प्रभातफेरी अनलाइन१३५ पटक पढिएको | २०८३ श्रावण ८, शुक्रबार
“सार्कोमा ट्युमर निकालियो, दुर्लभ शल्यक्रिया भित्रको सफलता ”
काभ्रे / शिर मेमोरियल एडभेन्टिस्ट अस्पताल बनेपाले सार्कोमा ट्युमर निकालेर, दुर्लभ शल्यक्रिया भित्रको सफलता हात पारेको छ ।
७० वर्षीय एक पुरुषको पेटबाट करिव १० किलोग्राम तौलको दुर्लभ रेट्रोपेरिटोनियल सार्कोमा ट्युमर सफल शल्यक्रियामार्फत निकालिएको जनसम्पर्क अधिकृत पुकार श्रेष्ठले जानकारी दिनु भएको छ । नेपालको सन्दर्भमा चिकित्सकहरूले यति ठूलो साकीमा ट्युमर शल्यक्रियाबाट हटाइएको घटना अत्यन्तै दुर्लभ भित्र पर्छ ।

अस्पतालका अनुसार यस्ता जटिल र दुर्लभ क्यान्सरको उपचार अनुभवयुक्त क्यान्सर सर्जन, आधुनिक उपकरण तथा बहुविषयगत चिकित्सकीय टोली उपलब्ध भएका विशिष्टीकृत स्वास्थ्य संस्थामै गराउँदा मात्र उपचारमा सफलता बढ्ने र जटिलताको जोखिम कम हुने गरेको तथ्यले देखाएको बताउछन् ।
सो घटनामा चिकित्सकको सुझ्बुझपुर्ण अध्यनपछिको प्रारम्भिक परिक्षण पछि गरिएको सिटिस्क्यानले पेटको भित्री भागमा रहेको १० किलोग्रामभन्दा माथि तौल भएको ठूलो मासुको डल्लो जुन क्यान्सर ट्युमरका रूपमा बिकास भएको परिक्षणले देखाएको छ । तत्त पश्चात् थप परीक्षण गरेर शल्यक्रिया गर्ने निचोडमा पुगेर विशेषज्ञको संलग्नतामा यो सफल भएको हो । जहाँ भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ क्यान्सर सर्जन डा. पुण्य खरबुजा र शिर मेमोरियल अस्पतालका डा. ध्रुव कंडेलसहितको विशेषज्ञ टोलीले करिब छ घण्टा लामो समय पश्चात् शल्यक्रिया गरेर ट्युमरलाई सफलतापूर्वक निकालिएको हो । सो शल्यक्रियाको नेतृत्व गरेका डा. खरबुजाका अनुसार ट्युमर पेटभित्रका आन्द्रा, कलेजो, मूत्रथैलीलगायत संवेदनशील अंगसँग नजिकै टाँसिएको अवस्थामा रहेको बताएका छन । अत्यन्तै सावधानी पुर्वक योजना बनाएर बहुविषयगत चिकित्सकिय टोलिको समन्वयमा शल्यक्रिया सम्पन्न गरिएकाले जटिलता टार्न सफल भएको उहाँले जानकारी गराउनु भएको छ ।

यो रेट्रोपेरिटोनियल सार्कोमा नामक दुर्लभ क्यान्सर हो, जुन पेटको पछाडीको भागमा रहेको बोसो, मासपेसी, स्नायु, वा रक्तनलीबाट विकसित हुने दुर्लभ प्रकारको क्यान्सर हो। पेटभित्र पर्याप्त खाली स्थान हुने भएकाले यस्तो ट्युमर लामो समयसम्म कुनै स्पष्ट लक्षण नदेखाई अत्यधिक ठूलो हुने गर्छ। मानवको पेटभित्र पर्याप्त स्थान खाली हुने हुनाले ( यस्ता किसिमका अस्वभाविक मासुका डल्लाहरुले स्थान सुरक्षीत हुने र असर तत्काल नदेखिने ) ट्युमर लामोसमय सम्म कुनै स्पष्ट लक्षण नदेखाई बिस्तारै ठूलो हुदैजाने विशेषता रहने चिकित्सकको दावी छ ।

हाल शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनसम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिनुभएको छ । हाल बिरामी चिकित्सकीय निगरानीमा छन् र स्वास्थ्यमा थप सुधार भएमा केही दिनभित्र डिस्चार्ज गर्ने तयारीमा रहेको पनि अस्पताल प्रशासनले जानकारी गरिएको छ।
स्मरण रहोस् केही हप्ता अघि सुत्केरी बेथा लागेर अर्धचेत अवस्थामा अस्पताल ल्याइएकि महिलाको पनि कुशलता पुर्वक शल्यक्रिया गरेर आमाबच्चा दुबैको पुनः जीवन दिन सफल भएको तथ्य सार्वजनिक भएको थियो ।