प्रभातफेरी अनलाइन२८ पटक पढिएको प्रकाशित मिति: ५ दिन अघि (५ दिन अघि)
काभ्रेपलाञ्चोकर पाँचखाल नगरपालिका–४ स्थित अरनिको राजमार्गमा बुधबार बिहान ईभि माईक्रो र स्कुटर ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहान करिब ९ः३० बजे भित्री सडकबाट मुख्य राजमार्ग क्रस गर्ने क्रममा प्रदेश ३–०२–०१३ प ९५०१ नम्बरको स्कुटरलाई काठमाडौंबाट बाह्रबिसे (सिन्धुपाल्चोक) तर्फ जाँदै गरेको बा ०८–००१ ज ०१५० नम्बरको विद्युतीय (ईभी) गाडीले ठक्कर दिएको थियो। उक्त दुर्घटनामा घाईते भएकी स्कुटर चालक सिन्धुपाल्चोकको जलबिरे –१ घर भई हाल पाँचखाल बस्ने करिब २४ वर्षीया मिनकुमारी श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल लगिएको भए पनि बिहान १०ः४८ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ईभीमा सवार आठ यात्रुमध्ये सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ निवासी ६५ वर्षीय गोपाल भुजेल पनि घाइते भएका छन्। उनको घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ। स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई पनि धुलिखेल अस्पताल पठाइएको छ।
इलाका प्रहरी कार्यालय पाँचखालले ईभी र ईभी चालक सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–७ निवासी ४३ वर्षीय कर्णबहादुर कार्कीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको बताएको छ ।