प्रभातफेरी अनलाइन१८ पटक पढिएको | २०८३ श्रावण ८, शुक्रबार
काठमाडौं, बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले स्वास्थ्य अवस्थाको कारण देखाउँदै शुक्रबार पदबाट राजीनामा दिएका छन्। उनले एएफपीसँगको टेलिफोन संवादमा राजीनामा दिएको पुष्टि गरेका हुन्।
सन् २०२८ सम्म कार्यकाल बाँकी रहँदा नै पदत्याग गरेका ७६ वर्षीय शहाबुद्दिनले संसद् अध्यक्षलाई बुझाएको राजीनामा पत्रमा बिग्रँदै गएको शारीरिक तथा मानसिक स्वास्थ्यका कारण राष्ट्रपतिको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसक्ने उल्लेख गरेका छन्।
‘चुप्पु’ उपनामले परिचित शहाबुद्दिन सन् २०२३ मा तत्कालीन प्रधानमन्त्री शेख हसीनाको अवामी लिगको समर्थनमा संसद्को बहुमतबाट राष्ट्रपति निर्वाचित भएका थिए।
सन् २०२४ मा विद्यार्थी आन्दोलनपछि शेख हसीना सत्ताबाट बाहिरिएसँगै शहाबुद्दिनमाथि पनि पद छाड्न दबाब बढेको थियो। गत मे महिनामा उपचारका क्रममा लन्डनमा रहँदा उनले हसीनासँग फोनमा कुराकानी गरेको आरोप लागेको थियो, तर उनले उक्त आरोप अस्वीकार गरेका छन्।
यसअघि बिहीबार गृहमन्त्री सलाहुद्दिन अहमेदले सरकारलाई राष्ट्रपतिको राजीनामाबारे कुनै औपचारिक जानकारी प्राप्त नभएको बताएका थिए। उनले संविधानअनुसार राष्ट्रपति पदत्याग गर्न संसद् अध्यक्षसमक्ष राजीनामा पत्र बुझाउनुपर्ने व्यवस्था रहेको उल्लेख गरेका थिए।