प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ श्रावण ८, शुक्रबार
काठमाडौं, गृहमन्त्री सुधन गुरुङले दक्षिणी सीमा क्षेत्रमा देखिएका समस्या स्थलगत अध्ययन र ‘स्ट्रिङ्ग अपरेसन’मार्फत पहिचान गरिसकिएको भन्दै अब सरकारले समाधानतर्फ ध्यान केन्द्रित गरेको बताएका छन्।
शुक्रबार राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उनले मधेस, कर्णाली र सुदूरपश्चिमका सीमावर्ती क्षेत्रको प्रत्यक्ष अध्ययन गरेर समस्या पहिचान गरिएको जानकारी दिए।
गृहमन्त्री गुरुङले खुला सीमाबाट हुने गतिविधि नियन्त्रणका लागि सुरक्षाकर्मीलाई पर्याप्त स्रोतसाधन उपलब्ध गराउन आवश्यक रहेको उल्लेख गर्दै पर्याप्त सुरक्षा सामग्री र उपकरणबिना जोखिमपूर्ण जिम्मेवारी दिन नसकिने बताए।
उनका अनुसार चालु आर्थिक वर्षको बजेटमार्फत नेपाल प्रहरीलाई थप स्रोतसाधनयुक्त बनाउने व्यवस्था गरिएको छ। साथै, खुला सीमाको निगरानीका लागि इन्फ्रारेडयुक्त ड्रोन क्यामेरा लगायत अत्याधुनिक प्रविधि प्रयोग गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमावर्ती क्षेत्रमा चोरीपैठारी तथा अवैध ओसारपसार नियन्त्रणका लागि भएका सुरक्षा गतिविधिबारे जानकारी गराएका थिए।
छलफलका क्रममा सांसदहरूले सुस्ता लगायत क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गतिविधि, नेपाली भूमिमाथिको अतिक्रमण, सीमावर्ती बासिन्दाले दैनिक उपभोग्य वस्तु तथा रासायनिक मल ल्याउँदा भोग्नुपरेका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका थिए।