन क्रमहरु गुजारेको देखिन्छ । २०२३ सालदेखि २०२७ सालसम्म कलकत्तामा बसोबास गरेर जीवनका ऊर्जाहरुमा यिनले ऊर्जा थपेको देखिन्छ। साहित्य लेखन र क्रियाकलापमा यिनी २००७ सालदेखि नै लागेको देखिन्छ ।
वरिष्ठ साहित्यकार देवकुमारी थापा सँगसँगै साहित्यिक अभियान र सिर्जनामा जुटेकी राधिका रायाले आफ्नो व्यवहारिक जीवनमा अनेकौं खालका संघर्ष गर्न बाध्य भए तापनि साहित्यिक मोहलाई छोड्न सकिनन् । जहाँ पुगे पनि, जता सेवा गर्नुपरे पनि केही न केही लेखिरहिन् । जहाँ पुगे पनि साहित्यकारकार रुपमा परिचय बाँड्न सफल भइन् । २००७ सालदेखि अर्थात् यिनी १८ वर्षको छँदादेखि नै सामाजिक, शैक्षिक, साहित्यिक, धार्मिक, व्यावहारिक अनेकौं खालका यात्राहरुमा आफूलाई समर्पित तुल्याउँदै आएको देखिन्छ । असल तथा सक्षम शिक्षिकाका रुपमा कर्म बाँड्न सफल यिनी साहित्यिक सेवा र सिर्जनामा पनि सुन्दर व्यक्तित्वका रुपमा परिचय बाँडेर जान सफल छिन् । व्यवहारमा पनि छोरीको प्रिय माताका रुपमा यिनले आफूलाई चिनाएर गइन् ।
राधिका रायाले आफ्नो जीवनक्रममा लेखेर गएका यी पंक्तिहरु स्मरण गर्न लायकका छन् । उनी लेख्छिन् –“मानवजीवन अनुभवको संग्रहकर्ता हो । यही अनुभवको लयमा हाम्रो ताल लिँदै अघि बढ्छ । एउटा अनुभवले तृप्त रहने यो हृदय होइन, तर सय अनुभवको लालसा राख्ने यो हृदय अघि पराजित हुनैपर्छ । मेरो हृदय पनि नवीन विषयको अनुभवमा तल्लीन थियो, सौभाग्यले विदेशको झलक हेर्ने अवसर मिल्यो । सुख त बाँडिन्छ तर दुःख जीवनसाथीको रुपमा देख्छु अनि संघर्षमाथि विजय भए मात्र मञ्जिलमा पुग्न सकिन्छ ।” संघर्ष हो जीवन भन्ने दृष्टिबोध भएकी साहित्यकार राधिका राया साहित्यले केही न केही नयाँ कुराहरु दिनुपर्छ, साहित्य ऐनाजस्तै प्रष्ट अरुलाई देखाउन सक्ने माध्यम हुनुपर्छ भन्छिन् ।
साहित्य लेख्नु भनेको आफ्नो मनमा आएका कुरा लेखिनु मात्र होइन, अरुलाई पनि प्रेरणा प्राप्त हुने शिक्षाप्रद ज्ञान अनुभूतिका रुपमा हेरिनुपर्छ । साहित्य लेखिनु भनेको सत्कार्यमा आफूलाई समर्पित तुल्याउनु हो। त्यसैले कवितामा यस्तै भावदृष्टि यिनी पोख्ने गर्छिन् ः
सत्–कार्य कठिन हुन्छ तापनि
यसको आफ्नै ‘मर्म’ र ‘कर्म’ छ
के यस्तो ‘मर्म’ र ‘कर्म’मा
भुलाउन सकिन्न र ?
विशेषतयाः कथामा आफ्नोपन र शैलीमार्फत् चिनाएर गएका सफल कथाकारको रुपमा यिनी प्रसिद्ध छिन् । शिक्षणसेवामा यिनको कर्मठता उल्लेखनीय छ, साहित्यिक सेवामा यिनले पु¥याएर गएका उत्सर्गहरु उच्चारण गर्न लायकका छन् । साहित्यका अन्य विधामा यिनको समर्पण उदाहरणीय छ। यस्तै सोच, सेवा, समर्पण र सिर्जनाका विशिष्ट लेखिका भएकै कारणले जनमत मासिकको एउटा अङ्क ‘राधिका राया विशेष’ अङ्कका रुपमा प्रकाशित छ । यसैगरी झापाको जुहीले र विराटनगरको बनिताले विशेषाङ्क निकालेर राधिका रायाको सिर्जनामा सम्मानपूर्वक अङ्क निकालेका छन् । उनको निधन भए पनि उनी सिर्जनामा सधैं बाँचिरहने छिन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |