प्रभातफेरी अनलाइन२३ पटक पढिएको प्रकाशित मिति: ६ घण्टा अघि (६ घण्टा अघि)
काठमाडौं, नेपाल–चीन सीमास्थित रसुवागढीको मितेरी पुलबाट सार्वजनिक मालवाहक सवारीसाधनको आवतजावत दुई दिनका लागि रोकिएको छ।
गत वर्ष असार २४ गते आएको ल्हेन्देखोला बाढीले पक्की पुल बगाएपछि त्यहाँ अस्थायी रूपमा बेलीब्रिज जडान गरी सञ्चालनमा ल्याइएको थियो। आगामी वर्षायाममा उक्त बेलीब्रिजबाट सुरक्षित रूपमा सवारी सञ्चालन गर्न सकिने वा नसकिने भन्ने प्राविधिक परीक्षण गर्न सोमबार र मंगलबार मालवाहक सवारीको आवागमन रोकिएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए।
उनका अनुसार स्थानीय बासिन्दा तथा कैलास–मानसरोवरका यात्रुहरूको आवतजावतमा भने कुनै अवरोध हुने छैन।
नेपालबाट केरुङ जाने तथा केरुङबाट नेपाल प्रवेश गर्ने मालवाहक सवारीसाधनलाई मात्र चिनियाँ सुरक्षाकर्मीले अस्थायी रूपमा रोकेको जनाइएको छ।
इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरका अनुसार पुलको प्राविधिक परीक्षण सम्पन्न भएपछि मालवाहक सवारीसाधनको आवागमन पूर्ववत् सञ्चालन गरिनेछ।