प्रभातफेरी अनलाइन१० पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ १, सोमबार(६ घण्टा अघि)
अमेरिका र इरानबीच लामो समयदेखि जारी तनाव कम गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। दुवै देश युद्धविरामलाई थप ६० दिन विस्तार गर्ने र विश्वको प्रमुख तेल मार्ग मानिने होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने विषयमा प्रारम्भिक सहमतिमा पुगेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उक्त सम्झौतामा शुक्रबार स्विजरल्याण्डमा औपचारिक हस्ताक्षर हुने तयारी भइरहेको छ। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्ताले सय दिनभन्दा बढी समयदेखि जारी सैन्य तनाव अन्त्य गर्ने आधार तयार गरेको बताइएको छ।
प्रारम्भिक सहमतिअनुसार होर्मुज जलडमरूमध्यलाई व्यावसायिक जहाज आवागमनका लागि पुनः खुला गरिने, सैन्य गतिविधि रोक्ने तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ता अघि बढाइनेछ। यद्यपि युरेनियम भण्डारण, प्रशोधन र दीर्घकालीन आणविक कार्यक्रमसम्बन्धी विषयमा अन्तिम सहमति हुन बाँकी रहेको जनाइएको छ। यी मुद्दामा आगामी ६० दिनभित्र थप छलफल हुने बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नजिक पुगेको बताएका छन् भने इरानी अधिकारीहरूले पनि वार्ता सकारात्मक दिशामा अघि बढिरहेको प्रतिक्रिया दिएका छन्।
सम्झौताको समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ भने शेयर बजारमा उत्साह देखिएको छ।
सम्झौताको मस्यौदामा के–के छन्?
इरानको सरकारी निकट समाचार एजेन्सी मेहरका अनुसार अमेरिका–इरान सम्झौताको मस्यौदामा १४ बुँदा समावेश छन्। यद्यपि ती विवरणहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।
मस्यौदाअनुसार लेबनानसहित सबै मोर्चामा स्थायी र तत्काल युद्धविराम लागू गर्ने, ३० दिनभित्र समुद्री नाकाबन्दी पूर्ण रूपमा हटाउने तथा इरान आसपासको क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति घटाउने वा फिर्ता गर्ने प्रतिबद्धता समावेश छ।
त्यसैगरी होर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुला गर्ने, इरानी तेल निर्यातमाथिका केही प्रतिबन्ध निलम्बन गर्ने तथा सम्झौतामा हस्ताक्षर भएको ६० दिनभित्र आणविक मुद्दामा अन्तिम सहमति गर्ने प्रस्ताव राखिएको छ। वार्ताको अवधिमा इरानका रोक्का गरिएका २४ अर्ब अमेरिकी डलर बराबरका सम्पत्ति फुकुवा गर्ने विषय पनि मस्यौदामा उल्लेख छ।
मेहरका अनुसार अन्तिम चरणको वार्ता अघि बढाउन इरानले दुई प्रमुख सर्त राखेको छ। रोक्का सम्पत्तिको कम्तीमा आधा रकम फुकुवा हुनुपर्ने र होर्मुज जलडमरूमध्यसम्बन्धी सबै प्रतिबन्ध तथा अवरोध हटाइनुपर्ने उसको माग रहेको छ।
(एजेन्सीहरूको सहयोगमा)
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
ppkavre@gmail.com
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |