मोहन दुवाल, साहित्यकार
तथा जनमतका प्रधानसम्पादक
अविच्छिन साहित्यिक यात्रामा लाग्न पाउँदा गौरव गर्ने यात्री, जनताको कथा र व्यथा लेख्न पाउँदा दङ्ग पर्ने र सधैं सबै बेला साहित्यिक गोष्ठी, सभामा धाइरहने एकजना चेतनशील साहित्यकारको नाम थियो जनकप्रसाद हुमागाईं ।
आफूलाई लागेको कुरा भन्न बाँकी नराख्ने, गर्न खोजेका कार्यहरु गरिछाड्ने, लोलोपोतो मन नपराउने यिनले थुप्रै विषय, क्षेत्र र ठाउँमा साहित्य सेवा पु¥याएर गएको देखिन्छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै साहित्यिक कार्यक्रममा सहभागिता जनाइसकेका कवि जनकप्रसाद हुमागाईंले देशका कुना–कुनामा आफ्ना रचनाहरु सम्प्रेषित गरेर आफूलाई चिनाएर गएका छन् ।
साधारण खद्दरका दौरा–सुरुवाल, कोट र टोपीमा सजिएर खद्दरकै एउटा झोला काँधमा झुन्ड्याएर असीमित साहित्यिक चाहना बोकी कुदिरहने जनकदाइ साहित्यिक क्षेत्रकै जनकदाइजस्तै लाग्ने गथ्र्यो – उनीसँग सँगै हिँड्दाका क्षणहरु झलमल सम्झना आइरहन्छ ।
वि.सं. १९९४ असोज १८ गते बल्थली, काभ्रेमा जन्मेका जनकप्रसाद हुमागाईंका पिताको नाम दुर्गाप्रसाद हुमागाईं र माताको नाम पवित्रादेवी हो । कलिलो उमेरदेखि नै साहित्यबाट आकर्षित उनले २००९ सालतिर पण्डित मुरलीधरको सङ्गतले लेख्न थालेका हुन् । विद्यालयमा पढ्दापढ्दै साहित्यको माधुर्यबाट प्रभावित यिनले विद्यालयको पढाइ पूरा गर्न सकेनन् । त्यसपछि घरमा नै रही स्वाध्यायनमा उनी व्यस्त रहे । पछि यिनले विशारदसम्म उत्तीर्ण गरेको देखिन्छ । बाल्यकालमा विशेषतया पं. मुरलीधरबाट नै शिक्षादीक्षा पाएका हुमागाईंको सम्पर्क प्रगतिशील साहित्यकार श्यामप्रसादसँग २०१६ सालमा मात्र भएको देखिन्छ । साहित्य–लेखनको प्रेरणासम्बन्धमा उनको भनाइ यस्तो थियो –“तह नमिलेका पक्षले घोच्न र पोल्न थालेपछि केही गर्न खोज्दा नै म कलम समात्न पुगेको हु“ । अर्को शब्दमा भन्नुपर्दा मान्छे मान्छेलाई नै दुःख दिने, मान्छेदेखि डराउने, तर्सने कुरा देख्दै–बुझ्दै गएपछि यस्ता कुरीति पन्छाउने उद्देश्यले मलाई लेखनकार्यतिर अभिप्रेरित गर्न थाल्यो । यसकै उदाहरणस्वरुप मेरा रचना कुनै किसानको गति र पसिना हु“दै अगाडि बढ्न थाले ।”
यसरी जनताको कथा र व्यथामा कलम चलाउने साहित्यकार हुमागाईंका प्रकाशित कृतिहरुमा (क) कविता–काव्यतर्फ किसानको गति (२०१६), एउटै नारा लाउँछु अब (२०१६), नेपाल आमाको सत्य वचन (२०१७), पसिना (२०१९), दुःखी–गरीबको सवाई (२०२१), खोलो साँघु (२०२५), गोरे घर्तीको सवाई, (२०३२) (ख) लेख÷निबन्धतर्फ कला–साहित्य तथा भाषा–संस्कृतिको क्षेत्रमा सात सालको परिवर्तनको प्रभाव र हाम्रो भविष्य (२०४२), एउटा इन्जिनियरको तालिमे भाषा र त्यसले उत्पन्न गरेको प्रभाव (२०४९), (ग) बालकथातर्फ गोकुलकी आमा कसरी निको भइन् ? (२०३६), गुनिला पाँच बालकथा (२०४१), बाआमाको माया (२०४३), दिदी–भाइको माया (२०४७), चम्पा र मायालु काका (२०५०), मालतीको यात्रा वर्णन (२०५१) र भाइबहिनीको कथा (२०५३) का साथै मानवता र मुक्तिका कवि गोकुल जोशीजस्ता अन्य थुप्रै साहित्यिक कृतिहरु प्रकाशित भएका छन् ।
यसरी कविता, निबन्ध र बालकथामा जनताका मर्म र व्यथा समेटिरहन मन पराउने हुमागाईंले श्रृङ्खला र बालपोषमा निकै पसिना बगाएको देखिन्छ । श्रृङ्खलाले साहित्यिक पत्रिका–जगत्मा आफ्नै अस्तित्व राखिसकेको तथ्य जगजाहेर छ । उनले साहित्यिक सिर्जनामा, साहित्यिक पत्रकारितामा र साहित्यिक सङ्घ–संस्थामा रहेर सेवा पु¥याएर गएको देखिन्छ ।
खराब र असलबीचको द्वन्द्व नै साहित्य हो भन्न रुचाउने कवि जनकले साहित्यको यसरी व्याख्या गरेको देखिन्छ – “साहित्य प्रगतिशील, दक्षिणपन्थी, यथास्थितिवादी इत्यादी हुँदैन । मेरो दृष्टिमा साहित्यमा अँध्यारो र उज्यालोवाद हुन्छ र म पछिल्लो वादको पक्षमा छु” (प्रजातन्त्र साप्ताहिक, २०५२ वैशाख २८) । माथि उल्लेख गरिएको भावनालाई आत्मसात गर्ने उहाँको सेवालाई कदर गरेर उहाँलाई गुनिला पाँच बालकथाका निम्ति २०४२ मा राष्ट्रिय बालकोषद्वारा उत्कृष्ट बाल पुरस्कार, २०४६ मा साल्ट टे«डिङ्ग कर्पोरेसनद्वारा बालहितकारी पुरस्कार, शिक्षा मन्त्रालयद्वारा २०४६ मा रु. १० हजारको नगद पुरस्कार, २०५० मा काभ्रेली साहित्यिक सङ्गमद्वारा दानमाया प्रतिभा पुरस्कार, २०५१ मा राष्ट्रिय प्रतिभा पुरस्कार, वन मन्त्रालयद्वारा मालतीको यात्रावर्णन कथा लेखेबापत रु. ६ हजार नगद पुरस्कार, २०५२ मा स्रष्टासम्मान पनौतिद्वारा अभिनन्दन, २०५३ मा साहित्य सन्ध्याद्वारा अभिनन्दन र २०५४ मा पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा साहित्यकार सम्मान प्रदान गरेर सम्मान गरेको देखिन्छ ।
श्रीमती शोभा हुमागाईंसँग जीवनका उत्सर्गहरु फालेर युगजतन, युगसदन, युगपवन, युगवचन र युगदर्शन नामका छोराहरुको माया पाएका यिनले आफ्नो अम्मलका रुपमा बहुसङ्ख्यक जनताको अहितमा चलेका, टिकेका दर्शन, नीति, रीतिथिति र व्यवस्थाविरुद्ध जुध्ने काम नै हो भन्ने गर्छन् । साहित्यकारहरुमा श्यामप्रसाद, युद्धप्रसाद मिश्र, गोकुल जोशी, देवीप्रसाद किसान, गोपालप्रसाद रिमाल, हृदयचन्द्रसिंह प्रधान र गोविन्द भट्टलाई विशेष मन पराउने उनले विदेशी लेखकहरुमा गोर्की, प्रेमचन्द, ल्यू स्यूनको नाम मन परेको उल्लेख गर्छन् ।
लोकलयमा आधारित कविताहरु लेख्न सिपालु कवि, जनताको विषयवस्तु चिन्तन गर्न रुचाउने निबन्धकार र रुढिवादी परम्परा र खराब रीतिथिति विरुद्ध जुध्न प्रेरणा दिने खालका कथाहरु लेख्न सिपालु बालकथाकार जनकप्रसाद हुमागाईंले देश र जनताका लागि चेतना फिँजाउने अभिव्यक्तिहरु साहित्यकारहरुले पोख्नु पर्छ भनेको पाइन्छ । सरलताका धनी, जनताकै बोलीमा लोली मिलाएर कविता–सिर्जना गर्ने जनकवि, व्यावहारिक चिन्तन सम्प्रेषण गर्न रुचाउने चिन्तकको समष्टि रुप हुन् जनकप्रसाद हुमागाईं । लागिरहन सक्ने, खटिरहन रुचाउने, सम्पर्क बढाइरहन खोज्ने सक्रियताको नाम हो जनकप्रसाद हुमागाईं ।
जनताको बेथिति र बेढङ्गले व्यथालाई आफ्नै दर्दको रुपमा स्वीकार्न मन पराउने, देशको दयनीय स्थितिमा मर्म र दुःखका अभिव्यक्ति पोख्ने, सधैं सर्तक भई सिर्जनामा जुटिरहने चनाखो स्रष्टा हुन् जनकप्रसाद हुमागाईं । आफू जन्मिएको समाज र त्यसकै परिधिभित्र हुर्केको वातावरणबारे नै साहित्य–सिर्जना गर्ने यिनको साहित्यिक लेखनको प्रारम्भ २००९ सालतिर भएको देखिन्छ । वि.सं. २०१६ मा नै किसानको गति खण्डकाव्य बोकेर देखापर्ने जनताकै पसिनाको पक्षमा जनताको एउटै नारा लाउनुछ भनेर नेपाल आमाको सत्यवचन गाएर, दुःखी–गरिबको सवाई कथेर, गोरे घर्तीको सवाई गाएर देखापरेका कवि हुन् – जनकप्रसाद हुमागाईं ।
खेतीपातीलाई आर्जनको मुख्य माध्यमको रुपमा स्वीकारेका जनक हुमागाईंले थुप्रै उपनामबाट पनि साहित्य–सिर्जना गरेका छन् । शिवप्रसाद सापकोटाले प्रस्तुत गरेको शोधग्रन्थ आधुनिक प्रतिनिधि प्रतिभाहरुको काव्यात्मक योगदानमा लेखेअनुसार उनका उपनामहरुमा नवदर्शी, भोजराज, जनक नेपाली, नवीनसागर, निर्मल, वीरबहादुर आदि छन् । देश र जनताका लागि नै सधैं चिन्तित जनकप्रसाद हुमागाईंले जनताका भोक उरालेर थुप्रै कविता कोरेका छन् । उनका कवितामा सरलता पाइन्छ, लोकलयमा झुन्डिएको मीठो लयमा जनताको दुःख–सुखको गाथा पाइन्छ । उनले आफ्ना कवितामा असमानताका विरुद्ध, शोषणका विरुद्ध र दुःखी–गरिब जनताको पक्षमा अनुभूति यसरी पोखेका छन् ः
कसैलाई अब्बल खेत, कसैलाई टारी
हुन सक्ने कुरा हो यो भन न्यायकारी ?
धर्मदण्डी समातेर लौ त अब चल
देख्ने छौ है जनतामा कस्तो रै छ बल ।
जनताको बलमा विश्वास गर्ने, असल पक्षको वकालत गर्ने, प्रकाशको लागि सङ्घर्षरत रहने कवि जनकप्रसाद हुमागाईं देशमा आएको प्रजातन्त्रले पनि जनताको चौतर्फी विकास नभएको देखेर दिक्क हुने गर्र्छन् । देशमा व्याप्त बेथिति जस्ताको तस्तै देखिन्छ, जनताको मर्म र व्यथा जस्ताको तस्तै छ, नेपालीहरुको घरआँगनमा भाँडभैलो अचाक्ली बढेको छ, सन्तुष्ट कोही देखिँदैनन् । यस किसिमको वास्तविकताप्रति सचेत भएर कवि कवितामा यसरी व्यक्त हुन्छन् ः
यतिका दिन बितेर गएर के भयो ?
यतिका दशैं–तिहार आएर के भयो ?
यस्तै हो भने भोलिको पनि भरोसा के रह्यो ?
यस्तै हो भने नभनूँ किन रुँदैमा किन गयो ?
समाजका एकजना सबल स्रष्टा जनक हुमागाईंको वि.सं. २०६३ माघ २८ गते अपराह्न देहावसान भयो । घाँटी र फोक्सोमा क्यान्सरले आक्रमण गरे पनि उनी कति पनि विचलित नभइकन विमारी छँदा क्रियाशील रहेका थिए । देहावसान हुनु केही महिना अगाडि जनमत प्रकाशनलाई छाप्न दुइटा कृतिहरु किसानको गति र खेतबारीको गीत छोडेर गए । र ती काव्यकृतिहरु जनमत प्रकाशनबाट प्रकाशित भएर उनै जनकदाइप्रति समर्पित हुन पायो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |