काभ्रे । लामो समयको रस्साकस्सीपछि नेपाल पत्रकार महासंघको निर्वाचन सम्पन्न भएको छ । सत्ताका ठूला दलहरु गठबन्धनमा बाँधिएपछि पत्रकार महासंघको नेतृत्वभन्दा पनि राजनीतिक पार्टीको प्रतिष्ठासँग जोडिएको गहन मुद्धाको रुपमा महासंघको अधिवेशनलाई नेताहरुले लिएका छन् ।
महासंघको निर्वाचनलाई हेर्दा पत्रकारिता क्षेत्रलाई राजनीतिक दलहरूले हस्तक्षेपकारी भूमिका निर्वाह गरेको देखिन्छ । नयाँ सदस्यता प्रदान साथै नवीकरण गर्दा समेत कुनै न कुनै दलको राजनीतिक मखुन्डो लगाउनै पर्ने वाध्यता मतदान केन्द्रमा नगरदेखि जिल्ला हुँदै केन्द्रीय नेतृत्व समेतको उपस्थितिले पुष्टि गर्दछ । सक्षम क्षमतावान व्यक्तिले पत्रकार महासंघको सदस्यता बन्न चाह्यो भने उसको क्षमताको विषयलाई ध्यान दिनुको बदला कुन दलको मुखुन्डो लगाएको छ त्यसको पहिचान तर्फ लागिन्छ । कुनै पनि दलमा आवद्ध नभएको सावित भएमा उसको क्षमताको कदर हुँदैन । राजनीतिमा सक्रियता भूमिका खेल्नेलाई दलकै आडमा पत्रकार महासंघले सदस्यता दिने पछिल्लो समयमा फस्टाउँदो अवस्थाले गर्दा सञ्चार क्षेत्रमा निष्पक्षताको खडेरी लाग्नेछ भन्ने संकेत यसपटकको नेपाल पत्रकार महासंघको निर्वाचनले पुष्टि गरेको छ । पछिल्लो समय नेपाल पत्रकार महासंघ काभ्रे शाखासँग आबद्ध पत्रकारहरुका बारेमा बेथिति, दलाली, गर्ने लाइसेन्स बनेको आरोप लागिरहनु र निर्वाचनको समयमा देखिएका गतिविधिले ति आरोपहरुलाई मलजल हुनेमा दुई मत रहेन । निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै निर्वाचन मण्डलदेखि राजनीतिक नेतृत्व समेतले मतदान केन्द्र वरपर देखाएको हर्कतले पनि जनमानसमा पत्रकारमाथिको विश्वास खस्किएको अनुभूत गराउँछ ।
अधिवेशन भनिसकेपछि त्यहाँ प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन लगायतका विषयवस्तुका बारेमा गहन छलफल, बहस हुनुपथ्र्याे । तर नेपाल पत्रकार महासंघ काभ्रे शाखाको १२औं जिल्ला अधिवेशनमा यस्ता केही गन्ध पनि पाइएन । जसको प्रभाव अर्कालाई खबरदारी गर्ने आफूलाई पत्रकार भन्नेहरुले देखाएको निकृष्ट भूमिका बाहेक अरु के नै भन्न सकिन्छ ? जिल्लाबाट सञ्चारको क्षेत्रमा प्रतिनिधित्व गर्ने उपल्लो तहमा पुगेकाहरु समेत निरिह भएर भोट खसालेर फर्किनुको विकल्प रहेन । कुन हैसियतमा राज्यको उपल्लो तहमा पुगेकाहरुले आफूलाई सञ्चारकर्मीहरुको कुशल नेतृत्वको रुपमा पस्कलान् ? यि अनुत्तरित प्रश्नहरुको जवाफ निवर्तमान कार्यसमितिले जनताको माझमा दिन आवश्यक छ । अन्यथा सर्वसाधारणले चौबाटो, दोबाटो, चिया पसलमा पत्रकारहरुका कुरा काट्नुलाई अन्यथा मान्न सकिन्न । सर्वसाधारणकै वाक्य सापटी लिने हो भने दलाली गर्ने लाइसेन्स नै हो त पत्रकारिता ? यसको जवाफ ति राजनीतिक संरक्षण गर्ने नेतृत्व गर्नेदेखि पत्रकारिताको मसिहा भन्नेहरुले जनताको अदालतमा दिनुपर्छ । देशैभरी पत्रकारिता क्षेत्रमा राजनीतिक हस्तक्षेपले गर्दा निर्धारित समयमा अधिवेशन समेत गर्न सकेन । पत्रकारहरूको शुद्धिकरण साथै नयाँ सदस्यता वितरण गर्ने कार्यमा समेत दलहरूको कारणले गर्दा विवादित हुन पुग्यो । सञ्चार क्षेत्र सबैको साझा हो सबैसँग समन्वय गर्नु नौलो हैन । दलहरूसँग पारपाचुकेको अवस्था सृजना गर्नुपर्छ भन्ने हैन तर सञ्चार जगत दलहरूकै इसारामा चल्ने हो भने आम पाठक समक्ष विश्वसनियता खडेरी स्वभाविकै हो । पछिल्लो समयको अवस्थालाई नियाल्दा सञ्चार क्षेत्रलाई दलहरूले आफ्नो कब्जामा राखेर दलगत स्वार्थको लागि प्रयोगमा ल्याउने कुचेष्टा गरेको प्रष्ट रुपमा अनुभूति आम पाठकले गरेका छन् । पत्रकारहरू दलकै स्वार्थमा लागि पर्ने हो भने आम पाठकको नजरमा सञ्चार क्षेत्रको केही बचेको विश्वसनियता सदाको लागि गुम्न सक्छ, यो जटिल समस्या हो यस्तो समस्याको विषयमा सञ्चारकर्मी सजग हुन जरुरी रहन्छ ।
पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले निर्धारित समयमा अधिवेशन गर्न नसक्दै गर्दा नेपाल पत्रकार महासंघ काभ्रे शाखा पनि अछुतो रहन सकेन । केन्द्र देखि प्रदेश, जिल्ला हुँदै सवै तहमा नयाँ सदस्यता प्रदान साथै शुद्धिकरणको नाममा चरम विवाद रह्यो । निकै लामो प्रयासपछि अधिवेशन भयो । अधिवेशन त भयो तर पत्रकारहरूको हितको लागि नभई दलको हितको लागि । मुलुकमा सरकार जुन ढङ्गको छ सोही तरिका अपनाउंदै एमाले निकट पत्रकारहरूको संगठन र नेपाली काँग्रेस निकट पत्रकारहरूको संगठनका बिचमा सहकार्य गर्दै अन्य पक्षका पत्रकारहरूलाई वायस गर्दै अगाडि बढ्यो । जुन कार्यमा सकृय क्रियाशील पत्रकारहरूको लागि अवसर भन्दापनि दलको दर्बिलो कार्यकर्तालाई समावेश गराइयो । जुन कार्यले पत्रकार महासंघलाई आम पत्रकारहरूको छाता संगठन देखाउने दाँतमा मात्रै सावित भयो । सञ्चारको क्षेत्रमा आवद्द सञ्चारकर्मीले महासंघबाट जे अपेक्षा गरेका थिए सो दिवा सपनामै सीमित रह्यो ।
पत्रकार महासंघ काभ्रेमा हालै सम्पन्न निर्वाचनबाट धेरै विषय अविस्मरणीय सावित भएको छ । काभ्रे शाखाको इतिहासमा पहिलोपटक अध्यक्षमा निर्विरोध भएको छ । साथै शाखामा निर्वाचित उपाध्यक्षहरू मध्यबाट पहिलो पटक उपाध्यक्ष अध्यक्ष बनेर इतिहास कायम राखेको छ । त्यसैगरी दुई ठूला संगठन पे्रस युनियन र पे्रस चौतारीको मिलेमतोमा अन्य संगठनहरूलाई पत्रकार महासंघ काभ्रे शाखाको कार्यसमितिबाट पहिलो पटक बाहिर राख्न सफल भएर पत्रकारिताको क्षेत्रमा इतिहास रचेको छ । जसको कारण पे्रस चौतारी र पे्रस युनियनलाई दुई संगठनको हितको लागि कार्य गर्न सहज भएको छ । ११ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिले भवन निर्माण, अक्षयकोष व्यवस्थापन लगायतको शीर्षकमा सरकारी कार्यालय, शैक्षिक संस्था, स्थानीय तह, प्रदेश लगायतका निकायहरूबाट रामै्र किसिमको बजेट व्यवस्था भएको थियो । सो विषयको आर्थिक प्रतिवेदन समेत प्रस्तुत नगरी विना अधिवेशन निर्वाचनमा होमिनु पत्रकार महासंघको विधान परिच्छेद ३ ÷ ९ को १, २, ३ विपरित छ । नेपाल पत्रकार महासंघको विधानअनुसार हरेक तीन वर्षमा महासंघको शाखा, एशोसिएट, प्रदेश र केन्द्रको अधिवेशन÷महाधिवेशन हुने छ भने कार्यकालको बीच अवधि अर्थात साढे एक वर्षमा साधारण सभा हुनेछ । अधिवेशन÷महाधिवेशन तथा साधारणसभा सम्बन्धी व्यवस्था देहायबमोजिम हुनेछ ।
(१) साधारण सभा तथा अधिवेशन÷महाधिवेशनको गणपूरक संख्या ५१ प्रतिशत हुनुपर्नेछ । साधारण सभा हुने तोकिएको दिनमा गणपूरक संख्या नपुगेमा, कम्तीमा २४ घण्टाको सूचना दिई अर्को साधारण सभा वा अधिवेशन बोलाउन सकिनेछ । यसरी बोलाइएको सभामा कुल साधारण सदस्यको कम्तीमा २५ प्रतिशतको उपस्थिति हुनु पर्नेछ । तर तेस्रोपटक बोलाउनु पर्ने अवस्था आएमा कम्तीमा १५ दिनको सूचना दिई सभा बोलाउनु पर्नेछ । यस्तो सभामा उपस्थित सदस्य संख्यालाई नै गणपूरक संख्या मानिनेछ ।
(२) साधारण सभा वा अधिवेशन÷महाधिवेशनका लागि ३० दिनअगावै प्रस्तावसहितको जानकारी यथासम्भव शीघ्र सञ्चारको माध्यमबाट सदस्यहरूलाई दिनु पर्नेछ । तर, विशेष साधारण सभा बोलाउनुपर्दा कम्तीमा १५ दिनको सूचना दिनु पर्नेछ । विशेष साधारण सभामा प्रस्तावित विषयमा मात्र छलफल र निर्णय हुनेछ ।
(३) साधारण सभा वा अधिवेशन÷महाधिवेशनमा उपस्थित सदस्यको बहुमतबाट पारित निर्णय कार्यान्वयन गर्नु सम्बन्धित समितिको दायित्व हुनेछ ।
(४) साधारण सभा वा अधिवेशन÷महाधिवेशनको निर्णय पुस्तिकामा अध्यक्ष, महासचिव÷सचिव तथा साधारणसभाले तोकेका कम्तीमा तीन जना सदस्यले हस्ताक्षर गरी प्रमाणित गरेको मूल अभिलेख नै निर्णय मानिनेछ ।
(५) सम्बन्धित समितिले आफूले पेश गर्नुपर्ने र सदस्यहरूबाट प्राप्त प्रस्तावहरू अध्ययन गरी साधारण सभा वा अधिवेशन÷महाधिवेशनमा प्रस्तुत गर्नु पर्नेछ ।
(६) समितिका अध्यक्षले साधारण सभाको अध्यक्षता गर्नेछ । तर अधिवेशन÷महाधिवेशनको बन्द सत्रको सञ्चालनका लागि अध्यक्षमण्डल गठन गर्न सकिनेछ ।
(७) साधारण सभा वा अधिवेशन÷महाधिवेशनको निर्णयको प्रमाणित प्रतिलिपि सो सभा सम्पन्न भएको मितिले बढीमा सात दिनभित्र केन्द्रीय कार्यालयमा प्रस्तुत गर्नुपर्ने छ ।
(८) आमसञ्चारमाध्यमसँग सम्बन्धित विशेषज्ञलाई सम्बन्धित समितिको निर्णयले साधारण सभा वा अधिवेशन÷महाधिवेशनमा आमन्त्रित गरी छलफलमा सहभागी गराउन सकिनेछ । तर, उनीहरूलाई मतदानको अधिकार हुने छैन ।
(९) जिल्ला र प्रतिष्ठान शाखाको साधारणसभा तथा अधिवेशन ः
(१) शाखाको साधारण सभा तथा अधिवेशनमा सम्बन्धित जिल्ला शाखा, प्रतिष्ठान शाखाका सदस्यहरुले भाग लिनेछन ।
(२) साधारणसभाको मिति सम्बन्धित शाखा आफै र अधिवेशनको मिति प्रदेश समितिले केन्द्रसँगको समन्वयमा तोक्ने छ । जिल्ला अधिवेशन निर्वाचन हुनुभन्दा दुई महिना पहिलेसम्म भइसक्नु पर्नेछ ।
(३) सम्बन्धित शाखाको निर्णय वा एक तिहाई सदस्यले प्रयोजन खुलाई सभा बोलाइयोस भनी लिखितरूपमा माग गरेको खण्डमा तीन महिनाभित्र विशेष साधारण सभा बोलाउनु पर्नेछ । यस्तो सभा एक वर्षमा एकपटक भन्दा बढी हुने छैन भनी उल्लेख गरिएको छ ।
आर्थिक पारदर्शिता साथै विधान विपरित गरिएको निर्वाचन नीति र विधि सम्वत् नरहेपनि दलकै आडमा सहज ढङ्गबाट सफल भएको छ । केन्द्रले जारी गरेको निर्वाचन आचार संहितालाई दुई ठूला संगठनले शक्तिको आडमा लत्याइएको छ । निर्वाचन आचार संहितामा उल्लेख भएको गोप्य मतदानको बुँदा छायामा परेको छ । मतदान स्थलमै निर्माण गर्दा निर्धारण गरिएको दूरी, मतदान स्थलमा निर्विवाद ढङ्गबाट मोबाइलबाट आफूले दिएको मतको फोटो खिच्ने पाउने अवस्था, निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताको निर्धारित समय भन्दा २६ मिनेट पछि सम्म ठूला दुई संगठनको मिलेमतोमा उम्मेदवारी दर्ता गराउनुले निर्वाचन मण्डलको क्षमतामा प्रश्न उठ्नु नौलो रहेन । दुई ठूला संगठनले अन्य संगठनहरूलाई पत्रकार महासंघ काभ्रे शाखाबाट बाइपास गर्न जुनखालको कार्यहरू गरेर कार्यसमिति गठन गरेको छ सो समितिले पत्रकार महासंघलाई सबै संगठनको छाता संगठन बनाउन नसकेपनि आफू निकटका पत्रकारहरूको छाता संगठन बनाउन सफल हुनेमा आम पाठकको प्रतिक्रिया रहेको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |