प्रभातफेरी अनलाइन२० पटक पढिएको | २०८३ श्रावण ८, शुक्रबार
काठमाडौं, नेपालगन्ज उपमहानगरपालिकामा फोहोर व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउन विभिन्न सरकारी तथा गैरसरकारी निकाय, महासंघ र व्यवसायिक संघ–संस्थाका प्रतिनिधिहरूबीच वृहत छलफल गरिएको छ।
बास नेपालको आयोजनामा बिहीबार सम्पन्न ‘स्थानीय नेतृत्व र नागरिक संलग्नता’ विषयक कार्यक्रममा यातायात व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघ, होटल व्यवसायी संघ, गैरसरकारी संस्था महासंघलगायतका सरोकारवालाले फोहोर व्यवस्थापनका चुनौती र समाधानका उपायबारे छलफल गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वप्रतिनिधिसभा सदस्य डा. धवल शम्शेर राणाले आफू नेपालगन्जको मेयर हुँदा फोहोर व्यवस्थापन र प्लास्टिकमुक्त अभियानलाई योजनाबद्ध रूपमा अघि बढाइएको स्मरण गर्दै विभिन्न कारणले त्यसले अपेक्षित सफलता हासिल गर्न नसकेको बताए। उनले द कोका–कोला फाउण्डेसनको सहयोगमा दिगो फोहोर व्यवस्थापनको काम पुनः सुरु भएकामा खुशी व्यक्त गर्दै सबै पक्षलाई अभियानमा साथ दिन आग्रह गरे।

वातावरणविद् हरिप्रसाद सुवेदीले फोहोर व्यवस्थापनसम्बन्धी प्रस्तुति दिँदै दिगो समाधानका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य रहेको बताए। उनले व्यवहारिक अभ्यास र खेलमार्फत सहभागीलाई फोहोर व्यवस्थापनबारे सचेत गराएका थिए।
कार्यक्रममा यातायात व्यवसायी संघ, होटल व्यवसायी संघ, गैरसरकारी संस्था महासंघलगायतका प्रतिनिधिले फोहोर व्यवस्थापनमा आफ्नो क्षेत्रबाट सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

बासका परियोजना अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा निर्देशक हेमराज भट्टले उद्देश्यबारे जानकारी दिएका थिए। ‘हरित नेपालगन्ज सामुदायिक फोहोर रूपान्तरण परियोजना’ अन्तर्गत सम्पन्न कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले गरेका थिए।