प्रभातफेरी अनलाइन१० पटक पढिएको प्रकाशित मिति: ६ घण्टा अघि (६ घण्टा अघि)
काठमाडौं, भक्तपुरको सल्लाघारीस्थित नेवाः ननी रेष्टुरेन्टमा शनिबार ‘नेपाल इको प्यानल साँझ’ सम्पन्न भएको छ। साइकल कनेक्ट भक्तपुरको आयोजनामा सम्पन्न कोरा भक्तपुर साइकलिङ च्यालेन्ज २०८३ मा सहभागी साइकलयात्रीहरूको रिफ्रेसमेन्ट तथा सम्मानका लागि उक्त साँझ आयोजना गरिएको हो। कार्यक्रमलाई नेपाल इको प्यानलले सहयोग गरेको थियो।
साइकलयात्रीहरू गन्तव्य पूरा गरी नेवाः ननी रेष्टुरेन्ट पुगेपछि सांगीतिक कार्यक्रममार्फत उनीहरूको स्वागत गरिएको थियो। कार्यक्रममा विभिन्न गायक तथा कलाकारहरूले गीत–संगीत र सांस्कृतिक प्रस्तुति दिँदै सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमलाई सहयोग गरेको बताए। उनले वातावरणमैत्री यातायात, स्वस्थ जीवनशैली र साइकल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले साइकल कनेक्ट भक्तपुरसँग निरन्तर सहकार्य गर्दै आएको जानकारी दिए।
साइकलमार्फत सम्पदा संरक्षण, वातावरणीय सचेतना र स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ आयोजित कोरा भक्तपुर साइकलिङ च्यालेन्ज २०८३ मा करिब ५०० साइकलयात्री सहभागी भएको आयोजकले जनाएको छ। सहभागीहरूले १५०, १०० र ५० किलोमिटरका तीन फरक रुटमा साइकल यात्रा गरेका थिए।
कार्यक्रमको उद्घाटन बिहान भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नपुखुबाट गरेका थिए। निर्धारित रुट पूरा गरेपछि सबै सहभागी सल्लाघारीस्थित नेवाः ननी रेष्टुरेन्टमा भेला भएका थिए, जहाँ नेपाल इको प्यानल साँझ आयोजना गरिएको थियो।