प्रभातफेरी अनलाइन ८ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन ११, सोमबार (८ घण्टा अघि)
काभ्रे /आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. २ मा युवा संगठनहरूले ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन गर्ने भएका छन्।
‘युवाको आह्वान, तारा चिन्हमा मतदान’ भन्ने नारासहित बनेपामा आयोजित निर्वाचन–केन्द्रित बैठकले प्रत्येक मतदान बुथमा २० जनाका दरले युवाहरू परिचालन गर्ने निर्णय गरेको हो। बैठकमा योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) नेपाल र युवा संघ नेपाल काभ्रेपलाञ्चोक क्षेत्र नं. २ का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
निर्वाचन परिचालनलाई प्रभावकारी बनाउन क्षेत्र नं. २ अन्तर्गतका सबै पालिकामा संयोजकसमेत तोकिएका छन्। जसअनुसार भुम्लु गाउँपालिकामा भिमजंग बस्नेत, मण्डनदेउपुर नगरपालिकामा सन्तोष वाईबा, पाँचखाल नगरपालिकामा सूर्य तामाङ, धुलिखेल नगरपालिकामा आकाश तामाङ, बनेपा नगरपालिकामा विवेक दाहाल, बेथानचोक गाउँपालिकामा तपस अक्षय तामाङ र पनौती नगरपालिकामा सुमन श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको वाईसिएल नेपालका केन्द्रीय उपाध्यक्ष अविलास तामाङले जानकारी दिनुभयो। गठन गरिएका पालिकास्तरीय संयोजन समितिहरूले हरेक बुथमा आवश्यक संख्यामा युवाहरू परिचालन गर्ने जनाइएको छ।
बैठकलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य सूर्यमान दोङले शान्ति, सुशासन र सामाजिक न्यायका पक्षमा कम्युनिष्ट शक्तिहरूबीच एकता गर्दै निर्वाचनमा होमिएको बताउनुभयो। उहाँले सामाजिक न्यायसहितको सुशासन स्थापना र भ्रष्टाचार अन्त्यका लागि नेकपाका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन आग्रह गर्नुभयो।
उहाँले काभ्रेपलाञ्चोक क्षेत्र नं. १ मा दिनानाथ गौतम र क्षेत्र नं. २ मा बसुन्धरा हुँमागाईलाई मतदान गरी विजयी गराउन आम मतदातासँग अपिल गर्नुभयो।
यसैगरी, वाईसिएल नेपालका केन्द्रीय उपाध्यक्ष अविलास तामाङले वर्तमान परिस्थितिमा निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। युवा संघ नेपालका केन्द्रीय महासचिव भेषराज शाहले पनि युवाहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गर्नुभयो।
बैठकपछि निर्वाचन परिचालन समितिको आयोजनामा बनेपाको मुख्य बजार क्षेत्रमा घरदैलो कार्यक्रम तथा मतदानका लागि आह्वानसहित ¥यालीसमेत निकालिएको थियो।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |