प्रभातफेरी अनलाइन२८ पटक पढिएको प्रकाशित मिति: १३ घण्टा अघि (१३ घण्टा अघि)
काठमाडौँ, तुलसीपुर उपमहानगरपालिकाले स्थानीय शासनलाई प्रभावकारी, कानुनसम्मत र व्यवस्थित बनाउन हालसम्म १५४ वटा विभिन्न कानुन निर्माण गरेको जनाएको छ।
विधान समितिका संयोजक भीमबहादुर कुँवर योगीका अनुसार विसं २०७५ देखि २०८३ असारसम्म नेपालको संविधानको धारा २२६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै यी कानुन पारित गरिएका हुन्।
उपमहानगरपालिकाले हालसम्म ८९ वटा कार्यविधि, ४१ वटा ऐन, पाँच वटा नियमावली, नौ वटा मापदण्ड, चार वटा निर्देशिका, तीन वटा कार्ययोजना तथा नीति, रणनीति र योजनामार्गदर्शनतर्फ एक–एक वटा कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएको जनाएको छ।
संयोजक योगीका अनुसार विधान समितिले आवश्यक कानुनको पहिचान, सरोकारवालासँग छलफल, मस्यौदा तयारी तथा कार्यपालिका र नगरसभाबाट स्वीकृत गराउने प्रक्रिया निरन्तर अघि बढाउँदै आएको छ।
पछिल्लो समय २०८२ सालमा ढुङ्गा दर्ता तथा व्यवस्थापन, पशु सेवा कार्यक्रम सञ्चालन, घर बहाल कर व्यवस्थापन र लागत साझेदारी आयोजना सञ्चालनसम्बन्धी कार्यविधिहरू नगरसभाबाट पारित भएका छन्।
यसका साथै उपभोक्ता समिति गठन तथा वारुणयन्त्र व्यवस्थापनसम्बन्धी कार्यविधि पनि कार्यान्वयनमा आइसकेका छन्।
स्थानीय सरकारको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आर्थिक सहायता, सञ्चार, दूध उत्पादनमा आधारित अनुदान, खेलकुद विकास तथा तुलसीपुर बहुउद्देश्यीय कम्प्लेक्स भवन सञ्चालनलगायत पाँच वटा नयाँ कानुनको मस्यौदा तयार पार्ने र छलफल गर्ने काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ।