logo
२०८३ अषाढ ७, आईतबार |
📰
🔍

राजनीतिक रंगहिन बन्नुपर्छ सहकारी

प्रभातफेरी अनलाइन३१९ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र २५, मंगलबार(१ साल अघि)
Post Thumbnail

सहकारी संस्थाहरुको छाता संगठन जिल्ला सहकारी संघ (डिस्कोफ) को आगामी ४ वर्षको लागि आज निर्वाचन हुँदैछ । सहकारीको सिद्धान्तलाई पछ्याउने हो भने यो छाता संगठनले सहकारीको साधारण अर्थले सहकार्य, सहअस्तित्व, समानकार्य वा सँग–सँगै गरिने कामलाई बुझाउँदछ ।
यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भनिन्छ । प्राचिन सहकारीको सुरुवात पूर्वीय दर्शनबाट भएको हो । अ‍ैँचोपैँचो, अर्मपर्म, मर्दाको मलामी ज्यूँदाको जन्ती जस्ता कुराहरू सहकारीकै रुप हुन् । आधुनिक सहकारीको सुरुवात भने सन् १८४४ मा बेलायतबाट भएको हो ।
सहकारी भन्ने वित्तिकै समान आर्थिकस्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सिमा भित्र बसोवास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसी हितका निम्ति आर्थिक कारोवार गर्न स्थापित गरिएको संस्था भन्ने बुझिन्छ । यस अर्थमा एउटा साझा उद्देश्य लिएर एउटै भौगोलिक क्षेत्र भित्रका व्यक्तिहरूले आ–आफ्नो आर्थिक उन्नतीका लागि दुई वा दुई भन्दा बढी व्यक्तिहरू मिली आ–आफ्नो आयको केहि अंश नियमित रूपमा जम्मा गरी आयमूलक कार्य सञ्चालन गर्न ऋण प्रदान गरेर समूह वा संस्थालाई निरन्तरता प्रदान गर्नु नै सहकारी हो । सहकारीलाई औद्योगीकरणको उपज मान्न सकिन्छ । नेपाली बृहत् शब्दकोशका अनुसार सहकारी संस्था भन्नाले किसान, मजदुर वा साना पूँजी भएका व्यवसायी वा उपभोक्ताहरूले साझा रूपमा मिलेर सबैको निम्ति उपभोग्य बस्तुको उत्पादन वा वितरण आदिको प्रवन्ध गर्ने र पूँजि तथा श्रम अनुसार मुनाफा बाँडिने एक संस्था भनिएको छ ।
एक अर्थमा भन्ने हो भने यस्तो मानवीय संस्थामा देखिएको राजनीतिक किचलोले के सहकारीहरु अब विधि र नीतिभित्र रहन सक्छन् ? सर्वत्र चिन्ताको विषय बनेको छ । यो परिवेशमा जिल्ला सहकारी संघ काभ्रेमा आज हुन गइरहेको नेतृत्व चयनमा राजनीति रंगविहिन नेतृत्व चयन गर्न मतदाताहरुलाई हाम्रो आग्रह छ ।
हुन त एउटा सञ्चारगृहले यस किसिमको अभिव्यक्ति सार्वजनिक गर्नु मनासिव नहोला तर समाज रुपान्तरणको अभिन्न अंगको रुपमा रहेको पत्रकारिता पेशाले यो बेथितिका बारेमा टुलुटुलु हेरेर बसिरहनु उचित ठानेनौं र बाध्य भएर यि हरफहरु पाठकसामु पस्कने निचोडमा हामी पुगेका छौं । समाजमा विकास भइरहेको राजनीतिक विकृति, विसंगतिको अन्त्यका लागि जिल्ला सहकारी संघजस्तो उच्च हैसियत कायम गर्ने संस्थामा निःस्वार्थ भाव बोकेको हुनुपर्छ । जहाँ स्वार्थ हुन्न त्यहाँ सेवा प्राप्त हुन्छ । त्यसका लागि हुन त नेतृत्वका लागि तयार भएका पात्रहरु दूधले नुहाएको त नभेटिएला ! फेरि पनि त्यसभित्रबाट सहकारीको मर्मलाई आत्मसाथ गर्ने पात्र चयन गरेर सहकारीमाथि लाग्दै आएका राजनीतिक पृष्ठपोषणको आरोपलाई गलत सावित गर्नुहुनेछ भन्ने अपेक्षा हामीले राखेका छौं ।