प्रभातफेरी अनलाइन८ पटक पढिएको प्रकाशित मिति: ६ घण्टा अघि (६ घण्टा अघि)
काठमाडौँ, नेपाल इन्जिनियर्स एसोसिएसनले “युवा मस्तिष्क र इन्जिनियरिङः समृद्ध नेपालको निर्माण” भन्ने मूल नाराका साथ भोलि (श्रावण ३ गते, शनिबार) ६४औँ इन्जिनियर्स दिवस विविध प्राविधिक तथा औपचारिक कार्यक्रम गरी मनाउने भएको छ।
ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजना हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको एसोसिएसनका महासचिव बिनोद प्रकाश पण्डितले जानकारी दिए। बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा दिनभर विभिन्न प्राविधिक सत्र सञ्चालन हुनेछन् भने दिउँसो ३ बजेदेखि मुख्य समारोह आयोजना गरिनेछ।
बिहान १०:३० बजेदेखि “युवा मस्तिष्क र इन्जिनियरिङः समृद्ध नेपालको निर्माण” विषयक प्रमुख प्राविधिक सत्र सञ्चालन हुनेछ। त्यसपछि राष्ट्र निर्माणमा व्यावसायिक इन्जिनियरिङ संस्थाको भूमिका, भवन संहिता, भू-प्राविधिक इन्जिनियरिङ, विपद् जोखिम न्यूनीकरण, परामर्श इन्जिनियरिङ, ऊर्जा सुरक्षा, पुल इन्जिनियरिङ तथा मूल्यांकन (Valuation) लगायत समसामयिक विषयमा विज्ञहरूबीच प्रस्तुति र छलफल हुनेछ। यी सत्रहरू नेपाल इन्जिनियरिङ परिषद् तथा विभिन्न पेशागत इन्जिनियरिङ संस्थासँगको सहकार्यमा सञ्चालन गरिने सदस्य सचिव ई. सन्जय कुमार साहले बताए।
दिउँसो ३ बजेदेखि हुने मुख्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले पनि विशेष सम्बोधन गर्नेछन्।
इन्जिनियरिङ तथा अन्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका १० जना उत्कृष्ट इन्जिनियरलाई राष्ट्रपति पौडेलद्वारा सम्मानपत्र र पदक प्रदान गरिनेछ।
एसोसिएसनका अनुसार इन्जिनियरिङ पेशाको गरिमा अभिवृद्धि गर्दै युवा इन्जिनियरलाई प्रेरित गर्ने र समृद्ध नेपालको निर्माणमा इन्जिनियरहरूको भूमिका थप सशक्त बनाउने उद्देश्यका साथ यस वर्षको इन्जिनियर्स दिवस मनाउन लागिएको हो।
औपचारिक कार्यक्रमको समापनपछि विभिन्न ब्याण्डको सांस्कृतिक प्रस्तुति पनि रहनेछ।