logo
२०८३ श्रावण १०, आईतबार |
📰
🔍

शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक, महिला उद्यमशीलता र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य

प्रभातफेरी अनलाइन८ पटक पढिएको | ५७ मिनेट अघि
शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक, महिला उद्यमशीलता र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य

काठमाडौं, बराह एग्रो फुड्सले शतप्रतिशत प्राकृतिक रूपमा उत्पादन गरिएको ‘बराह मोरिङ्गा’ बजारमा सार्वजनिक गरेको छ। स्वास्थ्यप्रति बढ्दो सचेतनालाई मध्यनजर गर्दै शरीरको प्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा पोषणयुक्त खाद्यको प्रवर्द्धन गर्ने उद्देश्यले उत्पादन गरिएको मोरिङ्गा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।

उत्पादनको औपचारिक सार्वजनिक गर्दै पूर्वमन्त्री तथा महिला आर्थिक सशक्तीकरणकी अगुवा नेतृ भगबती चौधरीले प्राकृतिक र शुद्ध खाद्य उत्पादनले स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले सुनसरीको बराहक्षेत्र–१ मा उत्पादन गरिएको मोरिङ्गा भिटामिन, खनिज तथा प्रोटिनको उत्कृष्ट स्रोत भएको उल्लेख गर्दै यसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउन र स्वस्थ जीवनयापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

उनका अनुसार स्थानीय उत्पादनलाई व्यावसायीकरण गर्दै महिला उद्यमशीलता र युवाको स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। मोरिङ्गाले शरीरलाई आवश्यक पोषक तत्व उपलब्ध गराउनुका साथै विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्ने, मधुमेह, उच्च रक्तचापलगायत जीवनशैलीजन्य समस्यामा पनि उपयोगी हुने उनको भनाइ थियो।

ग्रामीण महिला उत्सुकता विकास मञ्चको प्राविधिक व्यवस्थापनमा स्थानीय आदिवासी तथा जनजाति महिलाको सक्रिय सहभागितामा उत्पादन गरिएको बराह मोरिङ्गालाई देशभर विस्तार गर्दै ग्रामीण क्षेत्रमा महिला उद्यमशीलता, युवा स्वरोजगार र स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य लिइएको आयोजकले जनाएको छ।

कार्यक्रममा युएनडिपी, डी जेड आइ फाउन्डेसन र एलडब्लूआरको वित्तीय तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको परियोजनाले स्थानीय उत्पादनको व्यावसायीकरणमार्फत ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा व्यक्त गरिएको थियो।

सो अवसरमा समाज कल्याण परिषद्का पूर्व सदस्य सचिव डिल्ली भट्ट, राजश्री विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. श्यामकिशोर महतो, फरवार्ड माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराई, किसान नेटका अध्यक्ष सूर्य भुसाललगायतले मोरिङ्गाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे चर्चा गर्दै यसको उत्पादन विस्तारले महिला सशक्तीकरण र ग्रामीण विकासमा टेवा पुग्ने धारणा राखे।

कार्यक्रममा बराह मोरिङ्गा नियमित सेवन गरिरहेका उपभोक्ताहरूले आफ्ना स्वास्थ्य अनुभव साझा गर्दै उत्पादनलाई अझ गुणस्तरीय, आधुनिक प्याकेजिङसहित अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सुझाव दिएका थिए।

फरवार्ड नेपालका प्रमुख कार्यकारी निर्देशक द्रव्यराज चौधरीले बराह मोरिङ्गाको उत्पादनमा शुद्धता र गुणस्तरलाई उच्च प्राथमिकता दिइएको बताउँदै आगामी दिनमा उत्पादन, ब्रान्डिङ र बजार विस्तारलाई थप व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरे।