logo
२०८३ अषाढ ७, आईतबार |
📰
🔍

शान्ति सुरक्षा चुनौतीपूर्ण नबनोस्

प्रभातफेरी अनलाइन४७० पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख ४, मंगलबार(२ साल अघि)
Post Thumbnail

गत हप्ता काभ्रेको रोशी गाउँपालिका–५ सिसाखानीको नागवेली भन्ने ठाउँमा अज्ञात समूहले एक व्यक्तिको बोधिचित्तको रूख काटिदिएर घरको मूल ढोकामा विस्फोटक पदार्थ राखिएको घटनाले जिल्लामा शान्ति सुरक्षाको अवस्था कतिको चुनौतीपूर्ण छ भन्ने संकेत दिएको छ ।
यसबाट जिल्लामा सुरक्षाको जिम्मेवारी लिएका निकायहरु गम्भीर हुन जरुरी छ । घटनामा अज्ञात समुहले रातको बिचमा जुनकिसिमका घटनाहरु घटाए, ति घटनाहरु मानवीय हिसाबले क्षम्मे छैन । यसतर्फ नेपालको प्रचलित कानूनलाई आधार मानेर अगाडि जाने हो भने यो किसिमको दृश्य सुरक्षाको सवालमा आउने थिएन । यहाँ रुख काटिनु बुद्धचित्त खोसिनुले कुनै अर्थ नराख्ला तर मध्यरातमा हतियारसहित त्यहाँ पुगेको त्यो जत्थाका गतिविधिका बारेमा गम्भीर हुनुपर्ने अवस्था आएको छ । यसले काभ्रे जिल्लाको मात्र नभई समग्र मुलुककै सुरक्षा संयन्त्रमाथि चुनौती खडा गरेको छ ।
सर्वसाधारण नागरिकको बाँच्न पाउने अधिकारलाई समेत चुनौती दिँदै घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम समेत राखेर आक्रान्त पार्नु कतिको न्यायसंगत हुन्छ ? केही गरी घर परिवारका सदस्यहरुले संयमता गुमाउन पुगेको भए त्यहाँ हुने मानवीय क्षतिको जिम्मेवार को हुने ? त्यो राज्यको दायित्वभित्र पर्दैन ? राज्य केका लागि ? अनगिन्ती अनुत्तरित प्रश्नहरु एकातिर खडा भएका छन् भने अर्काेतर्फ राज्यको सुरक्षा संयन्त्रण कति कमजोर छ भन्ने कुरा यो घटनाले पुष्टि गरेको छ । कुर्सी नै सबथोक सम्झने नेतृत्वले यो घटनाबाट पाठ सिकेर नेपाली नागरिकको बाँच्न पाउने र व्यवसाय गर्न पाउने अधिकारलाई सुनिश्चित गराउनु चुनौतीको विषय मात्र बनेको छैन, व्यवसायिक रुपमा कोहि कसैले आफ्नो उत्पादनलाई निर्वाध रुपमा बजारसम्म पु¥याउन पाउनु पनि उसको उतिकै अधिकार हो । तर, जुन विषय र घटना जोडिएको छ, त्यो बुद्धचित्त मालाका बारेमा राज्यले प्रष्ट नीति बनाइदिएको भए आज त्यो घटना हुने थिएन भन्न सकिन्छ । विधि र पद्धतिमा त्यो उत्पादकलाई जोडिदिएको भए पक्कै पनि यस्तो घटना घट्ने थिएन । कुनै पनि उत्पादनहरुमा राज्यको प्रत्यक्ष निगरानी रहने हो भने बिचौलियाहरुले यस किसिमको घटनाहरु घटाउन सक्ने थिएनन् । यस घटनामा उत्पादक मात्र नभई राज्यको नीति निर्माण तहमा रहने व्यक्तित्वहरु समेत जिम्मेवार छन् । जुन किसिमको अकल्पनीय त्रासदीपूर्ण घटना घट्यो त्यसबाट राज्यको नीति निर्माण तहमा रहेका सरोकारवाला निकायहरु गम्भीर हुन जरुरी छ ।
यहाँ बुढी मरी भन्ने चिन्ता होइन, काल पल्किएकोमा सबै जिम्मेवार पक्ष सजग हुन जरुरी छ । जुन आपराधिक घटनामा जोडिएका जो कोहिलाई पनि कानूनी दायरामा ल्याएर कानूनको भागिदारी बनाउने दायित्व राज्यको हो । नेपाली जनताले न्यायको अनुभूति गर्ने वातावरण बनाउनका लागि पनि यो घटनामा जोडिएका आरोपितहरुलाई छिटोभन्दा छिटो कानूनको कठघरामा उभ्याउन आवश्यक छ ।
समग्र घटनाक्रमलाई अध्ययन गर्ने हो भने सुरक्षा निकायका लागि यो काम चुनौतीपूर्ण भएको ठम्याइमा हामी पुगेका छौं ।