logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो लाई बिना सर्त तत्काल रिहा गर्न नेकपाकाे माग

प्रभातफेरी अनलाइन१७३ पटक पढिएको | २०८२ पौष २१, सोमबार
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो लाई बिना सर्त तत्काल रिहा गर्न नेकपाकाे माग

काठमाडाैं/ नेपाली कम्युनिस्ट पार्टीले भेनेजुएलाका राष्ट्रपति **निकोलस मदुरो**लाई बिना सर्त तत्काल रिहा गर्न माग गरेको छ।

पार्टीको केन्द्रीय पेरिसडाँडा कार्यालयबाट जारी वक्तव्यमा मदुरोलाई अपहरणको शैलीमा नियन्त्रणमा लिनु भेनेजुएलाका जनताको सार्वभौम अधिकारमाथि गरिएको गम्भीर हस्तक्षेप भएको ठहर गरिएको भनिएको छ।

वक्तव्यमा भेनेजुएलाका जनतालाई आफ्नो राजनीतिक, आर्थिक तथा सामाजिक भविष्य आफैँ तय गर्ने पूर्ण, अविच्छिन्न र सार्वभौम अधिकार रहेको उल्लेख गरिएको छ। कुनै पनि सार्वभौम राष्ट्रमाथि बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र तथा विश्व शान्तिका आधारभूत मान्यताहरूको ठाडो उल्लंघन भएको पार्टीको निष्कर्ष छ।

नेपाली कम्युनिस्ट पार्टीका अनुसार यस्ता कार्यहरूले सम्पूर्ण विश्वलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गर्छन्। वक्तव्यमा मदुरोलाई जबर्जस्ती नियन्त्रणमा लिनु लोकतान्त्रिक मूल्य, अन्तर्राष्ट्रिय मर्यादा र सभ्य विश्व व्यवस्थाका लागि पूर्णतः अस्वीकार्य रहेको स्पष्ट गरिएको छ।

पार्टीले अन्तर्राष्ट्रिय समुदायलाई पनि यस घटनाप्रति गम्भीर ध्यान दिन आग्रह गर्दै भेनेजुएलाको सार्वभौमिकता, स्वतन्त्रता र जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्न आह्वान गरेको छ। नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रपति मदुरोलाई बिना सर्त रिहा गरिनुपर्ने माग पुनः दोहोर्‍याएको छ।