प्रभातफेरी अनलाइन२३ पटक पढिएको प्रकाशित मिति: ९ घण्टा अघि (९ घण्टा अघि)
काठमाडौँ, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा अनुगमन गरी २० जना बालबालिकाको उद्धार गरेको छ।
मन्त्रालयका अनुसार बाल हेल्पलाइन (१०४) र मन्त्रालयको संयुक्त टोलीले बालगृहमा स्थलगत अनुगमन गर्दा सरसफाइको अवस्था अत्यन्त कमजोर रहेको, शौचालय र बाथरुम अस्वच्छ तथा चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको र विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको भेटिएको थियो। मन्त्रालयले यस्तो अवस्था बालबालिकाको स्वास्थ्य र सुरक्षाका लागि गम्भीर जोखिमपूर्ण रहेको जनाएको छ।
मन्त्रालयले नेपाल बाल संगठनलाई यसअघि पनि भौतिक संरचना सुधार, सरसफाइ व्यवस्थापन र बालबालिकाको बसोबास व्यवस्थित बनाउन पटक–पटक निर्देशन दिएको जनाएको छ। सम्बन्धित पक्षसँग छलफलसमेत गरिए पनि अपेक्षित सुधार नदेखिएपछि स्थलगत अनुगमन गरेर तत्काल उद्धार प्रक्रिया अघि बढाइएको मन्त्रालयको भनाइ छ।
पछिल्लो समय स्थानीय सरोकारवाला, विभिन्न व्यक्तिहरू तथा बालगृहकै केही कर्मचारीबाट त्यहाँको अवस्थासम्बन्धी भिडियो मन्त्रालयमा पुगेका थिए। ती भिडियोमा भवनभित्र पानी जमेको, सरसफाइ अत्यन्त दयनीय रहेको र महामारी फैलिन सक्ने जोखिम देखिएको उल्लेख गरिएको छ। केही कर्मचारीले सामाजिक सञ्जालमार्फत पनि बालगृहको वास्तविक अवस्था सार्वजनिक गरेका थिए।
सोही आधारमा बाल हेल्पलाइन (१०४) को समन्वयमा पहिलो चरणमा दुई वर्षभन्दा कम उमेरका २० जना बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो। उद्धार गरिएका बालबालिकामध्ये १२ जना बालक र ८ जना बालिका रहेका छन्। उनीहरूको स्वास्थ्य परीक्षण, संरक्षण, आवश्यक हेरचाह तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार घटनासम्बन्धी आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया अघि बढाइसकिएको छ। साथै, बाँकी बालबालिकाको अवस्थाको पनि मूल्याङ्कन गर्दै उनीहरूको सर्वोत्तम हितलाई केन्द्रमा राखेर आवश्यक निर्णय र अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।