मोहन दुवाल, वरिष्ठ साहित्यकार
राजनीतिक चिन्तनमा आफ्नै दृष्टि र चेत बनाउन सक्षम मानवीय दर्शनका अनुरागी व्यक्तित्व भइकन पनि साहित्यमा आाफ्नै ढङ्गको पदचिन्हहरु छोड्न सफल मानवताका गायक साहित्यकार वासु शशी नेपाली साहित्यिक जगत्का एक सशक्त हस्ताक्षर हुन् भन्दा अतिशयोक्ति हुने छैन । जीवनलाई अलग्ग राखेर साहित्य लेख्न सकिंदैन – उनको यस्तै कटु ठम्याइ छ । उनी लेख्ने गर्छन् –“लेखकले झुट लेख्न र बोल्न सक्दैन ।” प्रजातन्त्रप्रति आस्थावान् कवि वासु शशीले आफ्नो जीवनकालमा प्रजातान्त्रिक व्यवस्था नजिकबाट भोगेका हुन् तर उनी सन्तुष्ट रहेनन् । त्यसैले त सन्दर्भमा उनी भन्ने गर्छन् –“हामीमा इमान्दारी रहेन ।”
प्रतिभाशाली, इमानदार व्यक्तिका रुपमा चिरपरिचित कवि वासु शशीले कविता, नाटक, उपन्यास, अनुवाद मात्र होइन, साहित्यिक पत्रिकाको पनि सम्पादन गरेर आफ्नो गरिमामय लेखकीय व्यक्तित्व साहित्यिक इतिहासमा छोडेर गए । नेपालभाषा–साहित्यमा पनि उनको आफ्नोपनको शैली र दृष्टि लुकेको कुरामा उनकै नेपालभाषामा प्रकाशित कृतिहरु नै साक्षी छन् । फूलजस्तै कोमल देखिने मानवताका पारखी वासु शशीले मान्छे र धरतीकै लागि सुगन्ध बाँड्न साहित्यिक कृतिहरुमार्फत् प्रयास गरिरहेका हुन्, तर उनको जीवनकालमा उनी काँडाहरुको झ्याङबाट पीडा भोगेर, दुष्ट माहुरीहरुको शोषणमा परेर, पीडा र छटपटी मनमा राखेर, विषालु प्यालाहरुकै स्पर्शमा भुलेर आफूलाई अल्पायुमा नै अर्थात् २०४९ चैत्र ४ गते ५६ वर्षकै उमेरमा हामीलाई छोडेर गएका हुन् । कटु सत्यलाई प्यालामा घोलेर रक्सीकै रुपमा पिउन बाध्य भएका कवि वासु शशीको मन भौतारिएको देखेर कसको मन त्यसताका अप्ठ्यारो भएन होला र ? मैले पनि त्यसताका कवि भेटेर मन–मनमा अप्ठ्याराहरु साँचेको हुँ ।
तीन दशकको साहित्यिक लेखन र साहित्यिक क्रियाशीलताकै इतिहाससँग गाँसिएका साहित्यकार वासु शशीको साहित्यिक जीवनका पानाहरु इतिहासमा जीवन्त र स्मरणयोग्य सधैं रहनेछन् । निष्ठा र स्वाभिमान मनमा साँचेर बाँच्न खोज्दा कति एकाकी बाँच्नुपर्दो रहेछ भन्ने ज्ञान भएर नै होला कवि वासु शशी मृत्युपर्यन्त पनि विकृति र विसङ्गतिसँग जुझिरहे । त्यसैले त उनी पाखण्डीहरुकै विरोधमा कवितामा यसरी बम्किन खोजे ः
म मर्दा मेरो मृत्युमाथि शोक गर्ने
कसैलाई अधिकार छैन ।
यो व्यङ्ग्योक्तिले प्रमाणित गर्छ कविको मन कति दुखेको थियो भनेर । इतिहासले कहिल्यै बिर्सन नहुने नेपाली साहित्यिक जगत्भित्र उदय भएका शशीको कथा आफ्नै ढङ्गका यस्तै व्यथामा रुमल्लिएका छन् । वि.सं. २०१६ सालमा नै मेरी उषा कवितासङ्ग्रहमा उषाकालीन आभा बोकेर देखापरेका कवि शशी आफ्नो जीवनका अधिकांश क्षणहरुमा रोगहरुसँग, बेथितिहरुसँग जुझेर गए । तर उनी विश्वस्त छन्, त्यसैले त साहित्यमार्फत् सत्–सन्देश फिँजाउन साहित्यिक कलमलाई भाँच्न दिएनन् । उनी आस्था र निष्ठामा आफूलाई खोज्छन्, त्यसैले त यस्तो दृष्टि–चेत अरुलाई पनि सुनाउँछन् – कवि लेखकहरु दीयोसमान हुन्छन्; ती कहिल्यै मर्दैनन् । एउटा दीयोले अर्को दीयोलाई बालिरहेको हुन्छ ।
सामाजिक यथार्थलाई साहित्यको विषयवस्तु बनाउन खोज्ने, मानव–मनको अन्तर गहिराइसम्म पुग्न सोच्ने साहित्यकार वासु शशी कहिल्यै पनि सत्ताधारीको ढोकामा पुगेर भीख माग्न गएनन्, त्यसैले त उनले कहिल्यै पनि सत्तास्वाद चाख्न पाएनन् । तर पनि उनी मानवताका मर्महरु छाम्न पछि सरेनन् । बीसौं शताब्दीको गीत कवितामा उनले श्रमिकजनप्रतिको आफ्नो माया र आस्था कति मीठो ढङ्गले व्यक्त गरेका छन् र कवि शशीको मार्मिकताभित्र कस्तो मानवता लुकेको, छ यी कविताका पङ्क्तिहरुमा छामे पुग्छ ः
ती सब मजदुर र किसानहरु हुन्
र मसालजस्तै जिउँदा छन्
ती सब गाउँदै आइरहेछन् यसपाली
राम्रो भएका बालिका गीतहरु
ती सब नाच्दै–उफ्रदै आइरहेछन्
अर्को साल पूरा गर्न सकिने
पर्याप्त उत्पादनका नृत्यहरु
ती सब स्वयं यस धरतीका
सबभन्दा मधुर गीतहरु हुन्
ती सब स्वयं यस सृष्टिका
सबभन्दा सुन्दर नृत्यहरु हुन्
अरे, ती अन्नदाताहरुमाथि बम नखसाल
अरे, ती सभ्यता र संस्कृतिका स्रष्टाहरुमाथि बम नखसाल !
जीवन बुझ्न कविता बुझ्नुपर्छ, कविता नै जीवन बुझ्ने सुन्दरतम साधन हो उनी भन्ने गर्छन् । लेखकले बुझ्ने प्रयास गर्ने हो, लेख्नु भनेको बुझ्नु हो – जीवनलाई बुझ्ने प्रयास गर्दा लेख्नुपर्छ – उनी विचार राख्छन् । त्यसैले उनी मान्छे भई जन्मेकाले मान्छेकै सम्बन्धमा कविता कोर्छन्, मान्छेकै अनुभूति पोख्छन् र मान्छेकै सम्बन्धमा लेख्छन् । कवितालाई सरल भाषा र शैलीमा लेख्न रुचाउने कवि वासु शशी बुझ्ने भाषामा कविता लेख्न धेरै गाह्रो हुने बताउँछन् र कवितामा स्पष्टता पनि हुनुपर्छ, त्यही नै सौन्दर्य हो भन्न उनी रुचाउँछन् । उनको साहित्यिक लेखनको विषय र उनको जीवन विशुद्ध मानवीय गुणले व्याप्त छ । कवितामा उनी मानिसलाई यसरी व्यक्त गर्छन् ः
मानिसकै घर–घर डुलेर हो
सूर्य
आफूलाई सार्थक तुल्याउँछ ।
शाश्वत मूल्य र मान्यताका कवि, मानवीय मर्म अभिव्यक्त गर्न सिपालु नाटककार, नेपाली साहित्यमा डाइजेस्ट पत्रिकाको आवश्यकताबोध गर्ने सम्पादक वासु शशीले सञ्चय, यौवन, परिवार जस्ता पारिवारिक पत्रिकाहरुको समेत सम्पादन गरेर गएका छन् । उनीद्वारा प्रकाशित पुस्तकहरुमा कविता विधामा मेरी उषा (२०१६), केही कविता (२०१७), पानी गल्दैन (खण्डकाव्य २०१७), एउटा यस्तो फूल चाहिन्छ (२०२३), वासु शशीका कविता (२०३५), मान्छेको हृदयबाट गएको मान्छे (मुक्तक २०५०), एउटा नदी छ म आफैभित्र (२०५१) नाटकमा ताचाप्वाँय (नेपालभाषाको नाटक २०२३), बाँसुरीमा नअटाएका धुनहरु (२०५१), झुमिंयंम्ह मनू (नेपालभाषा नाटक २०४३), उपहार (२०५१), तीन नाटक (२०२४) उपन्यासमा फूल ओइलाएपछि (२०३९) र संसारमा सबभन्दा एक्लो जीव (२०५२) छन् । अनुवादकलामा पनि आफ्नै छाप छोड्न सफल साहित्यकार वासु शशीले आर्थर मिलरको नाटक सारा मेरा सन्तान र जाँ बार्बा नामक उपन्यास र विश्वका श्रेष्ठ कथासङ्ग्रह र जापानको सबैभन्दा लामो दिन नामक अनुवादकृति छोडेर गएका छन् । निर्देशक र मञ्चनकर्ताका रुपमा पनि आफूलाई प्रस्तुत गरेर गएका वासु शशीद्वारा लिखित नाटकहरु माया, लोभीपापी, मान्छेको मूल्य, कृष्ण दर्शन, बिर्सन नसक्ने मान्छे, तेस्रो बच्चा, उपहार, आफ्नो घर र रातो पुलमा चलचित्रहरु बनेका छन् ।
वासुदेव वैद्य साहित्यिक क्षेत्रमा वासु शशी बने । उनी हुन् चन्द्रमा मन पराउने संवेदनशील कवि, जसले आफ्नी छोरीको नाम पनि लूना राखे । वि.सं. १९९३ मा काठमाडौंको देवपत्तनमा पिता भूमिमानन्द र माता हितकुमारी वैद्यका कान्छा पुत्रका रुपमा जन्मेका वासुदेवका पहिलो गुरु बमभोला हुन् । वि.सं. २०११ सालतिर विद्यार्थी कविता लेखेर देखापरेका साहित्यकार वासु शशीले बी.एड.सम्म अध्ययन गरेको देखिन्छ । २०१४ सालमा भएको प्रतियोगितात्मक कविगोष्ठीमा प्रथम भई प्रेरणा प्राप्त गरेका यिनी पछि सिद्धिचरण प्रतिष्ठानका अध्यक्षसम्म भई सेवा पु¥याइसकेका मात्र नभई कवि वासु शशीका लागि साहित्यिक प्रेरणास्रोत र मन परेका कवि पनि सिद्धिचरण श्रेष्ठ नै हुन् । ८–९ वर्षका उमेर छँदा नै कविता लेख्न मन राखेका वासुदेवले पछि वासु शशी भएर साहित्यिक जगत्का थुप्रै साहित्यिक क्रियाशीलता र सिर्जनशीलता देखाएर गएका हुन् । साहित्यमा जीवन घोल्दै, विषको प्यालाभित्र आफूलाई देखाउँदा–देखाउँदै निकै कष्टसाध्य अवस्थासँग जुधेर बाँचेका साहित्यकार वासु शशी पछि फोक्सोको क्यान्सरले ग्रस्त भई भारतको बम्बईस्थित टाटा अस्पतालमा मृत्युवरण गर्न पुगे । आफ्नी धर्मपत्नी जुलुम वैद्यलाई तीन सन्तान कोसेलीका रुपमा छोडेर गएका वासु शशी आज हाम्रा माझमा छैनन् । तर पनि उनीद्वारा सिर्जित सिर्जनाका फूलहरु, संरचनाका धुनहरु, मानवीय संवेदनाहरु साहित्यिक जगत्मा सचेतका धुनहरु भई घन्किरहनेछन् । मान्छेका लागि सुसेलेका उनका साहित्यिक अनुभूतिहरु शशी झैं फैलिरहनेछन् अनन्त–अनन्तसम्म किरण भएर मान्छेहरुकै बस्ती–बस्तीमा । म पनि शशीकै प्रकाशमा मानिसहरुका मन र मर्महरु छाम्न खोजिरहेछु । म आज शशीकै कविताको मर्ममुनि रहेर मान्छेहरु नियालिरहेछु ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |