प्रभातफेरी अनलाइन ४९ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ २९, बुधबार (१९ घण्टा अघि)
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान जटिल राजनीतिक परिस्थितिमा जनतामाझ जाने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन नै भएको बताएका छन् । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ ले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले देश निर्वाचनको संघारमा पुगेको उल्लेख गरेका हुन् ।
उहाँले निर्वाचन कसरी अगाडि बढ्ने भन्ने विषयमा राष्ट्रिय राजनीतिमा व्यापक तनाव र बहस भएको स्मरण गराउँदै सर्वदलीय र सर्वपक्षीय सरकार तथा संसद पुनःस्थापनाका विषयहरू पनि उठेको बताउनुभएको छ । ‘तर हामी सुरुदेखि नै यही निष्कर्षमा डटेर उभिएका छौँ कि आजको जटिल राजनीतिक अवस्थामा जनताको बीचमा जाने सबैभन्दा राम्रो माध्यम निर्वाचन हो,’ उहाँले भन्नुभयो, ‘नयाँ जनअनुमोदनसहित आउने प्रतिनिधिसभाले जेनजीका मागहरूलाई समेत सम्बोधन गर्न सक्छ ।’
संयोजक दाहालले हालसम्म आइपुग्दा सिंगो राष्ट्र निर्वाचनमय भइसकेको र नेपाली कम्युनिष्ट पार्टीको स्थिति दिनप्रतिदिन सुदृढ हुँदै गएको भन्दै निर्वाचनमा नेकपा पहिलो पार्टी हुने दाबी समेत गर्नुभएको हो । पार्टीमा प्रवेशगर्नेहरुको लर्को लागेको भन्दै परिवर्तनकारी शक्तिहरु एकैठाउँ हुनुको विकल्प नभएको बताएका छन् । उहाँले भन्नुभयो, ‘अहिले हामी निर्वाचनको संघारमा छौं । यो निर्वाचन कसरी अगाडि बढ्छ भन्ने कुरामा राष्ट्रिय राजनीतिमा निकै धेरै तनाब र बहस भयो । यहाँसम्म आउँदा सिंगै राष्ट्र नै निर्वाचनमय भइनैसकेको छ । नेपाली कम्युनिष्ट पार्टीको स्थिति पनि दिनप्रतिदिन सुदृण हुँदै गएको बताउनु भएको छ ।
कार्यक्रमका अवसरमा एमाले खेलकुद विभाग सदस्य रेनुका श्रेष्ठ, बैंकर बिमला ज्ञवाली, अधिवक्ता सबिना वाग्ले लगायत दर्जनौँ व्यक्तिहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । संयोजक दाहालले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै आगामी राजनीतिक संघर्षमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |