प्रभातफेरी अनलाइन११ पटक पढिएको प्रकाशित मिति: ६ घण्टा अघि (६ घण्टा अघि)
काठमाडौं, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा शुभकामना व्यक्त गर्दै नेपालको खाद्य सुरक्षा सुनिश्चित गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि किसानको श्रमलाई उच्च सम्मान गरिनुपर्ने बताएका छन्।
२१औँ राष्ट्रिय धान दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनले असार १५ लाई नेपाली किसानको श्रम, सङ्घर्ष र आशाको उत्सवका रूपमा उल्लेख गरेका छन्।
थापाले नेपालको संविधानले प्रत्येक नागरिकका लागि खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै धानको उत्पादकत्व वृद्धि गर्नु नागरिकको खाद्य सुरक्षासँगै संविधानको मर्म कार्यान्वयन गर्ने आधार भएको बताए। तर, किसानले अझै पनि गुणस्तरीय बीउ, मल, सिँचाइ र उत्पादनको उचित मूल्यको अभावमा हरेक वर्ष संघर्ष गर्नुपरेको अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे।
नेपालको धान खेती अझै ठूलो मात्रामा वर्षाको पानीमा निर्भर रहेको र जलवायु परिवर्तनले थप चुनौती सिर्जना गरेको उल्लेख गर्दै उनले यस वर्षको राष्ट्रिय धान दिवसको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ लाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।
उनले परम्परागत र जोखिमयुक्त खेती प्रणालीलाई आधुनिक, मौसमअनुकूल तथा वातावरणमैत्री प्रविधिमार्फत रूपान्तरण गर्नु समयको आवश्यकता भएको बताए।
शुभकामना सन्देशमा थापाले प्रविधिमैत्री कृषि प्रणालीले प्रतिकूल मौसमका बीच पनि धान उत्पादन वृद्धि गर्न सहयोग पुग्ने, बढ्दो चामल आयात घटाउन मद्दत गर्ने तथा राष्ट्रिय स्वाधीनता र खाद्य सम्प्रभुतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।